काठमाडौं- गत १८ फागुनमा निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरिदियो ।
चुनावको मुखमा उम्मेदवारी खारेज गरिदिएपछि साह बिलखबन्दमा परे । बालेन्द्र साह र रवि लामिछाने देशभर दौडाहा गरेपछि आएको घण्टी लहरबीच कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका साहको उम्मेदवारी खारेजीले रास्वपालाई घाटा लाग्यो ।
साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेकोले उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको थियो ।
साहको उम्मेदवारी खारेजी भएको उक्त निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का रामचन्द्र मण्डल, नेपाली कांग्रेसका रामपलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादव सहित ४२ जना उम्मेदवार रहेका थिए ।
विवादै विवादले कालोसूचीमा परेका साहको उम्मेदवारी खारेज भएसँगै त्यहाँ अब नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितका दलबीच प्रतिस्पर्धा भएको थियो ।
खारेज भएको चुनाव चिह्नमा मत
साहको उम्मेदवारी खारेज भएको अवस्थामा धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादव विजयी भएको मतांकले देखाउँछ । तर यादवलाई अझै पनि निर्वाचन आयोगले विजयी घोषणा गरेको छैन । यसैलाई लिएर नेकपाले सोमबार आपत्ति प्रकट गरिसकेको छ।
आयोगले मतपरिणाम सार्वजनिक गर्नबाट रोक लगाएको निर्णयप्रति असन्तुष्टि जनाउँदै यादवले विरोध जनाइसकेका छन् ।
‘निर्वाचन आयोग स्वयम्ले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिको उपस्तिथिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गरिएको छ’, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यले भनेका छन्, ‘निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका कार्य हुनु चिन्ताजनक विषय हो । कसैको कानुनसम्मत उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै नदिनु कानुनसम्मत देखिँदैन।
निर्वाचित भएका उम्मेदवारलाई आयोगले प्रमाणपत्र उलब्ध गराउनु पर्ने माग नेकपाको छ। यादवले पनि निर्वाचन आयोगले दोहोरो मापदण्ड अपनाएको आरोप लगाए ।
आयोगका शाखा अधिकृत अरुण अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले मतगणनाको परिणाम घोषणा नगर्न भनेका छन् ।
आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएपछि पहिलोपटक फागुन १८ गते किशोरी साहको उम्मेदवारी खारेजी गरेको थियो ।
मतपरिणाम सार्वजनिक भइरहँदा फागुन २३ गते आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गर्दै किशोरीको मत गणना गरी सार्वजनिक नगरी छुट्टै लगत राख्न भनेको थियो ।
किशोरी साहको उम्मेदवारी खारेज भए पनि त्यहाँ घण्टी चुनाव चिह्नमा सबैभन्दा धेरै मत परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गर्दासम्म घण्टी चुनाव चिह्नमा २१ हजार ७७५ मत परेको थियो ।
तर पछिल्लो पटक घण्टीमा धेरै मत खसेको अवस्थामा निर्वाचन आयोगले आफ्नो आधिकारिक वेबसाइटमा मतपरिणाम राखेको छैन । ईकान्तिपुर डटकमको इलेक्सन पोर्टले सार्वजनिक गरेको विवरणअनुसार त्यहाँ नेकपा मातृकाप्रसाद यादवले १० हजार ४२८ मत ल्याएका छन् । नेपाली कांग्रेसका रामपल्टन साहले ९ हजार ४८५ मत ल्याएका छन्। उता नेकपा एमालेका रामचन्द्र मण्डलको मत ९२२० रहेको ।
रास्वपाका साहको उम्मेदवारी खारेज भएको अवस्थामा कान्तिपुरको वेबसाइटमा घण्टीलाई खसेको मत राखिएको छैन । तर मतगणनाका क्रममा घण्टीले २१ हजारभन्दा धेरै मत पाएको छ। उम्मेदवार नै नभए पनि घण्टीले दोब्बर धेरै मत ल्याएको अवस्थामा साहले त्यसअघि सर्वोच्चमा रिट हालेका थिए ।
आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध रास्वपाका साहले फागुन १९ गते दिएको रिटमाथि फागुन २२ मा मात्रै सुनुवाइको तिथि तोकिएको थियो । उक्त रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आयोगले धनुषा १ को नतिजा सार्वजनिक नगर्न निर्देशन दिएको हो । तर सर्वोच्चले उक्त रिटमा अझै आदेश दिएको छैन ।
आयोगले उम्मेदवारी खारेज गरिदिएपछि रास्वपा धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
आफ्नो उम्मेदवारी कायम रहनुपर्ने माग गर्दै साहले आयोगलाई विपक्षी बनाएर दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा परेको छ। अदालतको दैनिक पेसी सूचीअनुसार यो मुद्दा सुनुवाइका लागि चौथो नम्बर (घ) मा तोकिएको छ।
विवाद
उम्मेदवार साह ८ पटकसम्म कालोसूचीमा परेको विवरण भेटिएको थियो । मधेश प्रदेश सभाका पूर्वसदस्य साहलाई रास्वपाले उम्मेदवार बनाएपछि यसअघि नै आयोगमा उजुरी परेको थियो । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी परे पनि आयोगले बेवास्ता गरिरहेको थियो ।
तर आयोगले आवश्यक छानबिनको निष्कर्ष आएको भन्दै फागुन ११ गते उनको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उजुरी अनुसारको प्रमाण पर्याप्त भेटिएपछि उम्मेदवारी खारेज गरिएको बताएका थिए ।
आठ पटक कालोसूचीमा
कर्जा सूचना केन्द्रले उपलब्ध गराएको विवरणमा साह सबैभन्दा पहिले २०८० वैशाख १७ गते नै कालोसूचीमा थिए । साह निर्माण व्यवसायी हुन् । उनी कमल निर्माण सेवा प्रालिका सेयरधनीका रुपमा रहेका छन् ।
त्यसबेला साहसँगै साझेदार अञ्जली साह पनि कालोसूचीमा परेकी थिइन् । त्यसपछि २०८० असोज १७ गते किशोरीसँगै सञ्जित कुमार साह पनि दोस्रो पटक कालोसूचीमाा परे । त्यही मितिमा फेरि उनीहरू दुवै कर्जा सूचना केन्द्रको अर्को कालोसूचीमा परेको रेकर्ड भेटिएको थियो।
त्यसलगत्तै २०८० असोज १९ गते साहसहित रामकुमार महासेठलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्यो । त्यसपछि २०८० असोज २१ गते साह र महासेठलाई फेरि अर्को पटक कालोसूचीमा राखियो ।
उनले गरेको बदमासीका कारण कर्जा सूचना केन्द्रले २०८० माघ २२ गते फेरि कालोसूचीमा राख्यो । उनीसँगै सञ्जितकुमार साह पनि फेरि कालोसूचीमा परे ।
साहलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर चुनावमा होमिइसकेको अवस्थामा यही माघ ४ गते उनलाई कालोसूचीमा राखियो । त्यसपछि यही १० गते पनि साहलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ।













प्रतिक्रिया