अभिनय छाडेर राजनीतिमा होमिएको दुई वर्षमै विजय बने तमिलनाडुका मुख्यमन्त्री « Khabarhub

अभिनय छाडेर राजनीतिमा होमिएको दुई वर्षमै विजय बने तमिलनाडुका मुख्यमन्त्री

घरेलु उपभोक्तालाई २०० युनिट निःशुल्क विद्युत्, महिला सुरक्षालाई विशेष बल


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

चेन्नई- तमिलगा भेत्री कडगम (टीभीके) का प्रमुख तथा अभिनेताबाट राजनीतिज्ञ बनेका सी. जोसेफ विजय तमिलनाडुको नवौँ मुख्यमन्त्री बनेका छन्। उनले आइतबार तमिल भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहण कार्यक्रममा कांग्रेस नेता राहुल गान्धी पनि उपस्थित थिए।

शपथ लिने क्रममा विजयले निर्धारित पाठभन्दा बाहिर गएर बोल्न थालेपछि राज्यपाल आरिफ मोहम्मद खानले रोक्दै लिखित पाठ मात्रै पढ्न आग्रह गरे।

विजयसँगै अन्य ९ मन्त्रीले पनि शपथ लिएका छन्। उनीहरूमा एन आनन्द, आधव अर्जुन, डा. केजी अरुणराज, केए सेंगोट्टैयन, पी. वेङ्कटरमणन, आर. निर्मलकुमार, राजमोहन, डा. टीके प्रभु तथा सेल्वी एस. कीर्तना रहेका छन्।

सबै मन्त्री विजयकै पार्टी टीभीकेका विधायक हुन्। सहयोगी दलका कुनै पनि सांसदलाई पहिलो मन्त्रिपरिषद्मा समावेश गरिएको छैन।

मुख्यमन्त्री बनेलगत्तै विजयले पहिलो निर्णयस्वरूप विभिन्न फाइलमा हस्ताक्षर गरेका छन्। जसमा घरेलु उपभोक्तालाई २०० युनिट निःशुल्क विद्युत् उपलब्ध गराउने, महिला सुरक्षाका लागि विशेष सुरक्षा बल गठन गर्ने तथा लागुऔषधविरुद्ध कडा अभियान सञ्चालन गर्ने निर्णय समावेश छन्।

शपथका क्रममा विजयले भने, ‘सी. जोसेफ विजय भारतको संविधानप्रति पूर्ण आस्था र निष्ठा राख्नेछु। तमिलनाडुको मुख्यमन्त्रीका रूपमा भारतको एकता र अखण्डता जोगाउनेछु। आफ्नो विवेकअनुसार कर्तव्य पालन गर्नेछु। कसैसँग डराउने छैन र पक्षपातपूर्ण आदेश मान्ने छैन। सबै नागरिकलाई न्याय गर्नेछु।’

यसअघि शनिबार विजयले चौथोपटक राज्यपालसँग भेट गर्दै टीभीके, कांग्रेस, सीपीआई, सीपीएम, भीसीके र आईयुएमएलका १२१ सांसदको समर्थन पत्र बुझाएका थिए। त्यसपछि राज्यपालले उनलाई सरकार गठनका लागि निमन्त्रणा दिएका थिए।

दुई वर्षअघि स्थापना भएको विजयको पार्टी टीभीकेले पहिलोपटक लडेको विधानसभा निर्वाचनमै २३४ मध्ये १०८ सिट जितेको थियो। सहयोगी दलको समर्थनपछि विजयसँग १२१ सांसद पुगेका छन् । बहुमतका लागि ११८ सिट आवश्यक पर्छ।

तमिलनाडुमा सन् १९६७ पछि पहिलोपटक गैर–द्रविड दलको नेतृत्वमा सरकार बनेको हो। यसअघि १९६३ देखि १९६७ सम्म कांग्रेसका एम. भक्तवत्सलम मुख्यमन्त्री थिए।

मुख्यमन्त्री बनेपछि विजयले पहिलो सम्बोधनमा आफू कुनै शाही परिवारबाट नआएको भन्दै जनताले नै स्वीकार गरेको बताए। उनले झुटा वाचा गरेर जनतालाई धोका नदिने प्रतिबद्धता व्यक्त गरे।

उनले अघिल्लो डीएमके सरकारमाथि राज्यलाई १० लाख करोड भारतीय रुपैयाँ ऋणमा डुबाएको आरोपसमेत लगाए। यसका साथै राज्यको आर्थिक अवस्थाबारे पारदर्शिता कायम गर्न ‘श्वेतपत्र’ जारी गरिने बताए।

उनले भने, ‘हामीलाई काम गरेर देखाउने समय दिनुहोस्। लागुऔषधविरुद्ध कडा कारबाही हुनेछ। जनताको एक रुपैयाँ पनि दुरुपयोग हुन दिइने छैन। अब नयाँ शासन व्यवस्थाको सुरुआत भएको छ। धर्मनिरपेक्षता र सामाजिक न्यायको नयाँ युग सुरु भएको छ।’

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १२ : २२ बजे

५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन लाइन र सबस्टेसन अपग्रेड गर्न हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बजेटमार्फत विद्युत् उपभोगमा लगाइएको ५

प्रधानमन्त्रीले आफ्नो प्रश्न नसुनेको भन्दै एमाले र श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं–  प्रतिनिधि सभामा आफ्नो प्रश्न नसुनेको भन्दै एमाले संसदीय दलका

सांसदहरूलाई जवाफ दिएर हिँडे प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्तारुढ र प्रतिपक्षी केही सांसदहरूको प्रश्नको

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो– श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म

संसद्‍बाट प्रधानमन्त्रीले भने : नेपालले पनि भारतीय भूमि मिचेको रहेछ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले तत्परता देखाइसकेको