काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अनौठो रूप देखाएका छन्। आजको केन्द्रीय कमिटी बैठकमा सुरुवाती मन्तव्य राखेपछि कार्यक्रमको सञ्चालनसमेत उनले आफैँ गरेका छन्।
महासचिवले कार्यक्रम सञ्चालन गर्नुपर्नेमा ओली आफैँ अगाडि सरेर कार्यक्रम सञ्चालन गरेका थिए। महासचिव बैठकमा उपस्थित हुँदाहुँदै ओलीले आफैँ कार्यक्रम सञ्चालन गरेपछि महासचिव शङ्कर पोखरेलसहित अन्य पदाधिकारी ओलीको कार्यशैली देखेर छक्क परेका छन्।
कुनै पनि नेताले नेतृत्व पुनर्गठनको माग उठाउन खोज्दा उनलाई बोल्नबाट रोक्नेदेखि लिएर समय निर्धारणसमेत ओलीले नै गरेका थिए। एकलौटी रूपमा ओलीले सबै नेताहरूलाई आफ्नो नियन्त्रणमा लिएर कार्यक्रम सञ्चालन गरेको कर्ण थापा बताउँछन्।
थापाका अनुसार आज कार्यक्रम सञ्चालन गर्नेदेखि कुन नेतालाई बोल्न दिने भन्नेसम्मका सबै चाँजोपाँजो ओलीले नै मिलाएका थिए। ओलीले नै केन्द्रीय कमिटी बैठकका सबै काम गरेपछि अहिले एमाले वृत्तमा यो विषयले प्राथमिकता पाएको छ।

यस विषयमा महासचिव पोखरेललाई सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया जनाएका छैनन्। अन्य पदाधिकारीलाई खबरहबले टेलिफोनमार्फत सम्पर्क गर्दा ओली एक्लैले कार्यक्रम सञ्चालन गरेको र केन्द्रीय कमिटीमा बोल्ने नेताहरू पनि उनले नै छनोट गरेको जानकारी दिएका छन्।
एउटै मात्र माइक, नेता पनि आफैँ छनोट र आफूअनुकूलका नेताहरूलाई प्राथमिकता दिएपछि आजको बैठकमा धेरै नेताहरू खुसी देखिएनन्। एमाले पुनर्गठनको विषयमा बोल्न खोज्दा नेता कृष्णगोपाल श्रेष्ठलाई ओलीले रोकेका थिए। ओलीले रोकेपछि स्वयंसेवकले पनि ओलीलाई सहयोग गरेको देखिन्थ्यो। त्यसपछि कृष्णगोपाल ओलीसँग रिसाएर भनाभनमा उत्रिएका थिए।
आफ्नो विपक्षमा बोल्ने नेताहरूलाई आजको बैठकमा ओलीले धेरै बोल्न नदिएको असन्तुष्ट नेताहरूको भनाइ छ। एमाले केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी हुनेछ।
मंगलबार पनि ओलीले नै कार्यक्रम सञ्चालन गरेर आफू निकट नेताहरूलाई मात्र बोल्न दिने विषयमा चर्चा भइरहेको छ। तर भोलिको बैठकमा पदाधिकारीसहित अन्य नेताहरूले पनि यसबारे तिखो स्वरमा कुरा उठाउने कर्ण थापा बताउँछन्।
एमालेका एक शीर्ष पदाधिकारीले पनि ओलीले आजको बैठक ‘अत्याचार शैलीमा’ सञ्चालन गरेकाले भोलि पनि त्यस्तै वातावरण सिर्जना भएमा सबै नेताले त्यसको विरोध गर्ने बताए।

‘इतिहासमै अस्वाभाविक रूपमा एमालेको बैठक सञ्चालन भएको छ। यो हाम्रा लागि सह्य विषय बिल्कुल होइन। हामीले महासचिवको काम के हो त भनेर उहाँलाई सोध्दा उहाँले आफैँ मलाई नै बैठकको एजेन्डा र अरू विषय थाहा छैन भन्नुभयो। यो त अचम्मको कुरा भयो,’ एमालेका एक शीर्ष पदाधिकारीले भने, ‘अध्यक्ष ओलीले आफू निकट नेताहरूलाई मात्रै काखा लगाएर अरू नेताहरूलाई पाखा लगाउँदै बैठकको एजेन्डा, कार्यविधि सबै मिच्नुभएको छ। महासचिवले गर्ने काम आफैँ गर्नुभएको छ। नेताहरूलाई बोल्न रोक लगाइएको छ। स्वतन्त्रता नै हनन भइरहेको छ।’
विगतमा ओली समूहमा रहेर अहिले उनको विरुद्धमा उत्रिएका अर्का नेता पनि आफ्नो जीवनकालमा कहिल्यै यस्तो घटना नदेखेको बताउँछन्।
‘माधव कमरेड पनि महासचिव हुनुभयो लामो समयसम्म, तर यस्तो अवस्था थिएन। माधव कमरेड महासचिव हुँदा पनि म राजनीतिमै थिएँ। मदन भण्डारीसँग त ओलीलाई दाँज्ने कुरै भएन। अरू नेताहरूले पनि यस्तो कार्यशैली अपनाउनुभएको थिएन। अध्यक्षज्यू किन यो पक्षमा हुनुहुन्छ, हामी आफैँ अचम्मित छौँ। बोल्नसमेत रोक लगाउनु र आफू निकटका व्यक्तिहरूलाई मात्रै छानीछानी बोल्न दिनु भनेको कहाँसम्मको विषय होला,’ ती नेताले अगाडि भने, ‘कसैलाई प्रतिवेदन राख्न रोक लगाइएको छ, कसैलाई बोल्न रोक लगाइएको छ, कसैलाई बैठकमै उपस्थित नहुने किसिमको वातावरण बनाइएको छ। यो त अत्याचार भयो। एमाले त यसरी बन्दैन नि।’
हामीले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पनि आजको बैठकको विषयमा जानकारी मागेका थियौँ। उनले सबै कुरा बाहिर आइसकेकाले केही भन्नुपर्ने अवस्था नरहेको बताए।
‘सबै कुरा जगजाहेर नै छ। केही भन्नुपर्ने अवस्था छ र? बैठक निरन्तर सञ्चालन भइरहेको छ,’ उनले भने, ‘केही समस्याहरू देखिएका भए त्यसलाई समाधान गर्ने विषयमा पनि छलफल चल्छ।’
हामीले ओलीनिकट नेता मानिने शेरधन राईलाई पनि सम्पर्क गरेका थियौँ। उनले पार्टी बैठक विधिपूर्वक सञ्चालन हुनुपर्ने धारणा राखे। तर अध्यक्षले नै कार्यक्रम सञ्चालन गरेको र अरू नेताहरूलाई वास्ता नगरेको विषयमा भने राई बोलेनन्।
कार्यदलको प्रतिवेदन पेस हुन पाएन
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले तयार पारेको कार्यदलको प्रतिवेदन पनि आजको बैठकमा पेस भएको छैन। उपमहासचिव लेखराज भट्टका अनुसार सो प्रतिवेदन भोलि या पर्सिको केन्द्रीय कमिटी बैठकमा पेस हुनेछ।
‘खोइ, हाम्रो हातमा त कुनै पनि प्रतिवेदन आएन। कसले के प्रतिवेदन प्रस्तुत गर्नुभयो र? अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनबाहेक अरू प्रतिवेदन हाम्रा हातमा छैन। राजनीतिक प्रतिवेदन त अध्यक्ष आफैँले पढ्नुभएको हो,’ उनले भने।

उसो त पार्टीमा ओलीको विकल्प सकिएको विश्लेषण धनकुटाका एमाले नेता राजेन्द्र राई गर्छन्। राई भन्छन्, ‘पार्टी खुम्चिनुमा कसको कहाँ गल्ती छ भन्ने कुराको विश्लेषण हुनुपर्छ। म कमजोर हुन्छु कि भन्ने हिसाबले प्रतिवेदन रोक्ने, नेताहरूको अधिकार खोस्ने र बोल्न नदिने बाटोमा चाहिँ कोही लाग्नु हुँदैन।’
उनले नेतृत्व सफल र असफल भएको कुरा घामजस्तै छर्लङ्ग देखिएको दाबी गरेका छन्।
‘सफल र असफल भएको कुरा त घामजस्तै छर्लङ्ग छ नि, यसमा मैले के बोल्नुपर्छ र?’ राईले भने, ‘सबै जनता र तपाईंहरूले देखेकै कुरा हो। यसलाई थप हाइलाइट गरिरहन आवश्यक छैन।’
नेताहरू कुसुमुस
आजको केन्द्रीय कमिटी बैठकमा एमालेका ३०१ जना केन्द्रीय सदस्यमध्ये करिब ९० भन्दा बढी सदस्यको उपस्थिति थियो। लामो समयपछि बसेको बैठक, निर्वाचनको समीक्षा र पछिल्लो राजनीतिक परिस्थिति फेरिएकाले एमालेको बैठकलाई महत्त्वका साथ हेरिएको थियो।
तर एमाले अध्यक्ष ओलीले आफूविरुद्ध खनिने नेतालाई ठेगान लगाउने अवस्था सिर्जना गरेको र पार्टी बैठकमा समेत आफ्नो गुणगान गाउने नेतालाई मात्रै प्राथमिकता दिएको देखेपछि नेताहरू कुसुमुस भएका छन्।
ओलीको गृह जिल्ला झापाबाट उपस्थित भएका एक केन्द्रीय सदस्यले खबरहबलाई दिएको जानकारीअनुसार आज कुनै पनि पदाधिकारीको अनुहार हँसिलो थिएन। अरू पदाधिकारीको मात्रै होइन, ओलीले सबै नेतालाई नियन्त्रणमा लिएका कारण उनी आफैँ पनि हतासमा देखिएको ती नेताको दाबी छ।

‘अध्यक्षज्यू यति आतिएको जस्तो अनुहार आजसम्म मैले देखेकै थिएन। हुन त म अध्यक्षज्यू नै नेतृत्वमा हुनुपर्छ भन्ने पक्षको मान्छे थिएँ। तर उहाँको हाउभाउ र आजको गतिविधिले बिल्कुल मेरो मन परिवर्तन भएको छ। एउटा लोकतान्त्रिक र प्रगतिशील पार्टीमा यस्तो कुनै पनि कुरा हुनु हुँदैन। कम्युनिस्ट पार्टीमा सबैले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता दिनुपर्छ अनि न पार्टी र संगठन बन्छ,’ झापाका ती केन्द्रीय सदस्यले खबरहबलाई भने, ‘इतिहासमै यस्तो प्रकारको केन्द्रीय कमिटी बैठक देखिएको थिएन। महासचिवज्यूलाई न कार्यविधि थाहा छ, न कार्यसूची थाहा छ, न त बैठकको एजेन्डा नै जानकारी दिइएको छ। अध्यक्षज्यू आफैँ चलाउनुहुन्छ। महासचिवलाई हेर्दा उहाँको अनुहारमा सहमति देखिँदैन। अरू पदाधिकारीको अनुहार पनि हँसिलो छैन। यो त अति नै भयो।’
ओलीको कार्यशैलीलाई लिएर अन्य केन्द्रीय सदस्यहरू पनि अक्कनबक्क भएका थिए। काठमाडौँमा उपस्थित भएका एक केन्द्रीय सदस्य भन्छन्, ‘ईश्वर कमरेडले पनि आफ्नो शुभकामना सन्देशसहितको प्रतिवेदन पठाउनुभएको रहेछ। न त्यसको चर्चा भयो, न कार्यदलको प्रतिवेदन नै आयो। खाली उहाँले आफ्ना कुराहरू राखेर राजनीतिक प्रतिवेदन ल्याउनुभयो। हामी त के भन्ने, के गर्ने भयौँ। हामी अरू शीर्ष नेताहरूसँग छलफल गरेर मंगलबारको बैठकलाई अलि फरक बनाउने हिसाबमा छौँ।’
ती नेता अगाडि भन्छन्, ‘मैले त सिधै गएर अरू पदाधिकारीलाई पनि सोधेको थिएँ। तर बैठकको एजेन्डा र कार्यविधि नै थाहा नभएको भनेपछि अध्यक्षज्यूले एकलौटी रूपमा बैठकलाई आफ्नो अधिकारमा लिने प्रयत्न गर्नुभएको रहेछ भन्ने बुझियो।’
भोलिको बैठकमा पनि ओलीले उस्तै कार्यशैली अपनाएको खण्डमा त्यसको प्रतिवादमा उत्रिने नेता कर्ण थापा बताउँछन्। एमाले उपाध्यक्ष विष्णु पौडेल, रघुजी पन्त, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताले मंगलबारको केन्द्रीय कमिटी बैठक पनि ओलीले नियन्त्रणमा लिन खोजेको अवस्थामा प्रतिवाद गर्ने किसिमले तयारी गरिरहेको बुझिन्छ। तर यसबारे नेताहरूलाई प्रश्न गर्दा उनीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।
आजको केन्द्रीय कमिटी बैठक समापन भएपछि असन्तुष्ट पक्षले छुट्टै छलफल गरेका थिए। त्यसमा केन्द्रीय कमिटीका सदस्यभन्दा बढी नेताहरू असन्तुष्ट रहेको जानकारी आएको छ। भोलि हुने कार्यक्रमको एजेन्डाका विषयमा पनि धेरै नेताहरू अनविज्ञ देखिन्छन्। ओलीनिकट नेताहरूलाई पनि यसबारे प्रश्न गर्दा उनीहरू जवाफ दिन चाहँदैनन्।

भोलिको कार्यसूची के-के छ भन्ने प्रश्नमा सचिव राईले भने, ‘भोलि नै थुप्रै कुराहरू आउँछन्।’
एमाले अध्यक्ष ओलीलाई अहिले सबैभन्दा बढी विश्वास महेश बस्नेतमाथि रहेको देखिन्छ। आजको कार्यक्रममा पनि उनी महेश बस्नेतसँग बेलाबेला सल्लाह र सम्पर्कमा रहेको देखिन्थ्यो। बैठकमा प्रवेश गर्नुअघि पनि उनी महेशसँगै ललितपुरको भैँसेपाटीस्थित रामबाग महलमा उपस्थित भएका थिए।
ओलीको अनुहारमा क्रोध र बदलाको भावना स्पष्ट देखिएको एक नेताले दाबी गरेका छन्। बैठकको उद्घाटन कार्यक्रममा नै उनले योगेश भट्टराईलगायतका नेताहरूलाई लक्षित गर्दै पार्टीमा भड्काउने काम गरेको र न्यायाधीश बन्दै हिँडेको आरोप लगाए।
आजको केन्द्रीय कमिटी बैठकमा ओलीले मोबाइल फोनलगायतका विद्युतीय उपकरण र रेकर्डसमेत लानबाट वञ्चित गराएका थिए।
विगतका केन्द्रीय कमिटी बैठकमा एमालेकै केन्द्रीय सदस्यहरू विभिन्न मिडियाका संवाददाता भएको भन्दै ओलीले तीव्र असन्तुष्टि जनाएका थिए। त्यसपछि मंसिरमा भएको महाधिवेशनयता उनले नेताहरूमाथि कडाइ गरेको देखिन्छ।













प्रतिक्रिया