ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छायाँ « Khabarhub

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छायाँ


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- इरान युद्धका कारण चर्किएको ऊर्जा सङ्कट, अस्थिर तेल बजार र विश्वव्यापी आर्थिक अनिश्चितताबीच ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरू बिहीबार नयाँ दिल्लीमा भेला भएका छन् । भारतले बैठकको उद्घाटन गर्दै वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति ‘गम्भीर उतारचढाव र पर्याप्त प्रभाव’ को चरणमा पुगेको चेतावनी दिएको छ । यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको भारतले विस्तारित समूहका विदेशमन्त्रीहरूको दुई दिने बैठक आयोजना गरेको हो ।

भेलामा इरान, रुस, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलगायत सदस्य राष्ट्र सहभागी छन् । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धका कारण उत्पन्न तनावले बैठकको मूल एजेन्डालाई प्रभाव पारेको छ । भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले उद्घाटन सत्रमा विश्व अहिले अस्थिर राजनीतिक र आर्थिक मोडबाट गुज्रिरहेको बताए ।

उनले भने, “हामी अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेखनीय उतारचढावको समयमा भेटिरहेका छौँ । चलिरहेका द्वन्द्व, आर्थिक अनिश्चितता तथा व्यापार, प्रविधि र जलवायुका चुनौतीहरूले विश्वव्यापी परिदृश्यलाई नयाँ ढङ्गले आकार दिइरहेका छन् ।” उहाँले विशेषगरी विकासोन्मुख राष्ट्रहरूले ब्रिक्सप्रति बढी अपेक्षासहित हेरिरहेको उल्लेख गरे ।

जयशङ्करका अनुसार उदीयमान अर्थतन्त्रहरू अहिले विश्व व्यवस्थामा स्थिरता र रचनात्मक भूमिकाको खोजीमा छन् । भेलामा इरानका विदेशमन्त्री अब्बास अराघची र रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभको उपस्थिति विशेष अर्थपूर्ण मानिएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्धले मध्यपूर्वमा तनाव बढाइरहेका बेला ब्रिक्स राष्ट्रहरूबीच साझा धारणा निर्माण गर्न कठिन देखिएको विश्लेषण गरिएको छ ।

खाडी क्षेत्रको जलमार्ग, विशेषगरी हर्मुज जलघाँटीमा भइरहेको अवरोधले तेल तथा ग्यास बजारमा ठूलो अस्थिरता ल्याएको छ । भारतजस्ता ऊर्जा आयातमा निर्भर अर्थतन्त्रहरू यसको प्रत्यक्ष असरमा परेका छन् । जयशङ्करले विकासोन्मुख राष्ट्रहरू अहिले ऊर्जा, खाद्य, मल, स्वास्थ्य सुरक्षा र वित्तीय पहुँचजस्ता आधारभूत क्षेत्रमा समेत चुनौती भोगिरहेको बताए । उनले भने, “विकासका मुद्दाहरू अहिले पनि केन्द्रमा छन् । धेरै देशहरूले ऊर्जा, खाद्य, मल र स्वास्थ्य सुरक्षासँगै वित्तीय पहुँचमा कठिनाइ सामना गरिरहेका छन् ।”

इरानसँगको युद्धले भारतको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । भारतले आफ्नो ठूलो ऊर्जा आवश्यकता मध्यपूर्वबाट पूरा गर्दै आएको छ । विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्य अवस्थामा आफ्नो कच्चा तेलको झन्डै आधा हिस्सा हर्मुज जलघाँटीमार्फत प्राप्त गर्छ । तर युद्ध सुरु भएयता उक्त समुद्री मार्ग पटक–पटक अवरुद्ध हुँदा भारतको आपूर्ति शृङ्खलामा अनिश्चितता बढेको छ ।

यसैबीच भारतले वैकल्पिक आपूर्ति स्रोत विस्तार गर्न थालेको छ । पुराना साझेदार राष्ट्रहरूसँगको सहकार्य पुनः सक्रिय पार्नुका साथै नयाँ आपूर्तिकर्ताहरूसँग सम्बन्ध विस्तार गर्ने प्रयास भइरहेको छ । विशेषगरी रुस भारतका लागि प्रमुख वैकल्पिक तेल आपूर्तिकर्ता बनेको छ । गत वर्षसम्म भारतले अमेरिकी दबाब र सम्भावित शुल्कबाट जोगिन रुसी तेलमाथिको निर्भरता घटाउने प्रयास गरेको थियो ।

तर अहिलेको सङ्कटले नयाँदिल्लीलाई पुनः मस्कोतर्फ फर्किन बाध्य बनाएको देखिएको छ । जयशङ्करले बुधबार साँझ रुसका विदेशमन्त्री लाभ्रोभसँग छुट्टै भेटवार्ता पनि गरेका थिए । त्यस अवसरमा उनले वर्तमान ‘अनिश्चित र अस्थिर वैश्विक वातावरण’ मा भारत–रुस राजनीतिक सहकार्य अझ महत्त्वपूर्ण बनेको उल्लेख गरे ।

भारतीय विदेश मन्त्रालयका अनुसार दुई नेताबीच व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीका विषयमा विस्तृत छलफल भएको थियो । ब्रिक्स समूह सन् २००९ मा पश्चिमी शक्तिको प्रभुत्व रहेका अन्तर्राष्ट्रिय संस्थाहरूमा वैकल्पिक प्रभाव निर्माण गर्ने उद्देश्यसहित स्थापना गरिएको थियो । सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मात्र सहभागी रहेको समूह पछिल्ला वर्षहरूमा तीव्र रूपमा विस्तार भएको छ ।

हाल ब्रिक्समा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया, इन्डोनेसिया र संयुक्त अरब इमिरेट्ससमेत आबद्ध छन् । सदस्य विस्तारसँगै समूहको विश्वव्यापी राजनीतिक तथा आर्थिक प्रभाव बढाउने प्रयास भइरहेको छ । यद्यपि सदस्य राष्ट्रहरूबीच गहिरो मतभेद पनि देखिएका छन् । विशेषगरी मध्यपूर्व युद्ध, पश्चिमी शक्तिहरूप्रतिको धारणा र अन्तर्राष्ट्रिय सुरक्षा सवालमा ब्रिक्सभित्र एकरूपता कायम हुन सकेको छैन ।

चिनियाँ विदेशमन्त्री वाङ यी भने यस बैठकमा सहभागी भएका छैनन् । उनी बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तामा सहभागी रहेको जनाइएको छ । भारतले यसै वर्षको अन्त्यमा ब्रिक्स नेताहरूको शिखर सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ ।

विदेश मन्त्रालयका अनुसार विदेशमन्त्रीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । तर बैठकको अन्त्यमा संयुक्त वक्तव्य जारी हुने वा नहुने अझै स्पष्ट भएको छैन । सदस्य राष्ट्रहरूबीच संवेदनशील अन्तर्राष्ट्रिय मुद्दामा मतभेद गहिरिँदै गएकाले साझा धारणा बनाउन कठिनाइ देखिएको छ ।

भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकारहरूसँग कुरा गर्दै भने, “परिस्थिति जसरी अघि बढ्छ, हामी त्यसबारे जानकारी दिँदै जानेछौँ ।”

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ४ : ३२ बजे

काठभित्र १०० टन लागूऔषध

सान्टियागो- चिलीका सुरक्षा तथा भन्सार निकायहरूले काठको ठूलो ढुवानीभित्र लुकाएर

कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिना बढीको आयात धान्ने

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्म नेपालमा

४१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, १० महिनामा १९ खर्ब बढी भित्रियो

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म नेपालमा विप्रेषण

उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमण : अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर– महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल नहरको