भारतमा उत्पादन क्षेत्रको विस्तार तीव्र « Khabarhub

भारतमा उत्पादन क्षेत्रको विस्तार तीव्र


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको उत्पादन क्षेत्रको विस्तार मे महिनामा विगत तीन महिनायताकै तीव्र गतिमा भएको छ । लगातारको उच्च मागका कारण उत्पादन क्षेत्रमा सुधार देखिएको हो । यद्यपि, विगत चार वर्षयताकै उच्च मूल्यवृद्धिको दबाब र व्यावसायिक उत्साहमा आएको केही कमीका बीच पनि यो वृद्धि हासिल भएको एक सर्वेक्षणले देखाएको छ ।

एस एन्ड पी ग्लोबलले तयार पारेको ‘एचएसबीसी इन्डिया म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर्स इन्डेक्स’ (पीएमआई) अप्रिल महिनामा ५४.७ रहेकोमा मे महिनामा बढेर ५५.० पुगेको छ । यो तथ्याङ्क यसअघि अनुमान गरिएको ५४.३ भन्दा बढी हो । सूचकांकमा ५० भन्दा माथिको अङ्कले उत्पादन क्षेत्रमा भएको वृद्धिलाई जनाउँछ ।

माग मापन गर्ने मुख्य आधार मानिने नयाँ अर्डरहरू मे महिनामा गत फेब्रुअरी यताकै तीव्र गतिमा बढेका छन् । सिभिल इन्जिनियरिङ परियोजनाहरू, प्रतिस्पर्धी मूल्य निर्धारण र अनुकूल बजारका कारण नयाँ अर्डरमा वृद्धि भएको हो । यस पटकको आर्थिक वृद्धिको मुख्य संवाहक आन्तरिक माग नै रहेको छ । वैदेशिक निर्यात तर्फको अर्डरमा पनि राम्रो वृद्धि त भएको छ, तर यो विगत तीन महिनायताकै सुस्त गतिमा छ ।

विशेष गरी मध्यवर्ती र पूँजीगत सामानको उत्पादनमा भएको वृद्धिका कारण समग्र कारखाना उत्पादन तीन महिनायताकै तीव्र गतिमा बढेको छ । तर, उपभोग्य वस्तु उत्पादकहरूको वृद्धिदरमा भने केही सुस्तता देखिएको छ । यसैगरी, उद्योगहरूमा रोजगारीको सिर्जना हुने क्रम जारी रहे पनि अप्रिल महिनाको तुलनामा मे महिनामा यसको गति केही सुस्त भएको छ ।

पछिल्लो समय ऊर्जा, इन्धन, कच्चा पदार्थ र ढुवानी खर्च बढेका कारण उद्योगहरूको लागत मूल्य (इनपुट प्राइस) मा ठूलो वृद्धि भएको छ । विगत चार वर्षको अवधिमा अप्रिल महिनाबाहेक मे महिनामा लागत मूल्य सबैभन्दा उच्च गतिमा बढेको हो, जसमा मध्यपूर्वमा जारी युद्धलाई पनि एउटा कारण मानिएको छ । विभिन्न क्षेत्रहरूमध्ये पूँजीगत वस्तु उत्पादकहरूले सबैभन्दा बढी लागत वृद्धिको सामना गर्नु परेको छ ।

लागत खर्च बढे पनि बजारमा तीव्र प्रतिस्पर्धा भएका कारण कम्पनीहरूले त्यसको सम्पूर्ण भार ग्राहकमाथि थपिएका छैनन् । जसका कारण बिक्री मूल्यको वृद्धिदर अप्रिल महिनाको तुलनामा केही कम भएको छ र यो लागत वृद्धिको तुलनामा अझै तलै छ । बढ्दो लागतका बाबजुद पनि उत्पादकहरूले सम्भावित जोखिम टार्न र मौज्दात (स्टक) बढाउनका लागि कच्चा पदार्थ खरिद गर्ने कार्यलाई तीन महिनायताकै तीव्र बनाएका छन्।

भविष्यमा लागतको दबाब कम हुने, नयाँ अर्डरहरू निरन्तर आउने र बजार व्यवस्थापनका प्रयासहरू सफल हुने आशामा व्यवसायीहरू अझै पनि सकारात्मक छन्। तर, आगामी दिनप्रतिको व्यावसायिक आत्मविश्वास भने गत फेब्रुअरी महिना यताकै तल्लो स्तरमा झरेको छ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ४ : ४६ बजे

९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही

काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका