गणितमा बलिया, समयसँग कमजोर ओली « Khabarhub

गणितमा बलिया, समयसँग कमजोर ओली

मतदाता भड्किएपछि एक घर, एक कार्यकर्ता अभियान



काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट आठौँ पटक उम्मेदवार भएका छन् । २०४८ सालदेखि झापा ५ बाट निर्वाचन लड्दै आएका ओलीलाई यस पटक युवाहरूले पत्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह भारी बन्ने अवस्था देखिएको छ।

खासगरी भदौ २३ र २४ को जेन-आन्दोलनपछि उनले घृणा, अपमान, गाली सबै खाइरहेका छन् । त्यहीकारण सजिलै जित्दै आएको झापा ५ मा यस पटक उनी सशङ्कित देखिन्छन् । वर्षौंदेखि निर्वाचन जित्दै आएका ओली गणितमा बलिया भए पनि समयसँग कमजोर देखिन्छन् । उनी पहिलाजस्तो आक्रमक र उपदेश दिने शैलीमा उत्रिएका छैनन् । उनको अनुहारमा पनि तनाव देख्न सकिन्छ।

कारण तत्कालीन अवस्थामा प्रधानमन्त्री भएका बेला भदौ २३ र २४ गते जेन-जी आन्दोलन दमन गर्न भूमिका खेलेको आरोप उनीमाथि नवयुवा पुस्ताले लगाइरहेको छ । 

एमाले सङ्गठन र विचारमा राम्रो हुँदाहुँदै पनि ओलीको एकांकी सोच र शैलीका कारण पार्टीलाई घाटा लाग्ने धेरैले विश्लेषण गरेका छन् । युवापुस्ताको माग, समय र शैलीसँगै प्रतिस्पर्धा गर्न ओलीलाई यो पटक कठिन देखिन्छ । 

फागुन २१ गतेको निर्वाचनबाट पराजित गरेर ओलीलाई राजनीतिबाट बिदा गर्ने लक्ष्यसहित काठमाडौंका पूर्वमेयर बालेन्द्र साह झापामा छन् । उनी झापा जित्ने लक्ष्यसहित देश दौडाहा गरिरहँदा ओली चुपचाप छन् ।

मौन बसेर परिस्थिति नियालिरहेका ओलीले झापा ५ मा एक घर एक कार्यकर्ता खटाउने योजनाअनुसार चुनावी कमान्डरमा देवेन्द्र दाहाललाई तोकेका छन् । 

दाहाल अब ओलीलाई जिताउन एक घर एक कार्यकर्ता परिचालन गर्ने तयारीमा देखिन्छन् । गणितमा बलियो भएकै कारण आफू पराजित नहुने विश्वास ओलीले देखाउँदै आएका छन् । 

उनी निर्वाचनपछि एमाले पहिलो शक्ति बन्ने बताउँदै त्यसपछि आफू प्रधानमन्त्री हुनेमा द्विविधा नरहेको तर्क गर्छन् । तर समयले उनलाई कमजोर बनाएको देखिन्छ ।

चुनावबाट भाग्ने कडीको खोजी

फागुन २१ मा निर्वाचन हुने भएपछि सरकारले माघ ६ मा उम्मेदवारी दर्ताको समय दिएको थियो। उनी उम्मेदवारी दर्ता गर्न माघ ५ गते चन्द्रगढी विमानस्थल हुँदै झापा झरे । 

झापामा ओलीले पत्रकारहरूसँग सरकारले निर्वाचन गराउने विषयमा शङ्का गर्ने ठाउँ रहेको दाबी गरे । केही थकित देखिएका ओलीले निर्वाचन सार्न खोजेर एमालेप्रतिको असन्तुष्टि चिर्न खोजेको देखिन्थ्यो।

त्यसपछि लगातार अहिलेसम्म पनि होली निर्वाचनमा शङ्का गरिरहेका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न एमालेले विज्ञहरूसँग राखेको छलफलमा ओली चुनाव हुनेमा संशय व्यक्त गरेका थिए । 

आजका दिनसम्म निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण सरकारले बनाउन नसकेको आरोप ओलीसहित एमालेजनले लगाउने गरेका छन् । 

यति मात्रै होइन, ओलीले शनिबार ओखलढुङ्गा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा पनि  सरकारमाथि आरोप लगाउन भ्याए ।

अध्यक्ष ओलीले वर्तमान सरकारले चुनावको मुखमा प्रशासनिक हेरफेर गरेर धाँधलीको तयारी गरेको आरोप लगाए । त्यसबेला सरकारले कुनै अमुक पार्टीलाई जिताउन लागेको आरोपसमेत प्रधानमन्त्री सुशीला कार्कीमाथि लगाए ।

‘यदि सरकार यसलाई जिताउने र उसलाई जिताउने भनेर लाग्छ भने, त्यस्तो निर्वाचन स्वीकार्य हुँदैन, त्यस्तो परिणाम स्वीकार्य हुँदैन’, उनले भने, ‘भइरहेका अधिकारीहरू हटाएर, समय नपुग्दै हटाएर अरू कर्मचारी पठाउनुको अर्थ के हो ? के को अनुकूलता मिलाउन खोजिएको हो ? निर्वाचन गर्ने हो भने स्वतन्त्र निर्वाचन, धाँधलीरहित निर्वाचन, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनुपर्छ।’

अहिले ओली के चाहन्छन् भन्ने विषयमा प्रश्न गर्दा उनीसँग लामो समय काम गरेका वामपन्थी नेता तथा राजनीतिक विश्लेषकहरू उनी प्रतिनिधि सभा पुनर्स्थापना गरेर आफू पुनः प्रधानमन्त्री बन्न चाहेको बताउँछन् । आजका दिनसम्म एमाले अध्यक्ष ओलीले निर्वाचन नहुने विषयमा शङ्का गर्नुले उनी निर्वाचनबाट भाग्न खोज्दै छन् भन्ने स्पष्ट देख्न सकिने राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन्।

देशव्यापी रूपमा एमालेमाथि प्रहार भइरहेका बेलामा ओली आफू सेभ हुन निर्वाचन बिथोल्ने प्रयासमा पक्कै देखिन्छन्। यसै अनुरूप उनले बोल्ने हरेक सार्वजनिक भाषणमा ओलीले निर्वाचनमाथि शङ्का राखेका हुन् ।

जिल्ला निस्केनन् ओली

निर्वाचन आउन अब करिब एक महिनाको समय मात्र छ । नोमिनेशनमा झापा आएर केही दिन बसेका उनी फर्केर काठमाडौंमै छन् । 

एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरीका अनुसार २३ गते झापा फर्किने कार्यक्रम छ। पाको शरीर र स्वास्थ्यका कारण पनि ओलीले यसपटकको निर्वाचनमा जिल्ला दौडाहालाई  कम गर्ने उनको सचिवालयको दाबी छ।

‘एमालेलाई निर्वाचन जित्न जिल्ला दौडाहा गर्नै पर्दैन। यसै पनि स्वास्थ्यका कारण अध्यक्षज्यू यो पटक सबै जिल्ला पुग्नुहुन्न’, ओलीको सचिवालय भन्छ, ‘उहाँ सबै जिल्ला पुगेर काम गर्नै पर्दैन, जसरी पनि एमालेले बहुमत ल्याउँछ । एमालेमाथि बाहिर जसरी प्रहार भइरहेको छ, भित्र त्यस्तो छैन ।’

एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ पनि स्वास्थ्य अवस्थाका कारण पहिला जति जिल्ला दौडन नसकेपछि केही दिनपछाडि उनी जिल्लागत दौडाहामा निस्किने बताउँछन्। ‘निर्वाचनको माहौल सुरु भएकै छैन । निर्वाचन आचार समातिले पनि प्रचारप्रसार गर्न ४ गते अगाडि धेरै दिँदैन’, गुरुङ भन्छन्, ‘पार्टीका घोषणा पत्रहरूलाई अन्तिम रूप दिने काम भइरहेको छ । त्यसकारण पनि शीर्ष नेतासहित अध्यक्षज्यू जिला दौडाहामा निक्लिन नभ्याउनु भएको हो ।’

नवयुवाको विकर्षण टाउको दुखाई

एमालेका मतदाताहरू कसलाई मत दिने भन्ने कुरामा अहिले झापा ५ मा अन्योल छन् । एमाले झापा ध्यक्ष गिरीका अनुसार अन्योल चिर्नका लागि एमाले मसिनोसँग खट्नुपर्ने अवस्था छ। 

‘मतदाताहरूमा कसलाई भोट दिने भन्ने विषयमा अन्योल सिर्जना भएको बुझेको छु । तर हाम्रो संगठनको आकार बिग्रिएको छैन’, गिरी भन्छन्, ‘नवदुलही भित्र्याउँदा घरमा हेर्न आउनेको भिड लाग्छ ।  त्यस्तै भिड अहिले झापा पाँचमा टुरिस्ट उम्मेदवारविरुद्ध लागेको देखिन्छ । तर हाम्रो संगठन बिग्रिएको छैन, केही मतदाता अन्योलमा परेको पक्कै हो ।’

स्थानीय मतदाता सुरज राजवंशीका अनुसार अहिले बाबुआमा पुस्ताहरू केही मात्रै केपी ओलीको विषयमा खुलेका छन् । नवयुवा पुस्ता काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई भोट दिने पक्षमा छन् । सुरजका अनुसार त्यहाँ एमालेले एक घर एक कार्यकर्ता खटाउन तयारी गरिरहेको छ ।

सामाजिक सञ्जालको तनाव

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल सबै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेकाले चुनाव जित्न कुनै कठिन नरहेको बताउँछन्।

‘केन्द्रमा एउटा निर्वाचन परिचालन समिति छ। यस्तै स्थानीय तहमा, वडाहरूमा अनि टोलमा र घरसम्म पुग्ने पुग्ने पनि हामीले कमिटी बनाएका छौँ’, दाहाल भन्छन्, ‘फेसबुक, टिकटक लगायत फलानोले त जितिसक्यो भन्ने प्रचार भएको छ। यसलाई चिर्न एक घर एक कार्यकर्ता परिचालन गर्छौं । यो घर यसको यो घर यसको भनेर अहिलेसम्म बाँडफाँड गरिएको छैन। तर हामी त्यो बाँडफाँडको तयारीमा समेत लागेका छौँ।’

दाहाल मत सर्भे गरिरहेकाले सर्भेको परिणाममा हल्ला गरेजस्तो नआएको दाबी गर्छन् ।

‘हामीले एक चरणको घरदैलो लगभग सकेका छौँ । अब ४ गते पछाडि आक्रामक रूपमा निर्वाचनको माहोल तात्छ। स्याम्पल लिएर सर्भे गरेका थियौँ । सर्भेमा हाम्रो माहोल बिग्रिएको रिजल्ट आएको छैन’, दाहाल थप्छन्, ‘हामीले क्षेत्र नम्बर ५ का चारवटै स्थानीय तहमा सर्भे गरेका थियौँ। हाम्रो उम्मेदवार घरघर जान सम्भव नभएका कारण हामी आफैँ खट्छौँ।’

दाहालका अनुसार ओली वडागत रूपमा स्वास्थ्यले साथ दिए चुनावी अभियानमा खट्नेछन् । दाहाल निर्वाचन जित्न ओलीलाई कठिन नरहेको तर भ्रम चिर्न मसिनो गरी खट्नुपर्ने अवस्था रहेको बताउँछन्। 

‘उहाँविरुद्ध विशेषतः जेन-जी आन्दोलनलाई लिएर भ्रम फैलाइएको छ, यसलाई चिर्न केही कठिन छ तर निर्वाचन जित्न गाह्रो छैन’, दाहाल भन्छन्, ‘जेन-जी पुस्तामा भ्रमको असर छरिएको छ । तर हामीले उहाँहरूलाई सम्झाइरहेका छौँ । एक महिनाभन्दा लामो समय भएकाले त्यो पुस्ताले बिस्तारै कुरा बुझ्नुहुन्छ भन्ने विश्वास छ। जेन-जी पुस्ताकै कारण जितहारमा ओलीलाई असर पर्ने अवस्था छैन।’

झापा निर्वाचन ५ मा श्रम संस्कृति पार्टीका उम्मेदवारले कमल गाउँपालिका लगायत दमक नगरपालिकाको केही मत काट्ने देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्रलाई सबै क्षेत्रबाट मत आउने अवस्था रहँदा नेकपाका उम्मेदवार रञ्जित तामाङलाई आदिवासी जनजाति र वामपन्थी नेताहरूको मत झर्ने बुझिन्छ । विशेषतः यहाँ बालेन्द्र र ओलीबीचै प्रतिस्पर्धा हुने अनुमान गरिन्छ । 

एमाले स्रोतले दिएको जानकारी अनुसार ओलीले नेकपा अथवा श्रम संस्कृति पार्टीसँग तालमेल अगाडि बढाउन खोजेका छन् । यी दुईबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि ओली तालमेलका लागि तम्तयार छन् । 

तर यी कुनै दलहरूले ओलीसँग तालमेल गर्न हरियो बत्ती बालेका छैनन् । विगतमा झापा ५ मा र झापा ३ मा एमाले र राप्रपाबीच तालमेल हुने गरेको थियो । 

यो पटक दुई पार्टीबीच तालमेल नहुने राप्रपा अध्यक्ष लिङ्देन बताउँछन् । चुनावी कमान्डर दाहाल पनि अहिलेसम्म कुनै दलसँग तालमेल गर्ने सम्भावना नरहेको दाबी गर्छन् ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ५ : ४६ बजे

प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक, कुनले कति कमाए ?

काठमाडौं – चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा

बनियानी – कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा

सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौं– श्रीलंकाको कोलम्बोमा हुने छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति भएकाले