भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना « Khabarhub

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना


२६ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण, सीमा विवाद तथा लामो समयदेखि विचाराधीन पानी बाँडफाँटलगायतका विषय समाधान गर्न चाहेको जनाएको छ । बङ्गलादेशको संसद्को विदेश मामिला मन्त्रालयसम्बन्धी स्थायी समितिका अध्यक्ष तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का सांसद जह्रत अदीब चौधरीले भारतसँग ‘राम्रो र स्वस्थ सम्बन्ध’ निर्माण गर्नु सरकारको प्राथमिकता रहेको बताएका हुन् ।

एएनआईसँगको कुराकानीमा चौधरीले करिब दुई वर्षको राजनीतिक अस्थिरतापछि गत फेब्रुअरीमा जनादेश प्राप्त गरी सरकार गठन गरेको बीएनपीले विदेश नीतिमा ‘बङ्गलादेश पहिलो’ दृष्टिकोण अपनाएको बताए । उनले भारतसँगको सम्बन्ध पनि दुवै देशलाई लाभ हुने ‘विन–विन’ रणनीतिका आधारमा अघि बढाउने सरकारको नीति रहेको स्पष्ट पारे ।

“भारत हाम्रो सबैभन्दा ठूलो छिमेकी हो । बङ्गलादेशका लागि हामी हाम्रो छिमेकीसँग राम्रो र स्वस्थ सम्बन्ध राख्न चाहन्छौँ”, उनले भने । चौधरीले बङ्गलादेश र भारतबीच केही महत्त्वपूर्ण मतभेद तथा लामो समयदेखि समाधान हुन नसकेका विषय रहेको स्वीकार गरे । भारतमा रहेकी पूर्वप्रधानमन्त्री हसिनाको प्रत्यर्पण, सीमा विवाद र पानीको अधिकारसम्बन्धी विषयलाई उहाँले प्रमुख मुद्दाका रूपमा उल्लेख गरे ।

“हामीसँग धेरै चुनौती छन् । शेख हसिना अहिले भारतमा हुनुहुन्छ । हाम्रो सीमा विवाद छ र लामो समयदेखि पानीको अधिकारसम्बन्धी मुद्दा पनि बाँकी छन् । त्यसैले भारतसँग हामीले समाधान गर्न चाहेका धेरै विषय छन्”, उनले भने । बीएनपी सरकारले ती विषयलाई बङ्गलादेशको राष्ट्रिय गरिमा कायम राख्दै व्यावसायिक र सम्मानजनक ढङ्गबाट समाधान गर्न चाहेको चौधरीले बताए ।

उनले भारतबाट पनि त्यही प्रकारको प्रतिबद्धता र सम्मानको अपेक्षा गरिएको उल्लेख गरे । “बङ्गलादेश आफ्ना कुनै पनि छिमेकीसँग वैमनस्यमा विश्वास गर्दैन । तर हामी मर्यादा, सम्मान, आफ्नो उचित अधिकारको स्वीकार र पारस्परिक हितका आधारमा सम्बन्ध अघि बढाउन चाहन्छौँ”, उनले भने । चौधरीको यस्तो भनाइ बङ्गलादेशले भारतसँग पूर्वप्रधानमन्त्री हसिनाको प्रत्यर्पण प्रक्रिया छिटो गर्न आग्रह गरेको एक दिनपछि आएको हो ।

भारतीय उच्चायुक्त दिनेश त्रिवेदीले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भारतले हसिनाको प्रत्यर्पण प्रक्रिया तीव्र बनाउने अपेक्षा बङ्गलादेशले गरेको उल्लेख गरिएको थियो । बङ्गलादेश सचिवालयस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुवै पक्षले प्रमुख द्विपक्षीय विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री रहमानले बङ्गलादेश र भारतबीचको सम्बन्धलाई अघि बढाउन उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

भेटमा विदेशमन्त्री खलिलुर रहमान, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायूँ कबीरलगायत अधिकारी सहभागी थिए । त्रिवेदीले प्रधानमन्त्री रहमानसँग भेट गर्नुअघि बङ्गलादेशका विदेशमन्त्रीसँग पनि छलफल गरेका थिए । हसिनाको भारतमा उपस्थितिलाई लिएर पछिल्लो समय ढाका र नयाँ दिल्लीबीच कूटनीतिक तनाव बढिरहेका बेला उच्चायुक्त र बङ्गलादेशको शीर्ष नेतृत्वबीच भएको भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि बङ्गलादेशबाट बाहिरिएकी हसिना त्यसयता भारतमा रहँदै आएकी छन् । गत अगस्ट ५ मा नयाँदिल्लीमा आयोजित भर्चुअल प्रेस अन्तरक्रियामा उनले आफूविरुद्ध जेल वा मृत्युदण्डको जोखिम भए पनि लोकतन्त्र पुनःस्थापना गर्न र देशलाई सही बाटोमा फर्काउन डिसेम्बरमा स्वदेश फर्कने दृढता व्यक्त गरेकी थिइन् । हसिनाको उक्त सार्वजनिक अभिव्यक्तिप्रति बङ्गलादेशले कडा आपत्ति जनाएको थियो ।

बङ्गलादेशको विदेश मन्त्रालयले त्यसबाट जनताको भावनामा असर परेको र दुई देशबीच सहयोग विस्तार गर्ने प्रयास थप जटिल बनेको जनाएको थियो । भारतले भने हसिनासँग सम्बन्धित उक्त कार्यक्रममा आफ्नो सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कार्यक्रम निजी सञ्चार संस्थाले आयोजना गरेको र त्यहाँ व्यक्त गरिएका विचारलाई भारत सरकारले समर्थन नगर्ने बताएका थिए ।

“तपाईंले उल्लेख गर्नुभएको अन्तरक्रिया निजी सञ्चार संस्थाले आयोजना गरेको हो । यसमा सरकारको कुनै संलग्नता छैन र उक्त मञ्चमा व्यक्त गरिएका कुनै पनि विचारलाई भारत सरकारले समर्थन गर्दैन”, जयसवालले भनेका थिए । बङ्गलादेशको नयाँ सरकारले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र समान हितका आधारमा अघि बढाउने बताउँदै आएको छ । हसिनाको प्रत्यर्पणसँगै सीमा, पानी बाँडफाँट र अन्य द्विपक्षीय विषय समाधान गर्न दुवै पक्षबीच निरन्तर संवाद आवश्यक रहेको बङ्गलादेशको भनाइ छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ४ : २६ बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा