विपद्को पीडामा खल्लो बन्दै तीज « Khabarhub

विपद्को पीडामा खल्लो बन्दै तीज


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो । घर,आँगनदेखि बजारसम्म रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहल देखिन्थ्यो । 

तीजका गीत घन्किन्थे, दिदीबहिनी भेला भएर दर खान्थे, नाचगान गर्थे । कार्यालय, संस्था र समुदायमा तीज विशेष कार्यक्रम आयोजना हुन्थे । तर यसपटकको तीजको माहौल फरक छ ।

रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि त्यसको त्रास र पीडाले मुलुकका धेरै परिवारलाई रुवाएको छ । 

विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा तीजको उल्लासभन्दा आफन्तको खोजी, विस्थापनको पीडा र भोलिको चिन्ताले ठाउँ लिएको छ । अन्य जिल्लाका नागरिक पनि बाढीमा परेकाले देशभर शोक छाएको छ ।

आज तीज दर खाने दिन । विगतमा यही दिन दिदीबहिनीहरू एकै ठाउँमा जम्मा भएर दर खाने, सुखदुःख साट्ने र तीजको गीतमा रमाउने गर्थे । 

यसपटक भने कतिपय परिवारका लागि दर खाने दिन पनि हराएका आफन्तको सम्झनामा बितिरहेको छ । नुवाकोटकी सुकुमाया तामाङको आँखामा तीजको रौनक होइन, हराइरहेका आफन्त भेटिने आशा छ । ‘कि सास, कि लास भए पनि भेटियो’, भन्ने आशामा दिन बिताइरहेका परिवारका लागि चाडपर्वको खुसी कसरी सम्भव होस् ?

यस्तै, पीडा नुवाकोट र धादिङका प्रभावित परिवारमा पनि छ । कतिपयका घर बगेका छन्, कतिपयका व्यवसाय र रोजगारीका आधार गुमेका छन् । कतिपय परिवारका सदस्य घाइते भएर अस्पतालमा उपचाररत छन् । ज्यान जोगाएर बाँचेकाहरू पनि घटनाको त्रासबाट अझै मुक्त हुन सकेका छैनन् ।

बाढीका कारण विस्थापित भएका सयौँ नागरिक अहिले अस्थायी सेल्टरमा बसिरहेका छन् । उनीहरूका लागि चाडपर्व मनाउनु प्राथमिकता होइन । बिहान बेलुका खानेकुरा, सुरक्षित बसोबास, स्वास्थ्योपचार र हराइरहेका आफन्तको खोजी नै अहिलेको मुख्य आवश्यकता बनेको छ । 

काठमाडौँ उपत्यकामा तीजको चहलपहल देखिए पनि बाढी प्रभावित परिवारमा त्यसको प्रभाव न्यून छ । विगतमा तीजका लागि महिनौँअघि नै तयारी गर्ने महिला यसपटक आवश्यकताअनुसार मात्र घरभित्र भेटघाट गरिरहेका छन् । कतिपय महिलाले सामान्य रूपमा रातो पहिरन लगाएका छन्, हातमा चुरा पनि लगाएका छन् । 

तर त्यो सजावटमा विगतको उत्साह छैन । उनीहरूको मनमा बाढीले दिएको चोट, गुमाएका घर–सम्पत्ति र हराइरहेका आफन्तको सम्झना छ ।

‘चाड त आयो, तर मनमा खुसी छैन’, गोङ्गबुकी  राधा खत्री भन्छिन् । यसपटकको तीजको वास्तविकता राधाको यही भनाइले झल्काउँछ । तीज नेपाली महिलाको सांस्कृतिक पर्व मात्र होइन, भेटघाट, आत्मीयता र दुःखसुख साट्ने अवसर पनि हो । यही कारण विपत्तिमा परेका महिलाका लागि यस वर्ष तीज झनै भावुक बनेको छ । कतिपयले आफ्नो पीडा अरूसँग साटिरहेका छन् भने कतिपयले मौनरूपमै दुःख सहिरहेका छन् ।

बाढीबाट ज्यान जोगाएर फर्किएका महिलाका कथा पनि कम पीडादायी छैनन् । कसैले परिवारका सदस्य गुमाएका छन्, कसैले घरबास । कसैले घाइते अवस्थाबाट उपचारपछि बल्ल सामान्य जीवनतर्फ फर्किने प्रयास गरिरहेका छन् । 

बाढीको समयमा ज्यान जोगाउन भागेका महिला अहिले सुरक्षित स्थानमा भए पनि त्यो क्षणको त्रास सम्झँदा झस्किन्छन् । उनीहरूका लागि तीजका गीतभन्दा बाढीको गर्जन र भागदौडको स्मृति अझै ताजा छ ।

अस्थायी शिविरमा बसिरहेका महिला आफ्ना बालबालिकालाई सम्हालिरहेका छन् । राहतबाट प्राप्त खाद्यान्न र अन्य सामग्रीको व्यवस्थापन गर्दै उनीहरू परिवारको दैनिक जीवनलाई पुनः सामान्य बनाउने प्रयासमा छन् । चाडपर्व आए पनि उनीहरूका लागि सबैभन्दा ठूलो उत्सव आफ्ना परिवारका सदस्य सुरक्षित हुनु र हराइरहेकाहरू सकुशल भेटिनु हो ।

चाडपर्व दुःख बिर्साउने अवसर पनि हो । तर दुःख अत्यन्तै गहिरो हुँदा उत्सवभन्दा सहानुभूति र साथ आवश्यक हुन्छ । यसपटकको तीजले यही सन्देश दिएको छ–विपत्तिमा परेका परिवारलाई एक्लो नछाडौँ, उनीहरूको पीडामा साथ दिऔँ र पुनः स्थापनाका लागि हातेमालो गरौँ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ४ : ३८ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच