रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन : पर्यटन प्रवर्द्धनमा जोड « Khabarhub

रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन : पर्यटन प्रवर्द्धनमा जोड


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

खोटाङ- लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले आजदेखि जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३’ सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा पहिलोपटक दिक्तेल बजारमा जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।

दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित अन्तरराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीले सहभागिता जनाएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ, वन तथा भू-संरक्षण विभाग काठमाडौँ, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौँं, त्रिभुवन विश्वविद्यालयको सहकार्यमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन दिक्तेलमा आयोजना गरेको हो ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले ‘प्रथम जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन’ आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । “विश्वमा जलवायु परिवर्तनमा आएको परिवर्तनका कारण वन्यजन्तु र जैविक विविधता सङ्कटमा पर्दै गएका छन् । यो अवस्थामा दिक्तेलमा आयोजना गरिएको अन्तरराष्ट्रिय सम्मेलनले आवश्यक राष्ट्रिय नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा गरिएको छ”, उनले भने, “सम्मेलनमा विभिन्न देशका विषय विज्ञलाई सहभागी गराइएको छ । जिल्लामा पहिलोपटक आयोजना गरिएको सम्मेलनले स्थानीय स्वरोजगार, स्थानीय सीप र रैथाने सामग्रीको प्रयोग तथा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

आजदेखि सुरु भएको सम्मेलन वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिले १० वटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची राखिएको नगरपालिकाले जनाएको छ । जैविक विविधता संरक्षण र दीर्घकालीन योजना निर्माण, लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्र र प्राथमिकतामा राख्नुपर्ने विषयहरूको पहिचान, जैविक विविधता संरक्षणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धताहरूसँग सम्बन्धित कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले जानकारी दिए । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा दिलीप सुब्बाले संयुक्त रुपमा सम्मेलन उद्घाटन गरेका छन् ।

सम्मेलनको अवसरमार दिक्तेल बजारमा र्‍याली प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा संरक्षणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । सम्मेलनस्थलमा प्रदर्शनीका लागि राखिएका लोपोन्मुख वन्यजन्तु रेडपाण्डा र थारको बाँसबाट बनाइएका कलात्मक चित्र आकर्षणको केन्द्र बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी-६ नेर्पाका कलाकार शम्भू राईले बाँसको भाँटा तथा चोया प्रयोग गरेर निर्माण गर्नुभएको रेडपाण्डा र थारको कलात्मक चित्रमा तस्बिर खिचाउनेको घुइँचो लागेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको अन्तरराष्ट्रिय सम्मेलनले होटल व्यवसायसमेत फस्टाएको व्यवसायीहरुले बताएका छन् ।

दिक्तेल बजारमा जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलनसँगै वैज्ञानिक अन्वेषण तथा विज्ञान-गणित प्रदर्शनीसमेत भइरहेकाले जिल्लाको चहलपहल बाक्लिएको छ । रेडपाण्डा संरक्षणका लागि दिक्तेल रुपाकोट मझुवागढी-१० पाथेका र केपिलासगढी गाउँपालिका-१ फेदीमा ‘समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम’ सञ्चालन गरिएको छ । विश्वको लोपोन्मुख वन्यजन्तुमा पर्ने खोटाङमा रहेको पुष्टि भएपछि ‘समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम’ सुरु गरिएको हो । सङ्घीय सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग नजिकको जङ्गलमा रेडपाण्डा पाइने भएकाले ‘मुन्दुम ट्रेल-रेडपाण्डा-थार रुट’ पदमार्ग प्रवर्द्धन गर्ने नगरपालिकाको योजना छ ।

किरात समुदायको उद्गमस्थल हलेसीस्थित तुवाचुङ-जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङदेखि रूपाकोटबाट बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा-थार रुट’ नामाकरण गरिएको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यो नगरपालिकाले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बाँस तथा बाँस सम्बन्धी उद्योगको प्रवर्द्धनको कामसमेत गर्दै आएको छ । स्थानीय स्रोतको परिचालन गर्दै देश विकास गर्न सकिने सन्देश प्रवाह गर्न बाँस सम्मेलन गरेको नगरपालिकाले प्रथम जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३ आयोजना गरेको हो ।

राष्ट्रिय बाँस सम्मेलन गरेर बाँस तथा बाँसजन्य सामग्रीको प्रवर्द्धन एवं नीति निर्माणका लागि दबाब सिर्जना गरेपछि नेपाल सरकार, सहरी विकास मन्त्रालयबाट बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत भएको छ । सरकारले स्वीकृत गरेको मार्गदर्शनमा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र किफायती संरचना निर्माणका लागि आवश्यक प्राविधिक विवरण र घरका नमूना डिजाइनसमेत समावेश गरिएको छ । नगरपालिकालाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले पुरस्कृत गरेको छ ।

बाँसजन्य स्रोतको संरक्षण, प्रवर्द्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यवसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रुपमा रुपान्तरणसँगै बाँस सम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको नाष्टले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : ४५ बजे

प्रदीप पौडेलले भने : सर्वोच्चको फैसला स्वीकार्दै कांग्रेसको एकता जोगाऊँ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च

कांग्रेस विवाद : गगनलाई आधिकारीकता दिने सर्वोच्चको फैसला (पूर्णपाठ)

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुनसम्मत ठहर

सर्वोच्चको फैसला : गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, देउवा पक्षको रिट खारेज

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा