काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको १५औं महाधिवेशन सफल बनाउन सानेपा पुगेकी महालक्ष्मी उपाध्याय ‘डिना’ अग्रजहरूले तल्लो तहका नेताहरूलाई निराश बनाउन नहुने बताउँछिन् । आफ्नो व्यक्तिगत महत्त्वकांक्षा त्यागेर कांग्रेस एक बनाउने अभियानमा उपस्थित हुन उनी अग्रजहरूलाई सुझाव दिन्छिन् ।
हरेकजसो जिल्लामा उत्साहजनक ढङ्गले वडा अधिवेशन सम्पन्न हुने क्रममा रहेको जानकारी दिँदै उनी माथिल्लो तहका नेता नमिल्दा तल्लो तहका व्यक्तिहरूमा कन्फ्युजन रहेकाले त्यस्तो अवस्था नबनाइदिन आग्रह गर्छिन् । उनी पूर्वसभापति देउवालाई केही नेताहरूले रोकिराखेको बताउँदै त्यसो गर्न नहुने बताउँछिन् । देउवाले अब पदमा नबस्ने र नेतृत्व समेत नगर्ने बताइरहँदा उनी अब पनि देउवालाई नउक्साउन अन्य शीर्ष नेताहरुलाई आग्रह गर्छिन् । खबरहबले यसै विषयमा नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ सँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-
हिजोबाट सुरु भएको वडा अधिवेशनले सबै कांग्रेसीलाई समेट्न नसकेको हो ?
म अहिले मकवानपुरमा छु । मकवानपुरमा त्यस्तो समस्या केही पनि छैन । देउवा दाइकै गृहजिल्ला डडेलधुराका पनि ५० भन्दा बढी वडामा हिजो नै अधिवेशन सम्पन्न भएको छ । आज अरु वडामा हुँदैछ । सबै जिल्लाहरुमा उत्साहजनक अधिवेशन भइरहेको छ । यहाँले भनेजत्तिकै शत प्रतिशत नेताहरुलाई सहभागी गराउन पक्कै नसकिएको हो । तर भविष्यमा सबैलाई समेटेर लगिन्छ ।
पूर्वसभापति देउवालगायतका नेताहरूलाई समेट्ने विषयमा के भइरहेको छ ?
हामीले भेटेर कुरा गर्नू भन्ने सुझाव दिएका छौँ । गगनजी र उहाँबीच भेटघाट भएको छैन ।
उसो भए देउवाहरूलाई पाखै राखेर महाधिवेशन गर्ने हुनुभयो होइन ?
देउवा दाइ बाँकी कार्यकाल सभापति अथवा पदमा नरहने स्थिति भएपछि हामीले उहाँलाई कुरेर बस्ने कुरा भएन । त्यसकारण पार्टी एक बनाएर भविष्यमा जाने विषयमा हामी यता जोडिएका हौँ । दाइले नै नेतृत्व गर्ने भइदिएको भए हामी उहाँलाई साथ दिन्थ्यौँ होला । तर अब उहाँलाई उमेरले, समयले, स्वास्थ्यले पनि साथ नदिएको र नेतृत्वमा नबस्ने भनेपछि किन झुलिरहने भन्ने हिसाबले हामी यता आयौँ ।
अब उहाँ पदमा नरहने भएपछि अरु केही नेताहरूलाई साथ दिएर किन बस्ने र अरु केही नेताहरूको भविष्यमा अन्योल र समस्या देखिन्छ । त्यसकारण उहाँहरु यतै आउनुहोस् भन्ने मेरो सुझाव छ ।
खास कसको कारण कांग्रेस एक हुन नसकेको हो ?
खासमा देउवा दाइका कारण पार्टी एकता हुन नसकेको होइन । केही नेताहरुले उहाँलाई पनि अल्मल्याउनुभयो । गगनजी पनि पार्टी एकताकै पक्षमा हुनुहुन्छ । त्यसकारण आ-आफ्ना स्वार्थ र भ्रम त्यागेर एकताका लागि अनुरोध गर्दछु । किनभने महाधिवेशन भनेको नै अब नयाँ नेतृत्व ल्याउनका लागि हो । आफ्ना पुराना तुस छोडेर सबै एक ठाउँमा आउनुपर्छ । धेरै गल्ती चाहिँ अहिले उतातिर अर्थात् शेरबहादुर देउवा पक्षका दाइहरूको छ ।
खास गरेर अहिले शेरबहादुर देउवालाई के चाहिएको हो ?
उहाँले के चाहिएको भनेर भन्नुभएको छैन । हामीले उहाँलाई एक भएर जाउँ भन्दा मुद्दा अदालतमा छ, त्यसको एउटा प्रक्रिया सकौँ भन्नुभएको हो । तर अब त्यसलाई सम्झेर अल्झिएर बस्ने समय पनि छैन । त्यता अल्झिँदा १५ औं महाधिवेशन गर्न ढिला हुन्छ । त्यसकारण दाइलाई के चाहिएको भन्दा पनि दाइले किन चाहिँ निर्णय लिन नसक्नुभएको भन्ने हो । उहाँलाई १४ औं महाधिवेशनको कार्यसमितिले नै १५ महाधिवेशन गर्न पाए हुन्थ्यो जस्तो लागेको छ । तर त्यो प्रक्रिया भन्दा हामी धेरै अगाडि गइसकेपछि झुलेर बस्ने काम छैन । म पनि उहाँलाई के अनुरोध गर्न चाहन्छु भने सबै भ्रम त्यागेर आउनुस् ।
देउवापक्षीय अरु नेताहरु के भन्नुहुन्छ ?
शीर्ष नेतासँग मेरो खासै कुरा भएको छैन । उहाँहरु छुट्टै महाधिवेशन गरौँ, १४औँलाई नै मान्यता दिएर १५औँ महाधिवेशन गरौँ भन्ने पक्षमा हुनुहुन्छ । समकालीनहरू भेला भएर पार्टी विधि र प्रक्रिया अनुसार महाधिवेशनमा गएपछि हामीले पनि सहयोग गर्नुपर्छ । समकालीनले ढिलो निर्णय गर्यौँ तर गजबले निर्णय गर्यौँ । पार्टीको आधारिकता अदालत र निर्वाचन आयोगले नै दिइसकेपछि हामीले ढिपी गरेर बस्ने कुरा पनि भएन ।
अहिलेसम्म देउवा समूहका कति नेताहरू आइसक्नुभयो ?
हामी समकालीन ५१ जना केन्द्रीय कार्यसमितिमै उपस्थित भयौँ । अरु थुप्रै नेताहरू पनि आइरहनुभएको छ । त्यसकारण महाधिवेशन सुरु हुने सम्ममा सबै आइसक्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । पार्टीका साथीहरू आफ्नो घरमा हुनुहुन्छ । यो पक्ष उ पक्ष भन्ने छैन ।

तपाईंहरू ५१ जना बीचमा केही अलमलमा पर्नुभएको थियो । अहिले आधिकारिक कांग्रेसतिर हुनुहुन्छ, कस्तो महसुस गर्नुभएको छ ?
त्यस्तो त केही पनि छैन । हामी हिजो पनि कांग्रेस थियौँ आज पनि कांग्रेस छौँ । हामीलाई गर्ने मानसम्मान सरसल्लाह लगायतका विषयमा कुनै पनि समस्या छैन । हामी हिजोको भन्दा कम्फर्ट महसुस गरेर काम गरिरहेका छौँ ।
उसो भए कांग्रेसले एउटै महाधिवेशन गर्छ ?
अहिले धेरै वडाहरूमा अधिवेशन सकिने क्रममा छ । आज अधिवेशन सकिँदैछ । तल्लो तहका साथीहरुले दिएको सुझाव सबै एक भएर जाउँ भन्ने नै छ । त्यसकारण माथि मिल्नुपर्ने हो । तर तल्लो तहमा यति उत्साहजनक सहभागिता भएर अधिवेशन सम्पन्न हुँदा माथि नमिल्नुले चाहिँ हामीले कस्तो संस्कार स्थापना गर्दैछौँ भन्ने स्पष्ट म्यासेज जान्छ ।
डडेलधुरामा पनि ५२ वटा वडाहरूमा अधिवेशन सम्पन्न भइसकेको छ । एवं क्रमले असन्तुष्ट नेताहरूको जिल्लामा पनि अधिवेशन भइराखेको हिसाबले अब झुलिएर बस्ने बेला छैन ।
अहिले तपाईँ के सन्देश दिन चाहनुहुन्छ ?
असन्तुष्ट रहेका साथीहरू आउनुहोस् । एकै ठाउँमा बसेर महाधिवेशन गर्नुपर्छ । कोही छुटेर अथवा फुटेर काम छैन । जुटेर काम गरौँ । अहिले छुटेका साथीहरू पनि महाधिवेशनपछि एकै ठाउँमा आउनुहोस् । अग्रजहरूले पनि कुनै स्वार्थ नराखिकन सबै कार्यकर्ता र साथीहरुले एक बनाउनका लागि भूमिका खेल्नुहोस् ।
फुटेर कांग्रेस बन्दैन, जुटेर बन्छ । त्यसैले अग्रजहरू आउनुहोस् । तपाईहरुले अभिभावकीय भूमिका खेल्दिनुहोस् । पूर्वसभापति शेरबहादुर दाइ र अरु नेताहरूलाई के भन्न आग्रह गर्छु भने कसैले पनि कसैको कुरा नसुनिकन एक ठाउँमा आइदिनुहोस् । पार्टीमा सम्मानजनक स्थान दिने काम हामी गरौँला ।
अब १५औं महाधिवेशन सहमतिको हुन्छ कि निर्वाचित ?
यो अहिले भन्न सकिने अवस्था छैन । देशभरिबाट पार्टीमा मान्छे आइसकेपछि महाधिवेशन त्यो पनि कांग्रेसको हुनाले निर्वाचनको प्रक्रिया हुने स्वाभाविक नै भयो । देशभरिका मतदाताहरूले जस्तो सन्देश लिएर आउनुहुन्छ, त्यसअनुसारै चल्छ ।













प्रतिक्रिया