काठमाडौं महानगरका वडामा सीसीटिभी जडान तीव्र, ३० र २९ मा क्यामरा सञ्चालन « Khabarhub

काठमाडौं महानगरका वडामा सीसीटिभी जडान तीव्र, ३० र २९ मा क्यामरा सञ्चालन


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वडास्तरमा अत्याधुनिक सीसीटिभी क्यामरा जडानलाई तीव्रता दिएको छ ।

फाइबर इन्ट्रानेटमार्फत निगरानी कक्षसँग जोडिने प्रणाली विस्तार हुँदै जाँदा वडा नम्बर ३० मा २९ वटा सीसीटिभी क्यामरा जडान गरी बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ । प्रणाली महानगरीय प्रहरी वृत्त मालीगाउँमा जडान गरिएको छ ।

महानगरका अनुसार नेपाल टेलिकमसँगको सहकार्यमा फाइबर इन्ट्रानेटमार्फत क्यामरा जोडिँदा प्रणाली दिगो र भरपर्दो बनेको छ । यसअघि वडा नम्बर २६ ले ७७ वटा क्यामरा जडान गरी निगरानी कक्ष सञ्चालनमा ल्याइसकेको छ । वडा नम्बर ३२ बोलपत्र आह्वानको चरणमा छ भने वडा १४ मा बोलपत्र आह्वान भइसकेको छ । वडा ३ पनि बोलपत्र प्रक्रियामा छ ।

भूमिगत प्राइमरी नेटवर्कबाट सञ्चालन हुने भएकाले क्यामरा बिग्रिने समस्या कम हुने, बिग्रिएको स्थान तत्काल पत्ता लाग्ने र छिटो मर्मत सम्भव हुने महानगरको दाबी छ । सहरभर जडान हुने क्यामराको दृश्य निगरानीका लागि बालाजु वाइसधारा उद्यान क्षेत्रमा केन्द्रीय सर्भिलेन्स रुम निर्माणका लागि सम्झौता भइसकेको छ । प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि अल्ट्रा एचडी (४के) गुणस्तरमा आवाजसहित दृश्य, तथ्याङ्क र विवरण प्राप्त हुनेछन् । घटना भए स्वचालित रूपमा प्रहरी र सम्बन्धित अधिकारीलाई फोटो र दृश्यसहित सूचना पुग्ने व्यवस्था रहनेछ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईका अनुसार अपराधजन्य घटनामा क्यामरामा क्षति पुर्‍याउने प्रयास बढेकाले ‘एउटा क्यामरामा क्षति भए अर्कोले सूचना पठाउने’ प्रणाली विकास गरिँदैछ । ‘क्यामरा सुरक्षित राख्दै सहरको निगरानी प्रभावकारी बनाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयो ।

वडा नम्बर ३० मा एक वटा पीटीजेड र २८ वटा बुलेट क्यामरा जडान गरिएको छ । वडासचिव देवराज जोशीका अनुसार ६९ लाख ९७ हजार रुपैयाँ लागत अनुमान गरिएकोमा ४३ लाख ९३ हजार रुपैयाँ कबोल गर्ने नयाँ किरण अल नेपाल जेभीबाट काम सम्पन्न गरिएको हो । आर्थिक वर्ष २०८१-०८२ को बजेटबाट बैशाख २६ गते बोलपत्र आह्वान भई कार्तिक १४ गते कार्यादेश दिइएको थियो । पुस ८ गते जडान कार्य पूरा भएको छ ।

एआई प्रविधिमा आधारित यी क्यामरामा ८ मेगापिक्सेल र ४ मेगापिक्सेल सेन्सर छन् । ५५० मिटरसम्मका दृश्य स्पष्ट कैद गर्न सक्ने क्षमताका क्यामराले सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार पहिचान, आवतजावतको गणना र वातावरणीय अवस्था समेत विश्लेषण गर्न सक्छन् । बत्ती गए पनि चल्ने ब्याकअप पावरको व्यवस्था गरिएको छ ।

महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायब उपरीक्षक धनबहादुर बोहोराका अनुसार सीसीटिभीका कारण अपराध अनुसन्धान प्रभावकारी बनेको छ । ‘काठमाडौँबाट चोरी गरेर भागेको चोरलाई दाङबाट पक्राउ गर्न सकियो,’ उनले भने, ‘यो प्रणाली हाम्रो लागि तेस्रो आँखा हो ।’

वडास्तरका प्रणालीसँगै महानगरको गौरव योजना ‘महानगरपालिकाले देख्छ’ कार्यक्रमअन्तर्गत पाँच प्याकेज मूल्याङ्कन चरणमा छन् । यी प्याकेजका क्यामराको विशेषता पनि वडामा जडान गरिएका क्यामरासरह हुने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १२ : ०९ बजे

प्रचण्डले जितेको गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको

पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

डुम्रे– पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् ।

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ– हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष