एजेन्सी– दुई इजरायली सैनिकको मृत्यु हुने गरी प्यालेस्टिनीहरूले गोली प्रहार गरेपछि सुरु गरिएको १० दिने सैन्य कारबाही अन्त्य गर्दै इजरायली सेनाले सोमबार वेस्ट बैंकको हेब्रोन सहरबाट आफ्ना फौज फिर्ता गरेको छ ।
इजरायली सेनाका एक अधिकारीले यसबारे जानकारी दिएका हुन् । इजरायलको ‘आर्मी रेडियो’ का अनुसार, गत हप्ता भएको संसदीय निर्वाचनअघि नै उक्त कारबाही अन्त्य गर्न सेनाले आग्रह गरेको थियो । तर, रक्षामन्त्री इजरायल काट्जले आइतबार राति मात्र सेना फिर्ता बोलाउने निर्णय गरेका थिए ।
अक्टोबर २३ मा सुरु भएको सैन्य कारबाहीका क्रममा प्यालेस्टिनी परिवारहरूलाई विस्थापित गरिएको थियो भने घरहरू भत्काउनुका साथै सर्वसाधारणको आवागमनमा व्यापक प्रतिबन्ध लगाइएको थियो । सेना फिर्ता भएपछि सोमबारदेखि स्थानीय बासिन्दाहरू आ-आफ्ना घर फर्कन थालेका छन् ।
इजरायली सेनाका प्रवक्ताले जारी गरेको विज्ञप्तिअनुसार, कारबाहीका क्रममा चार थान हतियार बरामद गरिएको छ । यस क्रममा दुई जना प्यालेस्टिनी आक्रमणकारीका घर भत्काइनुका साथै दर्जनौँ शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो ।














प्रतिक्रिया