काठमाडौं- अहिले बङ्गलादेशमा फिफा विश्वकप फुटबलको व्यापक रौनक छ । बङ्गलादेशका सडक र घरहरूमा खेलप्रेमीहरूले मनपर्ने टोली, विशेष गरी अर्जेन्टिना र ब्राजिलका झण्डाहरू फहराएका छन् । तर, यही फुटबलको माहौलबीच राजधानी ढाका र अन्य सहरहरूमा इस्लामिक आस्थाको प्रतीक ‘कलेमा’ लेखिएका सेता झण्डाहरू पुनः देखिन थालेका छन् । यसले स्थानीय प्रहरी र सुरक्षा विज्ञहरूमाझ चिन्ता बढाएको छ ।
यी झण्डाहरू अल-कायदा र आईएसआईएसजस्ता अन्तर्राष्ट्रिय चरमपन्थी समूहहरूले प्रयोग गर्ने झण्डासँग मिल्दाजुल्दा भएकाले सुरक्षा निकायहरूले यसलाई गम्भीरतापूर्वक नियालिरहेका छन् । ढाका ट्रिब्यूनका अनुसार विगत दुई सातायता ढाका, नारायणगञ्ज, बोग्रा र फरिदपुर जस्ता विभिन्न जिल्लाका मुख्य सडक, फ्लाईओभर र आवासीय क्षेत्रमा अरबी लिपिमा कलेमा लेखिएका सेता झण्डाहरू लहरै राखिएका छन् । सामाजिक सञ्जालमा भाइरल भएका केही भिडियोहरूमा मोटरसाइकल र्यालीमा सहभागीहरूले यस्तै झण्डाहरू फहराएको देख्न सकिन्छ ।
प्रहरीको मिडिया तथा जनसम्पर्क विभागका सहायक प्रहरी महानिरीक्षक एएचएम शाहदात होसेनले यस्ता गतिविधिमाथि प्रहरीले कडा निगरानी राखिरहेको बताएका छन् । इस्लाम धर्मको नाममा मानिसहरूलाई भ्रममा पार्ने प्रयासलाई नसहिने र कसैले व्यक्तिगत वा सङ्गठनात्मक स्वार्थका लागि यी झण्डाहरू प्रयोग गरेमा कानुनी कारबाही गरिने उनले स्पष्ट पारेका छन् । प्रहरीले यो प्रदर्शन केवल फुटबलको उत्सवसँग मात्र जोडिएको छ कि यसको पछाडि कुनै ठुलो उद्देश्य लुकेको छ भन्ने कुरा पत्ता लगाउने कोसिस गरिरहेको छ ।
अर्कोतर्फ, र्यालीका आयोजकहरूले भने यी झण्डाहरूले कुनै राजनीतिक वा उग्रवादी सङ्गठन नभई इस्लाम धर्मको प्रतिनिधित्व गर्ने दाबी गरेका छन् । विश्वकपको समयमा अर्जेन्टिना वा ब्राजिलको झण्डा फहराउन मिल्छ भने कलेमा लेखिएको झण्डा फहराउनलाई किन फरक नजरले हेर्ने भन्ने उनीहरूको तर्क छ ।
तर सुरक्षा र समाजशास्त्रीय दृष्टिकोणबाट यसलाई फरक ढङ्गले हेरिएको छ । ढाका विश्वविद्यालयका सह-प्राध्यापक डा. मोहम्मद तावहिदुल हकले नयाँ र अपरिचित समूहहरूद्वारा यसरी भइरहेको प्रदर्शनले जनमानसमा अन्योल र चिन्ता बढाउन सक्ने बताएका छन् । बङ्गलादेशमा लामो समयदेखि सामाजिक र धार्मिक सद्भाव रहेको भन्दै उनले कसैलाई पनि वातावरण बिगार्न दिन नहुने उल्लेख गरे ।
सुरक्षा विश्लेषक अवकाशप्राप्त ब्रिगेडियर जनरल एम साखावत होसेनले पनि यस अभियानका मुख्य नाइकेहरू पहिचान गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार समस्या कलेमासँग होइन, बरु अन्तर्राष्ट्रियस्तरमा उग्रवादी समूहहरूसँग जोडिएका प्रतीकहरूलाई जानाजानी मूलधारमा ल्याउन खोजिएको हो कि भन्ने संशय मुख्य विषय हो । विशेषज्ञहरूले यस्ता दृश्यहरू बाहिर जाँदा अन्तर्राष्ट्रिय जगतमा बङ्गलादेशमा चरमपन्थी सोच बढिरहेको गलत सन्देश जान सक्ने चेतावनी दिएका छन् ।
प्रहरीले अहिलेसम्म यी प्रदर्शनकारीहरूलाई कुनै पनि प्रतिबन्धित सङ्गठनसँग सीधा जोडेको छैन । यद्यपि, प्रदर्शनमा सहभागी केहीले आफूहरू ‘तौहिदी जनता’ नामक समूहसँग आबद्ध रहेको दाबी गरेका छन् । शेख हसिना नेतृत्वको सरकार ढलेपछि भएका कतिपय आन्दोलनमा पनि यस्ता झण्डाहरू देखिएका थिए ।
प्रतिआतङ्कवाद विभागका एक अधिकारीले अहिले औपचारिक अनुसन्धान सुरु नभए पनि आफूहरूले घटनाक्रमलाई नजिकबाट हेरिरहेको बताए । उनका अनुसार केही समूहले धार्मिक भावनाको फाइदा उठाएर विदेशी उग्रवादी सङ्गठनका प्रतीकहरूलाई सामान्यीकरण गर्ने प्रयास गरिरहेका देखिन्छन् ।












प्रतिक्रिया