विद्याले चार पूर्वप्रधानमन्त्रीको नाडी छाम्नुको अर्थ यस्तो… « Khabarhub

विद्याले चार पूर्वप्रधानमन्त्रीको नाडी छाम्नुको अर्थ यस्तो…

सिङ्गो कम्युनिष्ट पार्टीको सारथी बन्ने रणनीति



काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताले वाम एकताको धुन फेरि बज्न थालेको छ । विगतमा नेकपा एमालेले वाम एकताको बहसलाई प्रश्रय नदिए पनि शक्तिविहीन भएपछि पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली पनि परिपक्क एकताको पक्षमा देखिन थालेका छन् । तर, विडम्बना मुख्य दलहरूले अहिलेसम्म पनि वाम एकताका लागि एउटा असल सूत्रधारको आवश्यकता भएको सत्य ओकल्न सकेका छैनन् । यसले गर्दा भण्डारीले वाम एकताको नेतृत्व गरिहाल्छिन् भन्ने तहको विश्लेषण गर्न सकिँदैन ।

मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा आइतबार विभिन्न कालखण्डमा शक्तिको लडाईका कारण विभाजित भएका वाम नेताहरूलाई एक ठाउँमा ल्याएपछि भण्डारीले उनले अब के चाहन्छिन् भन्ने प्रश्न उठेको छ । विगतमा नेकपा फुटेपछि पानी बाराबारको अवस्थामा रहेका एमाले अध्यक्ष ओली र एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि भण्डारीकै सक्रियतामा आइतबार एउटै मञ्चमा देख्न पाइयो । यति मात्र होइन, माओवाद सिद्धान्त छोडेर नेपाली कम्युनिस्ट पार्टी बनाउँदै संयोजकको भूमिकामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र दोस्रो तहका नेताहरू पनि मञ्चमा देखिए ।

चार नेताहरूको प्रस्तुति भण्डारीले पनि मञ्चबाट हेरिन् । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा चार नेताहरूले ‘अब तपाईं अघि बढ्नुहोस् हामी तपाईंको साथमा छौं’ भनेको सुन्न चाहन्थिन् तर त्यो परिस्थिति बनेन । चारतिर मुख लगाएर को भन्दा को ठूलो भन्दै हिँडिरहेका नेताहरूलाई भने एउटै मञ्चमा ल्याउनु नै भण्डारीको सफलता देखिन्छ ।

अहिले चार नेताहरू एउटै मञ्चमा उभिनाले पनि भण्डारीको सक्रिय राजनीतिमा एउटा इँटा थपिदिएको छ। उनी सक्रिय राजनीतिमा फर्किनका लागि यो महत्वपूर्ण खुड्किलो पनि हुन सक्छ । तर नेताहरूले उनलाई भरोसा दिन दिन सकेको स्थिति भने छैन । सक्रिय राजनीतिमा आएर कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने विद्याको चाहना रहेको उनी निकट नेताहरु बताउँछन् । तर उनको सचिवालयका कर्मचारीहरू भने देशको परिस्थितिले नै भण्डारीलाई वाम आन्दोलनको नेतृत्व गर भन्ने विन्दुमा पुर्‍याएको दाबी गर्छन् ।

के साँच्चै भण्डारी आएर कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउन सक्छिन् ? अरु नेता भण्डारीलाई नेतृत्व स्वीकार्न तयार छन् ? कम्युनिस्ट एकता चार वटा दल मिलेर मात्र हुने हो ? खासमा के चाहन्छिन् विद्या ? यो प्रश्नको जवाफ हामीले खोजेका छौँ ।

के विद्या कम्युनिस्ट आन्दोलन उकास्ने क्षमता राख्छिन् ?

इतिहासकै लज्जास्पद अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलन भण्डारी आएर नेतृत्वमा बसिदिनेबित्तिकै उचाइमा पुग्ने अवस्थामा छैन । किनकि ७० प्रतिशत बढी गरीखाने वर्ग र तल्लो तहका व्यक्तिहरूसँगको यी पार्टी नेताको सम्बन्ध टुटेको विश्लेषकहरु बताउँछन् । कम्युनिस्ट पार्टीहरूले आफ्ना जनतासँगको सम्बन्ध टुटाइसकेकाले यो विश्वासलाई सोझै रुपमा भण्डारीले फिर्ता गर्ने अवस्था नरहेको उनीहरु बताउँछन् ।

नेकपा एमालेको तेस्रो अर्थात् युवा पुस्ता पनि भण्डारीले संक्रमणकाल झेल्नका लागि केही समयसम्म नेतृत्व गर्न सक्ने तर अर्ली या विशेष महाधिवेशनपछि आफ्नो पुस्ताले नेतृत्व सम्हाल्नुपर्ने बताउँछन् । ‘राजनीति परिस्थिति निकै नै फेरिसकेको छ । पूर्वराष्ट्रपतिज्यूले संक्रमणकाललाई छेल्नका लागि वाम एकता भएको खण्डमा केही समय नेतृत्व गर्न सक्नुहोला तर यो स्थायी हुँदैन ।’ एमाले केन्द्रीय सदस्य नरेश रोकाया भन्छन्, ‘अर्ली महाधिवेशन प्रस्ताव दोस्रो या तेस्रो पुस्ता नेतृत्वमा आउनुपर्छ । त्यो चाहिँ निर्वाचनको प्रक्रिया मार्फत अगाडि बढ्छ ।’

एमाले नेता गोकुल बाँस्कोटा पनि पूर्वपदाधिकारी र पार्टीको जिम्मेवार तहमा पुगिसकेका व्यक्तिहरूले नेतृत्व गरेर कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउँछु भन्नु सपना मात्रै भएको बताउँछन् । विगतमा ओलीका विश्वासपात्र रहेका उनी पछिल्लो समय ओलीले आफ्ना गल्ती कमजोरी स्वीकार गरेर एमालेलाई स्वतन्त्र रुपले छाडिदिनु पर्छ भन्ने पक्षमा आवाज उठाउँदै आएका छन् । उनी पहिलो पुस्ताले सोच्ने बेला आइसकेको जिकिर गर्छन् ।

‘पदमा पुगिसकेको र पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका पहिलो पुस्ताका जो कोही नेता पनि आएर कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउँछु भन्नु गफै मात्र हो । कहाँनेर कमी कमजोरी भएको छ, त्यसलाई सच्याउँदै अब परिस्थिति अनुसार नेता नेतृत्व चुनिनुपर्छ,’ बास्कोटाले खबरहबलाई भने, ‘कम्युनिस्ट पार्टीहरूले हामीले गल्ती गर्यौ यो कारण जनतासँग माफी माग्छौं भनेर आत्मआलोचना नगरिकनै विभिन्न एकताको डम्फु बजाउनु जनताका लागि सह्य हुँदैन । जनताले त एउटा एउटा कुरा मसिनो गरी हेरिरहेका छन् ।’

नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य आरती लामा पनि केही समयका लागि कसैले नेतृत्व लिएर चुनावमार्फत नयाँ नेतृत्व चुन्ने प्रयासमा पार्टीहरू लाग्नुपर्ने बताउँछिन् ।

भण्डारीलाई नेतृत्व स्वीकार्न तयार छन् त अरु नेता ?

आइतबार बाबुराम भट्टराई बाहेक कम्युनिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री बनेका चार नेताहरू एक ठाउँमा आए । कम्युनिस्टको मुख्य घटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता झलनाथ खनाल एउटै मञ्चमा उभिए ।

पूर्वराष्ट्रपति भण्डारीको निम्तोलाई स्वीकारेर एउटै मञ्चमा आएका नेताहरूले परिपक्क कम्युनिस्ट एकताको पक्षमा आवाज उठाए । विगतमा कम्युनिस्ट एकताको विषयमा फरक धारणा राख्दै आएका एमाले अध्यक्ष ओलीले पनि लोकतान्त्रिक शक्ति मिल्नुपर्ने र कम्युनिस्ट एकता गर्नुपर्ने कुरा उठाए । ‘अब समाजवाद कताबाट निर्माण गर्ने भन्ने कुरा सोच्नुपर्ने बेला आयो । अहिले प्रतिगमन गर्ने काम मुख्य हो। लोकतान्त्रिक शक्ति मिल्नुपर्छ कम्युनिस्ट एकता गर्नुपर्छ। हामीले अगाडि बढाएका नीतिहरू सबै ठिक छन्। केही केही परिमार्जन गर्नुपर्ने होला ।’ ओलीले भने, ‘नेपाली जनतालाई खुसी बनाउनु छ समृद्धिले मात्रै सुख हुँदैन। सुरक्षा पनि चाहिन्छ। अब व्यावहारिक रूपमा पनि परिवर्तनमा लागौँ ।’

