रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल « Khabarhub

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिरहा– धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको खोजीमा सहकारी र बजारतिर भौँतारिनु पर्दैन । विगत छ महिनादेखि उनले आफ्नो खेतमा रासायनिक मलको सट्टा ‘गँड्यौला  मल’ प्रयोग गर्न थालेका हुन् ।
 
अनिताले अहिले करिब पाँच कट्ठा जमिनमा विभिन्न प्रकारका तरकारीखेती गरिरहेका छन् । गँड्यौला मलको प्रयोगबाट उत्पादन निकै सन्तोषजनक भएको उनको अनुभव छ । 

‘जबदेखि गँड्यौला मल सुरु गरेँ, रासायनिक मलको खोजीमा दौडिनुपरेको छैन’, उनले खुसी हुँदै भने, ‘यसले चिस्यान बढाउनुका साथै अर्ग्यानिक तरकारी उत्पादनमा पनि ठूलो सहयोग पुर्याएको छ । माटोको उर्वराशक्ति पनि बढाउँदोरहेछ ।’

अनितामात्र होइन, सोही टोलकी सुगन्धादेवी सिंहले पनि गँड्यौला मलकै प्रयोगबाट खेतीपाती गरिरहेका छन् । यो टोलका ११ घरपरिवारले ‘महारानी महिला कृषक समूह’ गठन गरी व्यावसायिक रूपमा गँड्यौला  मल उत्पादन गरिरहेका छन् । 

कुल २६ जना सदस्य रहेको यस समूहका अन्य १२ घरपरिवारले गोठ सुधार गरी कम्पोष्ट मल उत्पादन गरिरहेका छन् । समूहकी कोषाध्यक्ष उर्मिला महतोका अनुसार विस्तारै वडाभरिका किसान गँड्यौला  र कम्पोष्ट मलतर्फ आकर्षित हुँदै गएका छन् ।

उर्मिलाका अनुसार गाईभैँसीको मलमूत्र र सड्ने झारपातलाई संकलन गरी त्यसमा गँड्यौला छाडिन्छ । गँड्यौलाले ती वस्तुलाई आहाराका रूपमा खान्छन् र उनीहरूको दिसा नै मलका रूपमा प्रयोग गरिन्छ । यो मलले माटोलाई चिस्यानयुक्त बनाइराख्न मद्दत गर्छ, जुन जलवायुमैत्री कृषिका लागि उपयुक्त मानिन्छ ।

किसानलाई आधुनिक र जलवायु उत्थानशील पद्धतिमा आबद्ध गराउन लहानस्थित ‘राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल’ले ‘जलवायुमैत्री गाउँ परियोजना’मार्फत सक्रिय भूमिका खेलिरहेको छ ।

 ‘केयर नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनाले कृषक पाठशाला सञ्चालन गर्नेदेखि आवश्यक कृषि सामग्री उपलब्ध गराउनेसम्मका कार्य गर्दै आएको छ ।
 
परियोजनाका फिल्ड सुपरीवेक्षक रविन साहका अनुसार धनगढीमाई नगरपालिकाको वडा नं १४ बाहेकका अन्य सबै वडामा महिला कृषक समूह गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । 

यसअन्तर्गत गोठ सुधार, गँड्यौला  मल उत्पादन, बोरिङ तथा फोहोरा सिँचाइ जडान, झोल मल, जैविक मल, आधुनिक चुलो प्रवर्द्धन र जलवायुमैत्री बीउबिजन वितरणजस्ता कार्यहरू प्रभावकारी रूपमा अघि बढाइएको साहले जानकारी दिए ।

परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत ईश्वर थापाका अनुसार यो कार्यक्रम यहाँका धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी, भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिका गरी चार स्थानीय तह तथा सप्तरीका रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सञ्चालित छ । 

उनका अनुसार ७० प्रतिशत संस्थाको र ३० प्रतिशत किसानको लागत साझेदारीमा सञ्चालित यो कार्यक्रमले किसानमा अपनत्वको बोध गराएको छ ।
  
थापाले भने, ‘मधेस प्रदेशमा हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्दै लैङ्गिक उत्तरदायी र जलवायु उत्थानशील कृषक समुदायको विकास गर्नु हाम्रो मुख्य उद्देश्य हो । यस अभियानले विशेषगरी कृषिमा महिलाको कार्यबोझ कम गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा प्रत्यक्ष सहयोग पुर्याउने लक्ष्य राखेको छ । साथै, माटोमा कार्बन सञ्चिति बढाएर उत्पादकत्व सुधार गर्ने र जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न सक्नेगरी किसानलाई सक्षम बनाउन हामी केन्द्रित छौँ ।’

जलवायुमैत्री कृषिको महत्व बढ्दै जाँदा सरकारले पनि यसलाई विशेष प्राथमिकता दिएको छ । सरकारको ‘शासकीय सुधारका १०० कार्यसूची’मा समेत माटोमा कार्बन बढाउने विषय समेटिएको छ । 

विज्ञहरूका अनुसार माटोमा कार्बन बढ्दा पोषकतत्वको चुहावट कम हुने र बिरुवाको जराको फैलावट राम्रो हुने गर्छ । थोरै समयमा नाफा खोज्नेहरूका लागि यो पद्धति ढिलो लागे पनि माटोको दीर्घकालीन स्वास्थ्य र विषादीरहित उत्पादनका लागि गँड्यौला  मल अहिलेको उत्तम विकल्प सावित भएको छ ।
 

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : ४१ बजे

चौकिटोल र लालझाडी पुल निर्माणको प्रगति ७० प्रतिशत

मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीमा चौकिटोल र लालझाडी जोडने

गोरुलाई निर्दयी व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक जना पक्राउ

काठमाडौं- प्युठानको गौमुखी गाउँपालिकामा गोरुलाई निर्दयी व्यवहार गरेको भिडियो सामाजिक

महोत्तरीका १६ कामदार भारतमा बन्धक

जलेश्वर (महोत्तरी)- महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका १० पुरुष र छ

दोलखाको सरकारी विद्यालयमा चीनको सहयोग, पुस्तकालय स्थापना, विद्यार्थीलाई खेल सामग्री

दोलखा- दोलखाको एक सरकारी विद्यालयका बालबालिकाको शैक्षिक र शारीरिक विकासका

भीरबाट लडेर किशोरको मृत्यु

दमौली (तनहुँ)- तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर