छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन « Khabarhub

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै बहु–रकेट प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रहार अभ्यास अवलोकन गरेका छन् । राज्य सञ्चालित सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उक्त परीक्षणलाई दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको संयुक्त सैनिक अभ्यासप्रति उत्तर कोरियाको सम्भावित प्रतिक्रियाका रूपमा हेरिएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्थाले किमले शनिबार देशको पूर्वी समुद्री किनार क्षेत्रमा सञ्चालन गरिएको आक्रमण अभ्यास प्रत्यक्ष रूपमा अवलोकन गरेको जनाएको छ । उक्त अभ्यासमा ६०० मिलिमिटर क्षमताका अत्यन्त सटीक बहु–रकेट प्रक्षेपण यन्त्रका १२ वटा प्रक्षेपक प्रयोग गरिएको बताइएको छ । यसअघि शनिबार दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको राजधानी आसपासको क्षेत्रबाट पूर्वी समुद्रतर्फ करिब १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको पत्ता लगाएको जनाएको थियो ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले यसलाई उत्तर कोरियामाथि ब्यालेस्टिक क्षेप्यास्त्र गतिविधिमा प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन भएको उक्साहटपूर्ण कदम भनेको छ । राज्य समाचार संस्थाले किमलाई उद्धृत गर्दै उक्त अभ्यासले ४२० किलोमिटरभित्र रहेका सम्भावित शत्रुहरूलाई ‘असहज बनाउने’ र उनीहरूलाई ‘रणनीतिक आणविक हतियारको विनाशकारी शक्ति कति भयावह हुन सक्छ भन्ने गहिरो समझ दिने’ बताएको जनाएको छ ।

यदि यस्तो हतियार प्रयोग गरियो भने प्रहार दायराभित्र रहेका विरोधी पक्षका सैन्य संरचनाहरू जोगिन नसक्ने उनको भनाइ उद्धृत गरिएको छ । प्रकाशित तस्बिरहरूमा किम र उहाँकी छोरी विशाल ओलिभ रङका प्रक्षेपण ट्रकहरू नजिकै हिँडिरहेको र हतियार प्रहार भइरहेको दृश्य देखिएको छ ।

ती किशोरीलाई किम जोङ उनकी छोरी किम जु ए भएको मानिन्छ र उनको उमेर करिब १३ वर्ष रहेको बताइन्छ । सन् २०२२ को अन्त्यदेखि उनले क्षेप्यास्त्र परीक्षण, सैनिक परेड र अन्य महत्त्वपूर्ण कार्यक्रमहरूमा आफ्ना बुबासँग सार्वजनिक रूपमा उपस्थिति जनाउँदै आएकी छन् । यसले उनलाई सम्भावित उत्तराधिकारीका रूपमा तयार पारिएको हुन सक्ने अड्कलहरूलाई बल दिएको विश्लेषकहरू बताउँछन् ।

सुरक्षा विश्लेषकहरूका अनुसार उत्तर कोरियाले प्रयोग गर्ने यस्ता ठूलो आकारका रकेट प्रक्षेपण प्रणालीले तोपखाना प्रणाली र ब्यालेस्टिक क्षेप्यास्त्रबीचको सीमालाई अस्पष्ट बनाउँछन् । ती हतियारहरूले आफ्नै बल सिर्जना गरेर उडान भर्न सक्ने र लक्ष्यतर्फ निर्देशित हुन सक्ने भएकाले तिनको प्रभावकारिता बढी मानिन्छ । उत्तर कोरियाले यस्ता केही प्रणालीहरूबाट आणविक हतियार समेत प्रक्षेपण गर्न सकिने दाबी गर्दै आएको छ ।

यसैबीच अमेरिका र दक्षिण कोरियाबीच सञ्चालन भइरहेको वसन्तकालीन संयुक्त सैनिक अभ्यास जारी छ । उक्त अभ्यास मुख्यतया कम्प्युटरद्वारा सञ्चालन गरिने कमान्ड केन्द्र अभ्यासमा केन्द्रित रहेको बताइएको छ र यो मार्च १९ सम्म चल्नेछ । उत्तर कोरियाले यस्ता संयुक्त सैनिक अभ्यासलाई प्रायः आक्रमणको पूर्वाभ्यासका रूपमा व्याख्या गर्दै आएको छ । त्यसैले प्योङयाङले प्रायः आफ्ना हतियार परीक्षण र कडा चेतावनीपूर्ण वक्तव्यहरूमार्फत त्यसको प्रतिक्रिया दिने गरेको विश्लेषकहरूले बताएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ३ : ०० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार