काठमाडौं- ‘चुपचाप घण्टी छाप’ भन्दै मतदातामाथि मनोवैज्ञानिक दबाब बढाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता असहिष्णु शैलीमा प्रस्तुत हुन थालेका छन् ।
रास्वपाका कार्यकर्ताहरूले देशका विभिन्न ठाउँमा अराजक शैलीमा अन्य दलका उम्मेदवारदेखि मतदातासम्मलाई थर्काउने गरेको गुनासो आइरहहेको छ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले विभिन्न जिल्लाका मञ्चबाट उत्तेजक भाषणसहित स्टन्टबाजी बढाउँदै लगेपछि कार्यकर्तामा पनि उदण्डता देखिएको हो । रविले ठाउँ ठाउँका सभामा विपक्षी दलहरूलाई सिद्याउनै पर्ने बताइरहेका छन् ।
उनले सुर्खेत र धनगढीको भाषणामा प्रतिपक्षी समेत नरहने गरी अन्य दललाई बढार्नुपर्ने उत्तेजक भाषण दिए । उनले यस्तो उत्तेजक भाषण ठाउँठाउँमा दिँदै हिँडेका छन्।
बिहीबार सुर्खेतमा पनि उनले अरू सबै दललाई सिद्याउनुपर्ने बताए । रविले सार्वजनिक सुनुवाइमा गएर आफू र बालेन्द्र साहले प्रश्नको जवाफ दिनुनपर्ने समेत बताए । उनी र बालेन्द्रका उत्तेजक भाषणकै फलस्वरूप अहिले रास्वपा कार्यकर्ताहरू असहिष्णु र उग्र शैलीमा प्रस्तु भइरहेका छन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई रास्वपाप्रति नरम भएको आरोप लाग्ने गरेको छ। अर्कातिर भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा जोडिएका कयौँ युवाहरू अहिले रास्वपामा छन् । उनीहरू अब परिवर्तन भन्दै हिँडिरहेका छन् । तर उनीहरूले परिवर्तनको नारा लगाउँदै गर्दा ठाउँ ठाउँमा अशोभनीय र उग्र गतिविधि गरेपछि अन्य दल विरोधमा उत्रिएका छन्।
चुनाव प्रचारका लागि घण्टी नै बोकेर हिँडेका रास्वपा कार्यकर्ताहरूले बिहीबार मात्रै दाङ र अछाममा अन्य दलका कार्यक्रम बिथोल्ने प्रयास गरे । दाङमा त रविकै अगाडि रास्वपा कार्यकर्ताले अर्को दलको झण्डामा आगो झोसिदिए ।
उता गुल्मीमा एमाले उम्मेदवार प्रदीप ज्ञवाली र उनका कार्यकर्ताहरूलाई पनि बाटो छेक्दै अवरोध प्रयास भएको छ। एमाले नेता-कार्यकर्ताहरूलाई चिढ्याउने गरी घण्टी बजाइदिने, असहिष्णु शैलीमा नाराबाजी गर्ने जस्ता गतिविधि रास्वपा कार्यकर्ताहरूले गरिरहेको ज्ञवालीले बताएका छन्।
एमालेको चुनावी अभियानलाई तनाव दिने गरी रास्वपा कार्यकर्ताहरूले बाटो बाटोमा अवरोधको कोसिस गरिरहेको उनले बताएका छन्।
बिहीबार एकैदिन दाङ र अछाममा रास्वपाका कार्यकर्ताहरू एमाले र नेकपाको चुनावी कार्यक्रम बिथोल्ने शैलीमा देखिएका हुन् ।
अछाम क्षेत्र नम्बर १ मा नेकपा उम्मेदवार डा. भीमबहादुर रावलको चुनावी सभामै पसेर रास्वपा कार्यकर्ताले हुलदंगाको कोसिस गरेका छन् ।
रामारोशन गाउँपालिका-५ चौकामा चुनावी सभा भइरहँदा बोलेरो गाडीमा आएका रास्वपा कार्यकर्ताहरूले घण्टी बजाएर आमसभा बिथोल्न खोजेको नेकपाले जनाएको छ ।
निर्वाचन प्रचार प्रसार कमिटीका संयोजक शेरबहादुर कुँवरका अनुसार सभा चलिरहेको स्थानमा ठूलो स्वरमा माइक बजाउँदै आएका रवि-बालेन्द्रका कार्यकर्ताले सुरूमा गाडीबाटै घण्टी बजाउँदै चिढ्याउने काम गरेका थिए।
कुँवरले सभामा सहभागीहररूलाई उत्तेजित बनाएर कार्यक्रम बिथोल्ने योजनासहित उनीहरूले यस्तो हर्कत गरेको भन्दै आपत्ति जनाएका छन् ।
‘यस्ता देख्नासाथ नेपाली कम्युनिष्ट पार्टीको सभामा सहभागी नेताहरूले नजिकै रहेका प्रहरीलाई उक्त गाडीमा रहेका रास्वपाका मानिसको हर्कत बन्द गराउन भनेका थियौँ’, उनले भनेका छन्, ‘यसका साथै आमसभामा सहभागीहरू त्रास र उत्तेजना फैल्याउने काम बन्द गराउन हाम्रो तर्फबाट आग्रह गरिएको छ ।’
रास्वपाका कार्यकर्ताको यस हर्कतलाई निर्वाचन आचारसंहिताविपरीतको कदम भन्दै नेकपाले भर्त्सना गरेको छ । निर्वाचन कानुन र आचार संहिताबमोजिम उनीहरूमाथि कारबाही गर्न पनि नेकपाले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
एक साताअघि बारामा पनि रास्वपा कार्यकर्ताले अर्को दलका मतदातालाई बलजफ्ती गरेका थिए । ती मतादाताले रास्वपालाई भोट नदिने भन्दा कानमै घण्टी ल्याएर थर्काउँदै भोट दिन दबाब दिएको भिडियो भाइरल भएको छ ।
उग्र र असभ्य शैलीमा प्रस्तु भएका उनीहरूले रास्वपालाई भोट दिने वाचा नगरेसम्म घण्टी बजाइरहने भन्दै मतदातालाई चिढ्याउने काम गरेका थिए ।
बिहीबार मात्रै दाङको तुलसीपुरमा रास्वपा सभापति लामिछानेको स्वागत गर्न बसेका रास्वपा कार्यकर्ताहरूले एमालेको झण्डा जलाइदिएका छन् ।
सडकमा घण्टीसहित बसेका उनीहरूले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य र अमर्यादिन नाराबाजी गरेका थिए ।
एमालेको झण्डा जलाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा हालिएपछि दाङमा तनाव बढेको छ । लामिछाने सुर्खेतमा सभालाई सम्बोधन गरेर तुलसीपुरबाट घोराही जाने क्रममा एमालेको झण्डामा आगो झोसिएको हो ।
तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो । उक्त घटनाको एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले विरोध जनाएकी छन् । रास्वपा कार्यकर्ताहरू उग्र र अराजक बन्दै जाँदा चुनावी माहोल भाँडिने जोखिम बढेको चिन्ता सुरू भएको छ।
यता रास्वपा सह-प्रवक्ता प्रतिभा रावलले दाङको घटना पार्टीको योजना र निर्देशनअनुसार नभएको बताएकी छन् । उनले उक्त घटनामा पार्टीको संलग्नतालाई अस्वीकार गरेकी छन् ।
एमाले महासचिव पोखरेलको गृहनगरमा भएको उक्त कार्य निन्दनीय र अलोकतान्त्रिक भएको रावलले बताएकी छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न पनि माग गरेकी छन् ।
उता बिहीबार नै सुनसरी क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका रास्वपा नेता अशोक चौधरीले घण्टीमा भोट नहाल्नेहरूलाई देशद्रोही भन्दै धम्क्याउने काम गरेका छन् ।
इटहरीमा आयोजित कार्यक्रममा उनले रास्वपालाई भोट नदिनेहरू देशद्रोही भनेपछि युवाहरूले नाराबाजीसहित प्रतिकार गरे । उनीहरूले ‘घण्टी मुर्दावाद’का नारासहित प्रतिकार गरेपछि चौधरीले बोल्दा बोल्दै स्थगित गरे।
इटहरीमा जेसिस ककस कार्यक्रममा रास्वपाका पूर्वसांसदसमेत रहेका चौधरीले ‘घण्टीलाई भोट नहाल्ने मानिस देशद्रोही र देशविरोधी’ भएको बताएका थिए । त्यसपछि युवाहरूले तत्कालै नाराबाजीसहित ‘घण्टी मुर्दावाद’ भन्दै प्रतिकार गरे । युवाहरूको प्रतिकारपछि प्रहरीले चौधरीलाई सुरक्षा दिएर कार्यक्रमस्थलबाहिर लगेको थियो ।
चौधरीले आपत्तिजनक कुरा बोलेपछि कार्यक्रममा सहभागी युवा र अन्य दलका प्रतिनिधिहरूले आपत्ति जनाएर हल्ला गरे । मतदाताको स्वविवेकलाई अपमान गरेको भन्दै सहभागीहरूले ‘घण्टी मुर्दावाद !’ नारा लगाए । अर्का उम्मेदवार घनश्याम गुरुङले स्टेजबाटै प्रतिवाद गर्दै भने, ‘हामी तपाईंको प्रतिस्पर्धी हौँ, के हामी पनि राष्ट्रघाती हौँ ? मतदातालाई यसरी गाली गर्ने अधिकार कसले दियो ?’
उता नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग सर्लाही ४ मा प्रतिस्पर्धा गरिरहेका रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले चुनाव नजिते आत्मदाह गर्छु भन्दै मतदातालाई ब्ल्याकमेलिङ गरेका छन् । उनले गगन नहारे आफूले आत्महत्यासमेत गर्ने बताइरहेका छन्।
यता ललितपुर क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार जगदीश खरेलले आफूलाई कडा प्रश्न गर्ने मतदातालाई हनुमानको संज्ञा दिएका छन्।
कुनै बेला टेलिभिजनमा हुँदा अरूलाई कडा प्रश्न गर्दै र्यार्याख्ती बनाउनै उनैलाई बारबरा फाउन्डेशनसहित विवादिद गैरसरकारी संस्थासँगको संलग्नताबारे मतदाताले प्रश्न गरेका थिए ।
तर यसरी प्रश्न गर्ने अन्य दलका समर्थक मतदातालाई उनले हनुमानको संज्ञा दिएका हुन् । मत माग्न घरदैलोमा पुग्दा मतदाताले कडा प्रश्न सोधेपछि उनी आक्रोशित हुँदै हनुमानको संज्ञा दिएका हुन् ।
रास्वपा कार्यकर्ताको उदण्डता बर्दघाट नवलपरासीमा पनि देखिएको छ। रास्वपाको क्षेत्रमा प्रचार गर्न आएको भन्दै त्यहाँ दुई दिनअघिनेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का उम्मेदवारसहित कार्यकर्तामाथि कुटपिट भएको छ।
बर्दघाट नगरपालिका-१२ जमुनिया बजारमा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)ले गरेको प्रचारप्रसार कार्यक्रममा रास्वपाका कार्यकर्ताको समूहले उम्मेदवासहितका कार्यकर्तालाई कुटपिट गरेका थिए । कुटपिट गर्नेहरूलाई प्रहरीले पक्राउ गरिसकेको ।
पक्राउ पर्नेहरूमा बर्दघाट नगरपालिका-१३ का ३१ वर्षीया अजय गौतमसहित छन् । प्रहरीले बर्दघाट-१३ धनेवा बस्ने २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राज बीसी भन्ने राम मिजार रहेका छन्। उनीहरूमाथि हातपात तथा दुर्व्यवहार प्रकरणमा मुद्दा चलाइँदैछ।
उनीहरूको कुटपिटबाट नेकपार्टी (माओवादी) का उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका थिए ।
घण्टीको क्षत्रमा आएर प्रचारप्रसार गरेको भन्दै कुटपिट गरिएको जानकारी उम्मेदवार हरिजनले दिएका छन् ।













प्रतिक्रिया