काठमाडौं- करिब दुई वर्षसम्म होल्ड भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता सोमबार बसेको नेकपा एमालेको सचिवालय बैठकले नवीकरण गरेको छ । आफू कमजोर हुने डरले नवीकरण रोकेको आरोप खेप्दै आएका पार्टी अध्यक्ष केपी शर्मा ओली आफैँले सोमबारको सचिवालय बैठकबाट भण्डारीको सदस्यता खुलाएका हुन् ।
भण्डारीको सदस्यता खुलेपछि अहिले एमाले वृत्तमा अबको नेतृत्व भण्डारीले सम्हाल्नुपर्ने, उनी अध्यक्ष भए कम्युनिस्ट एकता हुने लगायतका अड्कलबाजी हुन थालेका छन् । यससँगै कतिपय एमालेले नेताहरु भण्डारीमा ओलीभन्दा समन्वयकारी र पार्टीको नीति–सिद्धान्तलाई अगाडि बढाउने नेतृत्व क्षमता रहेको टिप्पणी गर्न थालेका छन् ।
ओली पक्षका नेताहरू भने भण्डारीले नेतृत्व गरे पार्टी फुट्ने भन्दै पार्टी सदस्यता नवीकरण हुनु नै नेतृत्वमा आउनु हो भन्ने भाष्य गलत रहेको टिप्पणी गर्छन् । तर, ओली र भण्डारीबीच के सहमति भयो र पार्टी सदस्यता नवीकरण गर्न ओली किन राजी भए भन्ने विषयमा अहिलेसम्म खुलेको छैन ।
ओलीको सचिवालय भन्छ, ‘उहाँको सदस्यता त नवीकरण भएको हो, धेरै अड्कलबाजीको जरुरी छैन । पूर्वराष्ट्रपति भइसकेको व्यक्ति अब नेतृत्वमा रहने भन्ने कुरा हुँदैन । उहाँको अनुभव, ज्ञान र क्षमताको सदुपयोग गर्दै पार्टी अगाडि बढ्छ ।’ भण्डारी नौ वर्षे राष्ट्रपतिको कार्यकाल सकेपछि २०७९ फागुन २८ गते सो पदबाट बिदा भएकी थिइन् । त्यसपछि उनी करिब एक वर्ष आफ्नो शक्ति र हैसियत बुझ्नका लागि देश दौडाहामा लागेकी थिइन् । देश दौडापछि आफ्नो हैसियत थाहा पाएपछि उनी सक्रिय राजनीतिमा फर्किने निर्णय गरिन् ।
आफूभन्दा शक्तिशाली हुने बुझेपछि ओलीले भण्डारीको सदस्यता नवीकरण रोके । पार्टी उपाध्यक्ष भएकी भण्डारीलाई उनी आफैँले राष्ट्रपति प्रस्ताव गरेका थिए । कार्यकाल सकिएपछि पुनः सक्रिय राजनीतिमा फर्किन खोज्दा ओलीले भण्डारीलाई रोकेपछि धेरैले प्रश्न पनि उठाएका थिए ।
अरूको निर्णय नसुन्ने शैलीका ओलीले आफूभन्दा बलियो हुने देखेपछि भण्डारीलाई करिब दुई वर्ष रोक्ने प्रयत्न गरे । अन्ततः फागुन २१ को निर्वाचनमा लज्जास्पद पराजय खेपेपछि भने ओली गलेका थिए । निर्वाचनपछि ओली र भण्डारीबीचको सम्बन्ध केही सुधार भएको देखिन्थ्यो ।
गत साता महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ओली र भण्डारीबीच भेट भएको थियो । त्यो भेटमा ओली र भण्डारी दुई घण्टाभन्दा बढी समयसम्म गफिएका थिए । भण्डारीको सचिवालयले दिएको जानकारी अनुसार त्यस बेला नै ओली र भण्डारीबीच पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको थियो ।
‘स्वभाविक हिसाबले आइतबारको भेटमा पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको थियो । तर निचोड नै निस्किएको थिएन । त्यसपछि अध्यक्षज्यू सकारात्मक पनि हुनुभएको हो,’ भण्डारी निकट स्रोत भन्छ, ‘अरू विषयमा जानकारी भएन, अहिलेलाई पार्टी सदस्यता नवीकरण भयो ।’
को शक्तिशाली ?
विगतमा एमाले सचिवालय बैठकमा भण्डारीको सदस्यता नवीकरण रोक्नका लागि ओलीलाई साथ दिँदै आएका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र एमाले महासचिव शंकर पोखरेल अहिले भण्डारीसँग पनि नजिक देखिएका छन् । आइतबार मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा मदननगरमा आयोजित कार्यक्रममा ती दुई नेताहरूले नै भण्डारीलाई प्रमुख अतिथि बनाउन महत्वपूर्ण भूमिका खेले ।
ओली स्वास्थ्य अवस्थाको कारण उपस्थित नभएको सो कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि थिइन् । अहिले पार्टी सचिवालयमा पनि भण्डारी पक्षमा धेरै नेताहरू खुल्ने र उनलाई अगाडिको नेतृत्वमा ल्याउने भगीरथ प्रयत्नमा छन् । तर ओलीले कुन सहमतिअनुसार भण्डारीको पार्टी सदस्यता नवीकरण गरे भन्ने विषय अहिलेसम्म दुवैको सचिवालयले जानकारी गराएको छैन ।

ओलीको संकेत हेर्दा उनी तत्काल भण्डारीलाई पार्टीको जिम्मेवारी सुम्पिने पक्षमा देखिँदैनन् । तर एमालेका दोस्रो र तेस्रो पुस्ता एकजुट भएर नेतृत्व परिवर्तन गर्न चाहने परिस्थितिमा भने ओलीको केही नलाग्ने अवस्था छ । पार्टी सदस्यता नवीकरणपछि समग्र कम्युनिस्ट आन्दोलनको नेतृत्व नै भण्डारीले गर्नुपर्ने आवाज पनि बजारमा उठ्न थालेको छ । तर पार्टीका तेस्रो पुस्ताका नेताहरू भने भण्डारी अहिलेको विकल्प हो कि होइन भन्ने विषयमा गम्भीर छलफल र समीक्षा गर्नुपर्ने बताउँछन् ।
‘पूर्वराष्ट्रपतिज्यू अहिलेको विकल्प हो कि होइन भन्ने विषयमा गम्भीर छलफल गर्न बाँकी नै छ । अहिलेलाई उहाँको पार्टी सदस्यता नवीकरण भयो,’ पार्टी सचिवालयका एक सदस्यले भने, ‘धेरै भावुक हुनुपर्ने अवस्था छैन । किनभने तेस्रो पुस्ताले नेतृत्व सम्हाल्नुपर्छ भन्ने आवाज पनि छ । निर्वाचनको समीक्षापछि हामी उपयुक्त निर्णय गर्दै जान्छौँ । देशको समग्र अवस्थाले भण्डारीले कम्युनिस्ट आन्दोलनको नेतृत्व र एमालेको नेतृत्व गर्नुपर्छ भन्ने माग गर्यो भने उहाँ तयार भएको जानकारी हामीलाई छ ।’
ओलीलाई फाइदा कि घाटा ?
विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण हुनु र उनी सक्रिय राजनीतिमा आउनुले अध्यक्ष केपी शर्मा ओलीलाई घाटा लाग्ने टिकाटिप्पणी हुने गरेको छ । यद्यपि राजनीतिक विश्लेषकहरू भने अहिले नै यो विषयमा अड्कल काट्नु छिटो हुने बताउँछन् । विश्लेषक श्याम श्रेष्ठ विद्या भण्डारी एमालेको राजनीतिमा फर्कनुलाई सामान्य हिसाबले हेर्न नमिल्ने बताउँछन् । उनी कुन सहमतिले उनको सदस्यता नवीकरण भएको हो, त्यो विषय बाहिर आएपछि मात्रै सबै परिस्थितिको यथार्थ चित्रण हुने बताउँछन् । ओली निकट एक नेता भने विद्या भण्डारीको सदस्यता नवीकरणपछि विशेष महाधिवेशनमार्फत उनी नेतृत्वमा आउने र एमालेको बलियो राजनीतिक पकड बन्ने बताउँछन् ।
‘उहाँको पार्टी सदस्यता नवीकरण भएको छ । विशेष महाधिवेशनपछि नेताहरूले उहाँलाई चुनेको खण्डमा एमाले मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलन नै एकीकृत हुन्छ,’ ओली पक्षका ती नेताले भने, ‘हेर्दै जानुहोस्, विशेष महाधिवेशन गरेर एमालेले नयाँ नेतृत्व चुन्छ । त्यो नेतृत्व विद्या भण्डारी या अरू कोही पनि हुनसक्छ । विद्या भण्डारीले अगाडि सारेको व्यक्ति पनि नेतृत्वमा आउने सम्भावना देखिन्छ ।’
एमालेमा विशेष महाधिवेशनको बहस अहिले चल्न थालेपछि भण्डारी नेतृत्वमा आउने वा उनले अगाडि सारेको नेता नेतृत्वमा रहने भन्ने विषय नटुङ्गिसकेको भण्डारी निकट नेताहरू बताउँछन् । कतिपय ओली निकट नेताहरू पनि अब केपी शर्मा ओली थप नेतृत्वमा रहने चाहनामा नरहेकाले युवाको भावना अनुसार अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।
‘कार्यकर्ताको भावना अनुसारको नेतृत्व हुनुपर्छ, भण्डारी उपयुक्त होइन, छलफल गरौँ’
एमाले केन्द्रीय सदस्य तथा पूर्व कानुनमन्त्री पदम गिरी एमालेमा पुस्तान्तरण र जागृतिका साथ पार्टी पुनर्गठन हुनु जरुरी रहेको बताउँछन् । ‘अहिलेको परिस्थितिमा पार्टीले जनता र आम कार्यकर्ताले के चाहन्छन्, त्यही भावना अनुसार अगाडि बढ्नुपर्छ । अहिले जनताले पार्टीको पुस्तान्तरण र पुनर्जागरण चाहन्छन्,’ उनी भन्छन्, ‘पूर्वराष्ट्रपति सहित पार्टीका शीर्षस्थ नेताहरू मार्गनिर्देशकको रूपमा रहनुपर्छ । मिडियामा आएका कुराहरूलाई पार्टीमा बहसको विषय बनाइनुहुँदैन । पार्टी कुन हिसाबले अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफल हुनुपर्छ ।’
एमाले पूर्वकेन्द्रीय सदस्य तथा पार्टीकी लोकप्रिय युवा नेतृ उषाकिरण तिम्सेनाले अब हस्तान्तरण, पुस्तान्तरण र पुनर्जागरण नभए पार्टी उठ्न नसक्ने बताउँछिन् । ‘पूर्वराष्ट्रपतिले एमालेको नेतृत्व गर्ने भन्ने विषयमा खासै बहस गर्न जरुरी छैन । एमालेले एउटा वर्गको मुद्दालाई नबोक्ने हो भने कहाँ पुगिँदो रहेछ भन्ने विषय थाहा पाइसकेको छ । एमाले सत्ताबाट भर्खर बाहिरिएकाले विद्या भण्डारीको सदस्यता नवीकरणलाई एमालेको नेतृत्वमा आउने तयारीका रुपमा बुझ्नुपर्छ भन्ने मलाई लाग्दैन ।’ उनले भनिन् ।
‘उहाँ आउनुभयो भने पनि विशेष महाधिवेशन गरेर आजको समाजको मनोविज्ञान र मान्छेको मनोविज्ञान के छ, पार्टीभित्र र बाहिरको जबर्जस्त माग के छ, त्यसलाई उठाउनुपर्छ । हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको बहसलाई सघाउने ठाउँमा उहाँको भूमिका हुनसक्छ । नेतृत्वमै चाहिँ उहाँ आउनुहुन्छ हुँदैन भन्ने विषयमा अहिले यतिकै भन्न सकिँदैन । नेतृत्वमै आउनुभयो भने पनि आम जनतामा र नागरिकमा त्यसको उत्साह हुन्छ जस्तो मलाई लाग्दैन ।’ उनले भनिन् ।
पूर्वसांसद तथा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी पूर्व अध्यक्ष नवीना लामाले पनि विद्या भण्डारी पार्टीको नेतृत्वमा आउने विषय यतिकै अड्कल काट्न नसकिने बताएकी छन् । उनी आम कार्यकर्ता र जनताको भावना बुझ्ने किसिमको नेतृत्व आजको आवश्यकता रहेको बताउँछिन् । ओली निकट पक्षले विधानमै नभएको व्यवस्था ल्याउनु उपयुक्त नहुने बताइरहँदा एमालेको विधानमा भने दुई तिहाइ जिल्ला कमिटी अथवा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरे ६ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था देखिन्छ ।
एमालेको पार्टी विधान २०७९ को धारा ६३ मा दुई तिहाइ जिल्ला कमिटी अथवा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरे ६ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ । सोही विधान टेकेर नेताहरू अगाडि बढ्ने तयारीमा रहेको एमाले उच्च स्रोतको भनाइ छ । विशेष महाधिवेशनपछि विद्या भण्डारी नै नेतृत्वमा आउँछिन् भन्ने प्रश्नमा भने अहिले कुनै नेताहरू उत्तर दिन तयार छैनन् । युवा पुस्ता नयाँ नेतृत्व आउनुपर्ने पक्षमा छन् ।














प्रतिक्रिया