बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू ! « Khabarhub

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

कहिले थियो र कांग्रेसमा मिलाप ?



‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले । एउटा वासुपासा भन्ने छ, उसले रिभल्वर लिएको थियो । गुण्डाहरूलाई सञ्चालन गर्नुभयो । त्यसको पछि त्रिपुरवर सिंह छ । सभामा म बोलिरहेको मञ्चमा वासुपासा माथि जान्छ र मलाई घचेट्छ र पिट्छ । त्यो गराउनुभयो वहाँले ।’

नेपाली कांग्रेसभित्र घात, अन्तर्घात र प्रतिघात कतिसम्म चल्छ भन्ने सात दशकअघि बीपी स्वयंको भोगाइबाट प्रष्ट हुन्छ । सत्ताको निर्मम चरित्रले नेतालाई विवेक शून्य गराउँछ । इमान बन्धक बनाउँछ । सत्ता र शक्तिमा पुगेपछि नयाँ ग्रहबाट चाटुकारहरू जन्मन्छन् । नेताहरूलाई मान्छेबाट देवत्वकरण गर्ने होड चल्छ । त्यही देवत्वकरणले इतिहासमा कोही राजेन्द्रलक्ष्मी, राम शाह, रणबहादुर शाह, राजेन्द्रविक्रम शाह, त्रैलोक्यविक्रम शाहदेखि जङ्गबहादुर, भिमसेन थापाजस्ता पात्रहरू नाम बदनाम बोकेर बिदा हुन्छन् ।

पदले व्यक्तित्व बन्दैन । राजाजस्तो सम्मानित पदमा रहँदा पनि राजा त्रिभुवनको आचरण सुध्रिएन । ‘राष्ट्रपिता’ भनेर इतिहासको दस्तावेजमा फुर्क्याएका राजा त्रिभुवनका लागि रसरंगमा भुल्नु जीवनको पहिलो र अन्तिम ध्येय थियो ।

पदले व्यक्तित्व बन्दैन । राजाजस्तो सम्मानित पदमा रहँदा पनि राजा त्रिभुवनको आचरण सुध्रिएन । ‘राष्ट्रपिता’ भनेर इतिहासको दस्तावेजमा फुर्क्याएका राजा त्रिभुवनका लागि रसरंगमा भुल्नु जीवनको पहिलो र अन्तिम ध्येय थियो । पाँच वर्षको उमेरमा राजा भएका उनले ४३ वर्ष राजकाज सम्हाले । रणबहादुर, सुरेन्द्रविक्रम, त्रिभुवनलाई इतिहासकारहरूले ‘लम्पट’ राजाको उपाधि दिएका छन् । मदिरा र सुरासुन्दरीका प्रिय त्रिभुवनका दरबारमै आधा दर्जन अनौपचारिक पत्नी थिए ।

राणाकालमै त्रिभुवनकी जेठी रानी कान्ति राज्यलक्ष्मीको मालिस गर्न दरबार छिरेकी युरोपेली नर्स एरिका लुखट्यागले आफ्नो पुस्तकमा भनेकी छिन्– ‘राजा त्रिभुवनले मदिरा र मलाई समान प्रेम गरे । खोपीमा उपलब्ध सुरा र सुन्दरी अनि काठमाडौँका ‘भूमिगत’ अखडाले नअघाएर उनी कामवासनाको अतृप्‍त प्यास मेटाउन कलकत्तासम्म धाउँथे । नाइट क्लब धाउने, जथाभावी रक्सी पिउने उनको बानी थियो ।’

​​​​​​​राजषी ठाँटबाँट र पदीय ओज भुलेर त्रिभुवनले भारतमा लीला मच्चाएको प्रधानमन्त्री जवाहरलाल नेहरूलाई समेत पचेन । बीपी दिल्ली गएका बखत नेहरूले गम्भीर आपत्ति जनाउँदै भनेछन्– ‘तिम्रा राजा कलकत्ता आउँछन्, बम्बई जान्छन् । स्वास्नीमानिससँग, हलुका व्यापारीसँग, सिन्धीहरूसँग मेलजोल गर्छन्, त्यो राम्रो भएन । त्यसो हुनाले तिमीले त्यस सम्बन्धमा राजालाई सम्झाउनु पर्‍याे ।’

०७ सालको क्रान्तिपछि बनेको सरकारले म्यान्डेटअनुसार विधानसभाको चुनाव गराउन नसक्ने भएपछि बीपी सरकारबाट अलग्गिए ।

तिनै राजा त्रिभुवनको लाडप्यारमा राजनीतिक जीवन आरम्भ गरेका मातृकाप्रसाद कोइराला त्यस्तो नागरिक प्रधानमन्त्री बने, जसले इतिहासमै पहिलोपल्ट ब्रिगेडियर जर्नेलको सैनिक पोशाक पहिरिए । राजा र भारतको बलबुतामा शक्ति आर्जन गरेका उनलाई यो प्रकरणले चरम महत्वाकांक्षी बनायो । हुन त भारतका प्रतिभाशाली राजनीतिज्ञ डा. राजेन्द्रप्रसादको निजी सचिव बन्ने सुयोग प्राप्त मातृका आफैँमा तीक्ष्ण बुद्धिका थिए ।

०७ सालको क्रान्तिपछि बनेको सरकारले म्यान्डेटअनुसार विधानसभाको चुनाव गराउन नसक्ने भएपछि बीपी सरकारबाट अलग्गिए । यो प्रकरणपछि राजाले प्रधानमन्त्री बनाउनेमा दुई दाजुभाइ विश्वस्त थिए । आखिर मातृकाले मुलुकको शक्तिशाली कार्यकारी बन्ने अवसर पाए ।

बीपीले सरकार प्रमुख र पार्टीको सभापति एकैजना हुन नहुने सर्त अघि सारे । अन्ततः भारतीय नेता जयप्रकाश नारायणको मध्यस्थतामा भएको सहमतिपछि मातृकाले निकालेको वक्तव्यमा भनिएको थियो– ‘म आफ्नो प्रतिद्वन्द्वीतालाई वापस लिन्छु र अन्तःस्करणबाट बीपी कोइरालालाई आशीर्वाद दिन्छु ।’ जयप्रकाश नारायणले टालिदिएको ‘सुपर ग्लू’ धेरै समय टिकेन । नेहरू र राजाले प्रधानमन्त्रीको ललिपप देखाएर छानी छानी ‘भकुण्डो’ बनाएको कोइराला बन्धुहरूले पत्तै पाएनन् । सत्ताको यही लडाईँले कांग्रेस तीन भागमा बिलो लाग्यो । पार्टीमा ‘कोइरालावाद’को आरोप लगाउँदै केदारमान व्यथित, बालचन्द्र शर्मा र भरतमणि शर्मालगायतले अर्को मोर्चा बनाए ।

०१५ सालको चुनावपछि कांग्रेस वर्तमानको राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा शक्तिशाली थियो । अहिले वालेन्द्रको विश्वासिला कुमार बेन भने झैँ त्यो बेला डा. तुलसी गिरी बीपीका सन्निकट पात्र थिए ।

पार्टीको पाँचौ महाधिवेशनमा बीपी–मातृका–केदारमान व्यथित पार्टी नेतृत्वमा प्रतिस्पर्धी भए । २९८ मत ल्याएर बीपी विजयी भए । मातृका ६८ र व्यथितले २ मत प्राप्त गरेका थिए । चुनावी परिणामले दाजुभाइको सम्बन्ध झन जटिल बन्दै गयो । मातृका–बीपीबीचको आपसी टकरावले कांग्रेसको मात्रै नभएर सिंगो मुलुकको राजनीति नै प्रभावित बन्न पुगेको इतिहास छ । यो विवादले राजनीतिको बाटो बरालिँदा अनुमान नै नगरिएका टंकप्रसाद आचार्य, केआई सिंह, सुवर्णशमशेरहरू मुलुकको कार्यकारी बन्ने अध्याय आरम्भ भयो ।

​​​​​​​०१५ सालको चुनावपछि कांग्रेस वर्तमानको राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा शक्तिशाली थियो । अहिले वालेन्द्रको विश्वासिला कुमार बेन भने झैँ त्यो बेला डा. तुलसी गिरी बीपीका सन्निकट पात्र थिए । डा. गिरीको मुख सुँघेर बीपीका भावी निर्णय थाहा हुन्थ्यो । सूर्यप्रसाद उपाध्याय बीपीको अरूचिका पात्र थिए । यद्यपि संस्थापक नेताहरूमा उसबेला बीपी, गणेशमान, सुवर्ण र सूर्यप्रसाद शीर्षस्थ थिए ।  उपाध्यायले २००७ सालको क्रान्तिताका अनेक उट्पट्याङ काम गरेर धोका दिएको बीपीले आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । उनीमाथि हतियार खोज्ने काममा अनाहक लाखौँ खर्च गराएको, केआई सिंहको विद्रोह जन्माउन सहयोग गरेको आरोप छ ।

२०१५ सालको आम निर्वाचनमा सिन्धुली र काठमाडौँ दुवै ठाउँबाट पराजित भएपनि शक्ति सन्तुलनका लागि नचाहेरै पनि बीपी उनलाई गृहमन्त्री बनाउन बाध्य थिए । अर्कातर्फ पार्टीमा आफ्नो हालीमुहाली चलेपछि ०१५ सालको चुनावमा बीपीले मातृकालाई टिकट दिएनन् । विराटनगरबाट चुनाव लड्ने उनको ठूलो धोको थियो । टिकट नपाएपछि भाइलाई असहयोग गर्न चुनाव अवधिभर भारतीय सीमावर्ती शहर फार्बिसगन्ज गएर बसे । घरपरिवारका सदस्यलाई स्वतन्त्र उम्मेद्वार डा. अवधनारायणको घैला चिह्नमा मत दिन उर्दी लगाए ।

मातृका भाइ हराउन लागे पनि बहिनी इन्दिरा (शैलजा आचार्यकी आमा) बीपी पक्षमा थिइन् । चुनावको दिन मातृकाकी आमाले छोरीलाई भनिछन्– ‘भोट हाल्न जाँदा मलाई सँगै लिएर जाऊ’ । इन्दिराले मतदान गराएर फर्किने क्रममा आमालाई सोधिन्– ‘भोट कसलाई दिनुभयो ?’ आमाको उत्तर थियो– ‘मैले त अवधनारायणको घैलामा हालेँ’ । यो सुन्ने वित्तिकै इन्दिरा फन्किएर आमालाई बाटैमा छोडेर घर फर्किएकी थिइन् ।

आश्चर्य त के छ भने त्यो चुनावमा बीपी बाहेक प्रमुख पार्टीका शीर्ष नेताहरू टंकप्रसाद आचार्य, रंगनाथ शर्मा, डिल्लीरमण रेग्मी, भद्रकाली मिश्र, रणधीर सुब्बा, पुष्पलाल श्रेष्ठ, बेदानन्द झा, केशरजंग रायमाझीलगायतका नेताहरूले चुनाव हारेका थिए ।

बीपीका विश्वासपात्रहरूलाई बन्चरो बनाएर राजा महेन्द्रले कांग्रेसको रूख सोत्तर बनाइदिए । सूर्यप्रसाद उपाध्याय, विश्वबन्धु थापा, तुलसी गिरी आफ्नोमा खाएर राजा महेन्द्रकोमा चुठ्न पुगेको बीपीलाई थाहै भएन ।

सत्तारोहणअघि र सत्तारोहणपछि राजनीतिज्ञले कसरी रंग फेर्छन् भन्ने बुझ्न केआई सिंहको त्यसबेलाको एउटा अभिव्यक्ति काफी छ । प्रधानमन्त्रीको सपथ खाएपछि उनले भनेका थिए– ‘म पहिले भ्रष्टाचार निर्मूल पार्छु । त्यसपछि आमचुनाव गराउँछु ।’ पदबाट हटेपछि भन्न थाले– ‘मेरो पालामा भ्रष्टाचार निर्मूल पारुँ भनी त्यसको मूल पत्ता लगाउँदै गएँ । जाँदाजाँदा म त राजदरबारको मूल ढोकामै पो पुगेँ । जुन दिन म त्यहाँ पुगेँ, मैले मेरो मन्त्रिमण्डल विघटन भएको सुन्नुपर्‍याे ।’

बीपी नेतृत्वको सरकार १६ महिनापछि राजा महेन्द्रले आफ्नो हातमा लिए । बीपीसहित शीर्ष नेतृत्व पक्राउ पर्‍याे । अचम्म त के भने बीपीका विश्वासपात्रहरूलाई बन्चरो बनाएर राजा महेन्द्रले कांग्रेसको रूख सोत्तर बनाइदिए । सूर्यप्रसाद उपाध्याय, विश्वबन्धु थापा, तुलसी गिरी आफ्नोमा खाएर राजा महेन्द्रकोमा चुठ्न पुगेको बीपीलाई थाहै भएन । २०१७ सालको घटनापछि बीपी जेलमा बन्दी बनाइए ।

नेपाली कांग्रेसको नेतृत्व सुवर्ण शमशेरको हातमा पुग्यो । निर्वासनमा बसेर सुवर्णले पार्टी नेतृत्व सम्हालेका थिए । देशमा हिंसात्मक आन्दोलन चलाउने बीपीको इच्छा विपरीत सुवर्णले मेलमिलापको नीति अख्तियार गरेका थिए । यद्यपि सुवर्णशमशेरको लाइनप्रति बीपीको समर्थन थिएन । तिनै बीपी ०३३ सालमा राजासँग मेलमिलापको नीति लिएर स्वदेश फर्किए ।

कांग्रेसभित्र पात्र नयाँ आए पनि देखिने दृश्य उस्तै छन् । ७५ वर्षअघि बीपी–मातृकाको नियति उनीहरूकै सन्तान शेखर, शशांक र सुजातामा दोहोरिएको छ ।

२०३३ सालअघि बीपी कोइराला निर्वासनमा हुँदा कृष्णप्रसाद भट्टराई भारत नजाने भनेर नेपालमै बसेका थिए । स्वदेशमै रहेर पञ्चायत विरुद्ध लड्ने उनको दृढता थियो । दुई नेताबीच प्रष्ट मतभिन्नता थिए । तर, यी दुई शीर्ष नेताबीचको विवादले पार्टीलाई कुनै हानी गरेन । कार्यकर्ता विचारका आधारमा विभाजित थिए । बीपी, सुवर्ण, भट्टराईको पक्षमा कार्यकर्ता नीतिविरुद्ध उभिने आँट कसैले गर्दैनथ्यो । वैचारिक असहमति बाबजुद पार्टीको नेतृत्व कृष्णप्रसादलाई दिएर बीपी बिदा भए । कृष्णप्रसादले सधैँ बीपीलाई शिरमा राखे ।

कांग्रेसभित्र पात्र नयाँ आए पनि देखिने दृश्य उस्तै छन् । ७५ वर्षअघि बीपी–मातृकाको नियति उनीहरूकै सन्तान शेखर, शशांक र सुजातामा दोहोरिएको छ । विरासतको राजनीति भजाउन राजनीतिमा लागेका यी तीन थान पात्र पल्ला हेरेर निर्णय गर्छन् । व्यावसायिक राजनीतिक संस्कारको तीनैजनामा खडेरी छ ।  शेखर न हाँस, न बकुल्लाको चालजस्तो राजनीतिमा रमाएका छन् । शेरबहादुरको छायाँ बन्नमा शशांकलाई गौरव छ । सुजाताले यतिबेला गगनको छत्रछायाँ खोजेकी छिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसकै गृहमन्त्रीलाई कारवाही गर्नुपर्छ भनेर बैठकमा शेखरले अडान राख्दा शशांकले आफ्नै दाजुमाथि कारवाहीको माग अघि तेर्‍स्याए ।

शेरबहादुर देउवा सत्ताका खातिर चतुर खेलाडी हुन् । तर नैतिकवान हैनन् । उनलाई घेर्नेहरू कतिसम्मका गैरव्यावसायिक राजनीतिज्ञ रहेछन् भन्ने जीवनको उत्तरार्द्धमा खुल्दैछ ।

२०४८ सालमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनपछि सरकारको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइरालाले सर्वोच्च नेता गणेशमानसिंह र पार्टी सभापति कृष्णप्रसाद भट्टराईको सल्लाह नमान्दा दुवै अपमानित महसूस गर्दै पार्टीबाट बिदा भए । वैचारिक मतभिन्नताले कांग्रेसको शक्तिमा क्षयिकरण भएन । कांग्रेस कमजोर नहुनुको कारण थियो– नेताहरू विचार राख्थे, तर निर्णयलाई स्वीकारेर अघि बढ्थे । अहिले पासा पल्टिएको छ । कम्युनिष्टभन्दा तल्लोस्तरमा झरेर कांग्रेसलाई खुइल्याउँदा बहादुर कहलिइन्छ भन्ने भ्रम पुराना नेताहरूमा देखियो । शेरबहादुर देउवा सत्ताका खातिर चतुर खेलाडी हुन् । तर नैतिकवान हैनन् । उनलाई घेर्नेहरू कतिसम्मका गैरव्यावसायिक राजनीतिज्ञ रहेछन् भन्ने जीवनको उत्तरार्द्धमा खुल्दैछ ।

बीपीको जुत्ता लगाउने हुटहुटी जगाउनुभन्दा नैतिक आचरण उच्च राख्न सकेको खण्डमा कांग्रेसीका लागि सर्वाधिक ठूलो धाम हुने निश्चित छ ।

कांग्रेसभित्र चल्ने अनपेक्षित कसरतप्रति बीपी पहिल्यै सचेत थिए । बीपीको जुत्तामा खुट्टा हाल्न तम्सिनेहरूले यी वाक्य पढेको खण्डमा सबै भ्रम पखालिन्छ– ‘म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । मैले लिएको अडान र दृष्टिकोणलाई गौण बनाइनेछ । राजासँग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिन । मेरा यी अडानहरूको बारेमा व्यापक भ्रम सृजना हुने सम्भावना मैले देखेको छु । जुन दिन कांग्रेस प्रजातन्त्रका आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’

बीपीको जुत्ता लगाउने हुटहुटी जगाउनुभन्दा नैतिक आचरण उच्च राख्न सकेको खण्डमा कांग्रेसीका लागि सर्वाधिक ठूलो धाम हुने निश्चित छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ११ : ४७ बजे

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको