एमालेमा चार उपाध्यक्षको निष्कर्ष : यसरी पार्टी चल्दैन, नेतृत्व परिवर्तन नगरे अर्को चुनावसम्म जनताले पर्खिँदैनन् « Khabarhub

एमालेमा चार उपाध्यक्षको निष्कर्ष : यसरी पार्टी चल्दैन, नेतृत्व परिवर्तन नगरे अर्को चुनावसम्म जनताले पर्खिँदैनन्



काठमाडौं- गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक एमाले सचिवालयको बैठक बसिरहेको छ।

शुक्रबारदेखि सुरू बैठकमा पाँचजना उपाध्यक्षले आफ्ना धारणा राखेका छन् । शुक्रबार पहिलो दिन पाँचजना उपाध्यक्षले पार्टीमा आएको संकट र परिवर्तनको उपायबारे कुरा राखेका छन् ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पाँचजना उपाध्यक्षले पहिलोपटक लामो समय लिएर आफ्ना अनुभव र विचार राखेका छन्।

बैठकको एजेण्डामा नेताहरूको कार्यविभाजन मुख्य थियो । यस बैठकका एजेन्डा गत सोमबार नै ओलीले पेश गरिसकेका छन् ।

उपाध्यक्षहरू शुक्रबारको बैठकमान वर्तमान परिस्थितिअनुसार पार्टी रूपान्तरण हुनुपर्नेमा केन्द्रित भए।

बैठकमा बोलेका पाँचजना उपाध्यक्षमध्ये चार जनाले एकै स्वरमा देशमा विकसित नयाँ परिस्थितिअनुसार पार्टी परिमार्जन, रुपान्तरण र परिवर्तन हुनुपर्ने वकालत गरे । बैठकमा सहभागी एक नेताकाअनुसार उनीहरूले नेतृत्व र नीति परिवर्तनको पक्षमा वकालत गरे ।

चार उपाध्यक्षले भने : समय फेरियो, पार्टी पनि परिमार्जन र रूपान्तरण गरौँ

शुक्रबार बोलेका चार उपाध्यक्ष मध्ये रघुजी पन्त, गोकर्ण बिष्ट, विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङले अब एमाले पुरानै ढर्राले पुरानै दिशामा अघि बढेर चल्न नसक्ने बताएका थिए।

चार उपाध्यक्षले पार्टीमा समयानुकूल परिवर्तन नगरे जनताले अर्को निर्वाचनसम्म पनि पर्खिन नसक्ने कुरा उठाए । उनीहरूले पार्टी कति गहिरो संकटमा छ भन्ने लामो फेहरिस्त ओलीसामु पस्किए ।

उनीहरूले देशका फरक-फरक भूगोलको जानकारी गराउँदै जनताले समयनुकूल पार्टीमा नेतृत्व परिवर्तन, पुस्तान्तरण र रूपान्तरण चाहेकाले त्यसतर्फ गम्भीर समीक्षा गर्दै अगाडि बढ्नुपर्ने मत राखेका थिए।

यसअघि अध्यक्ष ओलीको पक्षमा उभिने उपाध्यक्षहरू पौडेल र गुरुङ पनि यस पटक विपक्षमा देखिए । उनीहरू एघारौँ महाधिवेशनमा अन्तिम समयमा ओली समूहमा खुलेर जितेका हुन् ।

ओली समूहमै रहेका उपाध्यक्ष पौडेल र गुरुङले समेत पार्टी समयनुकूल परिवर्तन नगरे जनताको मनोभावना समेट्न नसकेर अझै गहिरो संकटतिर जाने बताए ।

उपाध्यक्ष पौडेलले सिधा सिधा अध्यक्ष ओलीको राजीनामा नमागे पनि परिस्थिति विश्लेषण गर्दै परिवर्तन भएर एमालेलाई अगाडि बढाउनुपर्ने मत राखेका थिए।

अर्का उपाध्यक्ष गोकर्ण बिष्ट र रघुजी पन्तले पनि अध्यक्ष ओलीसहित पहिलो पुस्ताले नै पार्टीलाई पुस्तान्तरण गर्नुपर्ने बताए । उनीहरूले नेतृत्व हस्तान्तरण र समयानुकूल परिवर्तनको दिशामा जान ढिला गर्न नहुने मत राखे ।

उपाध्यक्ष पन्तले निर्वाचनमा मुख्यतया नेतृत्व विवाद परेका कारण पनि एमालेले सम्मानजनक सिट ल्याउन नसकेको विश्लेषण सुनाएका थिए। उनले यथास्थितिमा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष पनि सुनाए। युवा र नयाँ पुस्ताको भावनालाई हेपेर जानेभन्दा उनीहरूका आवाज सम्बोधन गर्ने शैली नेतृत्वमा चाहिएको कुरा उनले उठाए ।

उपाध्यक्ष गोकर्ण बिष्टले बैठकमा ओलीको राजीनामा नै मागे। नेतृत्वले गम्भीर रूपमा विश्लेषण गर्दै हस्तान्तरण गर्नुपर्ने बताउँदै बिष्टले साँच्चिकै एमालेको नीति सिद्धान्त र कार्यदिशा अनुसारअगाडि बढ्ने हो भने अब नेतृत्वले पदको लोभ गरेर बस्न नहुने जिकिर गरे।

बैठकमा उपाध्यक्ष गुरुङले पनि ओलीको विकल्प खोज्नुपर्ने संकेत दिने गरी बोलेका थिए। विगतमा ओली समूहमै रहेका गुरुङ र पौडेलले एमाले यथास्थितिमा चल्न नसक्ने मत राखेपछि ओलीमाथि दबाब बढेको छ।

बचाउमा उत्रिए बादल

गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक बसेको एमाले सचिवालयको बैठकमा शुक्रबार बोलेका पाँच उपाध्यक्षमध्ये ४ जना ओलीको विपक्ष र एकजना पक्षमा देखिएका छन् ।

बैठकमा पाँचजना उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टले अब ओलीले बिदा हुनुपर्ने धारणा राख्द पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा बादलल भने बचाउमा उत्रिएका छन्।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पाँचजना उपाध्यक्षले पहिलोपटक लामो समय लिएर आफ्ना अनुभव र विचार राखेका छन्।

शुक्रबा बोलेका पाँचजना उपाध्यक्षमध्ये बादल मात्रै ओलीको बचाउमा उत्रिने एक्ला उपाध्यक्ष भए । उनले पार्टी र नेतृत्व कठिन मोडमा हुँदा अरु नेताहरूले साथ नदिनु पार्टी हितविपरीत रहेको बताए ।

अन्य उपाध्यक्षहरूले अहिलेको नेतृत्वको गम्भीर समीक्षा गर्नुपर्ने बता। तर उपाध्यक्ष बादलले नेतृत्व र पार्टी अप्ठ्यारोमा पर्दा ताली पिट्नेहरूको कमी नभएको उल्लेख गरे ।

‘एकजना व्यक्तिको कारण मात्रै पार्टी निर्वाचनमा हारेको होइन । त्यसैले नेतृत्व र पार्टी अप्ठ्यारोमा पर्दा ताली पिट्नेहरू काम नगरौँ । त्यस्तो गर्ने कमी हाम्रो पार्टीमा देखिएन’, उनले भने, ‘अहिलेको परिस्थिति अध्यक्षका कारण मात्रै सिर्जना भएको होइन।’

एमाले संसदीय दलका नेतासमेत रहेका बादलले संकटकै बेला नेताहरूको परीक्षण हुने बताए । ‘संकटकै बेला नेताहरूको परीक्षण हुने हो । अहिले ओलीको विकल्प खोज्नु हुँदैन’, उनले अगाडि भने।

ओलीले दिए यस्तो जवाफ

उपाध्यक्षहरूको कुरा सकिएपछि ओलीले आजका लागि बैठक स्थगित गरिएको जानकारी गराए ।

स्वास्थ्यका कारण लामो समय बस्न नसक्ने उल्लेख गर्दै ओलीले नेताहरूका भनाइबारे पनि टिप्पणी गरे । उनले आजलाई मात्रै सोचेर नहुने उल्लेख गर्दै लामो भविष्य पनि हेर्नुपर्ने उल्लेख गरे ।

ओलीले बाहिरका कुरा सुनेर पार्टी र नेतृत्वलाई क्षय गर्ने गतिविधि गर्नुहुन्छ कि हुँदैन भन्ने विषयमा आफैँ विश्लेषण गर्नसमेत नेताहरूलाई सुझाए ।

स्वास्थ्यका कारण गलेको मुहारमा देखिएका ओलीले बाहिरका कुरा सुनेर आफ्नो विचार राखेको या मनभित्रैबाट यस्तो कुरा उठेर बोलेको भनेर छुट्याउन समेत सुझाए।

‘बाहिरको हल्ला सुनेर नेतृत्वमाथि प्रहार गरिएको हो कि साँच्चिकै मनभित्रबाटै कुरा राखिएको हो ? आफैँ विश्लेषण गर्नु भनेर अध्यक्षज्यूले जवाफ दिनुभयो’, बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘अध्यक्षकै कारण मात्रै पार्टी यहाँसम्म पुग्यो भनेर आरोप लगाउनु त्यति सान्दर्भिक हुँदैन भन्नुभयो।’

एमालेको शुक्रबारदेखि सुरू सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ र आलोचना दुवै कित्तामा नेताहरू बाँडिएका छन् ।

एमाले सचिव पद्मा अर्याल पार्टी बैठकमा विकल्प खोज्नुपर्ने पक्षमा कुनै नेताले नबोलेको जिकिर गर्छिन् ।

उनले भनिन् ,‘विकल्प खोज्नुपर्छ भनेर ठ्याक्कै कोही नेताले भन्नुभएको छैन। निर्वाचन परिणाम र पार्टीको अवस्थाबारे आत्मसमीक्षा गरौँ, अगाडि बढौं भनेर त स्वभाविक रुपमा सबैले भन्ने नै कुरा भयो।’

सरकारबारे एक मत

शुक्रबारको बैठकमा बोल्ने सबै उपाध्यक्षहरूले प्रधानमन्त्री वालेन्द्र शाह संसद् र जनताप्रति जवाफदेही हुनुपर्ने साझा कुरा उठाए । उनीहरूले सरकारबारे साझा धारणा बनाएका हुन् ।

सरकारको विषयमा नेताहरूले प्रधानमन्त्री जवाफदेही नभए सडक आन्दोलन पनि गर्नुपर्नेसम्मका कुरा उठाए। संविधान, संसदीय नीति, नियम र नियावलीभित्र रहेर सरकार चल्नुपर्ने उनीहरूको धारणा थियो । नेताहरूले सरकार व्यवस्थापिकाप्रति वफादार नभएर खबरदारी बढाउनुपर्ने पनि बताए ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ६ : २९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील