त्रकाठमाडौं- चिनियाँ अर्थतन्त्रको मेरुदण्ड मानिएको वस्त्र (टेक्सटायल) तथा कपडा उद्योग हाल तीव्र आर्थिक दबाब र सङ्कटबाट गुज्रिरहेको छ। विगतमा असीमित निर्यात, सस्तो श्रम र विशाल आन्तरिक बजारका बलमा फस्टाएको यो क्षेत्र अहिले मागमा आएको गिरावट, उद्योगहरू बन्द हुने क्रम, बेरोजगारी र उत्पादन चीन बाहिर स्थानान्तरण हुने जस्ता गम्भीर समस्याहरूसँग जुधिरहेको छ। झेजियाङ र गुआङझाउ जस्ता मुख्य औद्योगिक केन्द्रहरूबाट प्राप्त रिपोर्टहरूले सरकारी तथ्याङ्कभन्दा भिन्न र निराशाजनक चित्र सार्वजनिक गरेका छन्।
चालू वर्ष २०२६ को पहिलो छ महिनामै लगभग १,५०० वस्त्र तथा कपडा कम्पनीहरू चीनको आधिकारिक औद्योगिक तथ्याङ्क सूचीबाट हटेका छन्। यसले चिनियाँ कपडा उद्योगभित्र गहिरिँदै गएको सङ्कटलाई स्पष्ट पार्छ । यद्यपि सूचीबाट हट्नुको अर्थ पूर्ण रूपमा टाट पल्टिनु मात्र नभई आम्दानीमा कमी, सञ्चालनमा बाधा वा पुन संरचना हुनसक्छ । तर यसले दीर्घकालीन व्यावसायिक योजना बनाउन कठिन बनाएको छ। उद्योगीहरूका अनुसार पहिले महिनाौंसम्मका लागि पाइने अर्डरहरू अहिले केही दिनका लागि मात्र सीमित हुन पुगेका छन् ।
यस सङ्कटको मुख्य कारण चीनको आन्तरिक बजारमा देखिएको कमजोर माग हो। घरजग्गा क्षेत्रमा आएको मन्दी, आर्थिक अनिश्चितता र सर्वसाधारणको आम्दानी वृद्धिदर सुस्त हुँदा उपभोक्ताको खर्च गर्ने क्षमता घटेको छ। जसका कारण स्थानीय खपत घट्ने र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा बढ्ने दोहोरो चेपुवामा चिनियाँ वस्त्र उद्योग परेको छ।
माग घटेसँगै उद्योगहरूले कामदार कटौती गर्न थालेका छन्। रोजगारीको खोजीमा औद्योगिक क्षेत्रमा आएका प्रवासी श्रमिकहरू कामको ग्यारेन्टी नभएपछि आफ्नो गाउँ फर्किन बाध्य भएका छन्। झेजियाङ प्रान्तमा रहेको ठूलो वैदेशिक लगानीको डेनिम उत्पादक कम्पनी ‘ज्याक्सिङ काङलोङ टेक्सटायल’ले चीनमा उत्पादन रोकेर मेक्सिकोमा स्थानान्तरण गर्ने निर्णय गरेपछि यसले चीनबाट उत्पादन क्षमता बाहिरिइरहेको स्पष्ट सङ्केत गरेको छ।
अमेरिकी महादेशमा बजार विस्तार गर्न सहज हुने, भन्सार छुट पाइने र ढुवानी खर्च कम हुने भएकाले मेक्सिको चिनियाँ लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनेको छ। यद्यपि, चिनियाँ कम्पनीहरूको यो कदमले उत्तर अमेरिकी वस्त्र उत्पादकहरूमाथि दबाब बढाएको विश्लेषण गरिएको छ। यसले विगत केही दशकदेखि चीनले कायम राखेको औद्योगिक दबदबा र आफ्नै देशभित्र उत्पादन कायम राख्ने क्षमतामाथि समेत प्रश्न उठाएको छ।
वस्त्र उद्योगमा आएको यो मन्दीको असर सम्पूर्ण आपूर्ति श्रृंखला (सप्लाई चेन) मा परेको छ। धागो उत्पादक, कपडा रङ्गाउने उद्योग, लजिस्टिक र कपडा निर्यातकहरू सबै यसबाट प्रभावित भएका छन्। बिक्री घट्दा स्टक थुप्रिने, नगद प्रवाहमा समस्या आउने र लगानी ठप्प हुने स्थिति सिर्जना भएको छ।
अर्कोतर्फ, चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको विवरण र वास्तविक धरातलबीच ठूलो विरोधाभास देखिएको छ। सरकारी तथ्याङ्कले वस्त्र उद्योगको आम्दानी र नाफामा सुधार आएको देखाए पनि उद्योगी तथा श्रमिकहरूले भने त्यसलाई अस्वीकार गरेका छन्। उनीहरूका अनुसार घट्दो अर्डर, बन्द हुँदै गरेका उत्पादन लाइन र बढ्दो अनिश्चितताका बीच नाफा बढेको तथ्याङ्क वास्तविक स्थितिभन्दा निकै टाढा छ।
चीनको दोस्रो ठूलो अर्थतन्त्रको स्वास्थ्य जाँच्ने मुख्य सूचक मानिने कपडा उद्योगको यो सङ्कटले गम्भीर संरचनात्मक समस्यालाई उजागर गरेको छ। यदि आन्तरिक मागमा सुधार नआउने र व्यावसायिक वातावरण सहज नहुने हो भने अझै धेरै उद्योगहरू बन्द हुने र उत्पादन चीन बाहिर जाने जोखिम बढेको छ।














प्रतिक्रिया