राजनीतिक दाउपेचले सुस्ताएको कृषि : कहिले भित्रिएला स्मार्ट एग्रिकल्चर ? « Khabarhub

राजनीतिक दाउपेचले सुस्ताएको कृषि : कहिले भित्रिएला स्मार्ट एग्रिकल्चर ?



नेपालमा राजनीतिक परिवर्तन र सरकार फेरबदलको शृङ्खला निकै लामो छ । व्यवस्था पटक–पटक बदलिए, शासकीय स्वरूप फेरिए र सरकार बदलिए । तर, देशको मुख्य मेरुदण्ड मानिएको कृषि क्षेत्र र यसमा अहोरात्र खट्ने किसानको नियति भने दशकौँदेखि जस्ताको तस्तै छ ।

सरकार परिवर्तन हुनासाथ कृषि क्रान्तिका नयाँ नारा तय हुन्छन्, मोटा–मोटा नीतिगत दस्तावेज बन्छन्, तर ती सबै सिंहदरबारका दराजमै सीमित हुन पुग्छन् । व्यावहारिक धरातलमा वास्तविक किसानले भोग्नुपर्ने मलको हाहाकार, सिँचाइको अभाव र बजारको अनिश्चितता उस्तै रहनुले नेपाली कृषि नीति केवल राजनीतिक दाउपेचको सस्तो नारा मात्र बनेको प्रमाणित हुँदै गएको छ ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र यतिबेला वर्षकै सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील मोडमा आइपुगेको छ । मानो रोपेर मुरी उब्जाउने असार महिना मध्यमा पुगिसकेको छ र देशभरका किसान धान रोपाइँको चटारोमा जुटिरहेका छन् । तर, विडम्बना ! खेतीको सिजन घर्कन लाग्दा पनि आकाशतिर हेरेर बस्नुपर्ने नेपाली किसानको नियति यस वर्ष पनि बदलिएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर जुन १३ मा भित्रिनुपर्ने मनसुन यस वर्ष गत वर्षभन्दा ढिलो भइसकेको छ ।

नेपालको मुख्य खाद्यान्न बाली धान भएकाले समयमै रोपाइँ हुन नपाउँदा यसको उत्पादन चक्र पूरै बिग्रिन्छ । ढिलो रोपाइँ गर्दा बाला लाग्ने समयमा तापक्रम घट्ने र उत्पादनमा ह्रास आउने सम्भावना रहन्छ, जसले एकातिर किसानको लगानी र मिहिनेत खेर फाल्छ भने अर्कोतिर मुलुकमा खाद्य असुरक्षा बढाउँछ । परिणामस्वरूप, चामल लगायतका खाद्यान्न आयातमा थप अर्बौँ रुपैयाँ बाहिरिने निश्चितप्रायः देखिन्छ ।

ढिलो रोपाइँ गर्दा बाला लाग्ने समयमा तापक्रम घट्ने र उत्पादनमा ह्रास आउने सम्भावना रहन्छ, जसले एकातिर किसानको लगानी र मिहिनेत खेर फाल्छ भने अर्कोतिर मुलुकमा खाद्य असुरक्षा बढाउँछ ।

यसको आर्थिक तथा सामाजिक प्रभाव झनै गहिरो र दूरगामी छ । नेपालमा कृषिको योगदान उल्लेख्य रहेकाले मनसुन ढिलो हुँदा उत्पादन घट्छ, जसको सीधा असर देशको आर्थिक वृद्धिदरमा पर्न जान्छ । समयमा पानी नपर्दा ब्याडमा राखेको बीउ डढ्ने वा बुढो हुने हुँदा किसानमा मानसिक र आर्थिक तनाव थपिन्छ । मनसुन ढिलो गरी सुरु हुँदा कहिलेकाहीँ छोटो अवधिमा अत्यधिक वर्षा हुने खतरा रहन्छ, जसले पहाडमा पहिरो र तराईमा आकस्मिक बाढीको जोखिमलाई बढाएर धनजनको ठूलो क्षति निम्त्याउन सक्छ ।

आकासे पानीको भर पर्नुपर्ने हाम्रो संरचनागत कमजोरी र जलवायु परिवर्तनका कारण अनपेक्षित बन्दै गएको मनसुनी चक्रबीचको खाडल नै नेपाली कृषिको सबैभन्दा ठूलो चुनौती हो ।

यस परिस्थितिले हाम्रो राज्य संयन्त्रलाई एउटा बलियो पाठ सिकाएको छ कि, अब पनि परम्परागत शैलीमै आकासे पानी ढुकेर बस्ने परिपाटीको अन्त्य हुनैपर्छ । सरकारले नारामा मात्र ‘कृषिप्रधान देश’ भनेर पुग्दैन, व्यवहारमा प्रत्येक खेतमा बाह्रै महिना सिँचाइ पुर्‍याउने योजनालाई राष्ट्रिय गौरवको प्राथमिकतामा राख्नुपर्छ ।

आज तराईका उर्वर धानखेत कङ्क्रिटका स्टोर र प्लटिङका नाममा बगरमा परिणत भइरहेका छन् भने पहाडका पाखा वनमारा र झाडीले पुरिँदै छन् । एकातिर खाद्यान्नमा परनिर्भरता आकासिएको छ भने अर्कोतिर उत्पादनको मेरुदण्ड मानिएको युवा जनशक्ति विदेशी मरुभूमिमा पसिना बगाउन बाध्य छ । यो नेपाली समाजको सबैभन्दा तीतो र डरलाग्दो यथार्थ हो ।

कृषिलाई उत्पादनमुखी र मर्यादित पेसा बनाउन अब पुरानै शैलीका नीति र सुस्त कार्यान्वयनले सम्भव छैन । यसका लागि परम्परागत प्रविधिलाई विस्थापित गर्दै वैज्ञानिक र आधुनिक प्रविधिको आत्मसात् गर्नु अनिवार्य भइसकेको छ । आधुनिक कृषिको मुख्य जग नै समय, श्रम र स्रोतको उच्चतम सदुपयोग हो । हाल नेपालको कृषि क्षेत्र श्रमप्रधान छ, जहाँ लागत बढी र उत्पादन कम हुने गर्दछ । यसको साटो यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढाएर उत्पादन लागत घटाउनु पहिलो आवश्यकता हो । साना र खण्डीकृत जमिनमा छुट्टाछुट्टै खेती गर्दा आधुनिक मेसिनको प्रयोग असम्भव हुने भएकाले चक्लाबन्दी र करार खेतीलाई कानुनी रूपमै प्रोत्साहन गरिनुपर्छ । जब ठूलो क्षेत्रफलमा सामूहिक वा व्यावसायिक रूपमा खेती गरिन्छ, तब मात्र ट्र्याक्टर, हार्भेस्टर, आधुनिक रोप्ने र उठाउने मेसिनहरूको प्रयोग आर्थिक रूपले व्यावहारिक अनि किफायती हुन सक्छ ।

प्रविधिको कुरा गर्दा नेपाली कृषिमा ‘स्मार्ट एग्रिकल्चर’ को अवधारणा भित्र्याउन ढिला भइसकेको छ । आकासे पानीको भर पर्नुको साटो बादल वा कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि विस्तार गर्नुपर्छ, जसले सीमित पानीमा पनि बढी उत्पादन दिन सकोस् ।

कृषिलाई उत्पादनमुखी र मर्यादित पेसा बनाउन अब पुरानै शैलीका नीति र सुस्त कार्यान्वयनले सम्भव छैन । यसका लागि परम्परागत प्रविधिलाई विस्थापित गर्दै वैज्ञानिक र आधुनिक प्रविधिको आत्मसात् गर्नु अनिवार्य भइसकेको छ ।

माटोको स्वास्थ्य र आवश्यक पोषक तत्त्व जाँच्न डिजिटल सोइल टेस्टिङ किट र ड्रोन प्रविधिको उपयोग बढाउन सकिन्छ । ड्रोनको माध्यमबाट रोगव्याधि निरीक्षण, विषादी वा मलको समानुपातिक छर्काउ गर्दा श्रमको बचत मात्र हुँदैन, वातावरण र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरसमेत कम हुन्छ । यसको प्रयोग अमेरिका, युरोप र चीनजस्ता विकसित मुलुकहरूले गरिरहेका छन् ।

प्रविधिगत रूपान्तरणलाई सफल पार्न कृषिमा अनुदान दिने वर्तमान सरकारी मोडल पूर्णतः असफल भइसकेको छ, किनभने यसले वास्तविक किसानलाई भन्दा कागजी प्रक्रिया मिलाउन जान्ने बिचौलियालाई पोसिरहेको छ । त्यसैले, अब सरकारले कृषि उत्पादन, बीउ वा मल खरिदमा खुद्रा अनुदान दिनुको साटो ‘कृषि उत्पादनमा आधारित प्रोत्साहन’ नीति अवलम्बन गर्नुपर्छ ।

