काठमाडौं- सन् २०१९ मा पुलवामा आक्रमणपछिको तनावका कारण भारतसँगको व्यापार स्थगित भएयता पाकिस्तानले करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोरेको पाक–इन्डिया बिजनेस काउन्सिलका अध्यक्ष नूर मोहम्मद कसुरीले बताएका छन् । एक विज्ञप्ति जारी गर्दै अध्यक्ष कसुरीले व्यापारिक सम्बन्ध पुनःस्थापना गर्न दुवै छिमेकी मुलुकलाई आग्रह गरेका छन् ।
व्यापार स्थगनका कारण पाकिस्तानी व्यवसायीहरू टाढाका बजारबाट कच्चा पदार्थ तथा अत्यावश्यक वस्तु आयात गर्न बाध्य भएको र यसले ढुवानी लागत तथा समय दुवै बढाएको कसुरीको भनाइ छ । भारतबाट औषधिजन्य कच्चा पदार्थ आयात गर्न सके वार्षिक २ देखि ३ अर्ब अमेरिकी डलर बचत हुन सक्ने उनले उल्लेख गरेका छन् । त्यसैगरी, आन्तरिक कपास उत्पादन घट्दा ब्राजिल, इजिप्ट, चीन र अमेरिकाबाट कपास आयात गर्नु परेकाले पाकिस्तानी कपडा उद्योगले करिब ५ अर्ब डलर अतिरिक्त खर्च व्यहोर्नु परेको उनले बताए ।
चिनी, रासायनिक मल, सिमेन्ट, पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल, तरकारी र भारी मेसिनरी जस्ता सामग्री भारतमा पर्याप्त उत्पादन हुने भए पनि पाकिस्तानले टाढाका मुलुकबाट आयात गरिरहेको उनले स्पष्ट पारे । भारतीय तेल प्रशोधन केन्द्रहरू नजिक रहेकाले द्विपक्षीय व्यापार खुलेमा पेट्रोलियम आयात सस्तो र छिटो हुने तथा कृषि र औद्योगिक उत्पादनमा पहुँच बढ्दा व्यावसायिक लागत घट्ने उनको तर्क छ । साथै, परम्परागत कपास खेती हुने क्षेत्रका किसानहरू उखु खेतीतर्फ आकर्षित भइरहेकाले कपास उत्पादन पुनर्जीवित गर्न कृषि नीतिमा सुधार आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।
व्यापार पुनःस्थापनाले दुवै देशका व्यवसायीलाई फाइदा पुर्याउनुका साथै लगानी, पर्यटन र क्षेत्रीय सहकार्यका नयाँ अवसर सिर्जना गर्ने कसुरीले बताए । धार्मिक, ऐतिहासिक स्थल तथा पुर्ख्यौली थलो भ्रमण गर्न चाहने भारतीय पर्यटकलाई पाकिस्तानले आकर्षित गर्न सक्ने उनको भनाइ छ । आर्थिक सङ्कटका बेला भारतले श्रीलङ्कालाई गरेको वित्तीय सहयोगको उदाहरण दिँदै उनले राजनीतिक मतभेदका कारण आर्थिक अवसरलाई रोक्न नहुने र विवादहरू संवादमार्फत समाधान गर्न सकिने धारणा राखेका छन् ।














प्रतिक्रिया