विश्वकपको रौनकबीच बङ्गलादेशमा ‘कलेमा’ अङ्कित झण्डाले बढायो सुरक्षा चासो « Khabarhub

विश्वकपको रौनकबीच बङ्गलादेशमा ‘कलेमा’ अङ्कित झण्डाले बढायो सुरक्षा चासो


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले बङ्गलादेशमा फिफा विश्वकप फुटबलको व्यापक रौनक छ । बङ्गलादेशका सडक र घरहरूमा खेलप्रेमीहरूले मनपर्ने टोली, विशेष गरी अर्जेन्टिना र ब्राजिलका झण्डाहरू फहराएका छन् । तर, यही फुटबलको माहौलबीच राजधानी ढाका र अन्य सहरहरूमा इस्लामिक आस्थाको प्रतीक ‘कलेमा’ लेखिएका सेता झण्डाहरू पुनः देखिन थालेका छन् । यसले स्थानीय प्रहरी र सुरक्षा विज्ञहरूमाझ चिन्ता बढाएको छ ।

यी झण्डाहरू अल-कायदा र आईएसआईएसजस्ता अन्तर्राष्ट्रिय चरमपन्थी समूहहरूले प्रयोग गर्ने झण्डासँग मिल्दाजुल्दा भएकाले सुरक्षा निकायहरूले यसलाई गम्भीरतापूर्वक नियालिरहेका छन् । ढाका ट्रिब्यूनका अनुसार विगत दुई सातायता ढाका, नारायणगञ्ज, बोग्रा र फरिदपुर जस्ता विभिन्न जिल्लाका मुख्य सडक, फ्लाईओभर र आवासीय क्षेत्रमा अरबी लिपिमा कलेमा लेखिएका सेता झण्डाहरू लहरै राखिएका छन् । सामाजिक सञ्जालमा भाइरल भएका केही भिडियोहरूमा मोटरसाइकल र्‍यालीमा सहभागीहरूले यस्तै झण्डाहरू फहराएको देख्न सकिन्छ ।

प्रहरीको मिडिया तथा जनसम्पर्क विभागका सहायक प्रहरी महानिरीक्षक एएचएम शाहदात होसेनले यस्ता गतिविधिमाथि प्रहरीले कडा निगरानी राखिरहेको बताएका छन् । इस्लाम धर्मको नाममा मानिसहरूलाई भ्रममा पार्ने प्रयासलाई नसहिने र कसैले व्यक्तिगत वा सङ्गठनात्मक स्वार्थका लागि यी झण्डाहरू प्रयोग गरेमा कानुनी कारबाही गरिने उनले स्पष्ट पारेका छन् । प्रहरीले यो प्रदर्शन केवल फुटबलको उत्सवसँग मात्र जोडिएको छ कि यसको पछाडि कुनै ठुलो उद्देश्य लुकेको छ भन्ने कुरा पत्ता लगाउने कोसिस गरिरहेको छ ।

अर्कोतर्फ, र्‍यालीका आयोजकहरूले भने यी झण्डाहरूले कुनै राजनीतिक वा उग्रवादी सङ्गठन नभई इस्लाम धर्मको प्रतिनिधित्व गर्ने दाबी गरेका छन् । विश्वकपको समयमा अर्जेन्टिना वा ब्राजिलको झण्डा फहराउन मिल्छ भने कलेमा लेखिएको झण्डा फहराउनलाई किन फरक नजरले हेर्ने भन्ने उनीहरूको तर्क छ ।

तर सुरक्षा र समाजशास्त्रीय दृष्टिकोणबाट यसलाई फरक ढङ्गले हेरिएको छ । ढाका विश्वविद्यालयका सह-प्राध्यापक डा. मोहम्मद तावहिदुल हकले नयाँ र अपरिचित समूहहरूद्वारा यसरी भइरहेको प्रदर्शनले जनमानसमा अन्योल र चिन्ता बढाउन सक्ने बताएका छन् । बङ्गलादेशमा लामो समयदेखि सामाजिक र धार्मिक सद्भाव रहेको भन्दै उनले कसैलाई पनि वातावरण बिगार्न दिन नहुने उल्लेख गरे ।

सुरक्षा विश्लेषक अवकाशप्राप्त ब्रिगेडियर जनरल एम साखावत होसेनले पनि यस अभियानका मुख्य नाइकेहरू पहिचान गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार समस्या कलेमासँग होइन, बरु अन्तर्राष्ट्रियस्तरमा उग्रवादी समूहहरूसँग जोडिएका प्रतीकहरूलाई जानाजानी मूलधारमा ल्याउन खोजिएको हो कि भन्ने संशय मुख्य विषय हो । विशेषज्ञहरूले यस्ता दृश्यहरू बाहिर जाँदा अन्तर्राष्ट्रिय जगतमा बङ्गलादेशमा चरमपन्थी सोच बढिरहेको गलत सन्देश जान सक्ने चेतावनी दिएका छन् ।

प्रहरीले अहिलेसम्म यी प्रदर्शनकारीहरूलाई कुनै पनि प्रतिबन्धित सङ्गठनसँग सीधा जोडेको छैन । यद्यपि, प्रदर्शनमा सहभागी केहीले आफूहरू ‘तौहिदी जनता’ नामक समूहसँग आबद्ध रहेको दाबी गरेका छन् । शेख हसिना नेतृत्वको सरकार ढलेपछि भएका कतिपय आन्दोलनमा पनि यस्ता झण्डाहरू देखिएका थिए ।

प्रतिआतङ्कवाद विभागका एक अधिकारीले अहिले औपचारिक अनुसन्धान सुरु नभए पनि आफूहरूले घटनाक्रमलाई नजिकबाट हेरिरहेको बताए । उनका अनुसार केही समूहले धार्मिक भावनाको फाइदा उठाएर विदेशी उग्रवादी सङ्गठनका प्रतीकहरूलाई सामान्यीकरण गर्ने प्रयास गरिरहेका देखिन्छन् ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ५ : ४४ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने