काठमाडौं– भदौ १० मा गएको भोटेकोशी बाढीपछि तेस्रो पटक बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि प्रधानमन्त्री वालेन्द्र शाह आएनन्। आफ्नै दलका सभापति रवि लामिछानेले सिंहदरबारभित्रै राखेको यस बैठकलाई बालेनले कुनै भाउ दिएनन्।
बुधबारको बैठकमा पनि विपक्षी दलको तर्फबाट कांग्रेस सभापति गगनकुमार थापा र श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्री शाहको खोजी गरे ।
रविले सर्वदलीय बैठकमा राजनीतिक संयन्त्रलाई निरन्तरता दिने कुरा राखेपछि दुई नेताहरूले प्रधानमन्त्रीको खोजी गरे। उनीहरूलाई जवाफ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए ।
वाग्लेले सरकारको तर्फबाट आफू उपस्थित भएको जानकारी गराउँदै सरकारले सर्वदलीय बैठकको अपनत्व लिनेमा कन्जुस्याइँ नगर्ने जवाफ दिएका छन् । यता कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री उपस्थित नभएको सर्वदलीय बैठकलाई संविधान र सरकारले नचिन्ने बताउँदै यसको औचित्यमै प्रश्न उठाए ।
‘हामी पार्टी सभापति रवि लामिछानेलाई सम्मान गर्छौँ । उहाँले निरन्तर क्रियाशीलता देखाउँदै विपक्षीहरूलाई डाकेर बैठक राखिरहनु भएको छ, यो एकदम प्रशंसा योग्य कुरा हो । तर यो बैठकलाई प्रधानमन्त्रीले बेवास्ता गरिदिनु भएको हो ?’, गगनले बैठकमा भने, ‘भोलि यो सर्वदलीय बैठकलाई सरकारले अपनत्व नलिए यत्तिकै छासछुस हुने हो, यसरी त समय बरबाद हुन्छ, साथीहरू यसबारे पनि सोचौँ। हामी सरकारसँगै छौँ, साथ दिन्छौँ भनिरहेका छौँ तर सरकार अझै टाढिँदै गएको जस्तो भएको छ ।’
गगनले बैठकमा प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा जाने विषयले आफू खुसी भएको उल्लेख गर्दै त्यहाँ उठाउने विषयवस्तुबारे पनि संवाद र छलफल हुनुपर्ने माग राखे । गगनले नेपाल-चीन सीमास्थित रसुवागढी नाकामा भदौ १० गते आएको बाढीलाई उपयुक्त नाम र त्यसको पहिचान दिनेमा पनि सरकारले विलम्ब गरेको विषय उठाए ।
गगनले बैठकमा बोल्ने क्रममा प्रधानमन्त्रीको खोजी गरेपछि श्रम संस्कृति पार्टीका सांसद राईले पनि साथ दिए। राईले प्रधानमन्त्री हराएको सूचना त विगतदेखि नै आइरहेको उल्लेख गरे । उनले प्रधानमन्त्री उपस्थित नभएको अवस्थामा गृहमन्त्री सुधन गुरुङ उपस्थित भएर बैठकको अपनत्व लिनुपर्ने बताउँदै संविधान र विधि मान्नुपर्नेमा जोड दिए ।
‘प्रधानमन्त्री विगतदेखि नै हराइरहनुभएको छ। यदि उहाँ उपस्थित हुन नसके गृहमन्त्रीलाई पठाइदिनु भएको भए हुन्थ्यो। प्रतिपक्षले निरन्तर यो प्रश्न उठाइरहँदा प्रधानमन्त्री कहाँ कुन कुनामा हुनुहुन्छ, हामीलाई त्यसको जवाफ चाहिन्छ’, राईले भनेका थिए, ‘प्रधानमन्त्रीले काम गर्न नसकेको हो भने सभापतिले जवाफ दिनुपर्छ । नत्र यस्ता विषयहरूमा प्रधानमन्त्री गम्भीर बन्नुपर्छ। यो सामान्य विषय होइन, यसलाई अन्तर्राष्ट्रियस्तरबाट पनि हेरिएको छ।’
सांसदहरूको प्रश्नपछि स्वर्णिमले प्रधानमन्त्रीले निरन्तर बैठक राखेको बताए। उनले विभिन्न काम गरेको प्रगति विवरण सुनाउँदै आफू सरकारको तर्फबाट उपस्थित भएको जानकारी दिए । उनले बैठकमा नेताहरूले उठाएको विषयलाई आफूले गम्भीरताका साथ लिएको जवाफ दिए ।
‘तपाईंले राख्नुभएको विषयमा सरकार एकदमै गम्भीर छ। सरकारले सबै संयन्त्र परिचालन गरेर काम गरिरहेको छ। प्रधानमन्त्री उपस्थित नभएका कारण यो बैठकको अपनत्व हुँदैन । यसलाई सरकारले चिन्दैन भन्ने चिन्ता र भय व्यक्त गर्नुभएको छ। यो बिलकुल होइन,’ बैठकमा वाग्लेले भने, ‘सरकार र पार्टीबीच छलफल र समन्वय भएरै यस्ता बैठकका गरिएको हो। यदि त्यसो भए यो बैठकको अपनत्व लिँन्नँ भनेर प्रधानमन्त्रीले भन्ने वातावरण हुन्थ्यो होला। त्यसैले शंका नगर्न आग्रह गर्दछु ।’
स्वर्णिमले बोलेपछि रविले भने प्रधानमन्त्री बैठकमा उपस्थित नभएको विषयमा थप जवाफ दिन चाहेनन् । उनले बरू सरकारको तर्फबाट वाग्ले उपस्थित भएको जानकारी दिएका थिए।

विश्वका मञ्चमा अधिकार माग्न दबाब
संयुक्त राष्ट्रसङ्घको महासभासँगै विश्वका विभिन्न मञ्चहरूमा नेपालको बाढीबाट भएको क्षतिपछि जलवायु परिवर्तनबाट भएको असरको अधिकार माग्नुपर्ने कुरा पनि विपक्षी दलहरूले आवाज उठाएका छन् ।
नेपालको अधिकार माग्नुपर्ने विषयमा सत्तापक्षका नेतासमेत विपक्षीसँगै छन्। नेपालको अधिकार माग्नुपर्ने विषयमा सत्ता र विपक्ष एकजुट रहँदा संयुक्त राष्ट्र सङ्घसँगै विश्वका विभिन्न मञ्चमा जलवायु परिवर्तनले पारेको असरको विषयमा तथ्यपरक आवाज उठ्नुपर्ने कुरा बैठकमा उठेको थियो ।
‘विश्वका विभिन्न मञ्चहरूमा नेपालको अधिकार माग्नुपर्ने विषयमा कुनै अलमल छैन। यो कुरा म प्रधानमन्त्रीसँग पनि गर्छु। प्रधानमन्त्री पनि यो कुरामा निरन्तर लागिरहनु भएको छ । राष्ट्रसंघको महासभामा जाने विषयदेखि अरू महत्त्वपूर्ण विषय उठान गर्ने सन्दर्भमा तयारी भइरहेको जानकारी दिनुभएको छ’, रविले भनेका थिए, ‘हो, यस्तै विभिन्न महत्त्वपूर्ण विषय उठान गर्न यो संयन्त्रलाई निरन्तरता दिऊँ भन्ने मेरो कुरा हो। यहाँहरूले पनि यस्ता विषयमा सरकारलाई साथ दिनुभएको छ। यसमा मेरो भन्नु केही छैन । आवश्यक परे हामी फेरि जुट्नेछौँ ।’
बैठकमा नेकपा सह-संयोजक माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतले विगतमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा उपस्थित हुँदाका अनुभवसमेत सुनाए। नेपालले आफू प्रधानमन्त्री भएको बेला पहिलो क्याबिनेट बैठक सगरमाथाको फेदीमा गरेको जानकारी दिए। त्यसबेला भएका महत्त्वपूर्ण निर्णय र प्रगतिको फेहरिस्त पनि उनले सुनाएका थिए ।
बैठकमा एमालेको तर्फबाट उपस्थित नेतृ पद्मा अर्यालले सरकार विभिन्न विषयहरूमा गम्भीर नभएको आरोप लगाएकी थिइन् ।
उनले सरकारको कार्यशैली र व्यवहारमा केही तालमेल नभएको उल्लेख गर्दै सुध्रिन आग्रह गरिन्। रविप्रति नरम उनी प्रधानमन्त्रीको कार्यशैलीप्रति आक्रोशित देखिएको बैठकमा उपस्थित नेताहरू बताउँछन् ।
उनले प्रधानमन्त्री बालेनले देशको विषयमा गम्भीरता नलिएर सनकको भरमा काम गरेको आशय सहितको अभिव्यक्ति दिएकी थिइन् ।

रविको सामना
सर्वदलीय बैठकपछि सरकारमाथि गरेको पत्रकारहरूको प्रश्नमा रविले सामना गरेका छन् । पत्रकारले सरकार गुण्डागर्दी शैलीमा हिँडेको विषयमा प्रश्न राख्दा उनले पार्टीको आन्तरिक लोकतन्त्र बलियो भएकाले यस्ता विषय उठाउन सांसदहरूलाई स्वतन्त्रता रहेको जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा सरकार गुण्डागर्दी शैलीमा हिँडेको आरोप लगाएका थिए। यस्तै सर्वदलीय बैठकको अपनत्व लिने र सर्वदलीय बैठकमा प्रधानमन्त्री उपस्थित नभएको विषयमा पत्रकारहरूले राखेको प्रश्नमा पार्टी आफूले चलाउने र सरकार प्रधानमन्त्रीले चलाउने अभ्यास अनुरूप भएकाले अनौठो नमान्न आग्रह गरेका थिए ।
उनले विगतमा पार्टी सभापति अथवा अध्यक्ष नै प्रधानमन्त्री हुने व्यवस्थाका कारण अनौठो लाग्नु स्वभाविक रहेको उल्लेख गर्दै अहिले पार्टी आफूले चलाउने र सरकार प्रधानमन्त्री बालेनले चलाउने सहमति अनुरूप यी गतिविधि भइरहेकाले कुनै समस्या पैदा नभएको उत्तर दिए ।
सरकारले सर्वदलीय बैठक र संयन्त्रको अपनत्व नलिएको खण्डमा के हुन्छ भन्ने प्रश्नमा लबीले भनेका थिए । ‘त्यस्तो होला भनेर अजिम गर्ने अहिले बेला छैन । सरकारले सर्वदलीय समिति बनेर ओनरसिप नलिने कुरा हुँदैन। त्यस्तो नहोस् भन्ने कमिटमेन्ट गर्छौँ।’ उनले भने ।”
अहिलेसम्म पनि राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेको सम्बन्ध सुमधुर हुन सकेको छैन। पार्टीले बोलाएको शीर्ष तहको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएको देखिँदैन।
कांग्रेसबाट गगन थापा सभापति भएपछि रवि र उनीबीचको सम्बन्ध सुमधुर भएको देखिन्छ । रविले बोलाएको बैठकमा पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह-संयोजक माधव नेपाल भने पालैपालो जाने गरेका छन् ।
रविले बोलाएको धेरैजसो बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित हुन्छन्। तर उनी अनुपस्थित रहेको महासचिव एवम् सांसद राईले प्रतिनिधित्व गर्दै आएका छन् ।
महासचिव राई उपस्थित नभए अर्का नेता ध्रुव राई पनि बैठकमा सहभागी हुने गरेका छन् । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलबाहेक रविले सीके राउतलाई समेत बोलाइएको छ। उनी हरेकजसो बैठकमा उपस्थित हुन्छन्।
रविले अहिले चर्चामा रहेका नेता कुलमान घिसिङलाई भने सर्वदलीय बैठकमा बोलाएका छैनन्। एमालेका तर्फबाट विगतको बैठकहरूमा नेता ऐन महर र प्रदीप ज्ञवाली लगायत जाने गरेका थिए ।
रविलाई स्वर्णिमको साथ
हरेक राजनीतिक संयन्त्रको बैठक राख्दा सभापति रविलाई अर्थमन्त्री स्वर्णिमले साथ दिने गरेका छन्। विगतबाटै अन्य मन्त्रीहरू बैठकमा कहिलेकाहीँ सामेल हुँदा स्वर्णिम निरन्तर उपस्थित छन्।
पछिल्लो समय प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेबीच दूरी बढेको विषय आइरहँदा सभापति र उपसभापतिको सम्बन्ध सुमधुर रहेको देखिन्छ ।
गृहमन्त्री सुधन गुरुङले पनि संयन्त्र लगायत बैठकमा रविलाई साथ दिने गरेका छैनन्। यस्ता बैठकहरूमा रवि र स्वर्णिमको सक्रियता विशेष देखिएको छ।












प्रतिक्रिया