काठमाडौं- पछिल्लो समय औद्योगिक विकास, आर्थिक प्रतिस्पर्धा र ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण मानिएका ‘क्रिटिकल इनर्जी ट्रान्जिसन मिनरल्स’ को महत्त्व दिनानुदिन बढ्दै गएको छ।
नवीकरणीय ऊर्जा प्रविधि, ब्याट्री भण्डारण र विद्युतीय सवारी साधनका लागि आवश्यक पर्ने यी खनिजहरूको माग बढेसँगै विश्वव्यापी स्वच्छ ऊर्जा मूल्य शृङ्खलामा भारत र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) प्रमुख खेलाडीका रूपमा उदाइरहेका छन् । आसियान देशहरूसँग निकेल, कोबाल्ट, बक्साइट र दुर्लभ खनिज तत्त्वहरूको ठूलो भण्डार रहेको छ भने अर्कोतर्फ भारतले स्वच्छ प्रविधि उत्पादनमा आफ्नो भूमिका विस्तार गर्दै विश्वव्यापी खनिज आपूर्ति शृङ्खलामा आफ्नो सहभागितालाई बलियो बनाउँदै लगेको छ।
यी दुवै पक्षका परिपूरक क्षमताहरूले खनिज प्रशोधन, उत्पादन र सम्बन्धित उद्योगहरूमा लगानी मार्फत ऊर्जा रूपान्तरणबाट अझ बढी फाइदा लिने अवसरहरू सिर्जना गरेका छन् । तर, यस्ता अवसरहरूका बाबजुद मूल्य अभिवृद्धि र दीर्घकालीन आर्थिक वृद्धिलाई सीमित गर्ने कतिपय चुनौतीहरू अझै बाँकी नै छन्। .
आपूर्ति शृङ्खलाको कमजोरी, सीमित प्रशोधन तथा उत्पादन क्षमता, वित्तीय अभावका साथै वातावरणीय र सामाजिक जोखिमहरू अहिलेका मुख्य चिन्ताका विषय हुन्। यी चुनौतीहरूलाई सम्बोधन गर्नका लागि बलियो क्षेत्रीय सहयोग, समन्वयकारी नीतिगत दृष्टिकोण, रणनीतिक लगानी, र सरकार, उद्योग, वित्तीय संस्था तथा विकास संस्थाहरूबीचको साझेदारी आवश्यक देखिएको छ।
यसै पृष्ठभूमिमा, इन्टरनेसनल इन्स्टिच्युट फर सस्टेनेबल डेभलपमेन्टले इनर्जिभा भेन्चर्ससँगको साझेदारीमा भारत–आसियान रणनीतिक सहयोगका विषयमा भर्चुअल बैठकको आयोजना गर्ने भएको छ। ‘क्रिटिकल इनर्जी ट्रान्जिसन मिनरल्स’ मा केन्द्रित रहने यस गोलमेच बैठकले नीति निर्माता, उद्योगका प्रतिनिधि, अनुसन्धानकर्ता र विकास साझेदारहरूलाई एकै ठाउँमा ल्याउने छ। बैठकमा क्षेत्रीय सहयोगलाई सुदृढ बनाउने र उत्थानशील एवं दिगो खनिज मूल्य शृङ्खलालाई अगाडि बढाउने अवसरहरूको खोजी गरिने बताइएको छ।












प्रतिक्रिया