बालेनका प्रचार कमाण्डर भन्छन्, ‘उहाँले मिडिया फेस नगर्नु रणनीति हो’ « Khabarhub

बालेनका प्रचार कमाण्डर भन्छन्, ‘उहाँले मिडिया फेस नगर्नु रणनीति हो’



झापा- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार शैली दक्षिण भारतीय सिनेमा शैलीको छ । अझ अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित कार्यक्रममा त्यसको क्लाइमेक्स नै देख्न पाइन्छ । यो मतदाताको चाहना हो कि पार्टीको रणनीति ? त्यसको आ-आफ्नै विश्लेषण हुनसक्छ ।

झापा क्षेत्र नम्बर ५ मा अरू पार्टीले पनि बलिया उम्मेदवार उठाएका छन् । तर, त्यो चुनावी संग्राममा दुई पात्र एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको मात्रैचर्चा छ । झापा-५ लाई केपी ओलीको विरासत र बालेन्द्रको क्रेजको प्रतिस्पर्धाका रुपमा व्याख्या गरिन्छ । अझ दुवै भावी प्रधानमन्त्रीका रुपमा घोषण गरिएकाले विशेष चर्चा पाएको हो ।

काठमाडौंका जनताले पत्याएर महानगरप्रमुख बनाएका बालेन्द्र झापाका लागि रहर हो कि बाध्यता वा प्रतिशोधको बीउ ? त्यसका लागि केही समय पर्खनुपर्नेछ । खबरहबले बालेन्द्रको चुनावी क्षेत्रमा प्रचार कमान्डर भएर काम गरिरहेका नेता विरोध सुवेदीसँग चुनावका बहुआयामिक पक्षबारे कुराकानी गरेको छ ।

– निर्वाचनको आखिरी चरण आइसक्यो राष्ट्रिय स्वतन्त्र पार्टीले झापा-५ बाट निर्वाचन जित्छ त ?

अहिले हामी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई जिताउने अभियानमा छौँ । प्रचारप्रसारको संयोजक भएकाले गर्नुपर्ने सबै काम गरिरहेका छौँ । हामी जति टोल समुदायमा पुगेका छौँ, एकदमै धेरै सकारात्मक ऊर्जा प्राप्त भएको छ । यतिसम्म कि घन्टी चुनाव चिन्ह देखिसकेपछि स्वतस्फुर्त मतदाता सडकमा निस्केर सहयोग गर्ने वातावरण मिलेको छ ।

केही कारण एउटा घर छुटाएर अर्को घरबाट गयौँ भने उहाँहरूले हाम्रोतर्फ पनि आइदिनु भनेर बोलाउनुहुन्छ । बाटोमा निस्केर हौसला दिनुहुन्छ । जुन सुरुमा ऊर्जा थियो, त्यो ऊर्जाबाट यथावत छ, घटेको छैन । यो विश्वास, यो माया, यो साथ देखेर आश्चर्यमा परेका छौँ । उहाँहरूले दिनुभएको भरोसालाई विश्वासमा राखेर काम गर्ने चुनौती हामीलाई छ ।

– केही समयअगाडि यहाँहरूको पक्षमा राम्रो माहोल भए पनि पछिल्लो समय घटेको भन्ने छ नि ?

त्यस्तो केही फरक छैन । हामीले सडकमा साथीहरू उतार्ने र भिड देखाउने कार्यक्रम गर्‍यौँ भने त यहाँ खपिनसक्नु जनसागर उर्लिन्छ । तर हामीले त्यस्ता गतिविधि कम गरेका छौँ । आइतबार पनि विमानस्थलबाट यहाँसम्म आइपुग्दा विभिन्न ठाउँको दृश्य देख्नुभयो- बालेन्द्रको पक्षमा लहर उर्लिएको छ ।

झापा ५ को कुरा गर्दा नितान्त हाम्रो घरदैलोका कार्यक्रम मात्रै अहिले गरेका छौँ । ठूलो सभा जुलुस गरेका छैनौँ । अहिले हाम्रा साथीहरूले विभिन्न टोल र खटाइएको क्षेत्रमा पुगेर बाचापत्र दिँदै प्रतिबद्धता जाहेर गर्ने काम गरिरहनु भएको छ । बाटोमा तामझाम देखिने कुनै कार्यक्रम नगरेका यहाँहरूलाई यस्तो लागेको हुनसक्छ ।

हामी चुपचाप हरेक मतदाताका घर घर पुगेर प्रचार गरिरहेका छौँ । मतदाताको मनमनमा पुगिसकेका छौँ । हाम्रा बाचापत्र पुगिसकेका छन् । पार्टीको घोषणा पत्रमार्फत् हाम्रा कुरा पुगिसकेका छन् । हामी मतदाताको मनमा जसरी बसिरहेका छौँ, त्यसमा कमी भएको छैन ।

हाम्रा वरिष्ठ नेताप्रतिको जुन क्रेज छ, त्यसले उहाँहरूको आशाको दियो हामी भएको र त्यसलाई निभ्न नदिने गरी काम गर्न हामीलाई चुनौती छ । पूरै झापा-५ उर्लिएको देख्दा साँच्चिकै यहाँका जनता सचेत भएछन् भनेर हामी ढुक्क छौँ । देश बनाउने भिजन, मिसन र एजेन्डा हामीसँग भएकाले जनताको यो ऊर्जाले हामी पनि अझै जिम्मेवार भएका छौँ ।

– विगतमा यहाँहरूले सर्भे गर्दा जुन डाटा निकालेको भनेर दाबी गर्नुभएको थियो, त्यस्तो अवस्था देखिएन नि हामीले अवलोकन गर्दा ?

हामीले प्रचार शैलीलाई विभिन्न मेथडबाट अगाडि बढाएका छौँ । मतदाता आफैं सचेत भएर फरक तरिकाबाट प्रस्तुत भइरहनुभएको छ। हामीले आफ्नै तरिकाले चुनाव प्रचार शैली अपनाउँदा पनि विभिन्न कुरालाई फण्डा बनाइएको छ । हामीले १ लाख ६३ हजार मतदाताको मतले जित्ने हो । उहाँहरू हाम्रो पक्षमा हुनुहुन्छ ।

अरुले कुन तरिकाले प्रचार शैली अपनाएर कसरी अगाडि बढेर मतदाता भड्काउँछन् भन्ने कुरामा हामीले ध्यान दिएका छैनौँ । सिंगो मतदाता हाम्रो पक्षमा देखिनुहुन्छ । हामी मतदातासँग पुगेर सिधै एजेण्डा मन परे मत दिन आग्रह गरेका छौँ । सामान्य रूपले घर आँगन पुगेर हामीलाई मत दिनुस् भनेका छौं। त्योभन्दा बढी हामीले केहि गरेका छैनौँ ।

– उम्मेदवार पनि झापा आइसक्नुभएको अवस्था छ, अब कसरी अगाडि बढ्नुहुन्छ ?

हाम्रो वरिष्ठ नेता आगामी प्रधानमन्त्रीको दावेदार भएकाले व्यस्तता अझै बढ्ने देखिन्छ । धेरै ठाउँबाट नजिती प्रधानमन्त्री बनाउन नसक्ने भएकाले उहाँले यहाँ मात्रै होइन, सबै स्थानलाई उत्तिकै महत्व दिनुभएको छ । यसको मतलब यो होइन कि उहाँले यहाँ कम समय दिनुभएको छ । यहाँ आउँदा विभिन्न ठाउँ, प्रतिनिधिमूलक भूगोलमा उहाँसँगै हामी पनि पुगेका छौं । उहाँ झापा-५ मा नहुँदा पनि पार्टी पंक्तिले भोट मागेको छ,, हुँदा पनि उत्तिकै खटेको छ ।

– यहाँहरूले तीनपटकसम्म प्रधानमन्त्री भइसकेको र ठूलो पार्टीको बलियो उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, चुनौती छ भन्ने लागेको छैन ?

भदौ २३ र २४ अगाडिको देश र अहिलेको देश फरक भएको छ । जनता अहिले निकै शिक्षित र जानकार छन् । जनताले बालेन्द्रको विकल्प कसैलाई देख्नुभएको छैन । हाम्रो माहोल पछिल्लो समय देखिएपछि हामीविरुद्ध विभिन्न भ्रम छर्ने काम भएको छ । भ्रम चिर्नुपर्ने बाध्यतात्मक परिस्थिति छ । भ्रम चिर्दै अगाडि बढिसकेका छौँ । अब पूर्वप्रधानमन्त्री भइसकेको र विकास निर्माण गरेकाले उहाँलाई सशक्त उम्मेदवार हुँदा पराजित गर्न कठिन छ भन्ने जुन भाष्य देखिएको छ, बिल्कुल अहिलेसम्म हिँड्दा परिस्थिति त्यस्तो लागेको छैन ।

