काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको चौतर्फी प्रशंसा भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्नै प्रायः सबै वक्ताले गगन थापाको प्रसंशा गरेका हुन् । गत पुष महिनाको अन्तिम साता आयोजित विशेष महाधिवेशनपछि सभापति बन्न सफल गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको तारिफ गरेका हुन् ।
आफ्नै दलका नेतादेखि प्रतिस्पर्धी दलका नेताले समेत गगन थापाको प्रशंसा गरेका छन् । थापाले कांग्रेसलाई रुपान्तरण र परिष्कृत बनाउँदै लगेको र विशेष महाधिवेशन गरेर कांग्रेसलाई नयाँ आकार दिएकोमा अरु राजनीतिक दलले तारिफ गरे । महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त पूर्वसभापति शेरबहादुर देउवातर्फ इङ्गित गर्दै पार्टीमा गनगन गर्ने, अतिवाद गर्ने र किचकिच गर्ने नेताहरुलाई छोडिदिएकै राम्रो हुने टिप्पणी गरे । ‘पार्टीमा गनगन गर्ने, अतिवाद गर्ने, ल्याङल्याङ गर्ने साथीहरूलाई छोडिदिएकै राम्रो हुन्छ ।’ लामिछानेले भने, ‘यो भनेर मैले गगनजीलाई दोस्रो पटक गुन लगाएको छु ।’
सुरुमा उनले अबको महाधिवेशनबाट पनि गगन थापा नै सभापतिमा निर्वाचित हुने अवस्था देखिएको उल्लेख गरेका थिए । सभापति लामिछाने बेलैमा कांग्रेस सुध्रिएको भए नयाँ पार्टीको आवश्यकता नै नपर्ने टिप्पणी गरे । उनले समयमै ७०, ८० वर्षका कांग्रेसीहरूले ४०, ५० वर्षका युवालाई नेतृत्व सुम्पिएको भए आफूहरूको आवश्यकता नै नहुने बताए ।
गगनको प्रशंसा गर्दै उनले राजनीति मुद्दाहरूमा हातेमालो गर्ने र सहयात्रा गर्दै अगाडि बढ्ने विश्वास दिलाए । तर सरकारको विषयमा भने आफू र प्रधानमन्त्री वालेन्द्र शाहबीच कुनै किसिमको विवाद नरहेको प्रष्ट पारेका छन् । गगनप्रति अत्यन्तै धेरै नरम भएर प्रस्तुत भएका लामिछाने र थापाको सम्बन्ध निर्वाचन अगाडिसम्म चिसो थियो ।
कांग्रेसको महाधिवेशनमा शुभकामना दिन पुगेका श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपालको बदलिँदो राजनीतिक अवस्थालाई टेकेर कांग्रेसले नयाँ नेतृत्व स्थापित गरेकामा धन्यवाद दिए । राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले पनि नेपालको बदलिदो परिस्थिति अनुसार नेतृत्व परिवर्तनको बहस उठेकाले त्यसलाई कांग्रेसले सार्थकता बनाएर अघि बढेको बताए ।
महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराईले पनि गगनको प्रशंसा गरेका थिए । उनले आफूले नयाँ शक्तिको आवश्यकता अपरिहार्य रहेका कारण नयाँ शक्ति पार्टीको स्थापना गरेको स्मरण गर्दै गगनले ठूलो राजनीति भार बोकेर विशेष महाधिवेशन गर्दै कांग्रेसलाई नयाँ र परिस्कृत बनाएकोमा धन्यवाद दिए । अर्थ राजनीतिक विषयमा गहकिलो विश्लेषण गरेका भट्टराईले मुलुक अत्यन्त जटिल मोडमा रहेकाले अबको पुस्ताले यसलाई परास्त गर्नुपर्ने सन्देश दिए ।
‘गगनजीले कांग्रेसलाई नयाँ दिशा दिएर राम्रो काम गर्नुभएको छ । म मेरो पुस्ताको साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने अब हरेक पार्टीमा नेतृत्व पुनर्गठनको आवश्यकता छ, त्यसकारण हाम्रो पुस्ता बिदा भएर नयाँलाई अवसर दिउँ ।’ बाबुरामले भने, ‘अहिलेको राजनीतिक यात्रा अत्यन्तै जटिल अवस्थामा पुगेको छ । त्यसलाई सामना गर्नका लागि गगनजीहरूले महत्त्वपूर्ण भूमिका खेलिरहनुभएको छ । लोकतन्त्रमाथि प्रहार हुने अवस्था भएको खण्डमा कांग्रेसले त्यही भूमिका निर्वाह गर्न सक्छ भन्नेमा विश्वस्त छु ।’
नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पनि गगनको प्रशंसा गर्दै हिजो प्रजातन्त्र र लोकतन्त्र ल्याउनका लागि टाउको फुटाएर अगाडि बढेका युवा आज पार्टीको नेतृत्वदायी अवस्थामा पुगेको देख्दा गर्व महसुस भएको उल्लेख गरे । उनले आफू पनि गगनसँगै राजनीतिक यात्रा अगाडि बढाएको तर थारुहटले चाहिँ अवसर नपाएको भन्दै गुनासो गरे ।

कांग्रेसको प्रतिस्पर्धी दल नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि गगनको प्रसंशा गर्न अग्रसर देखिए । हरेक पार्टीमा समयअनुसार रूपान्तरण जरुरी रहेको उल्लेख गर्दै महासचिव पोखरेलले टुँडिखेलमा २५, २६ वर्षअघि गगन र आफूले सँगै भाषण गरेको स्मरण गर्दै गगनलाई पार्टीको सभापति बनेकोमा बधाई दिए । अब पनि गगन नै १५ औँ महाधिवेशनबाट सभापति बन्नुपर्ने उनको माग थियो ।
महासचिव पोखरेलले सबै पार्टीमा नेतृत्व पुनर्गठनको विषय जरुरी रहेकाले त्यस विषयमा छलफल गर्नबाट पछि हट्न नहुने टिप्पणी गरे । एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा उपस्थित हुन निम्तो भएपनि ओली आफैँ नगएर शंकरलाई पठाएका थिए ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि गगनको प्रशंसा गरे । उनले विगतमा नै आफूले गगन नेतृत्वदायी भूमिकामा पुग्छन् भन्ने आँकलन गरेको दाबी समेत गरे । भोलिका दिनमा देशकै नेतृत्वमा गगन थापा पुग्नुपर्ने धारणा राख्दै प्रचण्डले हरेक पार्टीमा नेतृत्वको क्रमभङ्गता आवश्यक रहेको भन्दै कांग्रेसले क्रमभङ्गता गरेकोमा प्रशंसा गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि गगनको प्रशंसा गरेका थिए । कांग्रेसको नेतृत्व परिवर्तनको विषयमा गगनको प्रशंसा गरे पनि लिङ्देनले राजतन्त्र फर्काउनुपर्ने धारणा राखेका थिए ।
महाधिवेशनमा आफ्नै पार्टीका नेताहरूले पनि गगनको प्रशंसा गरेको देखियो । विशेष महाधिवेशनबाट उपसभापति बनेका विश्वप्रकाश शर्मा र पुष्पा भुसालले पनि गगन थापा नेतृत्वमा आएपछि कांग्रेसको तल्लो तह निकै उत्साहित रहेको धारणा राखे । उनले प्राविधिक कारण फागुन २१ को निर्वाचनमा भने कांग्रेसले हार बेहोर्नुपरेको स्वीकार गरेका छन् ।
विश्वप्रकाशले भने सबै कांग्रेस एक ठाउँमा आएका बेला केही अग्रज नेताहरु छुटेकोप्रति मन दुखेको धारणा राख्दै एक हुने प्रतिक्षामा रहेको उल्लेख गरे । कांग्रेस महामन्त्री गुरु घिमिरे र प्रदीप पौडेलले पनि अथक मेहनत र पसिना बगाएर कांग्रेस यहाँसम्म ल्याएकोमा अग्रजहरूलाई सम्मान गर्नुपर्ने आवाज उठाएका थिए । उनीहरुले कांग्रेस विधि संवाद र नीति संवाद अगाडि बढिरहेकाले सबैलाई एक ठाउँमा आएर अगाडि बढ्नुपर्ने माग राखेका छन् ।
कांग्रेसको नेतृत्व पुनर्गठनको विषय अरु दलहरूले पनि सिक्न जरुरी रहेको उल्लेख गर्दै नेताहरुले अबको नेतृत्वले पनि पार्टी जरादेखि निर्माण गर्दै जानुपर्ने चुनौती रहेको उल्लेख गरे । कांग्रेस सामु थुप्रै चुनौतीहरू रहेको उल्लेख गर्दै सबै एक भएर एकताको सन्देश दिँदै तल्लो तहसम्म पार्टी पुनर्गठन गर्न आवश्यक रहेको उनीहरूको मत थियो । पार्टीभित्र र बाहिरबाट नेताहरुको प्रसंशा बटुलेका गगन अबको महाधिवेशनपछि सभापतिमा दोहोरिने निश्चितप्रायः देखिन्छ ।
गगनको प्रशंसा गर्दा पूर्वसभापति शेरबहादुर देउवा सहित अरु नेतालाई कसैले आलोचना वा विरोध गरेको पाइएन । शुभकामना सन्देश दिन आएका कोही पनि नेताले पूर्वसभापति शेरबहादुर देउवाको खोजी गरेको पनि देखिएन । पूर्वसभापति देउवा र असन्तुष्ट पक्षका विषयमा कांग्रेस महाधिवेशनमा तैँ चुप मैँ चुप देखिएको छ । सबै नेताहरूले गगन र विशेष महाधिवेशन पक्षधरका नेताहरूलाई शुभकामना दिँदै आगामी दिनमा पनि लोकतन्त्र विधिको शासन र राज्यसत्ता सञ्चालन गर्नका लागि कांग्रेसको महत्वपूर्ण भूमिका रहनुपर्ने बताए ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र संकल्प लिएर बाहिरिनुपर्ने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्रै सीमित नगरी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।
कांग्रेसले आफूलाई बदल्दै जनताको अपेक्षा र मुलुकको आवश्यकताअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर यो महाधिवेशनबाट जानुपर्ने छ। यो सफल पारेर ऊर्जा लिएर जानुपर्ने छ,’ थापाले भने । उनले देशको पछिल्लो अवस्थालाई हेर्दा उत्सवका रूपमा मात्रै महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताए ।
रसुवामा आएको बाढीपहिरोका कारण हजारौँ नागरिकले ज्यान गुमाएको र धेरै परिवार पीडामा रहेको स्मरण गर्दै थापाले यस्तो अवस्थामा महाधिवेशन गर्न आफूलाई मन नभएको बताए। ‘रसुवाको बाढीले हजारौँ नागरिक हामीमाझ हुनुहुन्न। यो महाधिवेशन गर्न मन थिएन। तर संविधान र कानुनको परिधिका कारण बाध्य भयौँ,’ उनले भने । थापाले कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने बताए। लामो समयदेखि एउटै नेतृत्व, एउटै पद र सत्ताको वरिपरि घुमिरहेको राजनीतिले जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने धारणा बन्न पुगेको उनको भनाइ थियो ।














प्रतिक्रिया