बालेन पक्षले पाखा लगाएपछि सरिनको विरह, ‘बेइमानको राजनीति गर्न सकिनँ, हार खाएँ’ « Khabarhub

बालेन पक्षले पाखा लगाएपछि सरिनको विरह, ‘बेइमानको राजनीति गर्न सकिनँ, हार खाएँ’



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा स्थापनाकालदेखि जोडिएकी सुनसरीकी गोमा तामाङ सलिनले पार्टी छाडेकी छन्।

कोशी प्रदेश कमिटीको अधिवेशनमा सभापतिकी उम्मेदवार तामाङले मतगणनामा दोस्रो भएपछि पार्टी छाडेको घोषणा गरिन्।

गोमाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी छाडेको घोषणा गरेकी हुन्। ‘आजदेखि राजनीतिबाट बिदा मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले लेखेकी छन्।

कोशी प्रदेशको अधिवेशनबाट अहिले सभापतिमा प्रधानमन्त्री वालेन्द्रशाह निकट नेता चन्द्र राई विजयी भएका छन्। बिहीबार भएको मतदान र मतगणनामा राई विजयी भए पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन। २८० मत ल्याएर चन्द्र राई विजयी हुँदा तामाङले १४१ मत ल्याइन्। अर्का सभापतिका प्रत्यासी खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत ल्याएका छन्।

महाधिवेशनमा उपस्थित नेताहरूका अनुसार राई समूहले आफ्नो प्यानलको सूची बाँडेको थियो। प्यानलको सूचीबाट गोमाले तिखो आलोचना गरेकी थिइन्। तर भित्रीरूपमा राई समूहले सूची बाँडेर आफ्ना नेताहरू जितायो।

विजयी राईलाई सूची बाँडेको विषयमा सोध्दा हारेपछि जुनसुकै आरोप लगाउन थालिएको बताउँछन्। उनले निर्वाचनको प्रक्रियालाई लिएर कुनै पनि प्रश्न उठाउने ठाउँ नरहेको दाबी गर्छन्।

‘निर्वाचनको प्रक्रियालाई लिएर कुनै प्रश्न उठाउने ठाउँ थिएन, सूची बाँडिएको छैन,’ उनले भने, ‘साथीहरूले कहाँ के गर्नुभयो मलाई थाहा भएन। तर निर्वाचनको प्रक्रियामा फेरि पनि भन्छु, प्रश्न उठाउने ठाउँ छैन। परिणामलाई सबैले स्वीकार्नुपर्छ।’

उनले पराजित भएर राजनीति नछाडे पनि पार्टीभित्रको गुटउपगुटले उकुसमुकुस भएपछि बस्न नसकेको जानकारी गराएकी छन्। निर्वाचनमा धाँधली भएको आरोप उनले लगाउन सकेकी छैनन्, तर सांकेतिक रूपमा निर्वाचन केबल प्रक्रिया मात्रै भएको उनको स्पष्टोक्ति छ। उनले भनिन्, ‘निर्वाचन त प्रक्रिया मात्रै थियो। इमानको राजनीति हुँदाहुँदै बिदा भएँ।’

पार्टी छोडेपछि यसो भन्छिन्

तामाङले पार्टी छाडेको घोषणा गरेपछि खबरहबसँग छोटो कुराकानी गरेकी छन्। पार्टीमा गुटगत राजनीति मौलाएको र केही गर्दा पनि नसकेपछि आफूले पार्टी छाडेको घोषणा खबरहबसामु गरिन्।

आफूले बदमासीको राजनीति गर्न नसकेकाले पार्टी छोडेको घोषणा गरेको तामाङको भनाइ छ। उनी अहिले नै कुनै पार्टीमा जाने अवस्था नभएकाले आफूले राजनीति नै छोडेको घोषणा गरेको बताइन्। आफ्नो निर्णयमा कुनै पछुतो नरहेको जानकारी गराउँदै तामाङले बेइमानको राजनीति गर्नुभन्दा यहाँसम्मकै राजनीतिले आफू अघाएको बताइन्।

पार्टी छाडेको घोषणापछि निराश तामाङले खबरहबसँगको टेलिफोन संवादमा लामो कुरा गर्न नसक्ने उल्लेख गरिन्। नम्र स्वरमा उनले असल व्यक्तिले राजनीतिको चलाखी बुझ्न नसक्ने अनुभव सुनाइन्।

‘नसक्ने अवस्थामा पुगेपछि मैले हार खाएँ। मलाई बदमासको राजनीति गर्नु छैन। मैले बेइमानको राजनीति गर्न सकिनँ। हरेक पाइलापाइलामा गुटगत राजनीतिले मलाई खेदाएपछि मैले हार खाएँ,’ उनले खबरहबलाई भनिन्, ‘निरन्तर खेदो खनिएपछि मैले हात उठाएको हो। बेइमानीको राजनीति बोकेर केही समय अगाडि त बढ्न सकुँला, तर स्थायी नहुने भएको हिसाबले मैले हार खाएको हो।’

को हुन् तामाङ?

तामाङ २०७९ को निर्वाचनमा कोशी प्रदेशबाट सबैभन्दा धेरै मत ल्याउने नेतृ हुन्। २०७९ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई कोशीभर विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेकी तामाङले आदिवासी समुदायको सिङ्गो टोलीलाई पार्टीमा प्रवेश गराएकी थिइन्।

२०७९ को निर्वाचनमा एमालेको साथ पाएका कम्युनिस्ट नेता अशोक राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन्। उनीहरूको मतान्तर ४५३ थियो।

यसपटकको निर्वाचनमा श्रम संस्कृति पार्टीका संस्थापक रहेका राईले ३५ हजार ७४१ मत ल्याउँदा निकटतम प्र्तिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले २७ हजार २४९ मत ल्याइन्।

साम्पाङले ८ हजार ४९२ मतान्तरले तामाङलाई पराजित गरिदिए। सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा साम्पाङसँग हारे पनि उनले पार्टीलाई महत्त्वपूर्ण प्राथमिकता दिएर अगाडि बढाइरहेकी थिइन्।

सभापति लामिछानेनिकट मानिने तामाङ बालेननिकट राईसँग निरन्तर टक्करमा थिइन्। राईलाई बालेनले साथ दिएको भन्दै उनले महामन्त्री भूपदेव शाहसँग असन्तुष्टि पोखिरहेकी थिइन्।

भूपदेवलाई उनले सांकेतिक रूपमा राईलाई सहयोग गरेको आरोप पनि लगाउने गरेको देखिन्थ्यो। महाधिवेशनको उद्घाटन सत्रमा पनि उनले सांकेतिक रूपमा रास्वपामा कुनै गुट नभएको बताउँदै स्वच्छ र निष्पक्ष प्रतिस्पर्धा गर्नुपर्ने आवाज उठाएकी थिइन्।

निकटहरूका अनुसार बालेन समूहको प्रवेशपछि आफूलाई राईसहितका नेताहरूले अस्वीकार गरेको उनले बताउँदै आएकी छन्। सलिनलाई पराजित गर्न राई समूहले अरू नेतालाई पनि सभापतिमा उठाएको आरोप पनि गोमाले लगाउने गरेकी छन्।

फागुन २१ को निर्वाचनपछि समानुपातिकमा आदिवासी समुदायलाई पार्टीले समावेश गराउन नसकेकोप्रति उनले पार्टीभित्र बलियो आवाज उठाएकी थिइन्।

सभापति लामिछानेलाई भेटेर सलिनले गुनासो राखेपछि सभापति लामिछानेले प्रतिनिधिसभामा बोल्ने क्रममा राई–लिम्बु समुदायसँग माफी नै मागेका थिए।

कोशी प्रदेशबाट आदिवासी समुदायको प्रतिनिधित्व गराउन निकै मिहिनेत गरेकी सलिन अन्ततः आफैं हार खाएर पाखा लागिन्। अहिले पनि आदिवासी जनजातिको प्रतिनिधित्व रास्वपामा समानुपातिकबाट हुन सकेको छैन।

सलिन निकटहरूले प्रधानमन्त्री बालेनका सहयोगी महामन्त्री भूपदेव शाहको टोलीसँग मिलेर राई समूहले निरन्तर असहयोग गरेको बताउने गरेका थिए।

यी विषयमा प्रश्न सोध्दा अहिले केही कुरा नगर्ने उनले बताइन् । आवश्यक परेमा बोल्दै जाने सलिनले बताइन्।

‘अहिले यी सबै कुराहरू तपाईंसँग म गर्ने अवस्थामा छैन। समय आएपछि खोतल्दै जान्छु। यति कुरा हो, इमानदार भएर राजनीति गर्ने मन थियो। बेइमानीहरूसँग सकिनँ’, उनले भनिन्।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ५ : ५२ बजे

बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य,

सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी

रास्वपा महाधिवेशन : केन्द्रीय समितिमा निर्वाचन निश्चित, सचिवालय सदस्यका लागि अहिलेबाटै दौडधुप

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन यही असार ७