काठमाडौं- चीनमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकास र विस्तारले श्रम बजारमा गम्भीर असर पार्न थालेको छ । एआईका कारण आफ्नो रोजगारी गुम्ने डरले चीनका लाखौँ श्रमिकहरू त्रसित बनेका छन् । प्रविधिको यो तीव्र दौडले एकातिर विकासको दाबी गरिरहेको छ भने अर्कातिर कमजोर श्रम बजारमा सामाजिक तनाव सिर्जना गरिरहेको छ ।
चीनको वुहान सहरमा प्रयोगमा ल्याइएका ‘रोबोट्याक्सी’ (चालकबिहीन ट्याक्सी) ले परम्परागत ट्याक्सी चालकहरूको कमाइमा भारी गिरावट ल्याएको छ । प्रविधि कम्पनी बाइडुद्वारा सञ्चालित यी ट्याक्सीका कारण धेरै चालकहरूको आम्दानी ४० प्रतिशतसम्म घटेको छ ।
प्रविधिमा आएको खराबीका कारण केही समय यी ट्याक्सीहरू बन्द हुँदा चालकहरूले राहत महसुस गरे पनि यसले प्रविधिमा निर्भरताको जोखिमलाई देखाएको छ । स्थानीय ट्याक्सी चालकहरू एआईका कारण आफूहरूको जीविकोपार्जन खोसिएको भन्दै चिन्ता व्यक्त गर्छन् । कतिपयले एआई प्रविधिले गरिब वर्गको गाँस खोसेको आरोप लगाउँदै विरोधसमेत गरेका छन् ।
एआईको प्रभाव केवल ट्याक्सी चालकमा मात्र सीमित छैन । फिल्म उद्योगका प्राविधिकदेखि कार्यालयका कर्मचारीहरूसम्म एआईको चपेटामा परेका छन् । वर्षौँसम्म मेहनत गरेर बनाएको आफ्नो करिअर एआई सफ्टवेयरले क्षणभरमै विस्थापन गरिदिँदा धेरै कामदारहरू निराश छन् । फिल्म क्षेत्रमा काम गर्ने प्राविधिकहरू आफ्नो कामको मूल्य र अवसर दुवै घट्दै गएको बताउँछन् । चीनको श्रम बजारमा हाल लाखौँ मानिसहरू औपचारिक रोजगारी छोडेर गिग इकोनोमीमा संलग्न हुन बाध्य छन् । तर त्यहाँ पनि एआईले उनीहरूको स्थान ओगट्ने खतरा बढेको छ ।
यद्यपि, चीन सरकारले एआईको यो बढ्दो प्रभावबारे चासो देखाउन थालेको छ । सरकारी सञ्चार माध्यमहरूले रोजगारीको अधिकार र एआई प्रविधिबीच द्वन्द्व बढिरहेको भन्दै चेतावनी दिएका छन् । चिनियाँ अधिकारीहरूले एआईलाई रोजगारी सिर्जना गर्ने र जनहितमा प्रयोग गर्ने विषयमा जोड दिन थालेका छन् ।
विज्ञहरूका अनुसार सरकारले निजी क्षेत्रलाई नियमन गर्दै रोजगारी संरक्षण गर्न सक्ने सम्भावना छ, तर परिवर्तनको गति यति तीव्र छ कि धेरै श्रमिकहरूका लागि अनुकूल हुने समय घर्किइसकेको हुन सक्छ । एआईको भविष्यलाई लिएर चिनियाँ श्रमिकहरूमाझ प्रविधिलाई आत्मसाथ गर्ने वा त्यससँग प्रतिस्पर्धा गर्ने भन्ने बहस जारी छ ।












प्रतिक्रिया