नीति तथा कार्यक्रममा द्रुत बस सेवा : असफल प्रयोग दोहोर्‍याउने सरकारको तयारी « Khabarhub

नीति तथा कार्यक्रममा द्रुत बस सेवा : असफल प्रयोग दोहोर्‍याउने सरकारको तयारी



काठमाडौं– तत्कालीन सरकारले २०८०, ३ असोजमा तामझामका साथ र्‍यापिड ट्रान्जिट बस (बीआरटी) अर्थात द्रुत बस सेवा सेवा सुरू गर्‍यो । त्यस दिनदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चुस्त बनाउन भन्दै यो सेवा सुरु गरिएको थियो ।

जुन काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म (१८.५ किलोमिटर)सञ्चालित थियो । तर, तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अग्रसरतामा रातारात थालिएको उक्त सेवा महिना पनि टिकेन ।

पूर्वतयारीबिनै थालिएको उक्त महत्वकांक्षी सेवाले राज्यकोषबाट साढे दुई करोड रुपैयाँ खर्च गरायो । सडकमा रङ लगाउने, ट्राफिक संकेत राख्ने र सामान्य मर्मत गर्ने काममा रकम खर्चिए पनि त्यसले न यात्रुलाई सहजता दियो, न ट्राफिक व्यवस्थापनमा कुनै ठोस सुधार ल्यायो ।

आज त्यसको चिनोका रूपमा सडकमा छिटफुट देखिने रातो रङ र केही बोर्डबाहेक अरू बाँकी छैन ।

‘म गठ्ठाघरबाट दिनहुँजस्तो कहिले, बानेश्वर कहिले कता गइराखेको हुन्छु । तर त्यसबारे मलाई जानकारी छैन,’ भक्तपुरको गठ्ठाघर चोकमा बस पर्खिरहेकी कमला तिमल्सिनाले बताइन् ।

उनको भनाइले जसका लागि सेवा सुरू गरिएको थियो, उनीहरूकै पहुँच र जानकारीमा यो सेवा पुग्न सकेन । उक्त चोक त्यो सेवा सुरू गरिइएको रत्नपार्क–सूर्यविनायक खण्डमा पर्दछ ।

यस्तै, ३० वर्षदेखि यही रुटमा सावारी चालाउँदै आएका दशरथ चन्द्र धौगंजले अहिले द्रुतगति सेवाको अस्तित्व नरहेको बताए ।

‘विगतमा सरकारले ल्याएको थियो । त्यो खासै काम लागेन । अहिले त हामीले बिर्सि पनि सक्यौँ’, उनले भने।

सरकारले योजना ल्याएर निरन्तरता दिन सके सबैलाई सजिलो हुने उनले बताए ।

अहिले फेरि यही विषय चर्चामा आएको छ । वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम २०८३/०८४ मा पुनः ‘बस र्‍यापिड ट्रान्जिट (बीआरटी)’ सञ्चालनको योजना समेटेपछि पुरानो बहस फेरि ब्युँतिएको हो ।

के भन्छन् पूर्वाधार जानकार ?

पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारको नीति तथा कार्यक्रममा समेटिएका पूर्वाधार विकासका योजनामाथि टिप्पणी गर्दै केही सुधार र पुनरावलोकनको सुझाव दिएका छन् ।

काठमाडौंमा ‘बस र्‍यापिड ट्रान्जिट (बीआरटी)’ सञ्चालन गर्ने प्रस्तावप्रति भने उनले असहमति जनाएका छन् ।

‘पछिल्ला अन्तरााष्ट्रिय अनुभवले बीआरटी सधैँ प्रभावकारी समाधान नहुने देखाएका छन्,’ आचार्यले भने, ‘काठमाडौंजस्तो साँघुरा सडक भएको सहरमा बीआरटीले विद्यमान ट्राफिक समस्यालाई थप जटिल बनाउने जोखिम छ ।’

उनले बीआरटीको सट्टा परम्परागत बस सेवालाई व्यवस्थित बनाउने अन्य व्यवहारिक उपायहरू खोज्न सुझाव दिएका छन् ।

त्यस्तै पूर्वसचिवसमेत रहेका पूर्वाधारविज्ञ किशोर थापाले भने सरकारको उक्त निर्णयलाई स्वागत गरेका छन ।

‘सार्वजनिक यातायात सुधारमा बीआरटी विश्वभर सफल मानिएको सेवा हो । सरकारको यो निर्णय स्वागतयोग्य छ,’ उनले थपे,‘सरकारले यसमा प्रयाप्त तयारी गरेरमात्रै कार्यान्वयनमा जानुपर्छ,’ ।

विगतमा उक्त सेवा सुरू गरिसकिएकाले त्यहाँबाट पहिचान भएका चुनौतीको विकल्पसहित कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ ।

‘पूर्वतयारी र स्थानीय परिवेश अनुसार कार्ययोजना तयारी नगरि कार्यान्वयनमा जाँदा यसले निरन्तरता नपाएको हुनसक्छ, सरकारले अब पूर्ण तयारीका साथ यातायात व्यवसायीसँग समन्वयमा काम गरे पक्कै यो सेवा सफल हुन्छ,’ उनले बताए ।

थापाले भनेजस्तै २ दशकअघि नै द्रूत बस सेवा सञ्चालनबारे मुख्यसचिव लीलामणि पौडेलको कार्यकालमा छेडिसकेको थियो । त्यस समयमै उनले उपत्यकामा ६ लेन सडक नबन्दासम्म सुरू हुन नसक्ने सुझाव दिएका थिए । उक्त समयमा माइतीघर–सूर्यविनायक बस सञ्चालन गर्ने चर्चा चलेको थियो।

रत्नपार्कबाट सूर्यविनायकसम्म १८.५ किलोमिटर खण्डका लागि यो योजना अघि सारिएको थियो । अत्यधिक ट्राफिक जाम हुने समय बिहान (देखि ११ र साँझ ४ देखि ६ बजेसम्म २५ बस सञ्चालनमा ल्याइयो ।

सडकमा रातो रङ लगाएका १९ ठाउँमा मात्रै बस रोकेर यात्रु चढाउने र ओराल्ने व्यवस्था गरिएको थियो। तर अहिले त्यो व्यवस्था हराइसकेका बेला नीति तथा कार्यक्रमले त्यसैलाई दोहोर्‍याउन खोजेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ८ : ११ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा