काठमाडौं- भारतीय अर्बपति सुनील भारती मित्तलले अमेरिका र चीन दुवैबाट स्वतन्त्र विश्वव्यापी स्याटेलाइट इन्टरनेट सञ्जाल निर्माण गर्ने महत्त्वाकांक्षी योजना अघि सारेका छन्। ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा उनले संवेदनशील सञ्चार पूर्वाधारका लागि विश्वका देशहरू अर्को राष्ट्रमा भर पर्न नसक्ने बताउँदै युरोप, भारत लगायत सबै देशलाई आफ्नै वैकल्पिक सञ्जाल आवश्यक रहेको उल्लेख गरे ।
मित्तलको भारती एयरटेलको लगानी रहेको युटेल्स्याट कम्युनिकेसन्सको ‘वनवेब’ ले यतिबेला एलन मस्कको स्पेसएक्स अन्तर्गतको स्टारलिङ्क र अमेजन जस्ता ठूला प्रविधि कम्पनीहरूसँग प्रतिस्पर्धा गरिरहेको छ। हाल स्टारलिङ्कसँग १० हजारभन्दा बढी स्याटेलाइट र कम्तीमा १ करोड ३६ लाख ग्राहक छन् भने वनवेबसँग करिब ६५० स्याटेलाइट मात्र सञ्चालनमा छन्।
सन् २०१५ मा वनवेबमा सुरुवाती लगानी गरेको भारती एयरटेलले सन् २०२० मा बेलायत सरकारसँग मिलेर टाट पल्टिन लागेको उक्त कम्पनीलाई उद्धार गर्न १ अर्ब डलर इक्विटी लगानी गरेको थियो . जसमा भारतीले पछि ५० करोड डलर थपेको थियो। व्यावसायिक आकार र आम्दानीमा स्टारलिङ्क निकै अगाडि रहे तापनि मित्तलले यस प्रतिस्पर्धालाई केवल ब्रोडब्यान्ड सेवामा मात्र सीमित नराखी सैन्य सञ्चालन, दुर्गम क्षेत्रको सम्पर्क र देशको रणनीतिक स्वायत्तताको विषयका रूपमा लिएका छन्।
सन् २०१६ मा मुकेश अम्बानीको रिलायन्स जियोको आगमनसँगै भारतीय दूरसञ्चार क्षेत्रमा सुरु भएको मूल्य युद्धमा १८ अर्ब डलर पुँजी संकलन गर्दै आफ्नो कम्पनीलाई टिकाएका मित्तल अबको प्रतिस्पर्धा आकाशमा सरेको बताउँछन्। भारतमा स्याटेलाइट सञ्चार सेवाका लागि वनवेब, स्टारलिङ्क र जियोले इजाजतपत्र पाइसकेका छन् ।
अमेजन लियो अनुमतिको पर्खाइमा छ। मित्तलले वनवेबले पाँच वर्षअघि नै स्वीकृतिका लागि आवेदन दिएको, तीन वर्षदेखि ग्राउन्ड पूर्वाधार तयार पारेको र विगत पाँच वर्षदेखि भारतमाथि स्याटेलाइट सञ्चालन गरिरहेकाले व्यावसायिक सुरुवातको दौडमा आफू मस्कभन्दा निकै अगाडि रहेको दाबी गरेका छन्।














प्रतिक्रिया