काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेन-जी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएपछि विवाद चर्किएको छ।
विवादित पृष्ठभूमि र ठगी आरोपी विजय भण्डारी तथा आफैंलाई गोली हान्न लगाएका आचार्य श्रीनिवास कार्यक्रममा उपस्थित भएपछि जेन-जीहरूले पनि प्रश्न उठाएका छन्।
विगतमा आपराधिक गतिविधिमा मुछिएका र शंकास्पद राजनीतिक आवद्धता व्यक्तिलाई कसले कार्यक्रममा बोलायो भन्ने विषयमा अहिले प्रश्न चर्किएको हो। मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानुनमन्त्री सोबिता गौतमलगायत सरकारका मन्त्रीहरू उपस्थित थिए।
यी दुई विवादित पृष्ठभूमिका व्यक्तिले उनीहरूसँगै मञ्च शेयरदेखि भाषणसमेत गर्न भ्याए। विगतमा आपराधिक क्रियाकलापमा जोडिएका विवादित पात्र मञ्चमा देखिएपछि आफूहरू कार्यक्रमबाट बाहिरिएको नवपुस्ताका प्रतिनिधि उपार्जुङ राईले खबरहबलाई बताएका छन्।
जेन-जी राईले खबरहबसँग भने, ‘ठगी र आपराधिक क्रियाकलापमा मुछिएका दुई पात्र सरकारका मन्त्रीहरूसँगै मञ्चमा देखिएपछि हामीले त्यहाँ बस्नु शोभनीय नठानेर निस्किहाल्यौँ। यो काम कसले र किन गरायो भन्ने जवाफ मागिरहेका छौँ। खोजीनीति गर्दा उचित जवाफ आएको छैन। यस्ता क्रियाकलापले आन्दोलनमा परेका अप्ठ्यारोको समाधान हुँदैन।’
यता जेन-जी अगुवा मिराज ढुङ्गानाले पनि विवादित पात्रहरूलाई कार्यक्रममा अतिथि बनाइएको देखेर आफू आश्चर्यमा परेको भन्दै सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
सरकारका मन्त्रीहरू नै विवादित व्यक्तिहरूसँगै एउटै मञ्चमा बसेर कार्यक्रममा सहभागी भएपछि उनीहरूको नैतिकतामा समेत प्रश्न उठ्ने भन्दै ढुङ्गानाले कसले र किन उनीहरूलाई कार्यक्रममा ल्यायो भन्ने स्पष्ट जवाफ सरकारले दिनुपर्ने बताए।
‘मन्त्रीहरू नै उपस्थित भएको कार्यक्रममा दुईजना ठग र विवादित व्यक्तिहरू कहाँबाट आए, त्यो हामीले खोजीनीति गरिरहेका छौँ। हामीलाई स्पष्ट सरकारी जवाफ चाहिन्छ, किनभने सरकारका व्यक्तिहरू पनि त्यहाँ सामेल हुनुहुन्छ,’ ढुङ्गानाले भने।
उनले थपे, ‘धर्मगुरुको भेष बनाएर उहाँहरूले गरेको कुकर्म छर्लङ्गै छ। यस्ता व्यक्तिहरू मञ्चमा उभिँदा त्यही मञ्चमा सरकारी निकायका व्यक्तिहरू देखिँदा पक्कै पनि शङ्का गर्ने मेलो नै छ।’

गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीमाथि प्रश्न
विवादित दुई पात्रलाई कार्यक्रममा ल्याउने विषयमा गृहमन्त्री सुदन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ।
विभिन्न पक्षबाट आएका नवपुस्ताका प्रतिनिधिहरूले उनीहरूको नैतिकतासँगै जिम्मेवारीमाथि प्रश्न उठाएका हुन्। यद्यपि, दुई विवादित पात्रलाई कार्यक्रममा ल्याउन यी दुई मन्त्रीको भूमिका थियो कि थिएन भन्ने विषयमा स्पष्ट जवाफ आएको छैन।
जेन-जी प्रतिनिधिहरूले आफूहरूले पनि यसबारे खोजी गरिरहेको र तत्कालै निष्कर्षमा पुग्ने अवस्था नरहेको बताएका छन्।
दुई विवादित पात्रलाई कसले अतिथि बनाएर मञ्चमा ल्यायो भन्ने विषयमा अहिले व्यापक चासो र प्रश्न उठेको छ। आयोजकले उनीहरूलाई बोलाएको देखिए पनि कार्यक्रममा ल्याउन कसको निर्णायक भूमिका थियो भन्ने अझै स्पष्ट हुन सकेको छैन।
जेन-जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंमा आयोजित स्मृति सभामा विवादित पात्रहरूको उपस्थितिलाई लिएर अहिले बहस भइरहेको छ। कार्यक्रममा सहभागी सरकारका मन्त्रीहरूलाई समेत यस विषयमा घेरिएको छ।
जेन-जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेन-जी नेपालको संयुक्त आयोजनामा नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा ‘जेन-जी आन्दोलन २०८२’ स्मृति दिवस कार्यक्रम आयोजना गरिएको थियो।












प्रतिक्रिया