बल्खु खोलामा ‘गरिब’ इन्द्रबहादुरको ‘गल्ती’ « Khabarhub

विचार

बल्खु खोलामा ‘गरिब’ इन्द्रबहादुरको ‘गल्ती’



काठमाडौं– गत ९ वैशाखमा राजीनामा दिनुअघि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा लेखेका थिए, ‘तिमी जन्मिँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया !’

आफ्नो सम्पत्ति विवरणमा ठूलो परिमाणमा जग्गा र सुनचाँदी देखिएपछि आलोचकहरूलाई जवाफ दिन उनले लेखेको इन्स्टाग्राम स्टोरी धेरै समय टिक्न सकेन, उल्टै दबाब थेग्न गाह्रो परेपछि केही समयमा नै डिलिट गरिदिए ।

त्यसमाथि विवादित व्यवसायीसँग लाखौँ रुपैयाँ बराबरको सेयर कारोबारको अनैतिक कनेक्सन रहेको सार्वजनिक भएपछि सुधन गृहमन्त्रीमा पनि धेरै दिन टिकेनन् । चर्को दबाब परेपछि बरू सरकारबाट उनी आफैँ ‘डिलिट’ भए ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा बल्खु फलफूल तथा तरकारी बजारमा श्रम गर्दै आएका ६१ वर्षीय इन्द्रबहादुर राईले सुधनले भनेजस्तै ‘गल्ती’ गरेका छन् । पूर्वगृहमन्त्रीकै शब्दमा उनी गरिब भएरै बल्खु खोलामा हामफालेर प्राण त्यागेका छन् ।

पुर्ख्यौली थलो खोटाङ भएका इन्द्रबहादुर बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । सहरलाई सुकिलो बनाउन, सुन्दर देखाउन वालेन्द्र शाह नेतृत्वको सरकारले आफू बस्दै आएको बस्तीको घरमा बडेमानको डोजर बज्रिएपछि उनी गरिब भएरै जीवन टुंग्याउने गल्ती गर्न बाध्य भएका हुन् ।

पत्नी सरिताका अनुसार शुक्रबार बिहान घरमा डोजरले हान्न थालेपछि इन्द्रबहादुर विरक्तिँदै हिँडेका थिए । बिहानै घर लडेको दृश्य हेर्न नसक्ने भन्दै रन्थनिएर हिँडेका इन्द्रबहादुरको निष्प्राण शरीर बल्खु खोला किनारमा भेटियो ।

यसअघि थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाउने सूचना सार्वजनिक भएपछि रविन तामाङले पनि झुण्डिएर प्राण त्याग गरेका थिए ।

गणतान्त्रिक नेपालमा डा. बाबुराम भट्टराईपछि गरिबको छानो भत्काउन डोजर चलाउने प्रचलनको थालनी गर्ने श्रेय काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर वालेन्द्र शाहलाई जान्छ । उनले काठमाडौंको मेयर हुँदै थापाथलीको सुकुम्वासी बस्तीमा डोजर र नगरप्रहरी पठाएका थिए । तर त्यसबेला प्रतिकारमा उत्रिएका सुकुम्वासीले आफ्नो बस्ती जोगाए ।

उनै वालेन्द्रले प्रधानमन्त्रीको शपथ लिएपछि, अझै भन्नुपर्दा सुधनले छाडेको गृहमन्त्रालय पनि आफैँले सम्हालेपछि थापाथलीको त्यही बस्ती जोगिन सकेन । हेर्दाहेर्दै उक्त बस्तीलाई डोजरले खण्डहर बनाइदियो ।

बाक्लो सुरक्षा तैनाथीमाझदुई सातादेखि दैनिकजसो काठमाडौं उपत्यकासहित देशभर सुकुम्बासीको घर उजाडिने क्रम चलिरहेको छ । यतिसम्म की, जेन–जी आन्दोलनमा सिंहदरबार जल्दा मूकदर्शक बनेको नेपाली सेनासमेत सुकुम्बासी बस्ती उजाड्ने अभियानमा सरकालाई साथ दिन दलबलसहितउत्रिएको छ । सेना आफैँ सुकुम्वासीका तथ्यांक बटुल्दै हिँडिरहेको छ ।

सयौँ हतियारधारीमाझ सुकुम्वासी निरीह हुँदै बस्ती छाड्न बाध्य छन्, जेबी टुहुरेको गीतमा जस्तै, ‘लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ ।’

सरकारले यसरी घर उजाडिएर वर्तमान र भविष्य दुवै गुमाएका सुकुम्वाासीलाई अस्थायी शिविरमा बिजोग अवस्थामा राखेको छ । वास्तविकता नबाहिरियोस् भनेर प्रेस स्वतन्त्रताको धज्जी उडाउँदै शिविरभित्र पत्रकारलाई प्रवेश निषेध गरिएको छ । पत्रकारले खिचेका तस्बिर र भिडियोसमेत क्यामेरा, मोबाइल खोसेर डिलिट गरिँदैछ ।

ब्राम्हण र भिक्षुको आशीर्वाद लिएर रामनवमीको साइतमा प्रधानमन्त्रीको शपथ लिएका बालेनले देशमा रामराज्य नै ल्याउलान् भन्ने आम नेपाली जनताको विश्वास थियो । अझ ‘गरिबको चमेली बोल्दिने कोही छैन…’ भन्ने र्‍याप गाएका उनले गरिबलाई यतिसम्मको पीडा देलान् भन्ने अपेक्षा कसैले गरेको थिएन ।

फागुन २१ को चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्वाासी बस्तीमा सरकारले डोजर चलाए आफैँ छाती थाप्न जाने बताएका थिए । दोहोरो नाकरिकता, बहुविवाह, सहकारी ठगीजस्ता अनेक प्रकरणमा मुछिएका वाकपटुतामा निपूण पात्रले चुनावअघि भोट बटुल्न बालेको कुरा मतदाताले नपत्याउने कुरा पनि भएन !

नदी किनारामा सार्वजनिक र सरकारी जग्गा ओगटेर बसेका सुकुम्वासीलाई सधैँ त्यहीँ बसिरहन दिनुपर्छ भन्न खोजिएको होइन । सुकुम्वासी बस्ती खाली गरी सार्वजनिक जग्गाको अतिक्रमण हटाउनु सरकारको जिम्मेवारी हो । तर, गरिब नै भएपनि त्यहाँ बस्ने मान्छे पनि यो देशका नागरिक हुन् ।

अवश्य पनि, इन्द्रबहादुरले सुकुम्वासी बस्तीमा डोजर चलाएको पीडा सहन नसकेरै प्राण त्यागेका हुन् वा वास्तविकता अरु नै हो ? यसको अनुसन्धान होला नै । जसरी जेन–जी आन्दोलनमा७६ जना नागरिककोमृत्यु हुँदा त्यसको सम्पूर्ण जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि थोपरिएको थियो, त्यसैआधारमा इन्द्रबहादुरको आत्महत्या दुरुत्साहनमा पनि सरकार, अझभन्दा प्रधानमन्त्री र गृहमन्त्री दुवै पदमा आशिन वालेन्द्र शाह जिम्मेवार छन् भन्दा अन्यथा हुन्छ कि हुँदैन ? यो आजको टड्कारो प्रश्न हो ।

नेपालमा गरिबले आत्महत्या गरेको यो पहिलो घटना होइन । यसअघि प्रेम आचार्यजस्ता धेरै नेपालीले सार्वजनिक रुपमै आत्मदाह गरेका छन् । गुपचुप आत्महत्या गर्नेहरूअझै धेरै होलान् । हिजो पनि गरिबले आत्मदाह गर्दा सरकारको आलोचना भएको थियो, आज पनि गरिबको ज्यान जाँदा सरकारको आलोचना हुनु स्वभाविक छ ।

गरिबलाई प्राण त्याग्न बाध्य नपारी सुकुम्वासीजस्ता समस्याको समाधान हुनै नसक्ने हो त ? उनीहरूको उचित व्यवस्थापन नगरी पूर्वतयारीबिना, सत्तारुढ दलका नेता र मन्त्रिपरिषदका सदस्यसमेतलाई गुमराहमा राखेर एक दिने सूचनाका आधारमा बन्दुक तेर्स्याएर सुकुम्बासी बस्तीमा डोजर चलाउँदा यस्तो परिणाम आउला भन्ने समीक्षा किन भएन ? सरकारले यी प्रश्नको पनि जवाफ दिनु आवश्यक छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ७ : ५८ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