किसानले कति परिमाणमा उत्पादन बजारमा पुर्‍यायो, त्यसको आधारमा सीधै उसको बैंक खातामा डिजिटल प्रणालीमार्फत प्रोत्साहन रकम जम्मा गरिनुपर्छ । यसो गर्दा झोले किसान र बिचौलियाहरू स्वतः प्रणालीबाट बाहिरिन्छन् र राज्यको लगानीको सही सदुपयोग हुन्छ ।

हाम्रो कृषि क्षेत्र मासिँदै जानु र उत्पादनमा ह्रास आउनुका पछाडि केही तथ्य र कमजोरीहरूले पनि घर गरेको छ । यहाँ केही सीमा, कमजोरी र ज्वलन्त विषयहरूलाई पनि बुँदागत रूपमा विस्तृतीकरण गरेर हेर्नु सान्दर्भिक हुन्छ ।

भूमिको खण्डीकरण र प्लटिङको आतङ्क
तराई र सुगम पहाडी उपत्यकाहरू, जहाँ देशकै कुल खाद्यान्नको ठूलो हिस्सा उत्पादन हुन्थ्यो, आज भूमाफिया र अव्यवस्थित जग्गा प्लटिङको चपेटामा परेका छन् । अन्न फल्ने उर्वर भूमिलाई टुक्रा–टुक्रा पारेर घडेरीमा परिणत गरिँदा खेतीयोग्य जमिनको क्षेत्रफल दिनानुदिन खुम्चिँदै गएको छ । दीर्घकालीन भू–उपयोग नीतिको अभाव वा यसको फितलो कार्यान्वयनका कारण कृषियोग्य भूमि कङ्क्रिटको बगर बन्दै छ, जसले देशलाई खाद्य असुरक्षातर्फ धकेलिरहेको छ ।

वन्यजन्तुको त्रास र बढ्दो बसाइँसराइ
पहाडी भेगमा कृषि पेसा संकटमा पर्नुको अर्को मुख्य कारण वन्यजन्तुको बढ्दो आतङ्क हो । बाँदर, बँदेल, वनकुकुर र दुम्सीजस्ता जङ्गली जनावरले खेतबारीको बाली सखाप पारिदिँदा किसानहरूको वर्षभरिको श्रम केही घण्टामै माटोमा मिल्ने गरेको छ । वन्यजन्तुबाट बाली जोगाउन नसक्दा र सरकारबाट उचित क्षतिपूर्ति वा संरक्षणको उपाय नपाउँदा आजित भएका किसानहरू अन्ततः थातथलो छोडेर बसाइँ सर्न बाध्य छन् । यसले गाउँ रित्तिँदै छन् र उत्पादनशील बारीहरू झाडी र जङ्गलमा परिणत भइरहेका छन् ।

श्रमशक्तिको पलायन र मरुभूमिमा पसिना
हामी श्रमशक्तिको पलायनसँगै मरुभूमिमा पसिना बेचिरहेका छौँ । देशका पढेलेखेका र ऊर्जावान् युवाहरू श्रम र रोजगारीको खोजीमा खाडी मुलुक र मलेसियाका मरुभूमिमा ५० डिग्रीको तापक्रममा तालु सेकाउन बाध्य छन् । जुन ऊर्जाशील समय आफ्नो माटोमा पसिना खन्याउनुपर्ने हो, स्वदेशमा कृषि पेसालाई मर्यादित र नाफामूलक बनाउन नसक्नु, मल, बीउ र सिँचाइको समयमै व्यवस्था हुन नसक्नु र उत्पादित वस्तुको उचित बजार मूल्य नपाइनुले युवाहरूमा कृषितर्फ विकर्षण पैदा गरेको छ । रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको जस्तो देखिए पनि यसले देशको आन्तरिक उत्पादन क्षमतालाई पूर्ण रूपमा ध्वस्त पारेको छ ।

सरकारको उदासीनता कहिलेसम्म ?
नेपालमा सङ्घीयता लागू भएपछि सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको भनियो । स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका सरकारहरू क्रियाशील छन् । तर, कृषिको यो गम्भीर संकट समाधानका लागि कुनै पनि सरकार गम्भीर र संवेदनशील देखिएका छैनन् । सङ्घीय सरकारले ठूला नीति र बजेट त बनाउँछ, तर रासायनिक मलको हाहाकार र वैदेशिक पलायन रोक्ने ठोस रणनीति ल्याउन असफल छ ।

प्रदेश सरकार समन्वयकारी भूमिका खेल्न र कृषि पूर्वाधार निर्माणमा सुस्त देखिन्छ भने स्थानीय सरकारहरू पनि डोजरे विकास र सडक खन्ने प्रतिस्पर्धामा अल्झिएका छन् ।

प्रदेश सरकार समन्वयकारी भूमिका खेल्न र कृषि पूर्वाधार (सिँचाइ, शीतभण्डार) निर्माणमा सुस्त देखिन्छ भने स्थानीय सरकारहरू पनि डोजरे विकास र सडक खन्ने प्रतिस्पर्धामा अल्झिएका छन् । जग्गा प्लटिङ रोक्न र बाँदर–बँदेल नियन्त्रणका लागि स्थानीय स्तरमा कुनै व्यावहारिक योजना उनीहरूसँग छैन । कृषि मन्त्रालय र सम्बद्ध निकायहरू केवल अनुदान बाँड्ने र गोष्ठी गर्ने काममा सीमित छन्, जसको पहुँचमा वास्तविक किसान पुग्दै पुग्दैनन् ।

यो संकटबाट देशलाई बचाउने हो भने भाषणमा मात्र होइन, व्यवहारमा नै ‘कृषि क्रान्ति’ को आवश्यकता छ । यसका लागि निम्नलिखित कदमहरू तत्काल चालिनुपर्छ:

(क) कडा भू–उपयोग नीति: कृषियोग्य जमिनलाई गैर–कृषि कार्य वा प्लटिङ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइनुपर्छ । वर्गीकरण गरिएका कृषि क्षेत्रलाई संरक्षण गरिनुपर्छ ।
(ख) वैज्ञानिक वन्यजन्तु व्यवस्थापन: बाँदर, बँदेल, हात्तीलगायतका वन्यजन्तु नियन्त्रणका लागि आधुनिक प्रविधि (जस्तै: सोलार फेन्सिङ, जैविक नियन्त्रण) को प्रयोग र बाली बिमा योजनालाई अनिवार्य तथा सहज बनाइनुपर्छ ।
(ग) युवा लक्षित कृषि व्यवसायीकरण: युवाहरूलाई स्वदेशमै रोक्न सहुलियतपूर्ण ऋण, प्रविधि हस्तान्तरण र उत्पादित सामग्रीको न्यूनतम समर्थन मूल्य तोकेर बजारको सुनिश्चितता गरिनुपर्छ ।
(घ) तहगत सरकारको समन्वय: स्थानीय सरकारले आफ्नो क्षेत्रका बाँझो जमिनको लगत राखी ‘बाँझो जमिन उपयोग ऐन’ मार्फत सामूहिक वा सहकारी खेतीलाई प्रोत्साहन गर्नुपर्छ ।

अन्न फल्ने खेतबारी बाँझो राखेर, युवालाई मरुभूमिमा बेचेर र चामलदेखि सागसब्जीसम्म विदेशबाट आयात गरेर कुनै पनि देश समृद्ध बन्न सक्दैन । राष्ट्रिय सुरक्षाको पहिलो सर्त खाद्य सुरक्षा हो । यदि तीनै तहका सरकारले बेलैमा चेतेर यस गम्भीर विषयमा ठोस कदम नचाल्ने हो भने नेपाल चाँडै नै एउटा ठूलो आर्थिक र खाद्य संकटको दुष्चक्रमा फस्ने निश्चित छ । समय छँदै सोचौँ ।

अन्ततः, सरकार फेरिइरहने तर किसानको अवस्था नफेरिने दुष्चक्रलाई तोड्न कृषि नीतिलाई दलीय राजनीतिभन्दा माथि राखिनुपर्छ । जुनसुकै सरकार आए पनि परिवर्तन नहुने गरी ‘राष्ट्रिय कृषि गौरवको योजना’ बनाई निश्चित समयसीमाभित्र रासायनिक मल कारखानाको स्थापना, राष्ट्रिय सिँचाइ गुरुयोजना र बजार ग्यारेन्टीको सुनिश्चितता गरिनुपर्छ । जबसम्म राज्यले कृषिलाई केवल निर्वाहमुखी पेसाबाट उठाएर उच्च प्रतिफल दिने उद्योगका रूपमा विकास गर्दैन, तबसम्म न त देश खाद्यान्नमा आत्मनिर्भर हुन सक्छ, न त खाडी मुलुकमा बगिरहेको युवा श्रमलाई स्वदेशको माटोमा रोक्न नै सम्भव हुन्छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  २ : ५५ बजे

बजेट प्राथमिकताका आधारमा विनियोजन गर्नुपर्ने

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकारले बजेट विनियोजन गर्दा अध्ययन गरेर प्राथमिकताका

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले