जेन-जी स्मृति दिवसको मञ्चमा विवादित पात्र राखेर गृहमन्त्रीको ‘कर्कश’ अभिव्यक्ति, रास्वपाका एकपछि अर्को नेताले उठाए प्रश्न « Khabarhub

जेन-जी स्मृति दिवसको मञ्चमा विवादित पात्र राखेर गृहमन्त्रीको ‘कर्कश’ अभिव्यक्ति, रास्वपाका एकपछि अर्को नेताले उठाए प्रश्न


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंमा आयोजित स्मृति सभा विवादको केन्द्रमा परेको छ।

जेन-जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा आयोजित ‘जेन-जी आन्दोलन २०८२’ को स्मृति दिवस कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दल र सञ्चारकर्मीलाई ‘सुध्रिन’ चेतावनी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद चर्किएको हो।

त्यसमाथि जेन-जी आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध नजोडिएका र विगतमा विभिन्न आपराधिक तथा विवादास्पद घटनासँग जोडिएका दुई धर्मगुरु विजय भण्डारी र श्रीनिवास आचार्यलाई जेन-जी सहिदहरूको स्मृति सभाको मञ्चमा राखिएको विषयले थप प्रश्न उठाएको छ।

कार्यक्रममा कानुनमन्त्री सोबिता गौतम र भौतिक मन्त्री सुनिल लम्सालसहितका उच्च सरकारी अधिकारी उपस्थित थिए। सरकारका मन्त्रीहरू उपस्थित रहेको कार्यक्रममा विवादित पृष्ठभूमिका धार्मिक व्यक्तिहरूलाई मञ्चमा अगाडि राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीभित्रैबाट आलोचना सुरु भएको छ।

गत वर्ष भदौ २३ र २४ को जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा आयोजित कार्यक्रमको मञ्च, त्यसमा सहभागी पात्र र गृहमन्त्रीले दिएको अभिव्यक्ति अहिले विवादको केन्द्रमा छन्।

उक्त मञ्चमा बोलेका गृहमन्त्री गुरुङ कर्कश सुनिए । कार्यक्रममा बोल्दै उनलेे चिल्लाचिल्ला भाषण गर्न नआएको भन्दै मनका कुरा भन्न नरोकिने बताएर पत्रकारलाई गाली गर्न भ्याए।

उनले जेन-जी आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गर्ने पुराना दलका नेताहरूप्रति असन्तुष्टि जनाउँदै गत वर्ष भदौ २३ गतेको घटनालाई इतिहासका रूपमा स्वीकार्नुपर्ने बताए।

उनले भदौ २३ लाई ‘इतिहास’ भन्दै इतिहास नफेरिने र त्यसलाई फेर्न प्रयास नगर्न चेतावनी दिए। ‘तीन करोड नेपालीले जिताएर पठाएको’ भन्दै उनले पुराना दललाई ‘सुध्रिनुस्, अझै समय छ’ भनेर विवादित अभिव्यक्ति दिए ।

उनको चेतावनी पुराना दलसँगै सञ्चारकर्मीप्रति पनि लक्षित थियो । उनले दुईचारजना पत्रकारहरूलाई ‘सुध्रिन’ चेतावनी दिए। केही व्यक्ति तथा राजनीतिक दलको सन्दर्भ सुनाएका उनलेे पत्रकारहरूसहित सबैलाई सुध्रिन भन्न चाहेको बताए।

जेन-जी आन्दोलन अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक जवाफदेहिता र राज्यसत्ताको निरंकुश प्रवृत्तिविरुद्ध भएको दाबी उनलेे गरे । तर सरकारलाई प्रश्न गर्नेहरूलाई ‘सुध्रिन’ भन्ने चेतावनीयुक्त भाषा प्रयोग भएपछि आलोचना सुरु भएको छ।

विवादित धर्मगुरु

गृहमन्त्रीले पुराना दल र सञ्चारकर्मीलाई चेतावनी दिइरहँदा उनीसँगै मञ्चमा गेरुवस्त्र भिरेका दुईजनाले ताली बजाइरहे। गृहमन्त्रीलाई हौस्याउनेहरूमा विजय भण्डारी र श्रीनिवास आचार्य पनि थिए।

जेन-जी आन्दोलनका सहिदहरूको सम्झनामा आयोजित कार्यक्रममा यी दुईलाई मञ्च दिएको कुरा देखेर धेरैले जिब्रो टोके। उनीहरूको पृष्ठभूमि जेन-जी आन्दोलनसँग जोडिएको छैन। उनीहरू दुवैले सुशासन अभियानसँग पनि साइनो राख्दैनन् । राजावादी आन्दोलन, धार्मिक अराजकता र कानुनी विवादमा मुछिएका दुवैलाई सरकार या कसले रेडकार्पेट ओछ्यायो ? कतिसम्म भने उनीहरू मन्त्रीसँगै भाषण पनि गर्न भ्याए।

आफूलाई बालयोगेश्वर विजय कृष्णमूर्ति भन्ने विजय भण्डारी ठगी र महायज्ञमा उठेको चन्दा दुरुपयोगसम्बन्धी विवादमा मुछिएका थिए। मानव कल्याण आध्यात्मिक परोपकार संघ चलाउने भण्डारीले अमेरिका पठाइदिने भन्दै रकम ठगी गरेको आरोप लागेको थियो । प्रहरीमा जाहेरी पनि परेको थियोे । प्रहरीले छाउनीस्थित डेरामा छापा हान कागजातसमेत बरामद गर्यो । उनले एक करोड २७ लाख रुपैयाँभन्दा बढी ठगेको आरोपमा अदालतमा मुद्दा नै चल्यो ।

उनी थुनामा परेका व्यक्ति हुन् । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगेपछि वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई कैद तथा जरिवाना फैसला गरेको थियो । सर्वोच्च अदालतसम्म पुगेको मुद्दामा पीडितलाई ठगेको रकम फिर्ता दिएर मिलापत्र गरि मुद्दा मिलाइएको थियो ।

उनलेे पशुपतिनाथ परिसरमा कोटीहोमका क्रममा संकलित रकम हिनामिना गरेको आरो पनि लाग्यो । विवादैविवादमा परेका उनलाई सुधन र सोबितासँगै मञ्च दिएकोमा सरकारकै मान्छे पनि चकित परेका छन् ।

अर्कोतिर विजयसँगै मञ्चमा अतिथि बनेका श्रीनिवास आचार्य साम्प्रदायिक सद्भाव भड्काउने गतिविधिसँग सम्बन्धित छन् ।

२०७५ सालमा उनले आफै्माथि गोली हाने। प्रहरीको अनुसन्धानबाट आफैं योजना बनाएर उनैले गोली हान्न लगाएको खुल्यो । साम्प्रदायिक हिंसा भड्काउन आफ्नै योजनामा माधव चौधरी नामका मानिसलाई आफूलाई गोली हान्न लगाएको खुल्यो । त्यसपछि हातहतियार तथा खरखजना कसुरअन्तर्गत मुद्दा चल्यो । उनलेे गौहत्या गर्नेलाई मार्ने भाषण दिपछि २०८० मा सुनसरीबाट पक्राउ गरियो।

त्यस्तै, २०८१ चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा पनि उनी सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परे। यति विवादास्पद व्यक्तिलाई जेन-जीहरूको स्मृति सभाको मञ्चमा स-सम्मान राखिएको कुरामा अहिले सामाजिक सञ्जाल तातेको छ । विजय र श्रीनिवास राजावादी र हिन्दुवादी आन्दोलनका सक्रिय सदस्य हुन् । २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जाने गरि भएको राजावादी आन्दोलनपछि उनीहरू हिंसा भड्काउन लागिरहेको रिपोर्ट सरकारी निकायसँग छ।

यस्तोमा जेन-जी आन्दोलनको स्मृति दिवसलाई विभिन्न राजनीतिक तथा धार्मिक समूहका विवादित व्यक्तिहरूको उपस्थितिले विवादमा पारिदिएको छ।

रास्वपाभित्रैबाट चर्कियो आलोचना

उक्त कार्यक्रमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीभित्रैबाट सार्वजनिक आलोचना सुरु भएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सामाजिक सञ्जालमा संस्कृत उक्ति उद्धृत गर्दै लेखेका छन्, ‘अहङ्कारः विनाशस्य मूलम्।’ यसको अर्थ, ‘अहंकार नै विनाशको मूल कारण हो’ भन्ने हुन्छ।

रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले गृहमन्त्री गुरुङ र कानुनमन्त्री गौतम सहभागी भएको कार्यक्रमको तस्बिर तथा दृश्यप्रति प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘श्रव्य– कर्कस, दृश्य– बिझाउने।’

उनले थप प्रश्न गरेका छन्, ‘बदल्छौँ भन्नेहरू नै बदलिँदै त छैनौँ?’

त्यस्तै, रास्वपा सांसद डा. अमरेश सिंहले विवादित धर्मगुरुलाई जेनजी सहिदहरूको मञ्चमा अगाडि राखिएको र मन्त्रीहरू पछाडि रहेको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन्।

उनले संविधान र समावेशिताको धज्जी उडाउने तथा देशका लागि काम गर्ने व्यक्तिहरूलाई पाखा लगाउने सन्देश दिन खोजिएको हो कि भन्ने प्रश्न गरेका छन्।

सरकार आफ्नै निर्णयमा टिक्न नसक्ने र निरन्तर विवादास्पद निर्णय गर्दै गएको उनको टिप्पणी छ। ‘यही दिन देख्नलाई थियो महान् सहिदहरूको बलिदान?’

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले भने जेनजी आन्दोलनका सहिद र घाइतेहरूको सम्मानका नाममा भइरहेको गतिविधिमाथि गम्भीर प्रश्न उठाएकी छन्।

गत वर्ष भदौ २४ गते आगजनी गरिएको नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्र अगाडि जेनजी सहिदहरूको सम्झनामा गरिएको कार्यक्रम देखेर आफू अवाक बनेको उनले बताएकी छन्।

गृहमन्त्री गुरुङ तथा विवादित पृष्ठभूमिका हिन्दुवादी धर्मगुरुको सहभागितामा भएको कार्यक्रमको स्वरूपप्रति उनले असन्तुष्टि जनाएकी छन्।

‘मलाई कताकता लाग्यो, हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

धितालले कार्यक्रमका लागि निर्माण गरिएको मञ्च, धर्मगुरुको उपस्थितिको औचित्य तथा आफ्ना सन्तान गुमाएका परिवारको पीडालाई कसरी सम्बोधन गरिएको छ भन्ने विषयमा प्रश्न उठाएकी छन्।

जेनजी आन्दोलनको आवाजलाई अगाडि बढाउने तथा सरकारका काममाथि निरन्तर प्रश्न उठाउने व्यक्तिहरूले पनि कार्यक्रमको स्वरूपप्रति हस्तक्षेप गर्न नसकेको उनको टिप्पणी छ।

पछिल्लो एक वर्षमा नेपाली समाजले अरूको पीडा र भावना महसुस गर्ने क्षमता गुमाउँदै गएको उनले उल्लेख गरेकी छन्।

उनले जेनजी आन्दोलनका क्रममा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र निरंकुश राज्यसत्ताविरुद्ध सडकमा उत्रिएको स्मरण गर्दै अहिलेको अवस्थाप्रति प्रश्न गरेकी छन्।

‘पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको?’ उनले प्रश्न गरेकी छन्।

उनले आन्दोलनका क्रममा अभिव्यक्ति स्वतन्त्रताको हननविरुद्ध आवाज उठाउनेहरू अहिले प्रश्न गर्नेहरूमाथि चेतावनी र धम्कीको भाषा प्रयोग गर्ने अवस्थामा पुगेको टिप्पणी गरेकी छन्।

‘त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भनेर सडकमा गएका थियौँ हामी। के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौँ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ?’ उनको प्रश्न छ।

गृहमन्त्री गुरुङतर्फ संकेत गर्दै धितालले सुधार अरूले मात्रै गर्नुपर्ने र आफूहरूले आत्मसमीक्षा गर्न नपर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएकी छन्।

‘यही दिन देख्नलाई थियो महान् सहिदहरूको बलिदान?’ उनले लेखेकी छन्।

स्मृति सभाको उद्देश्य र मञ्चमाथि प्रश्न

जेन-जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन-जी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रमको मूल उद्देश्य गत वर्षको आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झना र घाइतेहरूको योगदानको सम्मान गर्नु थियो।

तर कार्यक्रम सकिएसँगै त्यसको मूल उद्देश्यभन्दा मञ्चमा उपस्थित पात्र, धार्मिक व्यक्तिको भूमिका र गृहमन्त्रीको राजनीतिक अभिव्यक्ति नै बहसको केन्द्रमा पुगेको छ।

एकातिर जेन-जी आन्दोलनका सहिदहरूको सम्झनामा आयोजित कार्यक्रममा विगतमा विभिन्न आपराधिक तथा कानुनी विवादमा परेका व्यक्तिको उपस्थितिमाथि प्रश्न उठाइएको छ।

अर्कोतिर, आन्दोलनले उठाएका अभिव्यक्ति स्वतन्त्रता र राज्यसत्ताको आलोचनाको अधिकारजस्ता मुद्दाको स्मृति दिवसमै गृहमन्त्रीबाट पुराना दल र सञ्चारकर्मीलाई ‘सुध्रिन’ चेतावनी दिइएको छ।

यसले जेन-जी आन्दोलनको एक वर्षपछि त्यसको राजनीतिक र वैचारिक दिशा कता जाँदैछ भन्ने नयाँ बहससमेत जन्माएको छ।

जेन-जी आन्दोलनका सहिदहरूको बलिदानको स्मरण गर्ने मञ्च अन्ततः उनीहरूको योगदान र आन्दोलनको मूल उद्देश्यमा केन्द्रित रहनुपर्ने थियो कि राजनीतिक शक्ति प्रदर्शन, धार्मिक प्रभाव र विवादित पात्रहरूको उपस्थितिको स्थल बन्नुपर्ने थियो भन्ने प्रश्न अहिले राजनीतिक वृत्तमा छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ११ : ०७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले