पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए « Khabarhub

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का वरिष्ठ नेता आशीष बनर्जीको शंकास्पद अवस्थामा मृत्यु भएको छ।

आइतबार बिहान बीरभूम जिल्लास्थित टीएमसीको पार्टी कार्यालयमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो।

आशीष बनर्जी रामपुरहाटको वडा नम्बर–५ अन्तर्गत हत्तलापारा क्षेत्रमा बस्दै आएका थिए। उनको घरनजिकै टीएमसीको पार्टी कार्यालय थियो।

प्रहरीका अनुसार अगस्ट १६ को बिहान पार्टी कार्यालयबाट एउटा सुसाइड नोटसमेत फेला परेको छ। उक्त नोटमा आफूले भ्रष्टाचार नगरेको र आफूलाई बदनाम गर्ने प्रयास गरिएको उल्लेख गरिएको छ।

आशीष टीएमसीका पूर्वविधायकसमेत थिए। प्रहरीले उनको शव पोस्टमार्टमका लागि पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुसाइड नोटमा बालुवा ठेक्काको प्रसंग

आशीष बनर्जीले लेखेको भनिएको सुसाइड नोटमा बालुवा ठेक्काको विषय उल्लेख गरिएको छ। आफूले कहिल्यै भ्रष्टाचार नगरेको र कुनै काम गरिदिएबापत पैसा नलिएको उनले बताएका छन्।

उनले तारापीठ–रामपुरहाट डेभलपमेन्ट अथोरिटी (टीआरडीए) को ठेक्का, योजना स्वीकृति, एनओसी तथा चेकसँग सम्बन्धित विषयमा आफ्नो कुनै भूमिका नरहेको दाबी गरेका छन्।

नोटमा आफ्नो मृत्युका लागि कोही जिम्मेवार नरहेको उल्लेख गर्दै उनले राजनीतिमा प्रवेश गरेकोमा समेत पछुतो व्यक्त गरेको बताइएको छ।

भाजपाको टिप्पणी, अभिषेक बनर्जीले उठाए प्रश्न

पश्चिम बंगाल सरकारकी मन्त्री तथा भाजपा नेतृ अग्निमित्रा पालले घटना आत्महत्या हो वा हत्या भन्ने विषय प्रहरीले अनुसन्धानबाट पत्ता लगाउने बताएकी छन्।

उनले टीएमसीमा सबै मानिस खराब नभएको टिप्पणी गर्दै पार्टीभित्र रहेका केही असल मानिसले बोल्न वा विरोध गर्न नसकेको दाबी गरिन्।

टीएमसी सांसद अभिषेक बनर्जीले भने आशीष बनर्जी जीवनभर शिक्षक र जनसेवकका रूपमा इमानदारी, सम्मान र सरलताका साथ जनताको सेवा गरेको बताएका छन्।

उनले आशीष रामपुरहाट र सम्पूर्ण बीरभूमका सम्मानित व्यक्ति रहेको उल्लेख गर्दै उनको अन्तिम नोटमा लामो समयदेखि चलिरहेको भनिएको बदनाम अभियानबारे गम्भीर प्रश्न उठाइएको बताएका छन्।

मृत्युको एक दिनअघि घरनजिकै झण्डा फहराएका थिए

आशीष बनर्जीले स्वतन्त्रता दिवसका अवसरमा शनिबार बीरभूमस्थित आफ्नो घरनजिकै भारतीय राष्ट्रिय झण्डा तिरंगा फहराएका थिए। उनले उक्त कार्यक्रमका केही तस्बिर आफ्नो फेसबुक पेजमा समेत सार्वजनिक गरेका थिए।

उनका भाइ प्रशान्त बनर्जीका अनुसार कार्यालयको ढोकामा रहेको सानो खाली ठाउँबाट डोरी झुन्डिएको देखिएपछि परिवारलाई शंका भएको थियो।

‘ढोकामा थोरै ठाउँ थियो र त्यहाँबाट डोरी झुन्डिएको देखियो। त्यसपछि हामीलाई शंका भयो। परिवारका सबै सदस्यलाई बोलाएर प्रहरीलाई खबर गर्‍यौँ,’ प्रशान्तले भने।

उनका अनुसार आशीषसँग परिवारको नियमित भेटघाट हुने गरेको थियो र घटनाको अघिल्लो रातसम्म पनि उनको व्यवहारमा कुनै असामान्यता देखिएको थिएन।

‘उहाँ दिनभरि कार्यालयमै हुनुहुन्थ्यो। झण्डा फहराइएको थियो र सबै कुरा सामान्य थियो,’ उनले बताए।

ममता सरकारमा मन्त्री र विधानसभा उपसभामुख

आशीष बनर्जी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका निकट तथा टीएमसीका वरिष्ठ नेताका रूपमा चिनिन्थे। पश्चिम बंगालमा टीएमसीको सरकार बनेपछि उनले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी विद्यालय शिक्षा तथा कृषि मन्त्रीसमेत भएका थिए।

रामपुरहाट विधानसभा क्षेत्रबाट उनी सन् २००१, २००६, २०११, २०१६ र २०२१ मा लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए। ममता बनर्जी नेतृत्वको अघिल्लो सरकारमा उनी विधानसभा उपसभामुखसमेत बनेका थिए।

तर सन् २०२६ को विधानसभा निर्वाचनमा उनी भाजपा उम्मेदवार ध्रुबा साहासँग पराजित भएका थिए।

जुन २ मा जिल्ला अध्यक्षबाट राजीनामा

आशीष बनर्जीले जुन २ मा टीएमसीको बीरभूम जिल्ला अध्यक्ष तथा जिल्ला कोर कमिटी अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

त्यतिबेला उनले कोर कमिटी निष्क्रिय भइसकेको र अब त्यसलाई सञ्चालन गर्नु आवश्यक नरहेको बताएका थिए। राजीनामापछि आफू पार्टीको सामान्य सदस्यका रूपमा मात्रै रहने उनले बताएका थिए।

आशीष बनर्जीको मृत्यु आत्महत्या हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट घटनाको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  २ : १४ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का