काठमाडौं- नेपाल, भारत र दक्षिण एसियाली क्षेत्रमा विकास भइरहेका पछिल्ला राजनीतिक तथा सुरक्षा चासोबीच बंगलादेशमा इत्तिहादुल उम्माह नामक नयाँ लडाकु समूहको उदय भएको तथ्य सार्वजनिक भएको छ। ढाकास्थित तेजगाउँ कलेजको मस्जिदबाट हालै पक्राउ परेका व्यक्तिहरूसँगको सोधपुछका क्रममा यो नयाँ चरमपन्थी समूहबारे खुलासा भएको हो। गृहमन्त्री सलाहुद्दिन अहमदले यस खबरको पुष्टि गर्दै उक्त समूहको वैदेशिक उग्रवादी सञ्जालहरूसँग सम्बन्ध छ वा छैन भन्नेबारे गुप्तचर निकायहरूले सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।
गृह मन्त्रीका अनुसार हिरासतमा लिइएका व्यक्तिहरूको मोबाइल फोनको फरेन्सिक विश्लेषण र बयानका आधारमा इत्तिहादुल उम्माह नामबाट नयाँ संगठन खडा गरी खिलाफत स्थापना गर्ने उद्देश्यका साथ उग्रवादी गतिविधि सञ्चालन गर्ने योजना बनिरहेको भेटिएको हो । बंगलादेश सरकारले यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाउँदै कडा कारबाहीको चेतावनी दिएको छ । सेप्टेम्बर १८ मा ढाकाको तेजगाउँ कलेज मस्जिदमा गोप्य भेला भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई थप अनुसन्धानका लागि काउन्टर टेररिजम एन्ड ट्रान्सन्याशनल क्राइम (सीटीसीसी) को हिरासतमा राखिएको छ ।
पक्राउसँगै बंगलादेशमा उग्रवादी गतिविधि फेरि तीव्र बन्न थालेको संकेत मिलेको छ। उनीहरु पक्राउ परेको भोलिपल्टै मिरपुर र मध्य बाड्डामा बसहरू तथा दक्षिण केरानीगञ्जमा पिकअप भ्यानमा आगजनी गरिनुका साथै राजधानीका विभिन्न स्थानमा बम विस्फोट गराएर सर्वसाधारणमा त्रास फैलाउने प्रयास गरिएको थियो । गुप्तचर अधिकारीहरूका अनुसार पराजित राजनीतिक शक्तिहरूले धार्मिक भावना र विदेशी सहयोगको आडमा देशलाई अस्थिर बनाउन यस्ता गतिविधिलाई मलजल गरिरहेका छन् ।
हालैका महिनाहरूमा कारागारबाट भागेका उग्रवादीहरूका कारण पनि सुरक्षा चुनौती बढेको छ। कारागार महानिरीक्षक (आईजी प्रिजन्स) ब्रिगेडियर जनरल सैयद मुताहेर हुसेनका अनुसार सन् २०२४ को आन्दोलनका क्रममा विभिन्न जेलबाट ६९० भन्दा बढी कैदी भागिसकेका छन्, जसमध्ये थुप्रै अन्तर्राष्ट्रिय उग्रवादी सञ्जालसँग जोडिएका खतरनाक लडाकुहरू अझै फरार छन्। यस्ता फरार लडाकुहरू संगठित भई अल्पसंख्यक समुदायमाथि आक्रमण गर्ने र त्रासको वातावरण सिर्जना गर्ने ध्याउन्नमा रहेको बुझिएको छ।
यसैबीच, बंगलादेशी सेना तथा सुरक्षा निकायभित्रै पनि उग्रवादी सञ्जालको घुसपैठ हुनु गम्भीर चिन्ताको विषय बनेको छ। चट्टोग्राम बेसबाट बेपत्ता भएका बंगलादेश वायुसेनाका एक वारेन्ट अफिसर प्रतिबन्धित उग्रवादी समूह ‘तहरीक-ए-तालिबान पाकिस्तान’ (टीटीपी) को अखडामा फेला परेको घटनाले राष्ट्रिय सुरक्षामा ठूलो धक्का पुर्याएको छ। मानवअधिकारवादी अधिकारकर्मी नूर खान लिटनका अनुसार बंगलादेशमा उग्रवाद नयाँ विषय नभए पनि विगत केही समयदेखि यिनीहरूको पुनर्गठन भइरहेको संकेतहरू प्रस्ट देखिएका छन्। सर्वसाधारण तथा सुरक्षा विश्लेषकहरूले देशको सार्वभौमसत्ता र शान्ति कायम राख्न उग्रवादलाई सुरुवाती चरणमै पूर्ण रूपमा निस्तेज पार्न कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन्।














प्रतिक्रिया