काठमाडौं- भारतले आफ्ना लडाकु विमानहरूका लागि नयाँ इन्जिन स्वदेशमै उत्पादन गर्न फ्रान्सेली कम्पनी साफ्रानसँग गरिरहेको सहकार्यबारे नयाँ विवरण बाहिर आएको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार साफ्रान र ग्यास टर्बाइन रिसर्च इस्टब्लिसमेन्टबीचको यो संयुक्त इन्जिन विकास परियोजना हाल भारतको सुरक्षा मामिला मन्त्रिपरिषद् समितिमा पुगेको छ । यसलाई छिट्टै स्वीकृति दिइने अपेक्षा गरिएको छ ।
यस योजना अनुसार सुरुमा १ सय २० किलोन्युटन र त्यसपछि त्यसलाई परिमार्जन गरेर १ सय ४० किलोन्युटन क्षमताको इन्जिन बनाउने तयारी छ । यस अन्तर्गत ९ वटा प्रोटोटाइपहरू निर्माण गरी प्रमाणित गरिनेछ । यस इन्जिनको बौद्धिक सम्पत्ति अधिकार पूर्ण रूपमा भारतसँग मात्र रहनेछ । यसअघि रूस र फ्रान्ससँग भएका पुराना प्रविधि हस्तान्तरण सम्झौताहरूमा हट सेक्सन, क्रिस्टल ब्लेड र सोर्स कोड जस्ता संवेदनशील प्रविधि भारतलाई उपलब्ध गराइएको थिएन । तर यस पटक भारतले पूर्ण अधिकार पाउनेछ । यो इन्जिन भविष्यका उन्नत मध्यम लडाकु विमान र नौसेनाका लागि तयार पारिने दोहोरो इन्जिनयुक्त डेक-आधारित लडाकु विमानहरूमा प्रयोग हुनेछ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने सुरक्षा मामिला मन्त्रिपरिषद् समितिले उच्च मूल्यका रक्षा कार्यक्रमहरूको अन्तिम वित्तीय स्वीकृति दिने गर्छ । ३ करोड भारुभन्दा बढीका खरिदहरूका लागि यो समितिको अनुमति अनिवार्य हुन्छ । परम्परागत रक्षा खरिद प्रक्रियाको साटो यो अनुसन्धान तथा विकास विभागको स्वीकृतिको आधारमा अगाडि बढाइएको छ । रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद् र वित्त मन्त्रालय हुँदै यो फाइल मन्त्रिपरिषद् समितिमा पुगेको हो ।
रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२५ को अगस्टमा फ्रान्सेली कम्पनी साफ्रानसँग इन्जिन निर्माणको काम सुरु हुन लागेको पहिलो पटक आधिकारिक रूपमा जानकारी गराएका थिए । त्यसको तीन महिनापछि साफ्रानका प्रमुख कार्यकारी अधिकृत ओलिभिए एन्ड्रीजले पनि यसको पुष्टि गर्दै अनुसन्धान तथा विकास संगठनसँगको सहकार्यमा हट सेक्सनसहितको पूर्ण प्रविधि हस्तान्तरण गर्ने गरी यो परियोजना अगाडि बढेको बताएका थिए । यद्यपि यसको कुल लागत र आर्थिक लगानीको संरचनाबारे विभिन्न अनुमानहरू बाहिर आएका छन् ।
यो छनोट प्रक्रियालाई लिएर केही अन्य विकल्पहरूमा पनि चर्चा भएको छ । रोल्स-रोयस कम्पनीले पनि सन् २०२६ को अन्त्यभित्र सम्झौता गर्नुपर्ने सर्त राख्दै सय प्रतिशत प्रविधि हस्तान्तरणको प्रस्ताव गरेको थियो । यद्यपि भारतले प्रविधि हस्तान्तरणमा मात्र सीमित नभई बौद्धिक सम्पत्ति अधिकार पूर्ण रूपमा भारतमै रहनुपर्ने र साफ्रानले यसको संरचनालाई अन्यत्र प्रयोग गर्न नपाउने कडा सर्त राखेको छ।
बैंगलुरुमा अवस्थित ग्यास टर्बाइन रिसर्च इस्टब्लिसमेन्टसँग यस क्षेत्रमा लामो अनुभव रहेको छ । यस प्रयोगशालाले काभेरी इन्जिन कार्यक्रम अन्तर्गत ९ वटा पूर्ण प्रोटोटाइप र ३ हजारभन्दा बढी परीक्षणहरू गरिसकेको छ। यद्यपि यसको हट सेक्सन र एकल-क्रिस्टल ब्लेड निर्माणमा फ्रान्सले विगतमा सहयोग गर्न मानेको थिएन, तर अहिले साफ्रानले ती सबै प्रविधि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यसैबीच, अमेरिकाको जनरल इलेक्ट्रिकसँगको एफ-४१४ इन्जिन स्थानान्तरण सम्झौता भने मूल्य वृद्धिको कारण रोकिएको छ। त्यस्तै तेजस लडाकु विमानका लागि आउनुपर्ने एफ-४०४ इन्जिनहरूको डेलिभरीमा पनि ढिलाइ हुँदा तयार भइसकेका विमानहरू इन्जिन कुरेर बस्नुपर्ने स्थिति बनेको छ।














प्रतिक्रिया