काठमाडौं- ज्याला वृद्धिको माग गर्दै बङ्गलादेशका गार्मेन्ट श्रमिक र प्रहरीबीच पुनः झडप भएपछि ६७९ वटा कारखानाको उत्पादन ठप्प भएको छ। अघिल्लो दिनको व्यापक बन्दपछि सोमबार बिहान केही समय सञ्चालनमा आएका कारखानाहरू ढाका, अशुलिया र गाजीपुरका औद्योगिक क्षेत्रहरूमा भड्किएको हिंसाका कारण पुनः बन्द भएका हुन्।
हाल कायम रहेको १२ हजार ५०० टाका न्यूनतम मासिक ज्याला बढाएर ३० हजार टाका (२४३ अमेरिकी डलर) पुर्याउनुपर्ने माग राख्दै श्रमिकहरूले सडक अवरुद्ध गर्नुका साथै कारखानाहरूमा तोडफोड गरेका छन्। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्नुका साथै एउटा प्रहरी गाडीमा आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
सङ्कट समाधानका लागि सरकारले आइतबार ६ सदस्यीय ज्याला बोर्ड गठन गरे पनि महँगी र जीवनयापनको लागत बढेको भन्दै श्रमिकहरूले आन्दोलन जारी राखेका छन्। बङ्गलादेश गार्मेन्ट एन्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेसनका महासचिव बाबुल अख्तरले विश्वकै सबैभन्दा कम ज्याला बङ्गलादेशमा रहेको उल्लेख गर्दै उद्योगीहरूले अन्तर्राष्ट्रिय खरिदकर्तासँग उचित मूल्यको बार्गेनिङ गरेर श्रमिकलाई न्याय दिनुपर्ने बताएका छन्।
अर्कोतर्फ, बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसनका अध्यक्ष महमुद हसन खानले आन्दोलनका क्रममा २० देखि २५ वटा कारखाना र एक छाला उद्योगको कार्यालयमा तोडफोड भएको जानकारी दिएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा बजारमा देखिएको अनिश्चितता, बढ्दो लागत र प्रमुख निर्यात बजारमा माग घटेको अवस्थामा कारखानाहरू लगातार बन्द भइरहे ‘काम नभए ज्याला नदिने’ (नो वर्क, नो पे) नीति लागू गर्न बाध्य हुने चेतावनी उनले दिएका छन्।
गृहमन्त्री सलाहुद्दिन अहमदले श्रमिक आन्दोलनको आडमा देशलाई अस्थिर बनाउन खोज्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्। चीनपछि विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेशको कुल निर्यात आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा यसै क्षेत्रले ओगटेको छ। करिब ४० लाख श्रमिक कार्यरत यस क्षेत्रमा वसन्त र ग्रीष्मकालीन अर्डरको महत्वपूर्ण समयमा भएको अवरोधले एचएन्डएम, जारा, वालमार्ट र प्राइमार्क जस्ता ठूला अन्तर्राष्ट्रिय ब्रान्डहरूको आपूर्तिमा ढिलाइ हुने चिन्ता बढाएको छ।
ढाका विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक सलिम राइहानले उच्च महँगीका कारण श्रमिकको माग जायज भए पनि एकैपटक ठूलो मात्रामा ज्याला बढाउँदा उत्पादन लागत बढेर बङ्गलादेशको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता कमजोर हुन सक्ने विश्लेषण गरेका छन्। उनले श्रमिकको हित र उद्योगको दिगोपनबीच सन्तुलन मिलाउन चरणबद्ध ज्याला समायोजन, उत्पादकत्व वृद्धि र अन्तर्राष्ट्रिय खरिदकर्ताबाट उचित मूल्य प्राप्त हुनु आवश्यक रहेको बताए।














प्रतिक्रिया