काठमाडौं– तत्कालीन सरकारले २०८०, असोज ३ अर्थात् संविधान दिवसको अवसरमा तामझामका साथ दु्रत बस सेवा सुरू गर्यो ।
त्यस दिनदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चुस्त बनाउन भन्दै यो सेवा सुरु गरिएको थियो ।
जुन काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म (१८.५ किलोमिटर)सञ्चालित थियो । तर, तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अग्रसरतामा रातारात थालिएको उक्त सेवा महिना पनि टिकेन ।
पूर्वतयारीबिनै थालिएको उक्त महत्वकांक्षी सेवाले राज्यकोषबाट साढे दुई करोड रुपैयाँ खर्च गरायो । सडकमा रङ लगाउने, ट्राफिक संकेत राख्ने र सामान्य मर्मत गर्ने काममा रकम खर्चिए पनि त्यसले न यात्रुलाई सहजता दियो, न ट्राफिक व्यवस्थापनमा कुनै ठोस सुधार ल्यायो ।
आज त्यसको चिनोका रूपमा सडकमा छिटफुट देखिने रातो रङ र केही बोर्डबाहेक अरू बाँकी छैन ।
‘म गठ्ठाघरबाट दिनहुँजस्तो कहिले, बानेश्वर कहिले कता गइराखेको हुन्छु । तर त्यसबारे मलाई जानकारी छैन,’ भक्तपुरको गठ्ठाघर चोकमा बस पर्खिरहेकी कमला तिमल्सिनाले बताइन् ।
उनको भनाइले जसका लागि सेवा सुरू गरिएको थियो, उनीहरूकै पहुँच र जानकारीमा यो सेवा पुग्न सकेन । उक्त चोक त्यो सेवा सुरू गरिइएको रत्नपार्क–सूर्यविनायक खण्डमा पर्दछ ।
यस्तै, ३० वर्षदेखि यही रुटमा सावारी चालाउँदै आएका दशरथ चन्द्र धौगंजले अहिले द्रुतगति सेवाको अस्तित्व नरहेको बताए ।
‘विगतमा सरकारले ल्याएको थियो । त्यो खासै काम लागेन । अहिले त हामीले बिर्सि पनि सक्यौँ’, उनले भने।
सरकारले योजना ल्याएर निरन्तरता दिन सके सबैलाई सजिलो हुने उनले बताए ।
अहिले फेरि यही विषय चर्चामा आएको छ । वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम २०८३/०८४ मा पुनः ‘बस र्यापिड ट्रान्जिट (बीआरटी)’ सञ्चालनको योजना समेटेपछि पुरानो बहस फेरि ब्युँतिएको हो ।

के भन्छन् पूर्वाधार जानकार ?
पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारको नीति तथा कार्यक्रममा समेटिएका पूर्वाधार विकासका योजनामाथि टिप्पणी गर्दै केही सुधार र पुनरावलोकनको सुझाव दिएका छन् ।
काठमाडौंमा ‘बस र्यापिड ट्रान्जिट (बीआरटी)’ सञ्चालन गर्ने प्रस्तावप्रति भने उनले असहमति जनाएका छन् । ‘पछिल्ला अन्तरााष्ट्रिय अनुभवले बीआरटी सधैँ प्रभावकारी समाधान नहुने देखाएका छन्,’ आचार्यले भने, ‘काठमाडौंजस्तो साँघुरा सडक भएको सहरमा बीआरटीले विद्यमान ट्राफिक समस्यालाई थप जटिल बनाउने जोखिम छ ।’
उनले बीआरटीको सट्टा परम्परागत बस सेवालाई व्यवस्थित बनाउने अन्य व्यवहारिक उपायहरू खोज्न सुझाव दिएका छन् ।
त्यस्तै पूर्वसचिवसमेत रहेका पूर्वाधारविज्ञ किशोर थापाले भने सरकारको उक्त निर्णयलाई स्वागत गरेका छन ।
‘सार्वजनिक यातायात सुधारमा बीआरटी विश्वभर सफल मानिएको सेवा हो । सरकारको यो निर्णय स्वागतयोग्य छ,’ उनले थपे,‘सरकारले यसमा प्रयाप्त तयारी गरेरमात्रै कार्यान्वयनमा जानुपर्छ,’ ।
विगतमा उक्त सेवा सुरू गरिसकिएकाले त्यहाँबाट पहिचान भएका चुनौतीको विकल्पसहित कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ ।
‘पूर्वतयारी र स्थानीय परिवेश अनुसार कार्ययोजना तयारी नगरि कार्यान्वयनमा जाँदा यसले निरन्तरता नपाएको हुनसक्छ, सरकारले अब पूर्ण तयारीका साथ यातायात व्यवसायीसँग समन्वयमा काम गरे पक्कै यो सेवा सफल हुन्छ,’ उनले बताए ।
थापाले भनेजस्तै २ दशकअघि नै द्रूत बस सेवा सञ्चालनबारे मुख्यसचिव लीलामणि पौडेलको कार्यकालमा छेडिसकेको थियो । त्यस समयमै उनले उपत्यकामा ६ लेन सडक नबन्दासम्म सुरू हुन नसक्ने सुझाव दिएका थिए । उक्त समयमा माइतीघर–सूर्यविनायक बस सञ्चालन गर्ने चर्चा चलेको थियो।
रत्नपार्कबाट सूर्यविनायकसम्म १८.५ किलोमिटर खण्डका लागि यो योजना अघि सारिएको थियो । अत्यधिक ट्राफिक जाम हुने समय बिहान (देखि ११ र साँझ ४ देखि ६ बजेसम्म २५ बस सञ्चालनमा ल्याइयो ।
सडकमा रातो रङ लगाएका १९ ठाउँमा मात्रै बस रोकेर यात्रु चढाउने र ओराल्ने व्यवस्था गरिएको थियो। तर अहिले त्यो व्यवस्था हराइसकेका बेला नीति तथा कार्यक्रमले त्यसैलाई दोहोर्याउन खोजेको छ।














प्रतिक्रिया