‘हर्क साम्पाङले मजस्तो कर्णालीको भुइँमान्छेलाई विश्वास गर्नुहुन्छ भन्ने सोचेकै थिइनँ’ « Khabarhub

‘हर्क साम्पाङले मजस्तो कर्णालीको भुइँमान्छेलाई विश्वास गर्नुहुन्छ भन्ने सोचेकै थिइनँ’



काठमाडौं– जेन–जी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा राख्दै काठमाडौं आएपनि धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङ सफल भएनन् । त्यसपछि उनले आफ्नै पार्टी स्थापना गरेरै सरकारमा पुग्ने अठोट लिए । उनले कार्तिक २ गते निर्वाचन आयोगमा श्रम संस्कृति पार्टी दर्ता पनि गरे । त्यसको चार महिनामै श्रम संस्कृति पार्टी चुनावी प्रतिस्पर्धामा उत्रियो ।

१ सय ६५ मध्ये १ सय ९ क्षेत्रमा उम्मेदवार उठाको पार्टीले प्रत्यक्षतर्फ तीन क्षेत्रमा मात्र विजय हासिल गर्‍यो । यसमा सुनसरी–१ बाट हर्क साम्पाङ, खोटाङबाट आरेन राई र भोजपुरबाट ध्रुवराज राई छन् । तर समानुपातिकतर्फ भने पार्टीले ३ लाख ८५ हजार ९०२ मत ल्याउँदै चार सांसद सदनमा पठाउने अवसर पायो । यसमा आदिवासी जनजातितर्फ पूर्णप्रसाद लिम्बु, खस आर्यतर्फ अम्बिकादेवी संग्रौला, दलिततर्फ राधिका रम्तेल र मधेसीतर्फ रुवी कुमारी ठाकुर चयन भएका छन् ।

समानुपातिक प्रणालीको मूल उद्देश्य महिला, दलित र जनजातिलगायत पिछडिएका क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नु भएपनि अन्य दलहरूले प्रायः स्थापित, प्रभावशाली वा आर्थिक रूपमा सबल व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्ति यस पटक पनि देखिएको छ । तर, भुँइमान्छे र साँच्चिकै पिछडिएको समुदाय समेट्दै समानुपातिक सांसदहरु छानेपछि हर्क र उनको पार्टीले प्रसंशा पाइरहेका छन् ।

तीनै सांसदमध्ये कर्णालीको सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–४ बस्ने राधिका रम्तेल पनि एक हुन् । सुर्खेतको बाबियाचौर, चतुरे चोकमा २०३९ सालमा जन्मिएकी उनले १७ वर्षको कलिलो उमेरमै विवाह गरिन् । एसएलसीसम्म अध्ययन गरेकी उनले विवाहपछि अध्ययनलाई निरन्तरता दिन सकिनन् । सात सन्तानमध्येकी माइली छोरी रम्तेलका एक दाजु, एक भाई, पाँच दिदीबहिनी छन् । बुबा दैलेखको नारायण नगरपालिकाबाट सुर्खेतको पञ्चपुरी नगरपालिकामा बसाइँ सरेका थिए ।

‘म कर्णालीमा जन्मिएकी महिला, त्यसमाथि दलित । विवाह भएपछि जिम्मेवारीको बन्धनमा परेँ पढ्ने अवस्था बनेन,’ उनले भनिन् । उनका अनुसार कर्णालीका महिला अझै पनि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवाबाट वञ्चित छन् । आर्थिक जटिलताका कारण यस्ता अवसरमा उनीहरूको पहुँच छैन ।

समाजिक सुधारका लागि भन्दै उनी ०५९ सालदेखि निरन्तर ग्रामीण महिला सशक्तिकरण मञ्चमार्फत सामाजिक न्यायका लागि सक्रिय छिन् । करिब एक दशकदेखि ग्रामीण महिला सशक्तिकरण मञ्चमा सदस्यका रूपमा काम गरी उपाध्यक्षसम्म भएकी उनले महिला हिंसा, सामाजिक अन्याय र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी छिन् ।

‘सुरुमा ग्रामीण महिला सशक्तिकरण मञ्चमा सदस्यको रूपमा जोडिएर उपाध्यक्षसम्म बने । त्यहाँ महिला हिंसा, सामाजिक हिंसा विरुद्ध र महिला अधिकारका पक्षमा काम गरिरहेँ,’ उनले भनिन् । सोही क्रममा उनी २०७९ को स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हर्क साम्पाङको कार्यशैलीबाट प्रभावित बनिन् ।

‘कर्णालीका महिलामा चेतना फैलाउँदै सिमान्तकृत र दलित महिलाको हकहितको लागि संर्घष गरिरहेकी थिएँ । मेयर बन्ने बेलादेखि सामाजिक सञ्जालमा उहाँको पोष्ट हेर्थेँ । श्रमलाई माया गर्ने, जनतासँगै भिज्ने उहाँको शैली मन परेको हो,’ उनले भनिन् ।

प्रतिनिधिसभा निर्वाचनमा साम्पाङले पार्टी नै दर्ता गरेर भाग लिएपछि उनी अझ उत्साहित भइन् । ‘उहाँको काम मन परेको थियो । अहिले पार्टी नै खोलेर आउने भनेपछि श्रम संस्कृति पार्टीको राष्ट्रिय मुद्दा र श्रमलाई दिएको महत्वले मलाई अझ प्रभावित बनायो । यस पार्टीले सुशासन, भ्रष्टाचार अन्त्य, देशको आर्थिक संवृद्धिलाई मुख्य एजेण्डा बनाएको छ । हर्कवाद र श्रमले देश बनाउने उहाँको अठोटबाट म प्रभावित भएर पार्टीमा आबद्ध भएकी हुँ,’ रम्तेलले भनिन् ।

चुनावी प्रचारका क्रममा हर्क पूर्वबाट मध्यनेपाल छिचोल्दै पश्चिम कर्णाली पुगेका थिए । सोही क्रममा सुर्खेतमा भएको पार्टी सभामा उनले हर्कसँग प्रत्यक्ष भेट गर्ने अवसर पाइन् । त्यसपछि उनले पार्टीको सदस्यता लिएर सक्रिय रूपमा चुनावी प्रचारमा लागिन् ।

तर, पार्टीले आफूलाई सांसद बनाउँछ भन्ने कहिल्यै नसोचेको उनको भनाइ छ । पार्टीप्रति उनको लगाव र सामाजिक योगदान देखेर हर्कले उनलाई समानुपातिक सूचीको दलित कोटातर्फ पहिलो नम्बरमै राखे । ‘न खासै चिनजान न भेटघाट । उहाँ पूर्वको मान्छेले सिङ्गो नेपाल समेट्ने सन्देश दिँदै मजस्तो कर्णालीको भुइँमान्छेलाई यसरी विश्वास गर्नुहुनेछ भन्ने मैले सोचेकी पनि थिइनँ,’ रम्तेलले खबरहबसँग भनिन् ।

समानुपातिक सूचीको दाबेदार हुन आफूले कुनै कसरत नगर्दा पनि अवसर पाएकोमा उनी खुसी छिन् । ‘मैले उहाँलाई समानुपातिक सूचीबाट सांसद बन्छु भनेर कहिले फोन गरिनँ, न साथीहरूमार्फत भन्न लगाएँ, तर उहाँले मलाई दलित कोटाको पहिलो नम्बरमा राखिदिनुभयो । सूचीमा नाम राखिसकेपछि आफैँले फोन गरेर ‘नाम राखिदिएको छु, धरान आउनुहोस् भन्दै बोलाउनुभयो । उहाँको यो सरल र भुइँमान्छेको स्वभावले नै मलाई अझ प्रभावित बनायो,’ उनले सुनाइन् ।

पार्टीलाई कर्णालीबाट अपेक्षाकृत कम मत आएको भएपनि नेतृत्वले आफूलाई प्राथमिकतामा राखेकाले थप जिम्मेवारी बोध भएको उनको भनाइ छ । कर्णाली प्रदेशबाट यस पार्टीले ४ हजार ६ सय ५७ मत ल्याएको छ । ‘पार्टीमा औपचारिक विभिन्न जिल्ला–जिल्ला गएँ । नयाँ पार्टी भएर पनि होला यसपटक यहाँको जनताले खासै पत्याउनुभएन । कर्णालीबाट हाम्रो पार्टीलाई करिब ४ हजार बढी मत मात्रै पर्‍यो । तरपनि नेतृत्वले न्योचित ढंगले सांसद चयन गर्नुभएकोमा थप जिम्मेवारी पाएको महसुस गरेकी छु,’ उनले भनिन् ।

साम्पाङले समानुपातिक सांसदमा समेटेपछि कर्णालीबासीमा पार्टीप्रति विश्वास बढेको उनको बुझाइ छ । सांसद बन्दा परिवारबाट उर्जा मिलेको उनी सुनाउँछिन् । पछिल्लो समय उनी घरगृहस्थीमा मात्र सीमित छैनन् ।

‘मेरो श्रीमान्, बुबाआमा सबैले सदनमा राम्रो काम गर्नुपर्छ भनेर मलाई उत्साह दिनुभएको छ,’ उनले थपिन्, ‘महिला आर्थिक रुपमा स्वतन्त्र हुनुपर्छ भनेर सोचसहित मैले तान बुन्ने सीप सिकेकी थिएँ । त्यही सीपलाई सदुपयोग गर्दै अन्य दिदीबहिनीसँग मिलेर उद्योग खोले, त्यसले मेरो परिवारको खर्च टार्न सहज बनाइरहेको छ ।’

संसदमा आफ्नो भूमिकाबारे बोल्दै उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा कर्णाली अझै पछाडि रहेपनि आफूले महिला, सुकुम्बासी र दलित समुदायको उत्थानका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन् ।

‘कर्णाली शिक्षा, स्वास्थ्य, पूर्वाधार सबै क्षेत्रमा पछाडि छ। मैले महिलाले भोग्ने हिंसा, हिंसा भोगेर पनि न्याय नपाएको अवस्था, महिलाको आर्थिक पक्ष कसरी बलियो बनाउने, बालविवाह समस्या, सुकुम्बासी समस्या र दलित समुदायका लागि विशेष ध्यान दिने योजना बनाएकी छु । यसमा कानुन बने पनि कार्यान्वयन भएको छैन, त्यसमा नै जोड दिनेछु,’ उनले सुनाइन् ।

सुत्केरी हुन नसकेर ज्यान गुमाउने महिलाको समस्यामा पनि उनले आवाज उठाउने योजना बनाएकी छिन । ‘कर्णालीमा राम्रो सडक र स्वास्थ्य संस्था नहुँदा सुत्केरी हुन नसक्दा वर्षेनी महिलाले अस्पताल जादाजादै ज्यान गुमाउनुपरेको कहालीलाग्दो व्यथा छ, त्यसका लागि पनि आवाज उठाउने छु ।’ उनले भनिन् ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  २ : ५० बजे

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्

२१औं नेपाल खुल्ला पुरुष तथा महिला अन्तराष्ट्रिय च्याम्पियनसिप शुरु

काठमाडौं– साहसिक खेल प्याराग्लाइडिङ खेलको २१ औं नेपाल खुल्ला पुरुष

विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति

काठमाडौं- गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा