काठमाडौं- पाकिस्तानको लाहोरमा एक १८ वर्षीया सामूहिक बलात्कार पीडित युवतीको उपचारका क्रममा सरकारी अस्पतालमा मृत्यु भएको छ । गर्भपतनका कारण स्वास्थ्य जटिलताका कारण शल्यक्रिया गर्ने क्रममा उनको ज्यान गएको हो ।
ती युवती मोडल टाउनस्थित एउटा घरमा घरेलु कामदारको रूपमा कार्यरत थिइन् । उनलाई सोही घरका मालिकका छोरा र चालकले सामूहिक बलात्कार गरेको आरोप लागेको छ। प्रहरीमा दर्ता भएको जाहेरी र युवतीले मृत्युअघि दिएको भिडियो बयानअनुसार केही महिनाअघि उनीहरुले उनलाई पटक–पटक जबरजस्ती करणी गरेका थिए ।
प्रहरी कारबाहीबाट बच्नका लागि घरधनीले सो कुरा लामो समयसम्म गोप्य राखेका थिए । तर, गर्भपतनको औषधी सेवनका कारण युवतीको स्वास्थ्यमा गम्भीर समस्या देखिएसँगै उनको मृत्यु भएपछि मात्र यो घटना सार्वजनिक भएको हो।
औषधीका कारण स्वास्थ्य बिग्रिएपछि युवतीलाई सुरुमा राईविन्डस्थित एउटा निजी क्लिनिकमा लगिएको थियो। अवैध रूपमा गर्भपतन गराउने प्रयास गर्दा चिकित्सकहरूले उनको पेटमा ४ देखि ५ महिनाको भ्रूण फेला पारेका थिए । स्वास्थ्य अवस्था निकै जटिल भएपछि उनलाई केही हप्ता आराम गर्न फैसलाबादस्थित उनको गृहजिल्ला पठाइएको थियो । त्यहाँ उनको अवस्था झन् नाजुक बनेपछि गत मे २३ मा लाहोरको सर्भिसेस अस्पतालमा भर्ना गरिएको थियो ।
युवतीको प्रारम्भिक बयानका आधारमा प्रहरीले सुरुमा दुवै संदिग्ध र घरधनी विरुद्ध मुद्दा दर्ता गरेको थियो । अस्पतालमा शल्यक्रियाका क्रममा युवतीको मृत्यु भएपछि प्रहरीले उक्त मुद्दामा ज्यान सम्बन्धी कसुरको धारा पनि थपेको छ । घटनामा संलग्न चालकलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा राखेको छ भने अन्य आरोपीहरू जमानतमा रिहा हुन सफल भएका छन् ।












प्रतिक्रिया