काठमाडौं- अमेरिकी नागरिक तथा म्यान्मारका प्रख्यात विद्वान मिन जिन चीनको कुन्मिङ विमानस्थलमा ओर्लिएलगत्तै बेपत्ता भएका छन् । आर्थिक सहयोगसम्बन्धी कार्यशालामा भाग लिन तीनदिने भ्रमणका लागि चीन पुगेका उनको अवस्थाबारे परिवारले लामो समयदेखि कुनै जानकारी पाएको छैन ।
परिवारका प्रवक्ताका अनुसार गत जुन ३ को अपराह्न चाइना इस्टर्न एयरलाइन्सको उडानबाट कुन्मिङमा अवतरण गरेलगत्तै मिन जिनलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको हो । चिनियाँ सरकारले उनले जासुसी गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ भने परिवार र अमेरिकी सरकारले उक्त आरोपलाई पूर्ण रूपमा खारेज गरेका छन् ।
युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका स्नाातक मिन जिनलाई हाल झ्याल नभएको एउटा सानो कोठामा बन्दी बनाइएको छ । बाह्रै महिना उज्यालो रहने र चौबीसै घण्टा दुई जना पहरेदारको निगरानीमा राखिएको उक्त कोठामा उनलाई दैनिक चार देखि छ घण्टासम्म सोधपुछ गर्ने गरिएको दाबी छ । ट्रम्प प्रशासनले उनलाई अन्यायपूर्ण रूपमा थुनामा राखिएको घोषणा गर्दै बेइजिङलाई तत्काल रिहा गर्न आग्रह गरेको छ। यद्यपि, उनलाई हालसम्म औपचारिक रूपमा पक्राउ वा अभियोग लगाइएको छैन ।
अमेरिकी अधिकारीहरूका अनुसार मिन जिनले यसअघि म्यान्मारको लोकतन्त्रीकरण र जातीय द्वन्द्वका विषयमा गरेको अध्ययन तथा म्यान्मारको सैनिक शासनविरुद्धको विद्यार्थी आन्दोलनमा उनको पृष्ठभूमिले चिनियाँ सुरक्षा निकायको ध्यान खिचेको हुन सक्छ । उनी यसअघि पनि कुनै झन्झटबिना चिनियाँ प्राज्ञिक कार्यक्रमहरूमा सहभागी हुँदै आएका थिए ।
चिनियाँ दूतावासका प्रवक्ता लिउ चाङले भने मिन जिनमाथि ‘फौजदारी कानुनी कारबाही’ भइरहेको र उनी अनुसन्धानको दायरामा रहेको बताउँदै उनको कानुनी अधिकार पूर्ण रूपमा सुरक्षित गरिएको दाबी गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ नेता सी चिनफिङबीच वाशिङटनमा हुन लागेको आगामी शिखर सम्मेलनमा यो विषय प्रमुखताका साथ उठ्ने अपेक्षा गरिएको छ। मिन जिनसहित चीनमा अन्यायपूर्ण रूपमा थुनामा परेका अमेरिकी नागरिकहरूको रिहाइले दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप जटिलता थपेको विश्लेषकहरूको भनाइ छ।














प्रतिक्रिया