काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको द्विपक्षीय भेटवार्तालाई लिएर भारतीय कांग्रेसले प्रश्न उठाएको छ।
कांग्रेस महासचिव जयराम रमेशले सामाजिक सञ्जाल एक्समार्फत प्रेस नोट जारी गर्दै प्रधानमन्त्री मोदीसँग चारवटा प्रश्न गरेका छन्।
उनले भारत–चीन सम्बन्ध सामान्य बनाउनु एउटा विषय भए पनि सरकारको पछिल्लो रवैया चीनप्रति ‘सोची–सम्झी रियायत’ अर्थात् समर्पणजस्तो देखिएको आरोप लगाएका छन्।
अपरेसन सिन्दूरमा चीनको भूमिकाबारे प्रश्न
रमेशले अपरेसन सिन्दूरका क्रममा पाकिस्तानलाई चीनले कथित रूपमा गरेको सैन्य सहयोगबारे सरकारको धारणा किन नरम हुँदै गएको भन्दै प्रश्न गरेका छन्।
उनले ४ जुलाई २०२५ मा भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल राहुल सिंहले सार्वजनिक रूपमा अपरेसन सिन्दूरका क्रममा पाकिस्तानलाई चीनको सहयोग गहिरो र महत्त्वपूर्ण रहेको बताएका स्मरण गराएका छन्।
चीनको भूमिकाबारे भारतीय सैन्य प्रतिष्ठानको मूल्यांकन के थियो र पछिल्ला सरकारी अभिव्यक्तिपछाडि कुनै कूटनीतिक रणनीति छ कि छैन भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।
गलवान घटनाबारे पनि प्रश्न
रमेशले १९ जुन २०२० मा चीनलाई दिइएको भनिएको ‘क्लिन चिट’ले भारतको वार्ताको स्थिति कमजोर बनाएको दाबी गरेका छन्।
गलवान उपत्यकामा २० भारतीय सैनिकले ज्यान गुमाएको उल्लेख गर्दै उनले त्यसपछि प्रधानमन्त्री मोदीले दिएको ‘न हाम्रो सीमामा कोही आएको छ, न त कोही त्यहाँ छ’ भन्ने अभिव्यक्ति अझै फिर्ता नलिइएको बताएका छन्।
उनका अनुसार उक्त अभिव्यक्तिले चीनसँगको त्यसपछिको वार्ता तथा भारतको वार्ताको अवस्थालाई कमजोर बनाएको छ।
लद्दाख र अरुणाचलमा पनि प्रश्न
कांग्रेस महासचिवले लद्दाख र अहिले अरुणाचल प्रदेशमा चीनले कथित रूपमा गरेको क्षेत्रीय विस्तारलाई सरकारले किन रोक्न नसकेको भन्दै प्रश्न गरेका छन्।
उनले यी विषयमा सरकारको नीति र चीनसँगको सम्बन्ध सामान्य बनाउने प्रयासबीचको सम्बन्धबारे पनि स्पष्टता आवश्यक रहेको बताएका छन्।
बढ्दो व्यापार घाटाबारे चिन्ता
रमेशले चीनसँगको भारतको व्यापार घाटा रेकर्ड स्तरमा पुगेको भन्दै त्यसबारे पनि सरकारसँग जवाफ मागेका छन्।
भारत–चीन सम्बन्ध सामान्य बनाउनु आवश्यक हुन सक्ने भए पनि सरकारले लिइरहेका कदमबाट चीनप्रति अत्यन्त नरम नीति अपनाइएको देखिएको उनको आरोप छ।
उनले चीनसँगको सम्बन्धमा सरकारको पछिल्लो दृष्टिकोणबारे संसद् र जनतासामु स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।












प्रतिक्रिया