काठमाडौंमै बाँदर आतंक : भान्सामा छिरेर भात लैजान्छन्, सुकाएका लुगासमेत भेटिँदैनन् « Khabarhub

काठमाडौंमै बाँदर आतंक : भान्सामा छिरेर भात लैजान्छन्, सुकाएका लुगासमेत भेटिँदैनन्



काठमाडौं- पछिल्लो समय बाँदर आतंकले गाउँघरदेखि राजधानी काठमाडौंलाई समेत बाँकी राखेको छैन । राजधानीमा पशुपति र स्वयम्भू जस्ता क्षेत्रमा बाँदरले उपद्रो मच्चाइरहेका हुन्छन् । ती क्षेत्र आसपासका बासिन्दा भान्सा, बगैँचा र फलफूल जोगाउन दिनरात नभनी जागराम बस्नुपर्ने स्थिति छ । जग्गाजमिनको अभाव भएकाले काठमाडौंमा कौशीखेतिको चलन छ । तर निगरानी नराख्ने हो भने बाँदरले कौशीमा लगाएका बोटबिरुवा पनि बाँकी राख्दैनन् ।

गौशालाकी स्थायीबासी मोनिका बरालले पशुपतिका बाँदर मान्छेजस्तै ढोका खोलेरै घरभित्र प्रवेश गर्ने बताउँछिन् । खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘ढोकै खोलेर घरभित्र छिर्छन् । कहाँ खानेकुरा पाइन्छ भन्ने पनि थाहा हुने रहेछ । भान्सा कोठा, पूजा कोठा पत्ता लगाउँछन् । पकाएका खाना, भगवानलाई चढाएका फलफूल सबै खान्छन् ।’

बाँदरले भेटेका खानेकुरा खानेमात्रै नभइ अरु उपद्रो पनि गर्ने उनले सुनाइन् । ‘बाहिर राखेका जुत्ताचप्पल लैजान्छन् । छतमा सुकाएको लुगा पनि लैजान्छन् । अझ भित्री लुगा समेत बाँकी राख्दैनन् । किन यस्तो गर्ने रहेछन् ? भित्री लुगामा जनावरको के चासो हुने रहेछ ? भनेर बुझ्दै जादाँ भित्री लुगाको गेटिस खाने रहेछन्,’ उनी भन्छिन्, ‘छतको धारा खोलेरै पानी खान्छन् । खोल्न जान्दछन्, तर बन्द गर्न जान्दैनन् । नामै बाँदर छ, उट्पट्याङको राजा हुन् । ख्याल गरिएन भने पूरै ट्याङ्कीको पानी सकिन्छ । छत भरिएर घरभित्र पानी पस्छ ।’

हरेक दिन आतंक झेलेपनि मोनिका बाँदर मार्नुपर्ने कुरामा भने सहमत छैनन् । उनी बाँदर व्यवस्थापन गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘पृथ्वी सबैको साझा हो । हरेकको बाँच्न पाउने अधिकार छ । सर्पको बिगबिगी बढेर मारियो भने मुसाहरु बढेर खेतिपाती नष्ट हुन्छ । त्यस्तै, बाँदर मार्दाको अवस्था हुन्छ । मानिसले इकोसिस्टमलाई नास गर्नेतिर लाग्नुहुँदैन । मान्छेलाई अप्ठेरोमा पारेका जनावार मार्दै जाने हो भने प्रकृतिको नास हुन्छ ।’

ग्रामिण क्षेत्रमा बाँदरले बसिखान नदिएपछि पछिल्लो समय बसाईंसराई बढेको छ । बाँदर आतंक देशभरका किसानका लागि विकराल साझा समस्याका रुपमा देखा परेको छ । बाँदर नियन्त्रणको बारेमा केही वर्षदेखि संसद्मा बहस हुँदै आएको छ । ०८० माघमा बाँदरको संख्या नियन्त्रण गर्न संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सहकार्यमा नेपाली प्राविधिकहरुको टोली भारतको हिमाञ्चल पुगेको थियो ।

पछिल्लो समय प्रतिनिधिसभा बैठकमा पनि बाँदर नियन्त्रणको विषय मुख्य रुपमा छलफल भइरहेको छ । नेताहरुले पनि केही समय अगाडि सम्पन्न निर्वाचनमा गाउँमा बाँदर व्यवस्थापन गर्ने आश्वासन दिएर भोट मागेका थिए । संसद्‍मा एकथरी प्रतिनिधिले बाँदर मानुपर्ने तर्क गरिरहेका छन् । त्यसैगरी, अर्काथरी प्रतिनिधिहरु भने जनावरलाई पनि बाँच्न पाउने अधिकार रहेको भन्दै मान्छेले हस्तक्षप गर्न नहुने तर्क गर्छन् ।

फाइल तस्बिर

श्रम संस्कृति पार्टीका नेता ध्रुब राईले संसदमा बारम्बार बाँदर मानुपर्ने आवाज उठाउँदै आएका छन् । उनले आफू भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ का तत्कालीन गाउँपालिका अध्यक्ष हुँदा करिब ६ सय बाँदर मारेको बताएका थिए । उनी बाँदर आतंक नियन्त्रण गर्न ६ लाख बाँदर मार्नुपर्ने बताइरहेका छन् । उनको भनाइमा सहमति राख्दै पूर्व मन्त्री सुधन किराँतीले पनि नष्ट नगर्ने हो भने कुनै दिन बाँदरले मानिसलाई ढुङ्गा हान्न सिक्ने बताउँछन् । उनले एक कार्यक्रममा भनेका छन्, ‘पहिले बाँदर सुन्तला खाँदैनथे । अहिले आफूलाई सुन्तला खानमा अभ्यस्त गर्दै लगेका छन् । गोबर लगाएको मकै खोलामा धोएर खान सिकेका छन् । यस्तो हेर्दै जाँदा यिनीहरुले मान्छेलाई ढुङ्गा हान्न पनि सिक्छन् ।’

‘एनिमल एक्टिभिस्ट’ हरु पनि बाँदर मार्न पाइँदैन भनेर माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् । ६ लाख बाँदर मार्नुपर्ने अभिव्यक्ति दिने सांसद राईविरुद्ध जनावर अधिकारकर्मीहरुले उजुरी पनि दिएका छन् । नेपालमा करिब पाँच प्रजातिका बाँदर पाइन्छन् । त्यसमा रातो बाँदर मानिससँगको निकटता मन पराउछ । लङगुर बाँदर भद्र हुन्छन् । उनीहरु मानिसको निकटता मन पराउँदैनन् ।

गौशालावासी सुरेश चापागाईंले बाँदरको बस्ती मानव समुदायले नष्ट गर्दा बाँदर मानिससँग संघर्ष गर्न तयार भएको तर्क गर्छन् । खबरहबसँग कुरा गर्दै उनी भन्छन्, ‘पहिले घना जंगल थियो । खानेकुरा प्रशस्त पाइन्थ्यो । मानव बस्ती बढ्दै गर्दा बाँदरको बस्ती नासियो । त्यसकारण उसले मानव बस्तीमा अतिक्रमण गर्न थाल्यो ।’

उनका अनुसार बाँदरले समयसँगै खाना खोज्ने र खाने तरिकामा परिवर्तन ल्याएको छ । पहिले खानेकुराका लागि झोला खोस्ने मन्दिरका बाँदरले अहिले भिन्न रणनीति अपनाउन थालेको उनको बुझाइ छ । ‘हामीले दियौँ भने खोसेर खाँदैन । दिएनौँ भने, उसले पनि बाँच्नु छ, खोसेर भएपनि खानुपर्‍यो । बाँदर सबैभन्दा चतुर प्राणी हो,’ चापागाईं थप भन्छन्, ‘बाँदरले आफूलाई परिमार्जित गर्दै लग्यो । मकैको खोस्टा च्यातेर खानुपर्छ, आलु जमिन खोतलेर खानुपर्छ भनेर सिक्दै गयो । सहरका मन्दिरमा बाँदरले पहिले पहिले झोला खोस्थ्यो । अहिले हातको मोबाइल र चश्मा खोस्छ । जबकी त्यो उसले खाने होइन । मान्छेलाई खानेकुरा दिन बाध्य बनाउछ । तब उसले ती सामान फिर्ता गर्छ ।’

चापागाईंले जंगलमा कटुस, चुथ्रो, काफल लगायतका बोटहरु रोप्नुपर्ने तर्क गर्छन् । उनी भन्छन्, ‘बाँदरको बन्ध्याकरण पनि गर्न सकिन्छ । श्रीलङ्काले बाँदरलाई तालिम दिएर नरिवल टिप्ने काममा लगाइएको छ । त्यो अभ्यास नेपालमा पनि गर्न सकिन्छ ।’ धार्मिक दृष्टिले बाँदर रामका सेना हनुमान भएकाले मार्नु नहुने उनले बताए । ‘हनुमान भनेर पूजा पनि गर्ने र अर्कोतर्फ मार्ने भन्ने कुरा जायज हुन्न । हनुमानलाई नयाँ बाली नचढाई खाने चलन छैन ।’ उनले भने ।

गाउँमा बाँदर आतंक कति छ भने जेठ १ गते तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर लेखेट्न सार्वजनिक बिदा दिने सूचना जारी गर्‍यो । बाँदरले दुःख दिएको गुनासो आएपछि नगरप्रमुख अर्जुन माबोहाङले स्थानीयलाई नै सामूहिक प्रयासमा जुटाएका थिए । नगरपालिकाले सूचना जारी गरेपछि स्थानीय वृद्ध, युवा तथा केटाकेटीहरु हातमा टिन, लाठी र गुलेली बोकेर बाँदर लखेट्न पुगेका थिए । गाउँमा दिनमा मात्रै नभएर रातिसमेत लाल्टिन बालेर बाँदर हेर्नुपर्ने अवस्था रहेको पीडितहरु बताउँछन् ।

पशुपति परिसरमा भेटिएका दुर्गा लामिछानेले बाँदर मार्नुभन्दा बेच्नुपर्ने तर्क गरे । उनी भन्छन्, ‘केही वर्षअगाडि संसद्‍मा बाँदर बेच्नुपर्ने कुरा उठेको थियो । सहरमा बसेर गाउँमा बाँदरले कति दुःख दिएको छ भन्ने कुरा अनुमान गर्न सकिन्न । गाउँ नै छोड्नुपर्ने स्थिति भनेको सामान्य होइन । गाउँ छोडेर सबै सहर पस्ने हो भने मान्छेसँगै ती सबै बाँदर पनि सहर आइपुग्छन् ।’

‘गाउँका मान्छेले सास्ती झेलेर सहरवासीलाई जोगाइराखेको कुरा हामीले बिर्सन हुँदैन । बाँदर मारेर फाल्नुभन्दा अर्को देशलाई बेच्नु उत्तम हुन्छ । बाँदर व्यवस्थापनको विषयमा भावनात्मक हुनु भन्दा भोलिको हानी नोक्सानीलाई मध्यनजर गरेर सरकारले जतिसक्दो छिटो पहल गर्न आवश्यक छ,’ उनले भने । तीन वर्ष अगाडी नेपाली कांग्रेस नेता रामहरी खतिवडाले संसद्‍मा बाँदर चीन निर्यात गर्नुपर्ने विषय उठाएका थिए । उनले श्रीलङ्काले चीनलाई बाँदर बेचेर आयआर्जन गरेको उदाहरण दिदैं नेपालले पनि बाँदर बेच्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ६ : १७ बजे

हुम्लामा नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास

काठमाडौं- हुम्लास्थित चंखेली गाउँपालिका–२ मा नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको

नेपाल एयरलाइन्समा सरकारको बदमासीलाई सर्वोच्चले रोकिदियो, योग्यताक्रम मिचेर गरिएको नियुक्ति बदर

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)

भारतको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं– भारत सरकारको सहयोगमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ मा जनज्योति माध्यमिक