बालेनका कारण रास्वपामा खैलाबैला : उठ्यो माफी माग्‍नुपर्ने माग, रविले भने, ‘राम्रो भएन, अहिलेलाई कोही नबोलौँ’ « Khabarhub

बालेनका कारण रास्वपामा खैलाबैला : उठ्यो माफी माग्‍नुपर्ने माग, रविले भने, ‘राम्रो भएन, अहिलेलाई कोही नबोलौँ’



काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू दुई धारमा बाँडिएका छन् । विवेकशील साझाबाट रास्वपा प्रवेश गरेको समूह र पार्टीभित्रकै केही शीर्ष नेताहहरूले प्रधानमन्त्री बालेनले संसद्बाटै नेपाली जनता र देशसँग माफी माग्नुपर्ने आवाज उठाइरहेका छन्।

पार्टी सचिवालय स्रोतका अनुसार वालेन्द्र समूह र राष्ट्रिय स्वतन्त्र पार्टीकै केही नेताहरूले पनि माफी माग्नुनपर्ने अडान लिएका छन् । सार्वजनिक रुपमै नेताहरूले अभिव्यक्ति राख्ने बुझेपछि पार्टी सभापति रवि लामिछानेले अहिले नै त्यसो नगर्न केन्द्रीय समिति र सचिवालयमा निर्देशन दिएका छन् ।

रविले यसो भनेपनि विवेकशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी रञ्जु दर्शना, सांसद आशिका तामाङ लगायतले सामाजिक सञ्जालमा सांकेतिक रुपमा प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि पोखेका छन् ।

यता मोरङबाट निर्वाचित सांसद तथा अधिवक्ता यज्ञमणि न्यौपानेले पनि खबरहबसँगको कुराकानीमा सीमा विवादसम्बन्धी विषयमा सबैजना संवेदनशील बन्नुपर्ने बताए ।

उनी प्रधानमन्त्रीले गलत बोल्न नखोजेको भए पनि बिनातयारीको प्रस्तुति गलत हुन सक्ने भन्दै बचाउ गरे । ‘प्रधानमन्त्रीले यही बोल्छु भनेरै त्यो अभिव्यक्ति नदिएको हुनसक्छ । सीमा विवादको सन्दर्भमा सबै जना सिरियस हुनुपर्छ’, न्यौपानेले भने, ‘प्रधानमन्त्रीको पूरै भनाइ सुन्दा उहाँले गलत बोल्नुभएको होइन । तर थोरै काटेर सुन्नुभयो भने गलतै हो भन्न सकिन्छ । उहाँले साँच्चिकै गलत बोल्नुभएको भए माफी माग्नुहोला । पर्खनुहोस् ।’

विपक्षी दलहरूले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने साझा धारणा बनाएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी नेकपा एमाले, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्रीले सदनबाट माफी मागेर अभिव्यक्ति पनि रेकर्डबाट हटाउनुपर्ने अडान लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै जना सांसद पनि प्रधानमन्त्रीले सदनबाट माफी मागेर अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पक्षमा छन् तर उनीहरू बाहिर भने कारबाहीको डरले बोल्न सकिरहेका छैनन् ।

चुपचाप प्रधानमन्त्री

कुनै विवाद सिर्जना भएपछि प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमा लेख्दै मानिसलाई अन्यत्र मोड्न खोज्थे। तर पछिल्लो विवादित अभिव्यक्तिलाई लिएर हालसम्म उनले प्रतिक्रिया दिएका छैनन् । उनले चुपचाप परिस्थिति नियालिरहेको बुझिन्छ ।

केही सल्लाहकारले प्रधानमन्त्रीलाई सदनबाट माफी मागेर संसद्को रेकर्डबाट अभिव्यक्ति हटाउनुपर्ने सुझाव दिएको स्रोत बताउँछ । तर उनले अहिलेसम्म माफी माग्ने विषयमा सभामुख वा अरू कसैलाई जानकारी गराएका छैनन् ।

भर्चुअल बैठक

भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिनका लागि पार्टी सभापति लामिछाने दिल्ली पुगेका छन् । उनीसँग पार्टीका सह-महामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा, सहयोगी अविनाश आचार्य र पत्नी निकिता पौडेल पनि भारत पुगेका छन् ।

रवि भारत जानुअघि सोमबार बिहान पार्टीको सचिवालय बैठक भर्चुअल रुपमा बसेको थियो । केही नेताहरूले प्रधानमन्त्रीले संसद्मा बोलेको विषय उठाएपछि सचिवालय बैठकमा पनि त्यसबारे छलफल भएको थियो ।

‘प्रधानमन्त्रीको भनाइले देश नै हल्लिएपछि स्वभाविक रूपले सचिवालय बैठकमा छलफल हुने नै भयो । सीमा विवाद कूटनीतिक ढङ्गले समाधान गर्नुपर्छ, नेपालले भारतको भूभाग मिचेको भन्दा खोलानालाका कारण यताउता भएको हुनसक्छ, यसलाई सीमा मिचेको भन्न मिल्दैन । प्रधानमन्त्रीको भनाइ सच्याउनुपर्नेमा धेरैजना साथी बोल्नुभएको छ’, सचिवालयका एक सदस्यले भने, ‘धेरै नेताले सदनबाटै माफी माग्नुपर्ने आवाज उठाउनुभएको छ । देशको संवेदनशील र राष्ट्रिय सार्वभौमसत्ताको विषयमा सार्वजनिक रूपमा यसो भन्न उचित नहुने धेरैको निष्कर्ष छ । कहाँ-कहाँ भूमि कसरी मिचिएको छ भन्ने यथेष्ट जानकारी दिनुपर्छ । होइन भने माफी नमागी नहुने विषय हो भनेर धेरै जना साथीले कुरा राख्नुभयो ।’

पार्टी सचिवालय बैठकमा पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरेसम्म सभापति रवि भारत जान नहुनेसम्मको आवाज उठेको थियो । भारतले सोधेको खण्डमा जवाफ के दिने लगायत प्रश्नका कारण सभापतिले विज्ञप्ति जारी नगरेसम्म भारत जान नहुने मत पार्टीमा देखिएको अर्का सचिवालय सदस्यको भनाइ छ ।

रविले भने- परराष्ट्रको धारणा स्वीकारौँ

रवि भारत जानुअघि बसेको सचिवालय बैठकमा निकै लामो समय प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल भएको सचिवालयका अर्का सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार पार्टी प्रवक्ता मनिष झाले पनि यसबारे मिडियालाई के जवाफ दिने ? भनेर प्रश्न गरेका थिए । त्यसपछि रविले बोल्ने भनेका थिए, ‘जब देशको सिमानाको कुरा आउँछ, यो राजनीति विषय पटक्कै होइन । कुनै पार्टीको आन्तरिक विषय पनि होइन । देशको विषय हरेक पार्टीको, हरेक नेपाली जनताको विषय हो । यसलाई परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा जुन धारणा दिएको छ । त्यही नै मान्य हुनेछ । यसबारे हामी कसैले पर्सनल धारणा बनाउने होइन ।’

बैठकमा रविले प्रधानमन्त्रीसँग छलफल गरेर कसरी अगाडि बढ्ने या अभिव्यक्ति हटाउन लाउने कि माफी माग्ने विषयमा छलफल गर्नेसमेत जानकारी गराएका छन् । पार्टीले विज्ञप्ति जारी गर्नुभन्दा परराष्ट्र मन्त्रालयको धारणालाई मान्यता दिँदै अहिले चुप बस्ने जानकारी रविले सचिवालय सदस्यलाई दिएका थिए ।

सचिवालय बैठकमा प्रधानमन्त्रीसँग यसबारे छलफल गरेर अगाडि बढ्नेसमेत रविको भनाइ थियो । रविले पनि यस्तो अभिव्यक्ति सदनबाट आउनु नहुने र यो राजनीतिक विषय नभएकाले देशको विषयमा प्रधानमन्त्री चिप्लिनुलाई सामान्य विषय नठानेको ती सचिवालयका सदस्यको दाबी छ ।

‘हामीसँगको अनौपचारिक कुराकानीमा यो विषय सामान्य होइन, प्रधानमन्त्रीले सामान्य सोचेर बोल्नुभएको जस्तो लाग्यो । अलिकति प्रधानमन्त्रीको विवेक पुगेन कि भन्ने कुरा सभापतिको छ’, ती सचिवालय नेताले भने, ‘हामीले भन्नुपर्ने कुरा भनेका छौँ, सभापतिज्यूले म उतैबाट भए पनि प्रधानमन्त्रीसँग कुरा राख्छु, यहाँ पनि मैले हिजो, राखिसकेँ भन्नुभयो ।’

रवि र बालेनबीच आइतबार छलफल

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले अन्तर्राष्ट्रिय सिमाना विवाद कहिले समाधान हुन्छ भनेर प्रश्न राखेका थिए । त्यसपछाडि बोल्ने क्रममा प्रधानमन्त्रीले हैसिएर भने, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ । मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । त्यसलाई चै दुइटै देशले साथीको रुपमा बसेर समाधान गर्ने सोच राखेका छौँ । सीमा विवाद चाँडै समाधान हुन्छ ।’

त्यसपछि विपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लसहितले प्रधानमन्त्रीलाई तत्काल भनाइ सच्याएर माफी माग्न माग गरे। उनीहरूले नेपालले कहाँ-कहाँ भूमि मिचेको छ, त्यसबारे सदनलाई जानकारी गराउन आग्रह गरेका थिए ।

आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले यसो भनेपछि विपक्षीले निरन्तर सदन अवरोध गरे । प्रधानमन्त्रीले आफ्नो भनाइ राखेर निस्किए पनि बैठक अवरुद्ध भइरहेका बेला सभापति लामिछाने सदनमै थिए । बेलुका रवि र बालेनको टेलिफोन संवाद भएको थियो । रविले टेलिफोन कुराकानीका क्रममा बालेनलाई संसद्मा दिएको अभिव्यक्तिले तनाव दिएको भन्दै सच्चिनुपर्ने कुरा राखेको सचिवालय स्रोतको दाबी छ ।

प्रधानमन्त्री बालेनले भने आफ्नो भनाइ पुष्टि गर्ने भन्दै परिस्थिति नियालेर जवाफ दिने संकेत दिएको स्रोत दाबी गर्छ । रविले राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै नभइ नेपाली जनता र प्रधानमन्त्रीलाई पनि यो भनाइले असर गर्ने भन्दै गम्भीर हुन सुझाव दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको एक शीर्ष नेताले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको समूहमा पनि विभिन्न नेताहरूले प्रधानमन्त्रीको भनाइले आफूहरुलाई अप्ठ्यारोमा पारेको भन्दै सच्चिनुपर्ने मत राखिरहेका छन् । पार्टीका धेरै शीर्ष नेताहरूले भारतीय सञ्चारमाध्यमलेले यसबारे बढाइँचढाइँ गरेर समाचार छापिरहेकाले प्रधानमन्त्रीले माफी माग्नुपर्ने कुरा उठाएका छन्।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ८ : १७ बजे

कांग्रेसले खोल्यो नयाँ क्रियाशील सदस्यताका लागि आवेदन

काठमाडौँ । नेपाली कांग्रेस नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुल्ला

कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौं – संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

नाइजेरिया : विद्यालय अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

लागोस – मेको मध्यमा दर्जनौँ बालबालिका र उनीहरूका शिक्षकहरूको अपहरणको

अदालत र न्यायाधीशलाई प्रधानन्यायाधीशले दिए २१ बुँदे निर्देशन

काठमाडौं । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको