काठमाडौं- बेइजिङस्थित चिनियाँ जियाक्वान चर्चका सदस्यहरुले प्रहरी कारवाहीबारे आफ्ना अनुभव र विवरणहरू सार्वजनिक गर्न थालेका छन् । चर्चको २०औँ वार्षिकोत्सव मनाउने तयारीका क्रममा भएको सो कारबाहीलाई प्रहरी अपरेसन मात्र नभई दुई दशकदेखि निरन्तर दबाब झेलिरहेको धार्मिक समुदायलाई पूर्ण रूपमा समाप्त पार्ने योजनाबद्ध प्रयासको रूपमा हेरिएको छ। सुरुमा संक्षिप्त सूचनाका रूपमा मात्र बाहिर आएको यस घटनालाई इसाई सञ्जाल र मानव अधिकारवादीहरूमाझ साटिएका यी विवरणहरूले थप स्पष्ट पारेका छन् ।
दक्षिण कोरियाली मिसनरी चोई जिन-योङले हालै एउटा सार्वजनिक प्रार्थना पत्र जारी गरेकी छन्। चीनमा ‘झाउ जिक्सुन’ नामले चिनिने चिनियाँ नागरिक पास्टर चोई हेन-बोङकी पत्नी चोईले दिएको जानकारीअनुसार सेप्टेम्बर ४ मा वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रहरीले छापा मारेको थियो। हाल उनका पतिसहित आठ जना पास्टर तथा चर्चका सहकर्मीहरूलाई “ठगी” को आरोपमा आपराधिक हिरासतमा राखिएको छ। यो प्रार्थना पत्र अहिले विभिन्न चर्च र अधिकारकर्मी वृत्तहरूमा व्यापक रूपमा फैलिएको छ।
चोईका अनुसार उनी र उनका पतिले अमेरिकामा अध्ययन पूरा गरी सन् २००५ को अन्ततिर बेइजिङ फर्केका थिए। त्यसपछि सन् २००६ मा उनीहरूले बेइजिङ जियाक्वान चर्चको स्थापना गरे, जसले बिस्तारै इसाईहरुको एउटा स्थायी समुदाय खडा गर्यो। बीस वर्षको अवधिमा चर्चले पटक-पटक प्रशासनिक दबाब झेल्नुपर्यो। यस क्रममा प्रार्थनास्थलहरू सिल गरिनुका साथै विदेशी नागरिक भएकै कारण चोईलाई केही वर्ष चीन प्रवेशमा समेत रोक लगाइएको थियो।
अहिले चोईले आफ्ना पति पास्टर झाउ र हिरासतमा रहेका अन्य सात जना सहकर्मीहरूको सुरक्षित रिहाइका लागि विश्वभरका इसाईहरुलाई प्रार्थना गर्न अपिल गरेकी छन्। अर्कातिर, जतिसुकै दबाब आए पनि एक ठाउँमा भेला हुने, प्रार्थना गर्ने र सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता चर्चका सदस्यहरूले व्यक्त गरेका छन्।














प्रतिक्रिया