ओलीका विपक्षी माधवकुमार नेपालले नेतृत्वले गल्ती नस्वीकारेसम्म कसैसँग पनि एकता गरेर जान नसकिने बताए । माधवको भनाइ ओली लक्षित देखिन्थ्यो । त्यहाँ बोलेका अधिकांश वक्ताले कम्युनिस्ट एकताका लागि एउटा पृथक व्यक्तिको खोजी छ भनेको खण्डमा चाहिँ विद्यालाई अगाडि आउन सहज हुने वातावरण रहने विश्लेषक श्याम श्रेष्ठको धारणा छ । तर मञ्चमा उभिएकै चारैजना नेताले भण्डारीलाई अगाडि आउने गरी कुनै संकेत नदिएकाले बाम एकता पछिको नेतृत्व उनैले गरिहाल्ने अवस्था नरहेको विश्लेषक श्रेष्ठ बताउँछन् ।

विश्लेषक श्रेष्ठ आ-आफ्नो पार्टीले गल्ती नस्वीकारेसम्म कुनै एकताले पनि जनताको निराशा चिर्न नसक्ने विश्लेषण गर्छन् । ‘भण्डारीलाई अगाडि ल्याउन चारजना नेता मुख्यतया तयार हुनुपर्यो उहाँहरु तयार भएको छनक आइतबारको सम्बोधनमा देखिएन,’ विश्लेषक श्रेष्ठले भने, ‘उनलाई नेतृत्वमा ल्याउन चारपूर्व प्रधानमन्त्री तयार हुँदा पनि अरु कम्युनिस्ट घटकहरुले के भन्छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । किनकि अहिले जुनसुकै पार्टीको पनि दोस्रो र तेस्रो तहको पुस्ता अवसर पाएका व्यक्तिलाई पुनस् नेतृत्वमा ल्याउने पक्षमा देखिँदैन किनकि जनताको मतले पनि त्यो भन्दैन ।’

प्रचण्डनिकट नेताहरू पनि च्वाट्टै सबै छाडेर भण्डारीलाई अगाडि सार्न प्रचण्ड पनि तयार नरहेको बताउँछन् । ओलीले त आफ्नो गल्ती अहिलेसम्म नस्वीकारेकाले उनले भण्डारीलाई वाम आन्दोलनको नेतृत्व गर्ने तहसम्म पुर्‍याउने अवस्था नरहेको विश्लेषण गरिन्छ । दोस्रो र तेस्रो तहका नेताले भण्डारीलाई सर्लक्कै साथ दिएको अवस्थामा भने उनी वाम आन्दोलनको नेतृत्व गर्ने लेबलमा पुग्ने विश्लेषण गरिन्छ ।

यसबारे पूर्वप्रधानमन्त्री तथा वाम नेता झलनाथ खनाललाई प्रश्न गर्दा अहिले कुनै पनि हिसाबले कुरा अगाडि नबढेको बताउँछन् । वाम एकताको पक्षमा नेताहरू रहेको तर पात्रको विषयमा भने छलफल नभइसकेको उनको भनाइ छ । ‘वाम एकताको पक्षमा नेताहरू हुनुहुन्छ तर को नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल भएको छैन । उहाँले त हामीलाई मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बोलाउनु भएको थियो र हामी पुगेर आफ्ना कुरा राखेका हौँ ।’ खनालले खबरहबलाई भने, ‘यहाँहरुले भनेजस्तै हामी सबैले आ-आफ्ना गल्ती कमजोरी स्वीकारेर जनतासँग पुगेर उनीहरुले के कुरा चाहन्छन् भन्ने कुराको विश्लेषण गर्नु जरुरी छ ।’

पूर्वमाओवादी नेता देवेन्द्र पौडेल पनि सबैले आआफ्नो पार्टीको गल्ती कमजोरीलाई केलाएर मात्रै कुन बाटो रोज्ने भन्नेको विश्लेषण हुने बताउँछन् । उनी पनि अहिलेसम्म पार्टीहरूले आफ्नो गल्ती कमजोरीलाई नै विश्लेषण नगरिसकेको हुनाले कुनै एकताको सम्भावना नरहेको बताउँछन् ।

एमाले र नेपाली कम्युनिस्ट पार्टीका दोस्रो तेस्रो तहका नेताहरू पनि पार्टीले गल्ती कमजोरीलाई विश्लेषण नगरिकन अगाडि बढे पुनः ०७४ को जस्तै दुर्घटना हुने बताउँछन् । कम्युनिस्ट पार्टीहरूलाई नजिकबाट नियालिरहेका कम्युनिस्ट नेता घनश्याम भुसाल पनि अपरिपक्क एकताले अघिल्लो घाउ सबैमाथि बल्झिरहेको विश्लेषण गर्छन् ।

अझै पनि नेतृत्व तहमा रहेका कम्युनिष्ट पार्टीहरूका नेतामा सत्तामोह प्रवृत्ति भएकाले यो प्रवृत्तिको अन्त्यका लागि उनीहरुलाई सम्मानजनक बिदा हुनुपर्ने उनको मत छ । दोस्रो तेस्रो तहका नेताले लिड गरेको खण्डमा मात्रै कम्युनिष्ट आन्दोलन उचाइमा पुग्ने उनको विश्वास छ । आफूहरूकै गल्तीका कारण नयाँ शक्तिहरू उदाएर सदनसम्म पुगेकाले यो कुरा सबै नेतृत्वसहित आफूले पनि बुझ्न जरुरी रहेको उनी स्वीकार्छन् ।

दुई तीनवटा दल मिल्दा मात्रै कम्युनिस्ट एकता हुने हो ?

पूर्वराष्ट्रपति भण्डारी अहिले नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेको एकताका लागि भगीरथ प्रयत्नमा छिन् । दुई ठूला पार्टीको एकताको प्रयत्नमा लाग्दा फुटेका २२ २३ वटा कम्युनिस्ट घटकहरूसँग उनले कुनै संवाद गरेको देखिँदैन । ती नेताहरूलाई उनले भेटेकी पनि छैनन् । हुन त सोमबार एक कार्यक्रममा वाम नेता भीम रावलले पनि सबै दलहरु सचिएर वृहत्तर कम्युनिस्ट एकताको पक्षमा उभिनुपर्ने आवाज उठाए ।

यही आवाज नेपाली कम्युनिस्ट पार्टी नेकपाका महासचिव विप्लवले पनि विगतमा उठाएका थिए । तर अहिले उनी राजनीतिक परिदृश्यमा बेपत्ताजस्तै छन् । यस्तै पुराना वाम नेता चित्रबहादुर केसी, वैचारिक नेताहरू घनश्याम भुसाल, जनार्दन शर्माहरुसँग पनि भण्डारीको संवाद भएको देखिँदैन । एक दुईवटा कम्युनिस्ट पार्टीले मात्रै वृहत्तर वाम एकता नहुने कारण वामपन्थी शक्तिहरू जुट्नका लागि स्थिति अनुकूल भएपनि नेताहरूले अनुकूल नबनाएको विश्लेषण गरिन्छ ।

मुख्यतया पदलोलुप प्रवृत्ति र त्यागको भावना नआउनुले कम्युनिस्ट एकताका लागि नेताहरू तयारी नभएको विश्लेषक मुमाराम खनालको भनाइ छ । ‘एकताका लागि त्यागको भावना कोही पनि नेतामा देखिँदैन । परिस्थिति अनुकूल छैन भन्ने कुराहरू उहाँहरुले मज्जाले बुझ्नुभएको छ । तर सच्चिने प्रयत्न देखिँदैन ।’ खनाल भन्छन, ‘आ-आफ्नो पार्टीमा गहन ढङ्गले विश्लेषण समेत हुन सकेको छैन । दोस्रो र तेस्रो तहका नेताभन्दा पनि पहिलो तहका नेताहरूमा अझै लोभ छ । एमाले र नेपाली कम्युनिस्ट पार्टी मिल्दा मात्रै कम्युनिस्ट एकता हुने होइन वृहत्तर कम्युनिष्ट एकताको लागि त संवादहरू नै भएका छैनन् ।’

शीर्ष नेताहरु पद त्यागेर अगाडि बढ्न तयार भए वृहद कम्युनिस्ट एकताका लागि बहस हुनुपर्ने विश्लेषकहरु बताउँछन्। नेताहरू जनस्तरमा पुगेर उनीहरूको गुनासो सुन्ने र सबै घटकहरूले त्याग भावना राखेर एकताका लागि तयार हुनुपर्ने उनीहरुको मत छ।

विभिन्न कालखण्डमा फुटेका २२–२३ वटा कम्युनिस्ट घटकहरूले पनि नसच्याएपछि वृहत्तर कम्युनिस्ट एकताको संकेत तत्काल देखिएको छैन । तर बहसहरु भने हुन सुरु भएको छ । कम्युनिष्ट घटक मिलेको खण्डमा अहिले प्रतिनिधिसभामा दोस्रो दल बन्ने अवस्था छ । तर १८२ सिट राष्ट्रिय स्वतन्त्र पार्टीको रहेकाले सम्मानजनक ठाउँमा भने उनीहरू अझै पुग्दैनन् । दुई वटा कम्युनिस्ट घटक मिलेको खण्डमा उनीहरूको सिट ४०-४२ सम्म पुग्छ ।

भण्डारी के चाहन्छिन् ?

पछिल्लो समय भण्डारी सक्रिय राजनीतिमा फर्कन चाहेको कुरा उनको सचिवालय सदस्य राजकुमार राई स्वीकार गर्छन् । तर वाम आन्दोलनकै नेतृत्व गरेर राजनीतिमा फर्किन चाहेको हो भन्ने कुरामा उनी जवाफ दिने ठाउँमा छैनन् । ‘पार्टी सदस्यता नवीकरण भएको हिसाबले स्वभाविक उहाँ राजनीतिमा फर्किन चाहेको स्पष्ट छ। आम पार्टी शुभचिन्तकहरूले पनि उहाँ फर्किनुपर्छ भन्ने सद्भावना राख्नुभएको थियो ।’ राई भन्छन, ‘नेताहरूले चाहेको खण्डमा अहिलेको आवश्यकता वृहत कम्युनिस्ट एकता हो । यसको नेतृत्व उहाँले गर्नुपर्छ भन्ने पक्षमा धेरै नेताहरु खुल्नुभयो भने त्यो पनि सम्भावना छ । आवश्यकताले दिएको जिम्मेवारी उहाँले वहन गर्नुहुन्छ ।’

भण्डारी निकट अर्का नेताले दिएको जानकारी अनुसार उनी एमाले अध्यक्ष ओलीको विकल्पमा केही समय पार्टी नेतृत्वमा रहने तयारीमा छिन् । अब बस्ने केन्द्रीय कमिटी बैठकले सबै कमिटीहरु भङ्ग गरेर नयाँ तदर्थ समिति निर्माण गरेको खण्डमा भण्डारीलाई अगाडि सार्ने सक्ने संकेत ती नेताको छ । तर धेरै दोस्रो र तेस्रो तहका नेताले भण्डारी विकल्प होइन भनिरहेको अवस्थाका कारण पछिल्लो राजनीतिक परिस्थितिलाई नियालिरहेको ती नेताको भनाइ छ।

‘पाए त उहाँ आज भोलि नै एमालेको नेतृत्वमा पुग्ने हो । तर केन्द्रीय कमिटीको निर्णयले सबै कमिटीहरु भङ्ग गरेर आयोजक कमिटी अथवा तदर्थ कमिटी बनाएर केही समयको लागि उहाँलाई नेतृत्वमा सारेर महाधिवेशन गरेको खण्डमा उहाँ आउने सम्भावना छ । तर यो अवस्थामा पनि दोस्रो र तेस्रो तहका नेताहरु कति तयार हुनुहुन्छ भन्ने अर्को कुरा हुन्छ ।’ ती नेता भन्छन, ‘परिस्थिति हेर्दा विद्या आउ पार्टी सम्हाल भन्ने अवस्थामा अरु एमाले नेताहरु पनि पुगिसक्नुभएको छैन । किनभने परिस्थिति अहिले युवाको छ । पुराना पुस्तालाई बिदा गरौँ भन्ने नै देखिन्छ । उहाँले चाहेको सक्रिय अवस्थामा आउन नै हो । निश्चित समयको लागि उहाँलाई नेतृत्व मानेर जाने अवस्था रहेपनि आगामी चुनावसम्म भने हुँदैन ।’

भण्डारीको सक्रियता हेर्दा पनि सके कम्युनिस्ट एकताको नेतृत्व गर्ने नसकेको खण्डमा पनि ओलीको अप्सनमा आफू नेतृत्वमा आउने तयारीमा छिन् । नेकपा एमालेले अहिलेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छैन । प्रदेश कमिटीमा निर्वाचनको समीक्षा र पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण गर्दै गर्दा उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमाले अहिले समीक्षामा गहन तरिकाले अगाडि बढेको देखिँदैन ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : ५६ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर