तामिल नाडू- भारतको तामिल नाडू राज्यमा नयाँ सरकार गठनको विषय अझै अन्योलमा परेको छ। तमिळगा भेट्री कझगम (टिभीके) प्रमुख विजयले कांग्रेसको समर्थनसहित सरकार गठनको दाबी पेश गरेका थिए । तर राज्यपाल आर. एन. रविले बहुमत पुष्टि नगरी शपथ ग्रहण हुन नसक्ने स्पष्ट पारेका छन्।
विजय बिहीबार फेरि राजभवन पुगेर राज्यपालसँग भेटवार्ता गरेका थिए। तर राज्यपालले केवल सबैभन्दा ठूलो दल हुनु मात्रै सरकार गठनका लागि पर्याप्त नहुने संकेत दिएका छन्।
राज्यपाल अहिले पनि आफ्नो अडानमा कायम छन् । विजयले पहिले विधानसभाभित्र स्पष्ट बहुमत देखाउनुपर्ने उनको मत छ।
२३४ सदस्यीय विधानसभा मा सरकार बनाउन ११८ सांसदको समर्थन आवश्यक पर्ने भएकाले उक्त संख्या पुष्टि गर्नुपर्ने राजभवनको धारणा छ।
गत अप्रिल २३ मा भएको विधानसभा निर्वाचनमा टिभीकेले १०८ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको थियो। तर विजय स्वयम् दुई क्षेत्रबाट निर्वाचित भएकाले नियमअनुसार एक सिट छोड्नुपर्ने हुन्छ। त्यसपछि पार्टीको सीट संख्या १०७ मा झर्नेछ।
सरकार गठनको प्रयासमा कांग्रेसले डीएमके गठबन्धन छोडेर विजयलाई समर्थन गर्ने निर्णय गरेपछि टिभीकेलाई राहत मिलेको थियो।
कांग्रेसका पाँच विधायक समर्थनमा आएपछि संख्या ११२ पुगे पनि बहुमतका लागि अझै ६ विधायक अपुग छन्। यही कारण राज्यपालले हालसम्म शपथ ग्रहणका लागि अनुमति दिएका छैनन्।
विजयले बुधबार कांग्रेसको समर्थनपत्रसहित सरकार गठनको दाबी पेश गरेका थिए। त्यसको भोलिपल्ट उनी फेरि राजभवन पुगेका हुन्। यस क्रममा सरकार गठनको गणित र थप समर्थन जुटाउने विषयमा छलफल भएको अनुमान गरिएको छ।
राजभवनले भने हालसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन। तर राज्यपालले समर्थनपत्र वा मौखिक दाबी मात्रै पर्याप्त नहुने स्पष्ट पारेका छन्। स्थिर सरकार सुनिश्चित गर्न ११८ विधायकको ठोस समर्थन आवश्यक रहेको उनको भनाइ छ।
यसबीच टिभीके नेता भी. एस. बाबुले सरकार गठन प्रक्रिया छिट्टै अघि बढ्न सक्ने बताएका छन्। तर केन्द्र सरकारको दबाबसम्बन्धी प्रश्नमा उनले टिप्पणी गर्न अस्वीकार गरेका छन्।














प्रतिक्रिया