ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ? « Khabarhub

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?



दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो। विमान हजारौँ फिटको उचाइमा थियो, यात्रुहरू आफ्नो गन्तव्यतर्फ पुग्ने प्रतीक्षामा थिए। तर अचानक ककपिटभित्रै यस्तो घटना भयो, जसले केही क्षणमै पूरै विमानलाई ठूलो दुर्घटनाको जोखिममा पुर्‍यायो।

फ्लाईदुबईको उडान नम्बर एफजेड१०७३ मा एक पाइलटले अर्का पाइलटमाथि चक्कुले आक्रमण गरे । त्यसपछि विमानको नियन्त्रण र प्रणालीमा समेत हस्तक्षेप भएको बताइएको छ । 

विमान तीव्र गतिमा तल झर्न थाल्यो । करिब १४ हजार फिट उचाइ गुमाएपछि यात्रु र चालक दलका सदस्यहरूले ककपिटमा हस्तक्षेप गरी आक्रमणकारीलाई नियन्त्रणमा लिए । त्यसपछि विमानलाई साउदी अरबको तबुकतर्फ मोडेर आपत्कालीन अवतरण गराइयो ।

यो घटनामा घाइते भएका पाइलट भारतीय नागरिक क्याप्टेन स्मित मच्छार रहेको खुलेको छ। उनी गुजरातका निवासी हुन् र सन् २०२२ देखि फ्लाईदुबईको बोइङ ७३७ फ्लीटमा क्याप्टेनका रूपमा काम गर्दै आएका छन् ।

एक मिनेटमै १४ हजार फिट तल झर्‍यो विमान

घटना कति गम्भीर थियो भन्ने कुरा विमानको उचाइमा आएको अचानक परिवर्तनबाटै अनुमान गर्न सकिन्छ। विमान करिब ३३ हजार फिटको उचाइमा उडिरहेका बेला केही समयमै तीव्र रूपमा तल झर्‍यो। रिपोर्टअनुसार करिब ३७ सेकेन्डमै विमानले झन्डै १४ हजार ३०० फिट उचाइ गुमाएको थियो ।

यसबीच विमानबाट आपत्कालीन संकेत पनि पठाइएको थियो। फ्लाइट ट्र्याकिङ विवरणअनुसार विमानले पहिले सामान्य आपत्कालीन अवस्था जनाउने ‘७७००’ कोड प्रसारण गरेको थियो भने पछि ‘७५००’ कोड सक्रिय भएको थियो, जुन विमानमा गैरकानुनी हस्तक्षेप भएको संकेत हो। त्यसपछि विमानको दिशा परिवर्तन भयो र साउदी अरबको तबुकतर्फ लगियो ।

तबुक विमानस्थलले विमानबाट आपत्कालीन अवतरणका लागि अनुरोध प्राप्त गरेको जनाएको छ। केही समयपछि विमान प्रिन्स सुल्तान बिन अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भयो।

चक्कु प्रहारपछि पनि क्याप्टेन मच्छारले देखाए साहस

ककपिटभित्र भएको आक्रमणमा क्याप्टेन मच्छार गम्भीर रूपमा घाइते भए। प्रारम्भिक विवरणअनुसार उनीमाथि उनका सहपाइलटले चक्कुले आक्रमण गरेका थिए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले घटनाबारे सार्वजनिक भिडियो सन्देशमा एक पाइलटले अर्कामाथि चक्कु प्रहार गरेको र त्यसपछि विमान दुर्घटनाग्रस्त गराउने प्रयास गरेको देखिएको बताएका छन् । 

उनका अनुसार विमानमा रहेका एक इजरायली यात्रु र चालक दलका एक सदस्य ककपिटमा प्रवेश गरेर आक्रमणकारी पाइलटलाई नियन्त्रणमा लिन सफल भएका थिए।

रिपोर्टअनुसार घाइते क्याप्टेन मच्छारले समेत ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु र चालक दलका सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिन सके। विमानमा रहेका अफ-ड्युटी फ्लाईदुबई चालक दलका सदस्यहरूले पनि विमानलाई सुरक्षित रूपमा तबुकसम्म पुर्‍याउन सहयोग गरेका थिए । विमानमा १७४ यात्रु थिए। सबै यात्रु सुरक्षित रहेको पुष्टि भएको छ। विमानपछि अर्को उडानमार्फत यात्रुहरूलाई इजरायल पुर्‍याइएको थियो ।

को हुन् क्याप्टेन स्मित मच्छार?

स्मित मच्छारसँग व्यावसायिक उड्डयन क्षेत्रमा लामो अनुभव छ। उनी सन् २०११ मा भारतीय एयरलाइन्स स्पाइसजेटमा आबद्ध भएका थिए। त्यहाँ उनले करिब ११ वर्ष काम गरे। सन् २०२२ मा उनी फ्लाईदुबईमा आबद्ध भए र बोइङ ७३७ फ्लीटमा क्याप्टेनका रूपमा काम गर्न थाले।

उनको लिंक्डइन प्रोफाइलअनुसार मच्छारसँग बोइङ ७३७–८०० र ७३७ म्याक्स ८/९ विमानमा ९ हजार ७५० घण्टाभन्दा बढीको उडान अनुभव छ । 

स्पाइसजेटमा उनले वरिष्ठ कमान्डरका रूपमा काम गर्नुका साथै लाइन ट्रेनिङ क्याप्टेनको जिम्मेवारी पनि सम्हालेका थिए। यही अनुभव भएका मच्छारमाथि विमानकै ककपिटमा चक्कु प्रहार भएपछि अवस्था निकै जटिल बनेको थियो।

यात्रुहरूले पनि लिए ठूलो जोखिम

विमान तीव्र गतिमा तल झर्न थालेपछि यात्रुहरूमा त्रास फैलिएको थियो। तर केही यात्रु र चालक दलका सदस्य ककपिटतर्फ पुगे र आक्रमणकारी पाइलटलाई नियन्त्रणमा लिन सफल भए । 

नेतन्याहूले घटनामा हस्तक्षेप गर्ने यात्रु र चालक दलका सदस्यको प्रशंसा गरेका छन्। उनले उनीहरूको साहस र सुझबुझका कारण ठूलो दुर्घटना टरेको बताएका छन् ।

तबुक विमानस्थलमा अवतरणपछि दुवै पाइलटलाई अस्पताल लगिएको थियो। विमानस्थलले पाइलट र फर्स्ट अफिसर घाइते भएको पुष्टि गरे पनि उनीहरू कसरी घाइते भए भन्ने विस्तृत विवरण तत्काल सार्वजनिक गरेको थिएन ।

ओमानी सहपाइलट पक्राउ, उद्देश्य अझै रहस्यमै

घटनामा संलग्न सहपाइलट ओमानी नागरिक भएको विवरण सार्वजनिक भएको छ । उनलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छन्। तर उनले यस्तो कदम किन उठाए भन्ने विषय अझै स्पष्ट भएको छैन । अनुसन्धान जारी छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले प्रारम्भिक रूपमा उक्त पाइलटले विमानमा रहेका सबै मानिससहित विमान दुर्घटनाग्रस्त गराउने प्रयास गरेको देखिएको बताएका छन् । तर फ्लाईदुबई र सम्बन्धित अधिकारीहरूले अनुसन्धान पूरा नहुँदासम्म घटनाबारे अनुमान नगर्न आग्रह गरेका छन् ।

इजरायलले बढायो पाइलटको सुरक्षा जाँच

घटनापछि इजरायलले देशमा आउने पाइलटहरूको सुरक्षा जाँच थप कडा बनाउने जनाएको छ । इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार भविष्यमा इजरायलतर्फ उडान गर्ने पाइलटमाथि थप सुरक्षा परीक्षण गरिनेछ ।

यसअघि इजरायलका यातायातमन्त्री मिरी रेगेवले फ्लाईदुबईका इजरायल आउने–जाने उडान रोक्न सुरक्षा निकायसँग अनुरोध गरेको विवरण पनि सार्वजनिक भएको थियो। तर घटनाको वास्तविक कारण र यसको उद्देश्यबारे अनुसन्धान अझै जारी छ ।

नेतन्याहूले गरे यात्रु र चालक दलको प्रशंसा

घटनापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विमानमा रहेका यात्रु तथा चालक दलका सदस्यको साहसको प्रशंसा गरेका छन्। इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार नेतन्याहूले भनेका छन्, ‘आज बिहान दुबईबाट इजरायलतर्फ आइरहेको एउटा विमानमा गम्भीर सुरक्षा घटना भयो। विमानमा रहेका करिब सबै यात्रु इजरायली थिए। उनीहरू इजरायलको नजिक पुगिरहेका बेला एक पाइलटले अर्का पाइलटमाथि चक्कुले आक्रमण गरे। प्रारम्भिक विवरणअनुसार उनले विमानमा रहेका सबै मानिससहित विमानलाई दुर्घटनाग्रस्त गराउने प्रयास गरेको देखिन्छ।’

नेतन्याहूका अनुसार उनले विमानमा रहेका एक इजरायली यात्रुसँग कुराकानी गरेका थिए। ती यात्रुले विमान अचानक घुम्न थालेको र तीव्र गतिमा तल झर्न थालेको बताएका थिए । 

त्यसपछि ती यात्रु र चालक दलका एक सदस्य कुनै तरिकाले ककपिटभित्र प्रवेश गर्न सफल भएका थिए । उनीहरूले मिलेर विमानका प्रणालीमा हस्तक्षेप गर्न खोजिरहेका आक्रमणकारी पाइलटलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि चालक दलका अर्का सदस्य पनि ककपिटमा पुगे र विमानको नियन्त्रण सम्हाल्न सफल भएको नेतन्याहूले बताएका छन् ।

उनले भने, ‘असाधारण सूझबुझ र साहस देखाउने यी नायकहरूलाई म सलाम गर्छु। उनीहरूले धेरै मानिसको ज्यान बचाए। उनीहरूले ठूलो दुर्घटना हुनबाट रोके।’

दुबईबाट तेल अभिभतर्फ सुरु भएको सामान्य हवाई यात्रा केही क्षणमै ककपिटभित्रको हिंसा, विमानको तीव्र अवतरण र आपत्कालीन अवतरणको घटनामा परिणत भयो । 

घाइते पाइलट, ककपिटमा प्रवेश गर्ने यात्रु तथा चालक दलका सदस्य र विमानलाई सुरक्षित रूपमा तबुक पुर्‍याउने टोलीको भूमिकाले ठूलो दुर्घटना हुनबाट जोगाएको प्रारम्भिक विवरणले देखाएको छ । तर आक्रमणको कारण र सहपाइलटको वास्तविक उद्देश्य भने अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ४ : ५३ बजे

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा

सोनामको घरमै पुग्यो मन्त्रालयको टोली, बाढी प्रभावित अनाथ बालबालिकाको दीर्घकालीन स्याहार राज्यले लिने

काठमाडौं– बाढीले दुई दाजु गुमाएपछि पाँच जना अनाथ भतिज–भतिजीको भविष्यको