मध्यावधि निर्वाचनमा हारपछि अमेरिकामा २०२८ को राष्ट्रपतीय दौडको चर्चा तीव्र « Khabarhub

मध्यावधि निर्वाचनमा हारपछि अमेरिकामा २०२८ को राष्ट्रपतीय दौडको चर्चा तीव्र


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी मध्यावधि निर्वाचनमा पराजित भएपछि सन् २०२८ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि दुवै प्रमुख दलभित्र उम्मेदवारीको प्रतिस्पर्धा चर्किने सङ्केत देखिएको छ ।

निर्वाचन परिणामले रिपब्लिकन पार्टीमा नेतृत्वको उत्तराधिकार र डेमोक्रेटिक पार्टीमा नयाँ नेतृत्वको खोजीलाई थप चर्चामा ल्याएको छ ।

रिपब्लिकन पार्टीबाट सम्भावित राष्ट्रपतीय उम्मेदवारका रूपमा हेरिएका उपराष्ट्रपति जे.डी. भान्सलाई मध्यावधि निर्वाचनको हारले राजनीतिक दबाबमा पारेको छ । राष्ट्रपति ट्रम्पसँग निकट सम्बन्ध रहेका कारण पार्टीको पराजयको जिम्मेवारीसमेत उहाँले बेहोर्नुपर्ने विश्लेषण गरिएको छ । विशेषगरी इरानविरुद्धको अलोकप्रिय युद्धलाई निर्वाचनमा पराजयको प्रमुख कारणका रूपमा औँल्याउँदै भान्सले आफूलाई त्यसबाट अलग देखाउने प्रयास गर्नुभएको छ ।

रिपब्लिकन पार्टीभित्र विदेशमन्त्री मार्को रुबियो, फ्लोरिडाका गभर्नर रोन डिसान्टिस र टेक्सासका सिनेटर टेड क्रुज पनि सन् २०२८ का सम्भावित राष्ट्रपतीय उम्मेदवारका रूपमा चर्चामा छन् । यद्यपि, ट्रम्प प्रशासनसँग जोडिएका नेताहरूलाई इरान युद्धको राजनीतिक प्रभावबाट मुक्त हुन सहज नहुने आकलन गरिएको छ ।

यता, डेमोक्रेटिक पार्टीमा जर्जियाका ३९ वर्षीय सिनेटर जोन ओसोफको चर्चा बढेको छ । पुनःनिर्वाचनमा प्राप्त सफलताले उहाँको राष्ट्रपतीय उम्मेदवारीबारे बहस सुरु भएको हो । ओसोफले राष्ट्रपतीय दौडमा सहभागी हुने इच्छा नरहेको बताउँदै आए पनि उहाँको युवा छवि र निर्वाचन विजयले पार्टीभित्र प्रभाव बढाएको छ । उहाँलाई पूर्वराष्ट्रपति बाराक ओबामासँग तुलना गर्न थालिएको छ ।

डेमोक्रेटिक पार्टीबाट पूर्वउपराष्ट्रपति कमला ह्यारिस, पेन्सिलभेनियाका गभर्नर जोश शापिरो र क्यालिफोर्नियाका निवर्तमान गभर्नर गेभिन न्यूसम पनि सम्भावित उम्मेदवारका रूपमा हेरिएका छन् । तर, पार्टीभित्र पुराना नेताभन्दा नयाँ पुस्तालाई नेतृत्वमा अघि सार्नुपर्ने आवाजसमेत बलियो बन्दै गएको छ ।

यसै क्रममा न्युयोर्ककी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज, सिकागोका पूर्वमेयर रहम इमानुएल, इलिनोइसका गभर्नर जेबी प्रिट्जकर, केन्टकीका गभर्नर एन्डी बेशियर र एरिजोनाका सिनेटर मार्क केलीको नामसमेत चर्चामा आएको छ ।

सन् २०१६ र २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई सत्तामा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) गठबन्धन मध्यावधि निर्वाचनमा कमजोर देखिएपछि रिपब्लिकन पार्टीमा नेतृत्व हस्तान्तरणको विषय थप पेचिलो बनेको छ ।

मध्यावधि निर्वाचनको परिणामले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि दुवै दलमा सम्भावित उम्मेदवारको समीकरण बदल्ने र आन्तरिक प्रतिस्पर्धा तीव्र बनाउने सङ्केत गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ३ : ०५ बजे

राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई सम्यक महादान मूल समारोह समितिले

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग 

काठमाडौं–  तिहार नजिकिँदै गर्दा सिजीले माइक्रोवेभ ओभनहरू ल्याएको छ ।  सिजीले यस

नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ– साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से

प्रस्तावित चार न्यायाधीशविरुद्ध भोली र पर्सी संसदीय सुनुवाइ गर्ने

काठमाडौं– संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध

चलाल गणेशस्थान खानी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक– बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुका साथै उद्योगबाट निस्किएको