संवैधानिक जवाफदेहिताको परीक्षणमा दुई प्रतिवेदन « Khabarhub

संवैधानिक जवाफदेहिताको परीक्षणमा दुई प्रतिवेदन



लोकतान्त्रिक शासन व्यवस्थाको आधार विधिको शासन हो । विधिको शासन केवल कानूनको अस्तित्वमा सीमित हुँदैन, बरु यसको निष्पक्ष, समान र प्रभावकारी कार्यान्वयनमा निर्भर हुन्छ । राज्यका सबै निकाय, पदाधिकारी तथा नागरिक समान कानूनी मापदण्डअन्तर्गत रहने व्यवस्था नै लोकतन्त्रको आधारभूत विशेषता हो ।

राज्य शक्तिको प्रयोगका क्रममा नागरिकको जीवन, स्वतन्त्रता, समानता वा अन्य मौलिक अधिकार प्रभावित हुने अवस्थामा त्यसको स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु राज्यको कानुनी तथा नैतिक दायित्व हो । यस्तो अनुसन्धानले मात्र लोकतान्त्रिक राज्यको विश्वसनीयता कायम राख्न सक्छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यस क्रममा भएका मानवीय तथा भौतिक क्षतिपछि सार्वजनिक भएका दुई महत्वपूर्ण प्रतिवेदन— नेपाल सरकारद्वारा गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदन यतिबेला व्यापक सार्वजनिक बहसको केन्द्र बनेका छन् ।

दुवै प्रतिवेदनले एउटै घटनाको अध्ययन गरे पनि तिनको दृष्टिकोण, निष्कर्ष र जिम्मेवारी निर्धारणमा महत्वपूर्ण भिन्नता देखिन्छ । यही भिन्नताले राज्यको व्यवहारप्रति गम्भीर संवैधानिक प्रश्न उठाएको छ, एउटै घटनामा राज्यले किन एक प्रतिवेदनलाई तत्काल कार्यान्वयनको आधार बनाउँछ र अर्काे संवैधानिक प्रतिवेदनलाई किन मौनतामा राखिन्छ ?

अनुसन्धानको विश्वसनीयताको प्रश्न

कुनै पनि अनुसन्धानको विश्वसनीयता अन्तिम निष्कर्षभन्दा पहिले नै परीक्षण हुन थाल्छ । अनुसन्धानकर्ताको निष्पक्षता, कार्यक्षेत्रको स्पष्टता, प्रमाणको मूल्याङ्कन र निष्कर्षको तार्किकता यसको आधारभूत मापदण्ड हुन् । कार्की आयोग गठनका क्रममा आयोग अध्यक्षका पूर्व सार्वजनिक अभिव्यक्तिका कारण निष्पक्षतामाथि प्रश्न उठेको थियो ।

उक्त विषय सर्वाेच्च अदालतसम्म पुगे पनि अदालतले आयोग गठन रोक्ने आधार नदेखेपछि प्रक्रिया अघि बढेको थियो । लोकतान्त्रिक प्रणालीमा अनुसन्धान निष्पक्ष हुनु मात्र होइन, निष्पक्ष देखिनु पनि आवश्यक हुन्छ । तर, अन्ततः बहसको केन्द्र आयोग अध्यक्षको व्यक्तिगत धारणा नभई प्रतिवेदनको गुणस्तर, अनुसन्धानको दायरा र निष्कर्षको विश्वसनीयतामा केन्द्रित हुनुपर्छ ।

दुई प्रतिवेदन, दुई दृष्टिकोण किन ?

कार्की आयोगको प्रतिवेदनले मुख्यतः आन्दोलनको क्रममा देखिएको सुरक्षा व्यवस्थापनको कमजोरी, प्रशासनिक समन्वयको अभाव तथा त्यसले निम्त्याएको मानवीय र भौतिक क्षतिलाई केन्द्रमा राखेको छ । तर २४ गते भएको आगजनी, तोडफोड र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको व्यापक क्षतिको घटनाबारे पर्याप्त तथ्यगत स्पष्टता र गहिरो विश्लेषण नभएको भन्दै उक्त प्रतिवेदनप्रति आलोचनात्मक प्रश्नहरू पनि उठिरहेका छन् ।

यसले घटनाको सम्पूर्ण चित्र नसमेटिएको हो कि भन्ने बहसलाई थप बल दिएको छ । अर्काेतर्फ, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले राज्यद्वारा गरिएको बल प्रयोगको वैधता, सम्भावित मानव अधिकार उल्लंघन, अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकारमाथिको प्रभावलाई केन्द्रमा राखेर विश्लेषण गरेको छ । यसरी एउटाले सुरक्षा–प्रशासनिक असफलता र क्षतिको व्यवस्थापनमा जोड दिएको देखिन्छ भने अर्काले राज्य शक्तिको प्रयोग र मानव अधिकारको संरक्षणबीचको संवैधानिक सन्तुलनलाई मुख्य विषय बनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको संवैधानिक हैसियत
राष्ट्रिय मानव अधिकार आयोग संविधानद्वारा स्थापित स्वतन्त्र र स्वायत्त निकाय हो । नेपालको संविधान २०७२ को धारा २४९ ले राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ । उक्त धाराले मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नु, मानव अधिकार उल्लंघनका घटनाको अनुगमन तथा अनुसन्धान गर्नु, सरकारलाई आवश्यक सिफारिस गर्नु तथा पीडितलाई न्याय तथा क्षतिपूर्ति दिलाउन पहल गर्नु आयोगको प्रमुख संवैधानिक दायित्वको रुपमा व्यवस्था गरेको छ ।

संविधानले आयोगलाई केवल सल्लाह दिने निकायका रूपमा मात्र नभई राज्य शक्तिको प्रयोगमाथि निगरानी गर्ने स्वतन्त्र संवैधानिक संस्थाका रूपमा परिकल्पना गरेको छ । त्यसैगरी संविधानको धारा २९३ ले संवैधानिक निकायहरूको काम कारबाहीको अनुगमन सम्बन्धी व्यवस्था गरेको छ । प्रतिनिधि सभाका समितिहरूले संवैधानिक निकायहरूको प्रतिवेदन तथा कामकारबाहीको अनुगमन र मूल्यांकन गर्न सक्ने व्यवस्था गरिए पनि राष्ट्रिय मानव अधिकार आयोगलाई भने उक्त व्यवस्थाबाट अलग राखिएको छ । यसले आयोगको संस्थागत स्वतन्त्रतालाई विशेष संवैधानिक संरक्षण प्रदान गरेको देखिन्छ ।

मानव अधिकार आयोग ऐन २०६८ को दफा १७ (१) मा आयोगको आदेश कार्यान्वयनका लागि लेखी पठाउने र उपदफा २ मा कार्यान्वयन गरेर आयोगलाई जानकारी गराउनुपर्ने बाध्यकारी व्यवस्था छ । यो व्यवस्था संयुक्त राष्ट्रसंघद्वारा प्रतिपादित “पेरिस सिद्धान्त” को मर्मसँग पनि मेल खान्छ ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको महासभाद्वारा अनुमोदित पेरिस सिद्धान्तले राष्ट्रिय मानव अधिकार संस्थाहरू स्वतन्त्र, निष्पक्ष, स्वायत्त, पर्याप्त स्रोत–साधनयुक्त तथा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने मान्यता स्थापित गरेको छ । त्यसैले आयोगका प्रतिवेदनलाई सामान्य प्रशासनिक प्रतिवेदनका रूपमा मात्र व्याख्या गर्न मिल्दैन । यसका प्रतिवेदनहरू संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्, सन्धि निकाय तथा विशेष प्रतिवेदकहरूले समेत सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने गरेका छन् ।

नेपाल नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि (ICCPR) लगायत विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरूको पक्ष राष्ट्र हो । त्यसैले मानव अधिकार उल्लंघनका घटनामा प्रभावकारी अनुसन्धान, दोषीमाथि कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्नु नेपालको अन्तर्राष्ट्रिय दायित्व हो । यही उद्देश्यका लागि संविधानले आयोगलाई मानव अधिकार उल्लंघन सम्बन्धी उजुरी अनुसन्धान गर्ने, जिम्मेवार व्यक्ति वा निकायको पहिचान गर्ने तथा आवश्यक क्षतिपूर्ति र कारबाहीका लागि सिफारिस गर्ने अधिकार प्रदान गरेको छ ।

मानव अधिकार सरकारविरुद्ध नागरिकलाई प्राप्त हुन्छ । मानव अधिकारको अवधारणा नै राज्य शक्तिको प्रयोगलाई कानुनी सीमाभित्र राख्ने र नागरिकलाई सम्भावित दुरुपयोगबाट संरक्षण गर्ने सिद्धान्तमा आधारित छ । संसदीय समितिले आयोगसँग जानकारी लिन, छलफल गर्न वा प्रतिवेदन अध्ययन गर्न सक्छ तर आयोगलाई अनुसन्धान कसरी गर्ने, कसलाई दोषी ठहर गर्ने वा कुन निष्कर्ष निकाल्ने भन्ने निर्देशन दिन सक्दैन ।

यही संवैधानिक स्वतन्त्रताले आयोगको विश्वसनीयता र वैधानिक हैसियतलाई विशेष बनाएको हो । स्वतन्त्रता, स्वायत्तता, निष्पक्षता, पर्याप्त अधिकार र अनुसन्धान क्षमता यसका प्रमुख आधार हुन् । विश्वभरका राष्ट्रिय मानव अधिकार संस्थाहरूको मूल्याङ्कन गर्ने Global Alliance of National Human Rights Institutions (GANHRI) ले पेरिस सिद्धान्तको आधारमा संस्थाहरूलाई मान्यता प्रदान गर्दछ । नेपालको राष्ट्रिय मानव अधिकार आयोगले लामो समयदेखि उच्चस्तरीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै आएको छ । यसले आयोगलाई केवल राष्ट्रिय निकाय होइन, अन्तर्राष्ट्रिय मानव अधिकार संरचनाको एक महत्वपूर्ण अंगका रूपमा स्थापित गरेको छ ।

राज्यको व्यवहारमा उठेको प्रश्न
कार्की आयोगको प्रतिवेदन सरकारले प्राप्त गर्नासाथ त्यसलाई कार्यान्वयन गर्ने नाममा तत्काल कानूनी तथा प्रशासनिक सक्रियता देखिएको सार्वजनिक धारणा बलियो छ । तर राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति भने राज्यको स्पष्ट र औपचारिक प्रतिक्रिया देखिएको छैन । यहाँ प्रश्न व्यक्ति विशेष वा घटनाको होइन, राज्यको संस्थागत व्यवहारको हो । एउटै घटनामा आधारित दुई संवैधानिक प्रतिवेदनमध्ये एउटालाई तत्काल कार्यान्वयनको आधार बनाइने र अर्काेलाई अनिश्चित रूपमा बेवास्ता गरिने अभ्यासले विधिको शासन, समानता र निष्पक्षतामाथि प्रश्न उठाउँदैन र ? लोकतन्त्रको परीक्षण केवल सरकारको आलोचना सहन गर्ने क्षमतामा मात्र हुँदैन, राज्यले आफ्ना संवैधानिक संस्थाहरूको निष्कर्षप्रति कस्तो व्यवहार गर्छ भन्ने कुरामा पनि निर्भर हुने गर्दछ ।

निष्कर्ष
जेन्जी आन्दोलनसम्बन्धी बहस अन्ततः व्यक्तिहरूको होइन, राज्यका संस्थागत संरचनाहरूको परीक्षण हो । लोकतन्त्रमा विधिको शासन व्यक्तिअनुसार फरक हुन सक्दैन । संवैधानिक निकायका निष्कर्षहरू राजनीतिक सुविधा वा शक्ति सन्तुलनका आधारमा स्वीकार वा अस्वीकार गरिएमा राज्यप्रतिको संस्थागत विश्वास कमजोर हुन्छ । नेपालको लोकतान्त्रिक परिपक्वता त्यतिबेला मात्र प्रमाणित हुन्छ, जब राज्य आफ्ना संवैधानिक निकायहरूका निष्कर्षप्रति समान रूपमा जवाफदेही हुन्छ ।

मूल प्रश्न कसलाई दोषी ठहर गर्ने भन्ने मात्र होइन, बरु संविधानले निर्मााण गरेका संस्थाप्रति राज्य कति जिम्मेवार र उत्तरदायी छ भन्ने हो । किनकि लोकतन्त्रको वास्तविक शक्ति सरकारको अधिकारमा होइन, विधिको शासन, संवैधानिक संस्थाप्रतिको सम्मान, मानव अधिकारप्रतिको प्रतिबद्धता र अन्तर्राष्ट्रिय दायित्वप्रतिको इमानदारीमा निहित हुन्छ । संस्थाप्रतिको सम्मान कमजोर हुँदै गएमा क्षति कुनै एक प्रतिवेदनको हुँदैन, अन्ततः विधिको शासन स्वयं कमजोर हुन्छ

(लेखक राष्ट्रिय माव अधिकार आयोगका अवकास प्राप्त कर्मचारी हुन ।)

प्रकाशित मिति : २३ जेठ २०८३, शनिबार  ९ : ३४ बजे

वातावरण संरक्षणका लागि कानूनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले वातावरण संरक्षणका लागि नीतिगत तथा कानूनी व्यवस्थासँगै

नेकपाका सांसदलाई अभिमूखीकरण तालिम

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमूखीकरण तालिम

चिडियाखानालाई दश लाख रुपैयाँ सहयोग

काठमाडौँ– प्रभु शम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको

एसीसी महिला प्रिमियर कप : हङकङविरुद्ध नेपाल बलिङमा

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ– इस्लामावादस्थित नेपालको राजदूतावासले शुक्रबार ‘विश्वको सर्वोच्च शिखर सगरमाथा :