अहिलेसम्म हामीलाई चुनौती कुनै विषयमा लागेको छैन। एउटा कुरा के हो भने यी नयाँ हुन्, बाहिरका मान्छे हुन् केही गर्न सक्दैनन् भन्ने भ्रम छरिएको छ तर अप्ठ्यारो परिस्थिति बनेको छैन ।

– भ्रमको कुरा गर्दा एमालेले तपाईंहरूलाई रास्वपाले भ्रम छर्‍यो भन्छ, तपाईंहरू एमालेले भ्रम छर्‍यो भन्नुहुन्छ । खास के भइरहेको छ ?

यहाँले डुल्दा देख्नु पनि भयो होला– नयाँ हुन्, केही गर्न सक्दैनन् भन्ने जस्ता भ्रम छरिएको छ। अरू गहिरोसँग भ्रमको विषयमा हामीले पनि जानकारी पाएका छैनौँ । मिडियामा अब यस्ता कुरा छन् भनेर भन्न थालिए, त्यसबारे फेरि अर्को स्पष्टीकरण दिनुपर्ला । हामी भ्रम चिर्न एकाग्र भएर लागिपरेका छौँ ।

झापा-५ मा बालेन्द्रको उम्मेदवारीलाई राजनीति प्रतिशोधकै रूपमा हेर्न मिल्छ ?

झापा-५ का जनताले एउटा व्यक्तिलाई निर्वाचित गराए । जुन व्यक्ति सरकारमा रहँदा देशमा अप्रिय घटना हुनपुग्यो । तर उहाँले नैतिक जिम्मेवारी लिनुभएन । स्कुले बालबच्चा मरे । जनताका छोराछोरीलाई गोली हानियो । देशलाई ‘कू’ हुँदा र देशमाथि आक्रमण हुँदा सरकारमा भएकाे व्यक्तिले नैतिक जिम्मवारी लिनुपर्दैन । राजनीतिक प्रतिशाेध नभएर उहाँलाई इमान्दार राजनीति अभ्यास गर्नुपर्छ भन्ने रणनीति अनुरुप हामीले उहाँलाई उठाएको हो । देश र जनताभन्दा ठूलो केही कुरा केही हुँदैन । कुनै पनि व्यक्तिले गल्ती गर्छ भने त्यसको नैतिक जिम्मेवारी उसले बहन गर्न सक्नुपर्छ। तर नैतिक जिम्मेवारी नलिने र जहिले पनि माछा मारिरहने प्रवृत्तिका कारण देश कहिले पनि अगाडि बढ्न सकेन । यो विषय बुझाउनु छ।

झापा-५ का जनताले उहाँलाई किन जिताउनैपर्ने विशेष कारण के हो ?

बालेन्द्रले व्यक्तिगत रुपमा पनि राजनीतिमा आएपछि राजनीतिको परिभाषा बदल्नुभएको छ। हिजोको दिनमा राजनीति पेशा बनाइयो । जो वर्षौंदेखि राजनीति गर्छ, त्यसले मात्रै राजनीति गर्ने हो भन्ने भाष्य पैदा गरिएको थियो । ‘पोल्टिक्स इज डर्टी गेम’ भन्ने भाष्य पैदा गरिएको थियो भने आज त्यो अवस्था छैन । हामीले आआफ्नो क्षेत्रका मुद्दा उठाउनका लागि पनि राजनीतिमा चासो राख्नुपर्ने रहेछ भन्ने ज्ञान प्राप्त भएको छ ।

राजनीतिलाई यसरी पनि सरलीकरण गर्न सकिने रहेछ, यो त कसैको पेवा होइन रहेछ भन्ने भाष्य पैदा भएको छ । यो कुरा गरिरहँदा सबैको मनमनमा आदर्श र इमेज क्रिएट भएको छ । उहाँले महानगरपालिकामा गरेका काम नियालिरहँदा यसरी गर्नुपर्ने रहेछ भन्ने भएको । धेरै भाषणबाजीमा भन्दा पनि केले इनपुट दिन सक्छ भन्नेमा फोकस हुनुपर्ने रहेछ भन्ने भएको छ।

भ्रमको खेती र भाषणमात्रै राजनीति होइन रहेछ भन्ने उहाँले मानक स्थापना गर्नुभएको छ । त्यसो भएपछि राजनीतिमा उहाँलाई आदर्शको रुपमा हेरिएको छ । अघिल्लो निर्वाचनमा विजयी हुँदै गर्दा रास्वपाका सांसदहरूले संसद्मा गरेको एक्सरसाइज हेर्दा पनि सबैभन्दा धेरै प्रभावकारी भूमिका देखाउने र अध्ययन गरी मसिनो गरी बोल्ने आवाजले पनि बालेन्द्र जस्ता मान्छे आउनुपर्छ भन्ने सन्देश दिएको छ ।

राजनीति भनेको मनपरी गर्ने होइन, नेताको मनमानी होइन भन्ने एउटा मानक स्थापना भएको छ। देश एउटा क्यालेन्डर र सिस्टममा चलाउनुपर्छ भन्ने मानक स्थापना गरेको जनताले देख्नुभएको छ ।

२०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएको र स्थानीय क्षेत्रमा विकास निर्माण गरेको हिसाबले ओलीलाई हराउन सहज होला र ?

हामीभन्दा पनि मतदाताको कुरा भएकाले उहाँहरू एकदमै धेरै कन्फिडेन्ट हुनुहुन्छ । ‘चुपचाप घन्टीछाप’ भन्ने अभियान सबैभन्दा धेरै झापा-५ मा छ । सुरुमा सर्भे गर्दा नै यो कुरा सुनेपछि उहाँहरू ओहो, ल है भनेर एकदमै एक्टिभ हुनुभयो । त्यसपछाडि त मतदाता नामावलीमा नाम समावेश गर्नेदेखि लिएर अरू गतिविधि गर्नुभयो । मतदाता नै कन्फिडेन्ट भएपछि हामीलाई त झन् उर्जा मिलिहाल्यो ।

कति मतान्तरले विजय हुने अनुमान छ ?

सम्मानित मत ल्याएर निर्वाचित हुनुहुन्छ । यो विषयलाई यति नै मतान्तर भनेर अहिले नभनौँ । तर एकदमै धेरै राम्रो मत ल्याएर उहाँ विजयी हुनुहुन्छ । जुनसुकै परिस्थितिमा पनि उहाँले निर्वाचन जित्ने अवस्था छ । जस्तोसुकै भ्रम छरिएर, जस्तोसुकै प्रहार भए पनि अब झापा-५ मा बालेन्द्रको विकल्प छैन । यतिसम्म बुझ्नुस् कि हामी ओभर-कन्फिडेन्ट छौँ, उहाँले निर्वाचन जित्नुहुन्छ । जस्तोसुकै अवरोध र चलाखी अपनाए पनि उहाँलाई रोक्ने अवस्था छैन । झापा-५ बाट बालेन्द्रले अत्याधिक मत ल्याएर सरप्राइज दिनुहुन्छ ।

तपाईंहरूको प्रचारप्रसारमा पनि अवरोध गरिएको छ र ?

हामीलाई कुनै रूपमा अवरोध गरिएको छैन । हाम्रो २९ वटै वडामा प्रचारप्रसार चलिरहेको छ । सबै वडामा साथीहरू सुरक्षित र कसैको अवरोध, धम्की बिना प्रचारप्रसार गरिरहनुभएको छ । हामी लोकतन्त्रलाई विश्वास गर्ने मान्छे हो । हाम्रा साथीहरू ठूलो ऊर्जा लिएर हरेक मतदाताको घरघरमा पुग्नुभएको छ । कहिँ कतै अवरोध अथवा रोक्न खोजियो भन्ने हामीलाई रिपोर्टिङ छैन । आफ्नो गाउँ आफ्नो ठाउँ आफ्नो टोल र स्थानीय साथीहरू एकदम ऊर्जावान भएर लाग्नुभएको छ ।

अर्को चासोको प्रश्न के हो भने एमाले अध्यक्ष केपी ओलीले विभिन्न मिडिया फेस गर्दा र अभिव्यक्ति दिइरहँदा यहाँहरूका नेता चाहिँ किन भागिरहनु भएको ?

हामीसँग गरेको कुराकानीका आधारमा र मसँग भएको कुराको आधारमा भन्दा उहाँले मिडिया फेस गरि नै रहनुभएको छ । अन्तर्वार्ता दिन, भेटघाट गर्न र कुराकानी गर्न समय नमिलेको पक्कै हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्दा नै विभिन्न मिडियाहरूले उहाँलाई ल्याएकै छन् । तर कम बोल्ने धेरै काम गर्ने व्यक्ति भएकाले उहाँले अहिले मिडियामा अन्तर्वार्ता दिने, कुराहरु गर्ने गर्नु भएको छैन।

अरुले डेढ दुई घण्टा बोल्दा उहाँले ४ मिनेट बोल्ने र सबै कुरा बताउने काम गर्नुभएको छ । हामीसँग यहाँ घरदैलो गर्दा पनि उहाँले जनताका प्रश्नहरूको जवाफ दिनुहुन्छ । उहाँ म यो गर्छु र यस्तो छ मेरो योजना भन्नुहुन्छ । फाल्तु कुरा गर्नुहुन्न। खोक्रो र लामो भाषण सुन्ने बानी परेका जनता यो अभ्यासले एकदम उत्साहित हुनुहुन्छ । उहाँ बोल्नुपर्ने जति बोल्नुभएको छ, धेरै बोल्ने काम गर्नुभएन ।

– उहाँले मिडिया फेसै गर्नुभएन नि ?

मिडियाभन्दा पनि उहाँले मतदाताका कुरा सुन्नु बढी प्रभावकारी हुन्छ भनेर त्यतातर्फ लाग्नुभएको हो । मिडियालाई इन्कार गरेको भन्ने होइन। मतदातासँग बोलेकै र गरेकै कुराकानीलाई मिडियाले अगाडि ल्याइदिएपछि उहाँ उत्साहित हुनुहुन्छ । उहाँका कुराहरू मिडियासामु पुगेकै छ। बाँकी धेरै बोल्नु हुँदैन भन्ने हिसाबले उहाँ नबोल्नु भएको रे ।

मतदान अगाडि उहाँ मिडिया फेस नगर्ने हो ?

हाम्रो प्रचार शैली यस्तो यस्तो नै अगाडि बढ्छ भनेर उहाँले जानकारी गराउनु भएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा पनि उहाँले कम बोल्ने र धेरै काम गर्ने गर्नुभयो । अब उहाँ झापा-५ आइसक्नुभएको छ । बढीभन्दा बढी यहाँका जनतालाई समय दिनुहुन्छ । उहाँले आमसभामा आफ्ना कुरा जनतालाई बताइसक्नुभएकाले मिडियाको क्यामेरा र जनताको अगाडि बोल्ने कुरा एउटै भएकाले उहाँ कम बोल्नुभएको हो। धेरै बोल्ने र कामै नगर्ने कारण देश पछाडि प¥यो भनेर उहाँले पटकपटक भनिरहनु भएको छ ।

झापा ५ का जनताको आवश्यकता के रहेछ ?

यहाँका जनताका आवश्यकता धेरै छन् । सुकुम्बासी बस्तीमा लालपुर्जा वितरण गर्नेदेखि लिएर देशका ऐन कानुन परिमार्जन गर्ने, पुनर्निर्माणका समस्या पनि उत्तिकै छन् । तिनीहरूको पुननिर्माण गर्नुपर्नेछ। एउटा सांसद र कार्यकारी प्रमुखको हैसियतमा यहाँ सुधार गर्नुपर्ने कुराहरू धेरै छन् । यी कुराहरू हामीले बाचापत्रमा स्पष्ट रुपमा उल्लेख गरिसकेका छौँ ।

यहाँलाई आफ्नो मुख्य प्रतिस्पर्धी को लागेको छ ?

हाम्रा लागि २४ जना सबै प्रतिस्पर्धी हुन् । सबै जनाले जित्ने दाबीसहित समान रूपले आफ्ना गतिविधि अगाडि बढाउनुभएको छ । हामीलाई बहुमत जनताको साथ सहयोग र समर्थन छ। उम्मेदवारी दर्ता गरिसकेपछि प्रतिस्पर्धामा सबैजना हुनुहुन्छ ।

झापा-५ मा कति घरधुरीमा पुग्यो यहाँहरूको टोली ?

कति घरधुरी पुग्यो भन्ने रेकर्ड छैन । तर हामीसँग अझ दुई दिनको समय रहेकाले हामी सम्पूर्ण घरधुरी पुग्ने तयारीमा छौँ । उम्मेदवार आफै सबै घरधुरी पुग्न सक्नुहुन्न । बाचापत्र लिएर हाम्रा साथीहरु हरेक घरधुरीमा पुग्नुहुन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ३८ बजे

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं– सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय

न्याय माग्दै पीडितहरू महिला आयोगमा

काठमाडौं– हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको